काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको छ । विधान महाधिवेशनको तयारी पूरा गर्न निर्देशन दिएर एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएका छन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दोस्रो विधान महाधिवेशनका लागि भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हल बुकिङ भइसकेको छ ।
‘हल बुकिङ भइसकेको छ । विधान महाधिवेशनमा हुने प्रस्तावना र दस्तावेज छपाइको काम भइरहेको छ’, गौतमले खबरहबलाई भने, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलेसम्पूर्ण तयारी पूरा गर्नु भनेर निर्देशन दिएर चीन जानुभएको छ ।’
एमालेको विधान महाधिवेशनमा २१ सय २५ प्रतिनिधि र २६४ आयोजक कमिटी सहभागी हुने बताइएको छ । एमालेले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि हुने भनिएको छ । तर दसौँ राष्ट्रिय महाधिवेशनपछि थपिएका विभागका प्रतिनिधि र केन्द्रीय सदस्यलाई भने प्रतिनिधि नबनाई बैठकमा सहभागी गराउने सहमति भएको एमाले सचिव पद्मा अर्याल बताउँछिन्।
उनले भनिन, ‘दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुन् । त्यसपछि थपिएका र विभागको जिम्मेवारी पाएका व्यक्तिहरू विधान महाधिवेशनको प्रतिनिधि हुन पाउनुहुन्न । उहाँहरू आयोजकको हैसियतमा रहनुहुनेछ।’
एमालेले २०७८ मा चितवनमा भएको १० औँ राष्ट्रिय महाधिवेशनपछि विधान महाधिवेशन गर्न लागेको हो ।
अर्यालका अनुसार विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावनाहरू तयार भइसकेको सचिवालयमा जानकारी आएको छ । हाम्रो मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरेका छौँ । प्रधानमन्त्रीज्यू १८ गते बेलुका काठमाडौं उत्रनु हुन्छ,’ अर्यालले खबर हबसँग भनिन, ‘त्यसपछि सम्भवतः १९ गते पार्टी सचिवालय बैठक बसेर अन्तिम तयारीको टुङ्गो लाग्नेछ ।’
अर्यालका अनुसार विधान महाधिवेशन अगाडि केन्द्रीय कमिटी बैठक नबसी सचिवालय बैठक मात्र बस्ने छ । सचिवालय बैठकमा नै अध्यक्ष लगायतले विभिन्न प्रतिवेदनलाई अन्तिम रूप दिने छन् ।
कुन–कुन प्रतिवेदन पेस हुन्छन् ?
एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रतिवेदन प्रस्तुत हुने छन् । यीबाहेक निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्को दस्तावेज पनि प्रस्तुत हुने बताइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गर्ने छन् ।
विष्णु पौडेलले प्रस्तुत गर्ने विधान संशोधन प्रस्तावमा भने एमाले अध्यक्ष ओलीले यसअगाडि नै धेरै विषय सच्याउन लगाएका थिए । पौडेलले प्रस्तुत गर्ने प्रतिवेनमाथि ओलीले कडिकडाउ गरेर जाँचेको नेताहरू बताउँछन् ।
उनले उक्त प्रस्तावमा सचिवालयका पदाधिकारी घटाउने, ११ औं महाधिवेशन र नेतृत्व परिवर्तनको विषयलाई गम्भीरतापूर्वक हेरेका थिए । उनले उमेर हद लागू नहुने व्यहोरा पनि राख्न लगाएको नेताहरू बताउँछन् । तर विधान संशोधन प्रस्ताव कस्तो आउँछ हेर्न बाँकी छ ।
यस्तै ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा वर्तमान कांग्रेस एमाले गठबन्धन सफल भएको दस्तावेज बताइएको छ । एमालेका एकजना शीर्ष नेताका अनुसार ओलीको राजनीतिक प्रतिवेदनमा वर्तमान गठबन्धन बनेपछि देशले विकासको गति लिएको दाबी गरिएको छ ।
यस्तै, नेपालका सिमानाको संरक्षण र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्न पनि यो गठबन्धन सफल भएको राजनीतिक प्रतिवेदनमा समेटिएको ओलीनिकट नेताको भनाइ छ । ओलीले आफू कुनै हिसाबले कमजोर नदेखिने गरी प्रतिवेदन बनाउन लगाएको एमाले नेताहरूले बताइरहेका छन् ।
केन्द्रीय कमिटीले पास गर्ने
एमाले नेताहरूका अनुसार सबै प्रतिवेदन केन्द्रीय कमिटीको बैठकले भदौ १९ मा पास गर्नेछ । त्यसपछि विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
नेताहरूका अनुसार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, लगायतका नेताहरूले फरक मत राख्ने तयारी गरेका छन् । तर यसबारे उनीहरू औपचारिक रूपमा बोलेका छैनन् । सोमबार अनामनगरमा भएको एक अन्तरसंवाद कार्यक्रममा उपाध्यक्ष पाण्डेले फरक मत लैजाने संकेत गरे ।
विद्या पक्षको फरक दस्तावेज
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने घोषणाले तरङ्ग छाएको छ । यद्यपि एमाले अध्यक्ष ओलीले उनलाई साउन ५-६ को नवौँ केन्द्रीय कमिटी बैठकबाट उनलाई रोकिसकेका छन् ।
अध्यक्ष ओलीले भण्डारीको नवीकरण भइसकेको सदस्यता रोकेको स्थितिमा एमालेकी पूर्वउपाध्यक्ष भण्डारी देश दौडाहामा छिन् । यति मात्रै होइन, वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली लगायतका नेताहरू फरक दस्तावेजमा काम गरिरहेका छन् ।
‘प्रतिवेदन तयार भएको बुझेका छौँ । पूर्वराष्ट्रपतिलाई रोकेको विषय, सरकारको काम, पार्टी नेतृत्वको व्यवहार लगायतमा असन्तुष्टि जनाउँदै प्रतिवेदन तयार भएको छ’, एमालेका एक नेताले खबरहबलाई भने, ‘प्रतिवेदन प्रस्तुत गर्नुहुन्छ या रोकिन्छ त्यो थाहा छैन । तर प्रतिवेदन तयार भएको जानकारी हामीलाई दिइएको छ ।’
हुन त सोमबार ‘नेकपा एमालेको लोकतान्त्रिकरण’ विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पाण्डेले उमेर सीमा र कार्यकालसम्बन्धी प्रावधानलाई प्राविधिक तर आवश्यक विषयका रूपमा प्रस्तुत गर्दै आगामी महाधिवेशनमा यसबारे छलफल हुने बताएका छन् ।
पाण्डेले पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन संविधानले नरोकेको बताउँदै राजनीतिमा फर्काउने बताए । सबै घटनाक्रम हेर्दा भण्डारी समूहका नेताले फरक दस्तावेज लैजाने तयारी गरेको देखिन्छ ।
एमाले शीर्ष नेताहरू पनि कुनै नाटकीय परिवर्तन नभए भण्डारी पक्षका नेताहरूले विधान महाधिवेशनमा फरक प्रस्ताव लैजाने बताउँछन् । यता एमाले केन्द्रीय कार्यालय च्यासलको ढोका बन्द भएपछि थापा गाउँमा आफ्नो छुट्टै सम्पर्क कार्यालय स्थापना गरेर देश दौडाहामा रहेकी भण्डारीलाई फरक मत प्रस्तुत गर्न उक्साइरहेको एमाले नेताहरू बताउँछन् ।
हुन त चितवनमा भएको १० औँ महाधिवेशनमा अध्यक्ष ओली विरुद्ध उम्मेदवारी दिएका डा. भीम रावललाई ओलीले पार्टीमा भूमिकाविहीन बनाएपछि अहिले उनी पार्टीबाट बाहिर पुगेका छन् । यस्तै त्रासमा भण्डारी पक्षका नेताहरू परेमा फरक प्रस्ताव पेस नहुने एमालेका एक नेता बताउँछन् ।
यसबारे प्रश्न गर्दा वरिष्ठ उपाध्यक्ष पोखरेलले बोल्न चाहेनन् । उनले पछिल्लो समय फरक मत लैजाने कुराबाट पनि खुट्टा झिकेको चर्चा एमाले वृत्तमा चलिरहेको छ। यो अवस्थामा उपाध्यक्ष पाण्डेले फरक मत पेश गर्ने सम्भावना छ ।
उता एमाले प्रचार विभाग प्रमुख गौतम भने बाहिर आएका कुराहरू सबै हल्ला भएको बताए । उनले विधान महाधिवेशनमा सबै नेताहरू एक स्वर र एकतावद्ध हुने दाबी गरेका छन् ।
प्रतिक्रिया