‘चिन्ता नगरौं, यो भीडले राजा फर्काउँदैन’ « Khabarhub

‘चिन्ता नगरौं, यो भीडले राजा फर्काउँदैन’

गणतन्त्रमा हामीले तीनवटा गल्ती गर्‍यौं, अबको विकल्प– सच्चिने या सक्किने



गणतन्त्र नै सहि बाटो हो भनिरहनै परेन, यसमा हाम्रो जिन्दगीकै लाहाछाप छ । तर, गणतन्त्रमा अभ्यास गरिएका १८ वर्ष, संविधान जारी गरिएको १० वर्षमै किन प्रश्न उठ्यो त भन्ने मुख्य प्रश्न हो ।

पहिलो कुरा, यो गणतन्त्रमा प्रश्न उठ्ने बेलै भएको थिएन । व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिवद्धताका बारेमा हाम्रा बुझाइहरु चाहिँ एउटै थिएनन् होला । दोस्रो कुरा, हामीले यो गणतन्त्रलाई यस्तो विवादित बनाइदियौं कि यो ‘हर बिमार का एक बुटी दबाई’ भनजस्तै गर्‍यौं । यो (गणतन्त्र) एउटा प्लेटफर्म हो, यहाँभित्र काम गर्नुपर्छ भन्ने जिम्मेवारीवोधको कुराचाहिँ शायद हामीले कम गर्‍यौं कि ?

हामीले तिलस्मी सपनाहरु गणतन्त्र र संघीयतामा बाँड्यौं । हेरौं त त्यतिबेला के भइराखेको थियो ? राम कार्की दाइको अध्यक्ष (प्रचण्ड) लाई यस्तो आइडियल बनाएर ठ्याक्क संघीय राजधानी चितवन ! उदघाटन ! ओहो ! त्यस्तो–त्यस्तो बनाएर तिलस्मी बाँड्यौं । के त्यो सम्भव थियो ? त्यही हुँदैथ्यो ? अथवा, हामी त्यही बाटो हिँड्दै थियौं ? अथवा, त्यसका लागि हाम्रो साधन के थियो ? हाम्रो सोच के थियो ? हाम्रो मनोविज्ञान के थियो ? कार्यान्वयन गर्ने समय के थियो ? हो, हिजोका ती तिलस्मी सपना जपन गर्नेहरुले विस्तारै यो नकारात्मकता शुरु गरेको हो ।

त्यो नकारात्मकता सोसल मिडिया, मूलधारका मिडिया र भर्चुअल प्लेटफर्महरुमा गयो । त्यहाँ गइसकेपछि टीआरपी बढाउने होडबाजीमा मिडियामा त्यस्तैखालका कन्टेन्टहरु जाँदै–जाँदै आम जनतामा पुग्यो ।

सोसल साइन्समा के भनिन्छ भने के हो त आजको वास्तविकता ? साँच्चै गणतन्त्रमाथि खतरा भएको हो ? प्रश्न उठेको हो ? हर कोही सोसल साइन्टिस्टलाई सोध्दा के भन्नुहुन्छ भने आजको वास्तविकता भनेको हर मान्छेले के कुरा सोच्छन्, के कुरामा सानो ठाउँमा अन्तरक्रिया गर्छन् र त्यसबारे निष्कर्ष निकाल्छन्, त्यो नै आजको वास्तविकता हो ।

अहिले मोबाइलका विभिन्न एप्लिकेसन्सका अल्गारिदमले यस्तै कुराहरु सबैको हात–हातमा ल्याइदिएको छ अनि यही कुरामा हामी सबै लागेका छौं, गर्नुपर्ने काम धन्दा अर्कैतिर छ ।

यो पनि-

‘ज्ञानेन्द्र सिधै मैदानमा आउनुपर्‍यो, जवाफ चाहियो’

हामी कहाँ नालायक भयौं ? एउटा राष्ट्रिय सम्मेलन गरौं 

म सम्झन चाहन्छु, हामी ०५९ असोज १८ पछि दशैं आउन लागेको थियो, सम्पर्क मञ्च, अनेरास्वियु लगायतका शुभकामना आदान–प्रदानका कार्यक्रमहरु थिए । असोज १८ गते राति राजाबाट कु भयो । १९ गते अनेरास्ववियुको नेतृत्वमा कालो झण्डासहित हिँड्दा चिया खाने ठाउँकमा ८ सय जति मान्छे थिए, रत्नपार्कमा पुग्दा हामी ४०/४५ जना थियौं । त्यो डरलाग्दो अवस्था पनि त थियो नि ।

त्यो अवस्थाबाट निषेधाज्ञा, ०६२/०६३ को जनआन्दोलन, १९ दिने आन्दोलन भनेको त धेरै पछि भएको चिज हो । त्योभन्दा अगाडि प्रारम्भमा त राजाको कदमलाई असंवैधानिक भन्ने कि, कु भन्ने कि वा २०१७ सालजस्तो भन्ने कि भन्ने नै विचारधारात्मक हिसाबले अलमल थियो । त्यतिबेला सशस्त्र युद्धमा भएको माओवादी ०४७ सालको संविधान तोड्ने कुरामा राजालाई सजिलो माध्यम बनेको थियो । एकले अर्कोलाई हामीले यो ढंगले प्रयोग गर्‍यौं । ०६२/०६३ सालसम्म पुग्दाखेरि धेरै मिहेनत गर्नुपरेको थियो । त्यो मिहेनत भन्दा अगाडिका हर चिजमा हामी सबैलाई थाहा छ कि एउटा चाउचाउको बाक्सामा २५ वटा स–साना मसाल बनाएर हालेर असनको भित्र गल्तीतिर जाँदा एउटाका भागमा चारवटा पुग्थे भने हामी मान्छे कति थियौं ?

यो गणतन्त्रपछाडि हामीले गरेका तीनवटा गल्ती छन् ।

एक– हामीले समाजलाई भयंकर डी–पोटिलटिसाइज्ड (अ–राजनीतिकरण) गर्‍यौं । पपुलिजमतिर गयौं । हामीले आफ्नो आइडियोलोजिकल ग्राउण्ड (वैचारिक धरातल) सबै छोड्यौं । जब समाज डी–पोटिलटिसाइज्ड हुन्छ, मान्छेहरुलाई सहि ढंगको विचारधारात्मक काम हुँदैन, जाने बाटो यही नै थियो अनिवार्यरुपमा ।

दोस्रो– पार्टीका आजका डकुमेन्ट, घोषणापत्रहरु, तत्कालीन–दीर्घकालीन रणनीति, कार्ययोजना, कार्यभार, शक्तिहरुको विश्लेषण, तिनै डकुमेन्टहरुले हाम्रो जिन्दगीलाई मार्गनिर्देशन गर्ने होइन र भन्या ? अब त्यो डकुमेन्टको टाइटल र झण्डा र नाम मात्रै र्फेने हो, बाँकी एउटै छन् । विचारधारात्मक कामको डी–पोटिलटिसाइजेसनले हुने यही चिज थियो, यही भयो । किनभने, त्यहाँनेर तिलस्मी सपना सबैका एउटै थिए ।

हामीले बाँड्ने गफ कति गर्‍यौं ? संघीयता ल्यायौं । ए बाबै ! बाँडेर यति कुरुप बनायौं कि भ्रष्टाचार हेरौं त कति छ ? हर मान्छेलाई झुण्ड्याउनुपर्ने कन्डिसन छ । राज्यको सीमित स्रोत साधनमाथिको यो अत्यधिक दोहन नीतिगत भ्रष्टाचारदेखि तल कार्यान्वयनसम्म जाँदाको भ्रष्टाचार हेर्नुहोस् त, कस्तो डरलाग्दो छ ? अनि बाँड्ने गफ गर्ने ? मधेसमा भैंसी बाँड्ने, साइकल बाँड्ने । पहाडमा टनेल बाँड्ने टनेल बाँड्ने व्यवसायिक खेतीका लागि हो तर त्यहाँ गाईका गोठ छाइन्छ । अनि प्रतिस्पर्धा बाँड्ने छ ।

बाँड्ने स्रोत के हो ? कहाँबाट ल्याउने त ? अनि राष्ट्रवाद आउँछ फेरि । वैदेशिक लगानी ल्याउनु हुँदैन, नाफा कमाएर लान हुँदैन, ओहो यस्तो राष्ट्रवाद कि यहाँ हिमाल पग्लन शुरु गर्छ । यस्तो तालले नमिल्ने क्या हाम्रा चिज ।

आज १९ सय ६४ अर्बको बजेटका हेर्नोस न, हाम्रो आन्तरिक आम्दानी भन्ने कुरा । के बाँड्नुहन्छ ? जुन तन्त्र ल्याए पनि स्रोत यही होइन ? त्यसैमा पनि चुहावट । २१ अर्ब रुपैयाँ सांसदलाई बाँड्न निर्णय गर्दै हुनुहुन्छ, यो बाँड्ने पैसा शत प्रतिशत भ्रष्टाचार हो, म प्रमाणसहित भन्न सक्छु । यो २७५ गुण २ ले जति बाँड्दैछन्, यो भ्रष्टाचार हो ।

त्यसपछि पालिकाहरु, वडाहरुमा समानीकरणको थोरै बजेट गएको छ, त्यो ऋण, धन आम्दानी जेसुकै भए पनि त्यसको काहीँ सदुपयोग छैन । हर मान्छे आमरुपमा भ्रष्टीकरण भएको छ । अनि यो भ्रष्टीकरण भइसकेपछि जाने बाटो यही थियो ।

हिजो पनि हाम्रो पुँजी निर्माणको कुरा, उद्योग प्रवर्धनको कुरा, उत्पादनको कुरा, खपत र निर्यातको कुरामा हिजो पनि समस्या थियो, आज पनि समस्या छ । हिजो पनि पुँजीको अभाव थियो, आज पनि पुँजीको अभाव छ । त्यसैले रोजगारी सिर्जना भएन । रोजगारी सिर्जना नभएपछि मान्छे गाउँबाट शहर, शहरबाट अर्को देशमा गएका छन् । यो न्यारेटिभलाई फेरि यति डरलाग्दो गरी गणतन्त्रलाई खाने गरी हामी नेताहरुले बनाइराखेका छौं ।

मानव जातिको सभ्यताको विकास हाम्रो बसाइँ सराइबाट भएको हो भन्ने इतिहास नै कसैले पढ्दैनन् । तपाई हामी यहाँ बसेका मान्छे को रैथाने, आफ्ना बाबुआमाले जन्माएको ठाउँमा बसिराखेका छौं ? तपाई–हामीलाई शहरमा आएर अरुभन्दा चिनिने जानिने हुन मन हुने, अरु मान्छेले राम्रो पढ्न, रोजगारी गर्न जान नहुने हो र ? न्यारेटिभ त्यस्तो बनाउने हो ? मान्छे अवसरका लागि (विदेश) गएका छन् नि । स्वाभाविक किन नठान्ने उहाँहरुले ? यो डरलाग्दो अवस्थामा हामी छौं । हामीले गलत भाष्य खडा गरेका छौं ।

तपाईले ल्याएको व्यवस्था हो, त्यसैले जहाँ बस्दा पनि राजनीतिमा लागेका मान्छेहरुले त्यसको जिम्मेवारी बोक्नोस् । हिजोसम्म प्रधानमन्त्री छ, रामराज्य छ, आज खुस्कियो भने गृहयुद्ध भएको देश ! तपाईको नीतिको कार्यान्वयन आज भइरहेको छ, थाहा पाउनुपर्दैन ? नेताहरुमा जिम्मेवारीवोध भएन । गैर जिम्मेवार । पोजिसन अनुसार कुरा गर्ने ।

अर्को कुरा म के भन्छु भने दलहरुको आन्तरिक लोकतन्त्र यति कमजोर बनिदियो कि हामीमध्ये जसले यसको गफ गर्‍यौं, एउटा अध्यायमा पुगेर खुट्टा टेक्ने भएपछि, हामीले एजेण्डा क्लोज गर्‍यौं । जसको टोपी लगाएर, टोपीको छहारीमा बसेर फाइदा हुन्छ, त्यही कुरा गर्दै गयौं । हामीले आफ्नो नेतृत्वलाई (गगनजी बाहेक) हामी सबैले अर्काको दौराको फेर समात्यौं ।

म एमालेको नवौं महाधिवेशनमा भन्छु, घनश्याम दाइ यहीँ हुनुहन्छ, माधव नेपाललाई तपाईको गुटको नेता नबनाउनोस् भन्दा त्यहाँ उहाँहरुले च्यालेञ्ज महसुस गर्न सक्नुभएन । पोलिटक्समा लिडरसिपबाट एक्जिट भएका मानिसहरुलाई खोजी–खोजी ल्याएपछि हुने यही त हो । अनि त्यो मान्छे टिकिरहनका लागि पार्टीभित्र जायज–नाजायज, गुट–उपगुट पावरको प्रयोग, दुरुपयोग सबै गर्नुपरेन ? नियुक्ति गर्न पैसा ल्याओ अनि कार्यकर्तालाई खुवाओ, यही होइन ? त्यसकारण गणतन्त्र बदनाम हुनुका पछाडि यी कारणहरु थिए ।

एमालेमा खासगरी युवा पुस्ताले खुट्टा टेकिसकेपछि साथीहरुले अर्को गन्तव्य नै तय गर्नुभएन । अनि हामीले नवौं महाधिवेशन स्ववियु चुनावजस्तो लडेको हो । केपी कामरेडको प्यानल एकातिर, माधव नेपालको प्यानल अर्कातिर । त्यहाँ पनि राम्रो छैन जिन्दगी । कत्लेआम । के यही हो लोकतन्त्रको अभ्यास गर्न खोजेको ? यसैले यो व्यवस्थालाई प्रहार गरेको हो । त्यसकारण समीक्षा हामीमाथि गरौं । हाम्रा जिम्मेवारीमाथि गरौं ।

राजतन्त्र फर्कँदैन

यो भीडले राजतन्त्र ल्याइदिन्छ भन्या ? कसले भन्यो ? मेरा छोरालाई पनि विश्वास छैन । राजतन्त्र ल्याउने स्रोतहरु के हुन् ? स्रोत भनेको पुँजी हैन ? पुँजी निर्माण के ले हुन्छ ? त्यसको सामाजिक सम्बन्ध कस्तो छ ? संरचना कस्तो छ ? अनि राजा आएर बाँच्ने ठाउँ छ यहाँ ?

हाम्रा छोराछोरीले त के बुझिराखेका छन् भने ०४६ सालको जनआन्दोलन दबाउनलाई मल्लिक आयोगको प्रतिवेदनले दोषी ठहर गरेका मान्छेलाई हाम्रो डेमोक्रेटिक सरकारले कारवाही गरेन ।

उहाँहरु राजनीतिक नियुक्ति खानलाई….। नवराज सुवेदीले सबै कुरा ओकलेर यस्तो किताब लेख्नुभयो कि अहिले उहाँलाई गलपासो भएको छ । अब मेरो छोरालाई वा गगनजीको छोरीलाई हामीले भन्नै परेन कि नवराज सुवेदीलाई १४ बिघा जमिन, शहरमा दुईवटा बंगला, उनका श्रीमान्–श्रीमतीलाई सुविधासम्पन्न अस्पतालमा उपचार गर्ने यिनै नवराज सुवेदी बचाउने व्यवस्थाका लागि हामी सबै मर्दिने हो त साथीहरु ? यत्तिका लागि मर्दिने हो हामी ?

भनिसकेपछि, यो भीडले राजा ल्याउँदा पनि ल्याउँदैन, आए पनि घुम्न गएका राजा आउने हुन् आफ्नो बासस्थानमा । चिन्ता नगरौं।

राजा आउँदैनन् भन्नुको अर्थ यो व्यवस्थाभित्र जनताको समृद्धिको चाहना, सुशासनको चाहना र युवा पुस्तामा आशा जगाउने कुरामाथि तुषारापात गर्न पाइँदैन । गणतन्त्रवादी शक्तिहरु सुध्रिूनुपर्छ । सुध्रिने मात्रै होइन, सच्चिने वा सकिने दोसाँधमा हामी छौं । राजा चाहिँ सकिएकै इन्स्टिच्युसन हो, आउँछ भन्ने मलाई लाग्दैन । यस्तो सन्दर्भमा राजा संसारमा कहीँ आएकै छैन । इतिहास पढौं ।

(शनिबार पाटनढोकामा नागरिक अगुवाहरुले आयोजना गरेको ‘गणतन्त्र नै सहि बाटो’ विषयक सम्वादमा युवा नेता रामकुमारी झाँक्रीद्वारा व्यक्त विचारको सम्पादित सारांश)



प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ६ : ४७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित