म्युनिख– पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले म्युनिखमा एक अविश्वसनीय रातमा इन्टर मिलानलाई ५-० ले हराउँदै पहिलो पटक च्याम्पियन्स लिग जित्दा प्रशिक्षक लुइस एनरिक्वे आँसु झार्न बाध्य भए।
पीएसजीको ऐतिहासिक जितमा किशोर खेलाडी डेसाएर डूएले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो नाम लामिन यामलसँगै भविष्यका सुपरस्टारको रूपमा स्थापित गरे।

लुइस एनरिक्वेको भावुक क्षण
पीएसजीका प्रशिक्षक लुइस एनरिक्वे यो प्रतियोगिता दुई फरक क्लबहरूसँग जित्ने इतिहासकै छैटौँ प्रशिक्षक बने । सन् २०१५ मा बार्सिलोनासँग पहिलोपटक उनले यो उपाधि जितेका थिए। तर यसपटकको जित गहिरो मानवीय भावनासँग जोडिएको छ ।
इनरिक्के उनकी छोरी झानाको सम्झनामा मैदानमा भक्कानिए । जसको सन् २०१९ मा ९ वर्षको उमेरमा दुर्लभ बोन क्यान्सरले मृत्यु भएको थियो । उनले सन् २०१५ मा बर्सिलोना झण्डा गाडेजस्तै यसपटक पीएसजीको झण्डा गाड्ने आशा राखेका थिए ।
जितपछि उनले छोरीसँगको तस्बिर भएको टिसर्ट लगाए, जसमा उनीहरू पीएसजीको झण्डा गाडिरहेका थिए। त्यसपछि पीएसजीका फ्यानहरूले पनि ठूलो झण्डा फहराउँदै बाबुसँग मिलेर छोरीलाई श्रद्धाञ्जली दिए ।
‘म धेरै खुसी छु। समर्थकहरूले मेरो परिवारलाई अर्पण गरेको ब्यानर देख्दा भावुक भएँ। तर म सधैं मेरो छोरीको सम्झनामा बाँचिरहेको छु’, एनरिक्वेले भने, ‘मैले पहिलो दिनदेखि भनेको थिएँ–म महत्वपूर्ण उपाधि जित्न चाहन्छु । पेरिसले कहिल्यै च्याम्पियन्स लिग जितेको थिएन। हामीले पहिलो पटक त्यो सपना पनि पूरा गर्यौं। यसरी हामीले धेरै जनालाई खुसी बनाउनु धेरै ठूलो कुरा हो ।’
पीएसजीका लुइस एनरिक्वे च्याम्पियन्स लिग फाइनल जितेपछि जब भावुक बने तब समर्थकहरूले उनकी दिवंगत छोरी झानालाई श्रद्धाञ्जली दिँदै थिए ।
झानाको सन् २०१९ मा, ९ वर्षको उमेरमा, दुर्लभ प्रकारको बोन क्यान्सरका कारण निधन भएको थियो। उनले सन् २०१५ मा लुइस एनरिक्वेले बार्सिलोनालाई च्याम्पियन्स लिग जिताउँदा बर्लिनको मैदानमा ठूलो झण्डा लिएर बुबासँगै जितको उत्सव मनाएकी थिइन्।
फाइनल खेलअघि नै लुइस एनरिक्वेले म्युनिखको मैदानमा पीएसजीको झण्डा गाड्दै झानाको सम्झनामा एउटा विशेष क्षण कल्पना गरिसकेका थिए।
पीएसजीले इन्टर मिलानलाई ५-० ले हराएपछि समर्थकहरूले प्रशिक्षकको भावना बुझ्दै झानाको ठूलो तस्बिर सहितको टिफो (विशेष झण्डा) स्टेडियममा प्रदर्शन गरे।
‘म धेरै खुसी छु। खेलपछि समर्थकहरूले मेरो परिवारको लागि देखाएको ब्यानर देख्दा धेरै भावुक भएँ। तर म सधैं मेरो छोरीको सम्झनामा हुन्छु’, उनले भने, ‘यसले धेरै अर्थ राख्छ। यो साँच्चिकै सुन्दर क्षण हो, तर मलाई च्याम्पियन्स लिग जितेर मात्रै छोरी सम्झनु पर्दैन।’
उनले झाना सधैँ आफूसँग हुने बताए । ‘झाना सधैँ हामीसँगै हुन्छिन्, विशेषगरी जब हामी हार्छौँ’, उनले भने, ‘हामी परिवारसँग मिलेर सबै कुराको मजा लिन्छौँ । खराब समयमा पनि सकारात्मक पक्ष खोज्ने प्रयास गर्छौं ।’
उनले आफूले पीएसजीमा महत्वपूर्ण उपाधि जित्न चाहेको बताए । ‘मैले शुरुदेखि नै भनेको थिएँ, म महत्वपूर्ण उपाधि जित्न चाहन्छु । पेरिसले कहिल्यै च्याम्पियन्स लिग जितेको थिएन। हामीले यो पहिलोपटक गर्यौं। धेरै जनालाई खुसी दिन पाउनु अद्भुत महसुस हो’, भने ।

डूएको जादुयी प्रदर्शन
इन्टरमिलानलाई ५-० ले हराउने क्रममा १९ वर्षका डूएले पहिलो गोलमा आर्चफ हकिमीलाई असिस्ट गरे । दोस्रो गोल आफैँ हाने । त्यसपछि तेस्रो गोल पनि उत्कृष्ट गर्न सफल भए । त्यसपछि उनलाई आराम दिइयो । तर च्याम्पियन्स लिगको उपाधि जितेसँगै दर्शकमाझ उनको जादुयी प्रदर्शनको छवि गहिरो रूपमा बसिसकेको छ।
उनी च्याम्पियन्स लिग फाइनलमा दुई गोल गर्ने सबैभन्दा कान्छो खेलाडी (१९ वर्ष ३६२ दिन) बने । उनले युसेबियोको कीर्तिमान पनि तोडे, जसले सन् १९६२ मा बेनफिकाका लागि दुई गोल गरेका थिए।
पीएसजीको दमदार प्रदर्शन
पीएसजी ले यस सिजनको नकआउट चरणमा म्यानचेस्टर सिटी, लिभरपुल, एस्टन भिल्ला र आर्सनललाई हराउँदै च्याम्पियन्स लिगमा अपराजित यात्रा तय गर्यो।
इन्टर मिलानसँगको अन्तिम खेलमा त उनीहरू यति उत्कृष्ट देखिए कि इन्टरले मैदानमा योजनाअनुसार खेल्नै सकेन । पीएसजी को यो ५-० को जित च्याम्पियन्स लिग/युरोपियन कप फाइनलको इतिहासकै सबैभन्दा ठूलो अन्तरको हो।
खेलपछि लुइस एनरिक्वे आफ्नी पत्नी एलेना र छोराछोरीसँग खुसी साट्न मञ्चमा पुगे। त्यसक्रममा पीएसजीका फ्यानहरूले ‘एकसाथ, हामी अपराजित छौँ’ भन्ने नारा लगाए । उनीहरूले ‘एकसाथ, हामी अपराजित छौँ’ लेखिएको नारासहितको ब्यार पनि झुण्ड्याएका थिए। यसले उनीहरूको आत्मबल र टोलीको उत्साह झल्काउँथ्यो।

नयाँ यात्रा
किलियन एम्बाप्पे, नेयमार र लियोनेल मेस्सीको युग सकिएपछि पीएसजीले नयाँ रणनीति बुन्यो । लुइस एनरिक्वेले पीएसजी अध्यक्ष नासेर अल-खेलाइफी र फुटबल सल्लाहकार लुइस क्याम्पोसलाई नयाँ युग सुरु गर्न सकिनेमा विश्वस्त बनाए ।
अल-खेलाइफीले भने, ‘यो हाम्रो सबैभन्दा राम्रो सिजन हो। हामीले भविष्यका लागि टोली तयार गरेका छौँ। परिणाम जे भए पनि हामी हाम्रो रणनीति परिवर्तन गर्ने थिएनौँ। आजदेखि हाम्रो वास्तविक काम सुरु हुन्छ।’
उता विश्लेषकहरूले पनि पीएसजीका लागि एनरिक्के सफलताको ताला खोल्ने व्यक्तिका रुपमा उदाएको बताएका छन् । बीबीसी रेडियो ५ लाइभका क्रिस सटनले भने,‘लुइस एनरिक्वे अन्तिम उपाय थिए, जसले यो सफलताको ताला खोले। उनी शीर्ष युरोपेली प्रशिक्षकहरूको श्रेणीमा आउँछन्।’
बीबीसी स्पोर्टका नेडुम ओनुओहाले अहिलेसम्मकै उत्कृष्ट फाइनल भनेका छन् । ‘यो मैले देखेको सबैभन्दा उत्कृष्ट च्याम्पियन्स लिग फाइनल प्रदर्शन थियो।’

प्रतिक्रिया