हामी कहाँ नालायक भयौं ? एउटा राष्ट्रिय सम्मेलन गरौं * | Khabarhub Khabarhub

विचार

हामी कहाँ नालायक भयौं ? एउटा राष्ट्रिय सम्मेलन गरौं *

वीपी र पुष्पलालले हामीमाथि बदला लिइरहेका छन्



म कुनै आवेगमा भन्दै छैन, यो नेपाली जातका अझै ठूला दुर्दिनहरु बाँकी छन् । गम्भीर, ठोस र खास मामिलाहरुमा हामी नपस्ने हो र सबैले छाला जोगाउने हो भने नेपाली जातका धेरै दुर्दिनहरु अझै बाँकी छन् भन्ने लाग्छ ।

राजा ज्ञानेन्द्रले ०५९ असोज १८ गते सफ्ट हो कि हार्ड, एउटा कु गरे । असोज २८ गते मेरो एउटा किताबको विमोचन थियो । त्यसको नाम थियो, ‘नेपालको अर्थ राजनीति : संकटको पुनरुत्पादन र रुपान्तरणको दिशा ।’

त्यसको अन्तिममा मैले लेखेको थिएँ–

‘अहिले संकट छ । यो संकट दलाल पुँजीवादको संकट हो । पहिले दलाल पुँजीवादले दरबारलाई आफ्नो कब्जामा लिएर चलाउँदैथ्यो, त्यो जनताबाट टाढिँदै गयो । दलाल पुँजीवादले दरबार कब्जा गरेपछि जनतासँग राजाको सम्बन्ध टुट्दै गयो । त्यसकारण पञ्चायत गयो र प्रजातन्त्र आयो । प्रजातन्त्रको पनि नेतृत्वलाई दलाल पुँजीवादले कब्जा गर्दै गयो र प्रजातन्त्र पनि अहिले संकटमा पर्दै गयो । यथार्थमा यो दलाल पुँजीवादकै संकट हो । यो समाधान गर्नका लागि राजालाई यसले (दलाल पुँजीवाद) ले उक्साउन सक्छ र राजाले कु गर्न सक्छन् ।’

राजाले कु गरे भने के हुन्छ भन्नेमा चाहिँ मार्क्सको ‘नेपोलियन बोनापार्टको १८ औं ब्रुमेर’ को सन्दर्भ निकालेर मैले लेखें । सन् १८५२ मा मार्क्सले त्यो किताब लेखेका थिए ।

‘यो भतिजो नेपोलियन आयो । तीन वर्ष अगाडि चुनिएर आएको थियो, तीन वर्ष पछाडि आफैंलाई सम्राट घोषणा ग¥यो । यसले एकपछि अर्को राजाका आभूषणहरु लगाइराखेको छ र जनताका अधिकारहरु खोस्दै गइराखेको छ । उसले अब राजाको अन्तिम परिधान ग्रहण गर्नेछ, त्यतिखेर यो तन्त्र (राजतन्त्र) को सत्यनाश हुनेछ ।’

मार्क्सले लेखेको १८ वर्षपछि पेरिस कम्युन (विद्रोह) लुई बोनापार्टको मूर्ति ढलाएर शुरु भएको थियो, यो राजा ( ज्ञानेन्द्र) को पनि त्यही गति हुन्छ । यसले सबै शक्ति आफ्नो हातमा लिन्छ र सकिन्छ भन्ने मेरो विश्लेषण थियो । अहिले पनि मैले हेर्ने आँखीझ्याल त्यही अर्थराजनीतिको मार्क्सवादी आँखीझ्याल नै हो ।

सोभियत संघमा समाजवाद थियो । हामी ‘रियल्ली एक्जिस्टेन्स सोसियोलिजम’ भन्थ्यौं, धर्तीभरि हाम्रो एउटा साझा शब्द थियो, त्यो ढल्यो । जनतालाई नयाँ जिन्दगी दिन नसक्ने जुनसुकै व्यवस्था जतिसुकै राम्रो र जतिसुकै प्रिय भए पनि त्यो रहन्न । त्यसमा संकट आउँछ । अप्ठ्यारो हुन्छ । यहाँ पनि हामीले सोचेनौं भने विश्व इतिहास र नेपालको इतिहास फरक हो भनेर गलत सोच्नेछौं ।

पुष्पलाल र वीपीले हामीमाथि बदला लिँदैछन्

मेघनाद देसाईले जब सोभियत संघ ढल्यो, त्यसबेला ‘मार्कसेज रिभेन्ज’ (मार्क्सको बदला) भनेर एउटा चर्चित किताब लेखेका छन् । त्यो आँखाबाट हेर्ने हो भने अहिले नेपालमा पुष्पलाल र वीपीले बदला लिएको होला भन्ने लाग्छ मलाई । हामीसँग बदला लिएको हो । किनभने, हामीले तिनीहरुलाई धोका दियौं, तिनले हामीसँग बदला लिए ।

अहिले हामीलाई विचार–सिचार केही पनि चाहिएन । नाङ्गो । त्यो दलाल पुँजीवादसँगको नाङ्गो गठबन्धन । त्यसलाई केही साथीहरुले विचौलिया भन्ने गर्नुभएको छ । कसैलाई गाईभैंसी चाहियो, कसैलाई बेच्नुपर्ने छ भने त्यसमा पनि बिचौलिया चाहिन्छ । लमीहरु पनि बिचौलिया हुन् ।

हाम्रा नेता र भारदारहरु फरक छन् ? हामी यो भन्न सक्छौं ? म गणतन्त्रवादी हुँ, मेरा नेता र राजाका भारदारको जीवन फरक छ ? तिनले बस्ने कुर्सी, तिनले हिँड्ने तरिका, रातिको भेटघाट, तिनको सम्पत्ति, तिनको फुर्मासी केही फरक छ ? गणतन्त्रवादीले यो नैतिक बलका साथ किन भन्न सकिरेहका छैनौं ? तपाई दोषी हो ? म दोषी हो ? मतदाता दोषी हुन् ? गाउँ दोषी हो ? जसले कर तिरिराखेका छन्, भोट दिइराखेका छन्, सरकारले भनेको मानिराखेका छन्, तिनीहरु दोषी हुन् ?

दोषी को हो ? यो नखोज्ने हो भने बिरालाको घाँटीमा कसैले घण्टी बाँध्दैन र दुर्दिन अझै लम्बिन जान्छ । यो विचारमा हामीले गरेको ‘कम्प्रोमाइज्ड’ का लागि वीपी र पुष्पलालले लिएको बदला हो भन्ने लाग्छ ।

पार्टीहरु पञ्चायतजस्ता, नेताहरु राजाजस्ता

पार्टीहरु पञ्चायत जस्ता भए । अलिअलि छलफल त राष्ट्रिय पञ्चायतमा पनि हुन्थ्यो । पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजाकरण भयो । अनि के हुन्छ ? गणतन्त्रको एउटा स्टिकर टाँसेर मात्रै केही हुने हो कि ? अहिलेको पुस्ताले बुझेन भनेर, उनीहरुलाई दोष दिएर हुन्छ ? किन बुझेनन् ? हामी अर्कै काममा व्यस्त भयौं । नेता अर्कै काममा व्यस्त भए ।

लोकतन्त्रमा दल नसुध्रिइकन हुँदैन । सुशील शर्माले धेरै पहिले बहस गर्नुभएको थियो– ‘नेपाल किन बनेन ?’ त्यसमा मैले नेपाल बनाउनका लागि लोकतन्त्रमा पार्टी पात्र हो, त्यो पात्र नै अहिलेसम्म बनेन, त्यसकारण नेपाल बनेन भनेको थिएँ । त्यसकारण यसबारे हामीले यो कुराको समीक्षा अलि गम्भीरतापूर्वक गरौं । यसमा निर्मतापूर्वक समीक्षा पहिलो शर्त हो ।

सामान्य अवस्थामा राजतन्त्र नै फर्किएर फेरि आउँदैन । आउने कुनै ठाउँ छैन । तर, हाम्रो गणतन्त्रले दुःख पाइरहन्छ । जनताले दुःख पाइरहन्छन् । यिनले दुर्दिन भोगिरहन्छन् । ‘गणतन्त्र’ तन्त्रका रुपमा त यो सुरक्षित छ । गणतन्त्रको सुरक्षाका लागि कार्यक्रम गरिराख्नुपर्ने अथवा प्रस्ताव पारित गरिराख्नुपर्दैन । म त अझ कडारुपमा भन्छु– गणतन्त्र सुदृढीकरण हैन, पहिलो त शुद्धीकरण हो । यदि शुद्धीकरण नहुने हो भने कसरी सुदृढीकरण हुन्छ ?

यसकारण, गणतन्त्रको शुद्धीरकरण आजको सबैभन्दा ठूलो समस्या हो, ज्ञानेन्द्र वा दरबारियाहरु त्यत्रो समस्या होइनन् । ज्ञानेन्द्र शाहका बारेमा म फेरि पनि साँच्चिकै त्यत्रो चिन्तित छैन, जति म मेरै गणतान्त्रिक नेतृत्वप्रति, देशको कार्यकारी नेतृत्वका प्रति चिन्तित छु ।

म यस्तो ठाउँमा छु कि म मेरा नालायकीका बारेमा बोल्न सक्दिनँ । म किला कब्जाहरुभित्र बाँधिएको छु । यस्तो हुन्छ गणतन्त्र ? सबैकुरा बदलिने, संविधान बदलिने, कानून बदलिने, सबै कुरा बदलिने तर अनुहार र भूमिका नबदलिने । न अनुहार बदलिन्छ, न भूमिका बदलिन्छ ।

सिस्टमले त अनुहार बदल्छ, उसलाई शंकाको सुविधा दिन्छ, फेरि भूमिका बदल्छ । एकदम प्रष्ट छ, अब अगाडि के–के हुनेछ भन्दा अब यो आउनेछ, त्यसपछि यो आउने छ… ।

हाम्रोजस्तो समाज जहिलेसुकै, फ्रेन्च क्रान्तिको इतिहास हेर्नुहोस् अथवा सोभियत संघको विघटनको इतिहास हेर्नुहोस्, कलर रिभोल्युसनले आगो लगायो भन्नेहरुले पनि केमा आगो लगायो भनेर हेरौं, जहाँ रोजगारी हुँदैन र जहाँ भ्रष्टाचार छ, त्यो समाज अस्थिर हुन्छ, अस्थिर भइरहन्छ ।

भ्रष्टाचार मान्छे बाहेकको, सत्ता बाहेकको होइन । बेरोजगारी राजनीतिक हो, भ्रष्टाचार पनि राजनीतिक हो । राजनीतिक नेतृत्वसँग त्यसको सम्बन्ध गाँसिएको छ । यही हो दलाल पुँजीवादको गठबन्धन भनेको, जसलाई साथीहरु बिचौलिया भन्नुहुन्छ । दलाल पुँजीवादको कब्जामा रहेको नेतृत्वलाई नसुधार्ने हो भने नेपालीका अरु धेरै दुर्दिनहरु बाँकी छन् ।

अब के गर्ने ?

अब के गर्न सकिन्छ होला ? हार्बट फास्टको उपन्यास छ–स्पार्टकस । त्यसको अन्त्यमा सारा युद्ध हारिसकेपछि स्पार्टाकसलाई फिलिपले सोध्छ– स्पार्टकस, हामी कहाँनेर नालायक भयौं ?

हामी कहाँ नालायक भयौं भन्ने एउटा राष्ट्रिय सम्मेलन आयोजना गरौं । गणतन्त्रवादीहरुको एउटा राष्ट्रिय सम्मेलन आयोजना गरौं । हामी कहाँ नालायक भयौं ?

किनभने, कुनै पनि संस्थाले, राष्ट्रले आफ्ना नालायकीहरुलाई विजय गरेर मात्रै इतिहास अगाडि बढ्छ । नालायकीलाई ढाकेर, छुपाएर, त्यसलाई माया गरेर, प्रेम गरेर वा त्यससँग स्वार्थ गाँसेर इतिहास अगाडि बढ्दैन । त्यसर्थ, आफ्नै नालायकीहरुमाथि विजय हासिल गरौं ।

(शनिबार पाटनढोकामा नागरिक अगुवाहरुले आयोजना गरेको ‘गणतन्त्र नै सहि बाटो’ विषयक सम्वादमा नेकपा एकीकृत समाजवादीका महासचिव भुसालद्वारा व्यक्त विचारको सम्पादित अंश)

*शीर्षक सामान्य हेरफेर गरिएको ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ९ : १९ बजे

मैत्रीपूर्ण महिला फुटबलमा नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं – अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको

जलथलमा मासिँदै दुर्लभ जीव र वनस्पतिहरु

झापा – ‘रुखहरुको जीवित संग्रहालय’ मानिएको दक्षिण झापाको जैविक विविधताले

आजका समाचार : तत्काल संसद् नखुल्ने, एमालेमा ‘झोले’ अभियान र सार्वजनिक यातायात ठप्प हुँदा सर्वसाधारणलाई सास्ती

राजावादीविरुद्ध एकजुट देखिएका शीर्ष नेताले संसद् खुलाउन जुटाउन सकेनन् सहमतिप्रमुख

सुदूरपश्चिम प्रदेशसभाबाट स्थानीय सेवाको गठनसम्बन्धी विधेयक पारित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन

इरानबाट इन्धन तस्करीको ठूलो गिरोह प्रहरी नियन्त्रणमा

एजेन्सी– इरानको गुप्तचर मन्त्रालयले आइतबार जनाएको अनुसार, उसले तीन प्रान्तमा