देशको आधा जनसंख्यालाई दुई अर्ब : न ओढ्न पुग्छ, न ओछ्याउन ! | Khabarhub Khabarhub

देशको आधा जनसंख्यालाई दुई अर्ब : न ओढ्न पुग्छ, न ओछ्याउन !



काठमाडौं– बिहीबार सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको छ । केही वर्ष अगाडीसम्म बजेट सार्वजनिक हुँदा आम नागरिकमा निकै हर्षोल्लास छाउँथ्यो । किनभने बजेटले सामान्य नागरिकको लागि केही नयाँ कार्यक्रम लिएर आउँथ्यो । तर पछिल्लो समय बजेटले आम नागरिकलाई खुसी बनाउन सकेको छैन । 

अघिल्ला आर्थिक वर्षहरू जस्तै सरकारले यस वर्ष पनि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई सबैभन्दा कम बजेट छुट्याएको छ । गत आर्थिक वर्षको तुलनामा केही बढी रकम प्राप्त गरे पनि आधा प्रतिशत जनसंख्या रहेको महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलगायत सबैको अभिभावकत्व गर्नुपर्ने मन्त्रालयले सबैभन्दा कम बजेट पाएको छ । 

आर्थिक वर्ष २०८२/८३ को बजेटमा मन्त्रालयले २ अर्ब ८ करोड रुपैयाँ मात्रै प्राप्त गरेको छ । यस मन्त्रालयको लागि यो बजेट एकदमै अपर्याप्त छ । आर्थिक वर्ष २०८१÷८२ मा यस मन्त्रालयले १ अर्ब ६० करोड रकम प्राप्त गरेको थियो । गत वर्षको तुलनामा ३२ करोड रुपैयाँ मात्रै बजेट बढेर आएको छ । तर महङ्गीको ग्राफलाई नियाल्ने हो भने यो बजेट बढेको होइन । 

समग्रमा बजेट अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी ल्याइएको अर्थविद्हरूले टिप्पणी गरेका छन् । त्यसैक्रममा हामीले गत आर्थिक वर्ष र यस आर्थिक वर्षको के कति कार्यक्रम समान रहेका छन् छुट्याउने प्रयास गरिएको छ । 

नवजात शिशु, सुत्केरी आमा, बालबालिका, स्कुलको खाजा, शिक्षा, महिलाको हक अधिकार, अपाङगता लगायत र जेष्ठ नागरिकका हक र अधिकार सुनिश्चिताको लागि सरकारले सार्वजनिक गरेका विषय तथा कार्यक्रम यस्ता रहेका छन् । 

नवजात शिशु 

२०८२/८३ को कार्यक्रम :
नवजात शिशुको जीवनरक्षाका लागि ‘आमा सुरक्षा’ कार्यक्रम गर्ने ।
२०८१/८२ को कार्यक्रम :
परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको जन्मजात विकलाङ्ग वा असाधारण प्रकृतिको अवस्था पहिचान गर्न भ्रूण परीक्षण सेवा सञ्चालन गर्ने । 

सुत्केरी आमा
२०८२/८३ को कार्यक्रम :
गर्भवती तथा सुत्केरी महिला र बालबालिका लक्षित पोषण कार्यक्रमको निरन्तरता दिने । 
सुत्केरी आमाको जीवनरक्षाका लागि ‘आमा सुरक्षा’ कार्यक्रम गर्ने ।
पाठेघर तथा स्तन क्यान्सर र पाठेघर खस्ने रोगको निःशुल्क परीक्षण कार्यक्रमको निरन्तरता हुने । 
बालिका लक्षित एच.पी.भी. खोप र १४ वर्ष मुनिका बालबालिकालाई निःशुल्क क्यान्सर उपचार गर्ने । 
२०८१/८२ को कार्यक्रम :
गर्भवती तथा सुत्केरी महिला र बालबालिका लक्षित पोषण कार्यक्रम गर्ने । 

बालबालिका
२०८२/८३ को कार्यक्रम :
कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य सेवाको ‘सेन्टर अफ एक्सिलेन्स’ को रूपमा विकास गर्ने । 
बालिका लक्षित एच.पी.भी. खोप र १४ वर्ष मुनिका बालबालिकालाई निःशुल्क क्यान्सर उपचार गर्ने ।
बालश्रम जागरण कार्यक्रम गर्ने । 
२०८१/८२ को कार्यक्रम :
अटिजम, बौद्धिक तथा शारीरिक अपाङ्गता बालबालिकाको विकास, मानसिक अवस्थाको उपचार र पुनर्स्थापना गर्ने ।
प्रदेश तथा स्थानीय तहमा बाल उद्धार र संरक्षणको लागि बाल सुधार गृह र सम्पुर्ण बालबालिकाको लागि स्वास्थ्य वीमा गरिने । 

स्कुलको खाजा
२०८२/८३ को बजेट :
कक्षा ५ सम्मका विद्यार्थीलाई दिँदै आएको दिवाखाजाको रकम बढ्ने । १० अर्ब १९ करोड बजेट छुट्याएको छ । जसबाट २८ लाख विद्यार्थी लाभान्वित हुनेछन् । 
२०८१/८२ को बजेट
प्रारम्भिक बाल शिक्षादेखि १–५ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने । जसको लागि ८ अर्ब ३९ करोड बजेट छुट्याएको थियो । 

शिक्षा
२०८२/८३ को बजेट :
माध्यामिक तह निःशुल्क शिक्षा प्रदान गर्ने । 
विपन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन छात्रवृत्ति यसपटकबाट ६–१२ सम्मकालाई दिइने । 
छात्रवृत्तिका लागि २ अर्ब ४४ करोड बजेट छुट्याएको छ । 

२०८१/८२ को बजेट
विपन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन ९–१२ सम्म छात्रवृत्तिको व्यवस्था थियो । 

महिलाको हक तथा अधिकार 
२०८२/८३ को बजेट :
सार्वजनिक क्षेत्रको कार्यकारी तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न नीतिगत र संरचनागत सुधार गर्ने ।
महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने । गृहिणी महिलाको श्रम र सीपलाई साना तथा घरेलु उद्यमसँग जोड्ने ।
विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमको निरन्तरता । जसबाट १३ लाख छात्राले सुविधा पाउने भएका छन् । 
पाठेघर तथा स्तन क्यान्सर र पाठेघर खस्ने रोगको निःशुल्क परीक्षणको निरन्तरता दिने । 
एसिड आक्रमण लगायत महिला विरुद्ध हुने सबै प्रकारका हिंसा र उत्पीडनप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने ।
हिंसा पीडित महिलाका लागि मधेश, सुदूरपश्चिम र काठमाडौँ उपत्यकामा पुनर्स्थापना केन्द्र स्थापना गर्ने । 
लैंगिक हिंसा, यौन दुर्व्यवहार, बोक्सी आरोप, छाउपडी, महिनावारी विभेद, बालविवाह लगायतका कुरीति अन्त्य गर्न पारिवारिक तथा सामाजिक जागरणका कार्यक्रम सञ्चालन गर्ने । 

०८१/८२ को कार्यक्रम :
महिलामा लगानी वर्षको रूपमा मनाइने भनिएको थियो । 
छोरीहरूलाई रोजगार उन्मुख शिक्षा, सीप र उद्यमशीलताको लागि ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ नयाँ अभियानको सुरु भएको थियो । 
त्यसको लागि १० करोड छुट्टै रकम विनियोजन गरिएको थियो । 

अपाङ्गता
२०८२/८३ को कार्यक्रम :
अपाङ्गमैत्री, लैङगिक संवेदनशील र सुरक्षित एक हजार कक्षा कोठाको निर्माण गर्ने ।
सबै प्रदेशमा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाको उपचार तथा पुनर्स्थापनाका लागि सेवा सञ्चालन गर्ने ।
सडक बालबालिकामुक्त राष्ट्रिय अभियानको निरन्तरता । बेवारिसे, अभिभावकविहीन बालबालिकाको संरक्षण, पारिवारिक पुनर्मिलन, सामाजिक पुनर्स्थापना र वैकल्पिक हेरचाहको व्यवस्था गर्ने । 
लैंगिक तथा यौनिक अल्पसंख्यकलाई मर्यादित जीवनयापन गर्न सशक्तीकरण, सचेतना तथा सामाजिक अन्तर–घुलनका कार्यक्रम सञ्चालन गर्ने ।
अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण प्रणालीलाई व्यवस्थित गर्ने । सार्वजनिक सेवालाई अपाङ्गतामैत्री बनाइने । समुदायमा आधारित पुनर्स्थापना सेवा विस्तार गर्ने ।
२०८१/८२ को कार्यक्रम :
सार्वजनिक सेवा अपाङगतमैत्री बनाउने । परिचयपत्र प्राप्त परिवारको अति अशक्त अपाङ्गता वर्गमा पर्ने व्यक्तिलार्ई स्वास्थ्य बीमामा आवद्ध गर्ने । 
लैङगिक तथा अल्पसंख्यक समुदायलाई मर्यादित जीवनयापनको लागि सचेतना तथा सशक्तीकरण कार्यक्रम गर्ने ।
मुक्त कमलरी, दलित समुदाय, उपेक्षित तथा उत्पीडन वर्ग उत्थानको लागि रैथाने सीप, ज्ञान र पेशाको आधुनिकीकरण गरी रोजगार सिर्जना गर्ने । जसको लागि २० करोड व्यवस्था गरिएको थियो । 

जेष्ठ नागरिक 
२०८२/८३ को कार्यक्रम :
जेष्ठ नागरिकले वृद्धभत्ता प्राप्त गर्न ७० वर्षसम्म कुर्नुपर्ने भएको छ ।
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्दै लैजाने । उनीहरुको सामाजिक सुरक्षा तथा स्वास्थ्य उपचारको व्यवस्था गर्ने । 
अर्को, सडक मानवमुक्त अभियानमा जुटेका परोपकारी संस्थाहरूसँग सहकार्य गर्ने । 
ज्येष्ठ नागरिक, अपाङ्गता, दलित, अति विपन्न तथा अल्पसंख्यक समुदायको बीमा सुबिधाको निरन्तरता दिने । 
२०८१/८२ को कार्यक्रम :
६८ वर्षको उमेर पुगेकालार्य वृद्धभत्ताको व्यवस्था । 
संघीय अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालन गरी जेष्ठ नागरिकलाई  सहज स्वास्थ्य सेवा उपलब्ध गर्ने । 
‘हाम्रा बाआमाम, हाम्रो जिम्मेवारी’ अभियान अन्तर्गत सातै प्रदेशमा सुविधासम्पन्न वृद्धाश्रमको स्थापना गर्ने थियो । 

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ३ : १३ बजे

करण केसीको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित

काठमाडौं – करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप

फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह

गण्डकी – पोखरा पर्यटन परिषद्ले फेवातालको सीमाङ्कनका नाममा दीर्घकालीन योजनाबिना

धर्मरायो नेपालको ब्याटिङ, दीपेन्द्र पनि आउट

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको

दीर्घरोगीलाई मासिक एक हजार जीविकोपार्जन भत्ता

गुल्मी – गुल्मी छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रु एक

राजावादीले भोलि सिफल चौरमा आन्दोलन गर्ने

काठमाडौं – संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौंको सिफल चौरमा प्रदर्शन