घट्दै कोदोखेती, बाझिँदै बारी « Khabarhub

घट्दै कोदोखेती, बाझिँदै बारी


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तानसेन– एक दश अघिसम्म यहाँका ग्रामीण भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो । बारीमा कोदो राम्रै उब्जनी हुन्थ्यो । तर अहिले गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल पर्न थालेको छ ।

ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले बाँझिँदै गएका छन् । कोदोको महत्त्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ । 

दश वर्ष अघिसम्म यहाँको बगनासकाली गाउँपालिका खानीगाउँका कमल गैरेको बारीमा झण्डै तीन मुरी कोदो फल्थ्यो । काम गर्ने समस्या भएपछि पछिल्ला वर्षमा कोदो लगाउन उनले छाडेका छन् । 

गैरेले कोदोखेती गर्दै आएको जग्गा वनमारा र बोकेझारले भरिएको छ । छोराहरू जागिरको सिलसिलामा सहरमा भएकाले घरमा काम गर्ने कोही नभएको गैरेले बताए । 

रैनादेवी छहराका मानबहादुर कार्की पनि धेरै कोदो उत्पादन गर्ने किसान हुन् । तर उनले पनि पछिल्लो वर्षमा लगाउन छाडेका छन् । 

केही वर्ष अघिसम्म पनि बगनासकाली, रैनादेवी छहरालगायत जिल्लाका अन्य किसानको मुख्य बाली कोदो थियो । युवाहरू विदेश र सहरतिर, गाउँमा  बूढाबुढी र केटाकेटी मात्र हुँदा पनि खेती गर्नेको सङ्ख्या हरेक वर्ष घट्दो छ । 

अर्कोतर्फ यस्ता रैथानेबाली प्रवद्र्धनमा सरकारी अनुदान नहुँदा पनि किसानको आकर्षण हुन सकेको छैन । स्थानीय, प्रदेश र सङ्घीय सरकारले रैथानेबाली प्रवर्द्धन गर्न भन्दै कार्यक्रम ल्याए पनि कागजमै सीमित हुँदा जिल्लामा कोदोखेती विस्तार हुन सकेको छैन ।

यहाँको दुई वर्षको तथ्याङ्क हेर्ने हो भने पनि कोदोखेती गर्ने क्षेत्रफल घट्दै गएको पाइन्छ । यहाँ आर्थिक वर्ष २०८०/८१ मा दुई हजार तीन सय ६३ हेक्टर क्षेत्रफलमा कोदोखेती भएको थियो । 

जुन आर्थिक वर्ष २०८१/८२ मा आएर दुई हजार तीन सय ४९ हेक्टर क्षेत्रफलमा झरेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सुरज पाण्डेयले बताए । 

उनका अनुसार किसान सुन्तला जातका फलफूलतर्फ आकर्षित हुँदै गएपछि कोदो खेती हुने क्षेत्रफल घट्दै गएको हो ।

कोदो हुने बारीमा अहिले फलफूल लगाउने गरिएको छ । क्षेत्रफल घट्दै गए पनि उत्पादनमा भने वृद्धि हुने गरेको प्राविधिक पाण्डेयले बताए ।

जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा तीन हजार एक सय एक दशमलव ४२ मेट्रिक टन कोदो उत्पादन भएकोमा २०८१/८२ मा आएर तीन हजार एक सय २४ दशमलव १७ मेट्रिक टन उत्पादन भएको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ० दशमलव ७३ प्रतिशतले उत्पादनमा वृद्धि भएको प्राविधिक पाण्डेयले बताए । 

उनका अनुसार अघिल्लो वर्ष एक दशमलव ३१ मेट्रिक टनप्रति हेक्टर र गत वर्ष एक दशमलव ३३ मेट्रिक टनप्रति हेक्टर उत्पादकत्व भएको हो ।

कोदोखेती गर्ने केही किसानले प्राविधिक ज्ञान हासिल गरेकै कारण उत्पादनमा वृद्धि भएको प्राविधिक पाण्डेयको भनाइ छ । 

विशेष गरी जिल्लाका निस्दी, पूर्वखोला, बगनासकाली, रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिकाका विभिन्न ठाउँमा कोदोखेती हुने गरेको छ ।

परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रूपमा लगाइने कोदो प्रायः जसो जिल्लाका सबै गाउँ बस्तीमा हुन्थ्यो तर आजभोलि सबै हराए । 

खाद्यान्नका लागि आटो, ढिँडो, रोटीका रूपमा प्रयोग गरिन्थ्यो तर आजभोलि त्यही कोदोलाई मदिरा बनाउन प्रयोग गरेका कारण बीउ नै हराउने अवस्थामा पुगेको छ । 

पछिल्ला वर्षमा कोदोखेती हराउँदै जान थालेपछि सरकारले राष्ट्रिय कोदो दिवस मनाउन थालेको छ । गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेसँगै आज दिवस मनाइँदै छ । रासस

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ०७ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल