जिमखानामा भेटिएको ‘राजा फर्काउने’ केटो ! | Khabarhub Khabarhub

जिमखानामा भेटिएको ‘राजा फर्काउने’ केटो !

‘राजतन्त्रमा फर्कनु सामुहिक आत्महत्याजस्तै हो’



म सधैंभरि ‘एक्सरसाइज’ गर्नुपर्ने भएकाले जंगलमा दौडिन्थें । अहिले चाहिँ पानी पर्न थालेपछि जिममा जान थालेको छु ।

जिममा मलाई सिकाउने एकजना गुरु भाइ छन् ।

उनले मलाई सोधे, ‘अंकल तपाई के काम गर्नुहुन्छ ? लाहुरे हो ?’

‘म लाहुरे हैन बाबु’ भनें ।

भरे भन्दा त ती भाइ पनि राजावादीको आन्दोलनमा जाँदोरहेछन् ।

उनले भने, ‘दिउँसो त हामी तल आन्दोलनमा, जुलुसमा जानुपर्ने छ । राजा ठीक छ । यी दलहरुले सप्पै सिध्याए ।’

उनेले सोधे,‘तपाई चाहिँ के हो अंकल ?’

मैले भनेँ, ‘म त पोलिटिसियन हो भाइ ।’

‘ए तपाई पोलिटिक्स गर्नुहुन्छ ? तपाई के हो ?’

‘म एमाले हुँ । एमालेको केन्द्रीय सदस्य हुँ ।’

उनले सोधे,‘के हो अंकल केन्द्रीय सदस्य भनेको ?’

उनी सोध्छन्, ‘तपाई ठूलो कि योगेश भट्टराई ठूलो हो ?’

योगेश भट्टराईलाई चाहिँ चिन्दोरहेछन् । मैले भनेँ, ‘योगेश भट्टराई ठूलो हो ।’

अनि उनी भन्छन्– ‘योगेश भट्टराई ठूलो हो कि मन्त्री ठूलो हो अंकल ?’

अब यस्ता–यस्ता भाइबैनाहरु जम्मा भएका होलान् नि त्यहाँ (राजावादीको जुलुसमा) ।

अनि, पछि उनले भने, ‘यो महिनाभरिमा राजा फर्किन्छ अंकल ।’

उनले जम्माजम्मी जानेको यत्ति रहेछ । महिना दिनमा राजा फर्किन्छ भन्ने जानेको रहेछ ।

मैले भनें, ‘हेर भाइ यस्तो तरिकाले हुँदैन । तिमीहरु जन्मिएका पनि थिएनौ, जन्मिएको भए पनि तिमीहरुलाई ०६२/०६३ को जनआन्दोलन थाहा छैन । यो एउटा राजा फर्किने, नफर्किने कुरा होइन, यो त व्यवस्था उल्टिने कुरा हो । व्यवस्था उल्टिनका लागि त ०६२/०६३ मा त कस्तो थियो भने रत्नपार्कमा मात्रै होइन, सबैतिर मानिसहरु थिए । अहिले त राजावादीहरु रत्नपार्क गए भने माइतीघर खाली हुन्छ, माइतीघर गए भने रत्नपार्क खाली हुन्छ । दरबारमार्ग गए भने बालुवाटार खाली हुन्छ, त्यसबेला यस्तो थिएन । त्यसबेला त काठमाडौंमा जहाँ गयो, त्यहीँ मान्छे । दार्चुला गयो त्यही पनि मान्छे । मास्टरले पढाउँदैन । कृषकले कृषि गर्दैन, कर्मचारीले काम गर्दैन । पुलिसले पनि भन्याजस्तो गर्दैन, सबै सडकमा निस्केको छ । अनि पो बल्ल व्यवस्था उल्टिन्छ । तिमीहरुको तालले उल्टिँदैन बाबु ।’

उनले आश्चार्य व्यक्त गरे, ‘अनि उल्टिन्छ भन्छन् त अंकल ? यो महिनामै उल्टिन्छ भन्छन् त ?’

हामीले नयाँ पुस्तालाई गणतन्त्र पढाएनौं

गणतन्त्रमा लागेका हामी गणतन्त्रका लागि हिँडिसकेपछि गणतन्त्र ल्याइयो तर त्यसपछि के शिक्षित गर्नुपर्ने रहेछ, के राम्रो गर्नुपर्ने रहेछ भन्ने कुरामा हामीले ध्यान दिएनौं । कमजोरी यहाँनेर भयो । हामीले फेरि त्यही कमजोरी, त्यही नराम्रो गर्न थाल्यौं ।

भ्रष्टाचारको कुरा गर्ने हो भने चाइनामा पनि भ्रष्टाचार भएको छ । कोरियामा पनि भ्रष्टाचार भइरहेको छ । अमेरिकामा पनि भ्रष्टाचार भइरहेको छ । युकेमा पनि भ्रष्टाचार हुन्छ । तर, नेपालमा मात्रै किन चर्चा चल्छ भने हाम्रो सामाजिक व्यवहार पनि अलि त्यस्तै छ ।

खास गरी ०६२/०६३ पछि हुर्केका भाइ बैनाहरुलाई हामीले के सिकायौं ? राजाका बेलामा कस्तो थियो, कति दुःख पाइन्थ्यो, उनीहरुलाई केही थाहा छैन । राजतन्त्रपछि कति परिवर्तन आयो, केही थाहा छैन । हामीले यो कुरा नगरिकन गणतन्त्र ल्याउनेहरुले पनि त्यही दललाई गाली गर्‍यौं । नल्याउनेले पनि त्यही दललाई । दृश्य नै त्यस्तो बनाइदिएपछि पार्टीहरुको यो स्थिति भयो ।

वास्तवमा हामीले पढाउने भनेको युवा पिँढीलाई हो । तर, कमजोरी नै कहाँनेर छ भने राजतन्त्रका लागि हिँडिराखेका भाइ बैनाहरुले पोलिटिक्स बुझेकै छैनन् । के गर्छौ भन्दा राजतन्त्र फर्काउँछौं । राजतन्त्र फर्केर के गर्छौ भन्दा त्यसपछि विदेश जान्छु भन्छन् । यो त हाम्रो पनि कमजोरी हो ।

दलहरुको मात्रै होइन, हामी नागरिक अगुवाहरुको पनि कमजोरी हो । हामीले आन्दोलन ल्याइदियौं, सफल पारिदियौं, त्यसपछि चुप लागेर बस्यौं । हामीले नयाँ भाइबैनाहरुलाई पढाइदिएको भए उनीहरुले बुझ्ने थिए ।

गोरेबहादुर भर्सेस महासंघ

०६२/०६३ को जनआन्दोलन चलिरहँदा आदिवासी जनजातिहरुमा एउटा दुविधा थियो । त्यतिबेला खासगरी आदिवासी जनजाति आन्दोलनको नेतृत्व राष्ट्रिय जनमुक्ति पार्टीले गरिरहेको थियो । अनि यता साझा संगठन आदिवासी जनजाति महासंघ थियो । महासंघको नेतृत्वमा म र डा. ओम गुरुङ हुनुहुन्थ्यो । त्यतिबेला राजतन्त्रविरुद्ध सात दलको आन्दोलन र गणतन्त्रका लागि नागरिक समाजको आन्दोलन चलिरहेको थियो ।

त्यसबेला हामीले आन्दोलनमा सहभागी हुनुपर्छ भन्दा जनमुक्ति पार्टीका गोरेबहादुर खपाङ्गी लगायतका नेताहरुले भन्नुहुन्थ्यो– यी दलहरु सबै बाहुनका पार्टी भए, त्यसकारण जनजाति महासंघ यो बाहुनको पार्टीमा पुच्छर बन्नुहुँदैन । उहाँहरुले हामीलाई राजतन्त्रविरोधी आन्दोलनमा नलाग्न ठूलो दबाव दिनुभएको थियो ।

अनामनगरमा भएको एउटा छलफलमा हामीले भन्यौं– जबसम्म हामी गणतन्त्र नेपालको सार्वभौम नागरिक बन्न सक्दैनौं, आदिवासी जनजातिहरुको हित कदापि हुन सक्दैन ।

त्थ्यसपछि सात दलको आन्दोलन र नागरिक समाजको आन्दोलनमा आदिवासी जनजाति महासंघ सहभागी भयो । अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने एउटा प्रमुख हिस्सेदार आदिवासी–जनजाति आन्दोलन पनि भयो ।

राजतन्त्रमा फर्कनु सामुहिक आत्महत्या

अहिले आएर राजतन्त्र नै हुनुपर्छ भन्ने सुन्दा मलाई यस्तो लाग्छ– खेती पनि गरियो, व्यापार पनि गरियो, होटेल पनि चलाइयो, अब केही हुन्न रहेछ, सँगसँगै आत्महत्या गरेर मरौं भनेजस्तै हो यो ।

गणतन्त्र ल्याइयो, सबथोक गरियो, तर केही पनि भएन अब फेरि राजतन्त्रमा फर्कौं भन्ने कुरा त होटेल गर्दा पनि हुँदैन, व्यापार गर्दाै पनि हुँदैन, केही गर्दा पनि हुँदैन, छोराछोरी हामी सप्पै…। त्यही हो ।

आदिवासीको पहिचान

आदिवासी जनजातिको हकमा भन्ने हो भने गणतन्त्र आएपछि हामी त बल्ल आदिवासी हुन पाइयो । त्यसकारणले गर्दा हामीले गणतन्त्र छाड्न हुन्न । राणाकालमा हामी मार्दा पनि हुने ‘मासिन्या जाति’ थियौं । राजाका पालामा मातेर बस्ने मतुवाली । हाम्रो पहिचान त त्यस्तो पो थियो । अनि भुँसतिघ्रे, स्वाँठे । यो अहिलेको गणतन्त्रले भन्या हो र ? यो त राजाको बेला भनियो ।

प्रजातन्त्र आएपछि बल्ल कांग्रेस र एमालेको सरकारले शेरबहादुर देउवाका पालामा राष्ट्रिय आदिवासी उत्थान प्रतिष्ठान ऐन आयो । त्यसभन्दा अगाडिसम्म आदिवासी जनजातिलाई पहिचान दिएको त भुँसतिघ्रे, स्वाँठे खर्पने, मासिन्या , मतवाली आदिबाट आदिवासी जनजातिको पहिचान दिएको त गणतन्त्रले हो । लोकतन्त्रले हो । राजाले दिएको होइन ।

यो पनि-

‘ज्ञानेन्द्र सिधै मैदानमा आउनुपर्‍यो, जवाफ चाहियो’

हामी कहाँ नालायक भयौं ? एउटा राष्ट्रिय सम्मेलन गरौं 

‘चिन्ता नगरौं, यो भीडले राजा फर्काउँदैन’

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ८ : ३९ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का