काठमाडौं— नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कम्युनिष्ट आन्दोलनबारे कडा टिप्पणी गरेका छन्।
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुनै सन्दर्भमा कुराकानी भइरहेको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै डा. भट्टराईले कम्युनिष्ट नेताहरूको प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएका छन्।
उनले चर्चित भनाइ ‘वी लर्न फ्रम हिस्ट्री द्याट वी डु नट लर्न फ्रम हिस्ट्री’, अर्थात् ‘हामी इतिहासबाट यो सिक्छौँ कि हामी इतिहासबाट केही सिक्दैनौँ’ भनाइ नेपाली कम्युनिष्ट आन्दोलनमा हुबहु लागू हुने बताए । उनले विगतका जनआन्दोलन र जनयुद्धका उपलब्धिहरू माओवादीको चरम पतनका रूपमा परिणत भइसकेको पनि बताए ।
भट्टराईले झापा विद्रोहदेखि जनयुद्धसम्मको आधारमा बनेको कम्युनिष्ट आन्दोलन आज बिस्तारै सोभियत युनियनको ब्रेजनेभकालीन ‘गतिहीन युग’ (ईरा अफ स्टाजेनेशन) जस्तै दिशाहीन हुँदै गएको बताएका छन् । ‘गफ चाहिँ साम्यवाद आउँछ भन्दै मिति तोकिन्छ, तर व्यवहारमा न कुनै वैचारिक प्रस्टता छ, न नीति र कार्यान्वयनमा गुणात्मक रूपान्तरण’, उनले भनेका छन् ।
भट्टराईले नेपाली कम्युनिष्ट पार्टीहरूमा आलोचना सहन नसक्ने प्रवृत्ति हाबी रहेको भन्दै त्यसलाई स्टालिनकालीन ‘महान आतंक’ (ग्रेट ट्रेल/टेरर) सँग तुलना गरे। ‘नेता र कार्यकर्तालाई राजनीतिक रूपमा सफाया गर्ने, आरोप लगाएर पार्टी र सत्ताबाट हटाउने प्रवृत्तिले अहिले पनि जरा गाडिरहेको छ,’ उनले भनेका छन् ।
भट्टराईले विगतमा स्टालिनले लेनिनपछिका आफ्ना समकक्षीहरू ट्रोट्स्की, जेनोभिभ, कामेनेभ, बुखारिनजस्ता नेताहरूलाई कसरी हटाए र मारे भन्ने इतिहासलाई पनि स्मरण गराए। अहिले नेपालमा पनि आलोचक नेताहरूलाई ‘भौतिक रूपमा नभए पनि’ सांगठनिक र राजनीतिक रूपमा हटाउने प्रयास भइरहेको उनले उल्लेख गरेका छन्।
भट्टराईले भावनामा बगेर ‘सुप्रिमो’ प्रचण्डको जयजयकार गर्ने कार्यकर्ताहरूमाथि पनि प्रश्न उठाएका छन्। ‘पहिले अर्को नेतालाई ठोक्दा ताली पिट्ने, पछि आफ्नै पालो आउँदा आँसु झार्ने’, उनले भनेका छन । कार्यकर्ताहरूले अब इतिहासबाट पाठ सिक्नुपर्ने बेला आएको उनको भनाइ छ।
उनले अब समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको वैकल्पिक बाटो खोज्न र निर्माण गर्न साहस गर्नुपर्ने पनि बताएका छन् ।
डा. भट्टराईको यो टिप्पणी सत्तारुढ कम्युनिष्ट नेताहरूको घनिष्ठता र पार्टीभित्रको आलोचना असहिष्णुतालाई लक्षित गरी आएको हो ।
प्रतिक्रिया