तानसेन– एक दश अघिसम्म यहाँका ग्रामीण भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो । बारीमा कोदो राम्रै उब्जनी हुन्थ्यो । तर अहिले गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल पर्न थालेको छ ।
ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले बाँझिँदै गएका छन् । कोदोको महत्त्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ ।
दश वर्ष अघिसम्म यहाँको बगनासकाली गाउँपालिका खानीगाउँका कमल गैरेको बारीमा झण्डै तीन मुरी कोदो फल्थ्यो । काम गर्ने समस्या भएपछि पछिल्ला वर्षमा कोदो लगाउन उनले छाडेका छन् ।
गैरेले कोदोखेती गर्दै आएको जग्गा वनमारा र बोकेझारले भरिएको छ । छोराहरू जागिरको सिलसिलामा सहरमा भएकाले घरमा काम गर्ने कोही नभएको गैरेले बताए ।
रैनादेवी छहराका मानबहादुर कार्की पनि धेरै कोदो उत्पादन गर्ने किसान हुन् । तर उनले पनि पछिल्लो वर्षमा लगाउन छाडेका छन् ।
केही वर्ष अघिसम्म पनि बगनासकाली, रैनादेवी छहरालगायत जिल्लाका अन्य किसानको मुख्य बाली कोदो थियो । युवाहरू विदेश र सहरतिर, गाउँमा बूढाबुढी र केटाकेटी मात्र हुँदा पनि खेती गर्नेको सङ्ख्या हरेक वर्ष घट्दो छ ।
अर्कोतर्फ यस्ता रैथानेबाली प्रवद्र्धनमा सरकारी अनुदान नहुँदा पनि किसानको आकर्षण हुन सकेको छैन । स्थानीय, प्रदेश र सङ्घीय सरकारले रैथानेबाली प्रवर्द्धन गर्न भन्दै कार्यक्रम ल्याए पनि कागजमै सीमित हुँदा जिल्लामा कोदोखेती विस्तार हुन सकेको छैन ।
यहाँको दुई वर्षको तथ्याङ्क हेर्ने हो भने पनि कोदोखेती गर्ने क्षेत्रफल घट्दै गएको पाइन्छ । यहाँ आर्थिक वर्ष २०८०/८१ मा दुई हजार तीन सय ६३ हेक्टर क्षेत्रफलमा कोदोखेती भएको थियो ।
जुन आर्थिक वर्ष २०८१/८२ मा आएर दुई हजार तीन सय ४९ हेक्टर क्षेत्रफलमा झरेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सुरज पाण्डेयले बताए ।
उनका अनुसार किसान सुन्तला जातका फलफूलतर्फ आकर्षित हुँदै गएपछि कोदो खेती हुने क्षेत्रफल घट्दै गएको हो ।
कोदो हुने बारीमा अहिले फलफूल लगाउने गरिएको छ । क्षेत्रफल घट्दै गए पनि उत्पादनमा भने वृद्धि हुने गरेको प्राविधिक पाण्डेयले बताए ।
जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा तीन हजार एक सय एक दशमलव ४२ मेट्रिक टन कोदो उत्पादन भएकोमा २०८१/८२ मा आएर तीन हजार एक सय २४ दशमलव १७ मेट्रिक टन उत्पादन भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ० दशमलव ७३ प्रतिशतले उत्पादनमा वृद्धि भएको प्राविधिक पाण्डेयले बताए ।
उनका अनुसार अघिल्लो वर्ष एक दशमलव ३१ मेट्रिक टनप्रति हेक्टर र गत वर्ष एक दशमलव ३३ मेट्रिक टनप्रति हेक्टर उत्पादकत्व भएको हो ।
कोदोखेती गर्ने केही किसानले प्राविधिक ज्ञान हासिल गरेकै कारण उत्पादनमा वृद्धि भएको प्राविधिक पाण्डेयको भनाइ छ ।
विशेष गरी जिल्लाका निस्दी, पूर्वखोला, बगनासकाली, रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिकाका विभिन्न ठाउँमा कोदोखेती हुने गरेको छ ।
परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रूपमा लगाइने कोदो प्रायः जसो जिल्लाका सबै गाउँ बस्तीमा हुन्थ्यो तर आजभोलि सबै हराए ।
खाद्यान्नका लागि आटो, ढिँडो, रोटीका रूपमा प्रयोग गरिन्थ्यो तर आजभोलि त्यही कोदोलाई मदिरा बनाउन प्रयोग गरेका कारण बीउ नै हराउने अवस्थामा पुगेको छ ।
पछिल्ला वर्षमा कोदोखेती हराउँदै जान थालेपछि सरकारले राष्ट्रिय कोदो दिवस मनाउन थालेको छ । गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेसँगै आज दिवस मनाइँदै छ । रासस
प्रतिक्रिया