थियान्चिन (चीन)- प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीयतालाई समयको अपरिहार्य आवश्यकता बताउँदै यसलाई सुदृढ र परिणाममुखी बनाउन शक्ति राष्ट्ररूलाई आह्वान गरेका छन्।
चीनको थियान्चिनमा आयोजित ‘साङ्घाई सहयोग संगठन (एससीओ) प्लस बैठक’मा सोमबार सम्बोधन गर्दै उनले बहुपक्षीय प्रणालीले धेरै वाचा गर्ने तर कम उपलब्धि दिने प्रवृत्ति विश्वास खस्किने कारण बनेको बताए।
‘बहुपक्षीयता संकटमा छ। तर यसलाई त्याग्नु समाधान होइन, अझै प्रभावकारी र समावेशी बनाउनै पर्छ,’ ओलीले भने। उनले संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर वैश्विक शासन प्रणालीलाई न्यायपूर्ण र दिगो बनाउन जोड दिए।
प्रधानमन्त्री ओलीले चीनको ‘ग्लोबल गभर्नेन्स इनिसिएटिभ’ (जीजीआई) लाई बहुपक्षीयतालाई मजबुत बनाउन सहयोगी हुने उल्लेख गर्दै एससीओलाई अझ एकताबद्ध, समन्वित र लचिलो बनाउनुपर्नेमा जोड दिए।
नेपाल २०१६ देखि एससीओको संवाद साझेदार रहँदै आएको र अब पूर्ण सदस्यता पाउने आकांक्षा रहेको उनले स्पष्ट पारे।
सम्बोधनमा ओलीले जलवायु परिवर्तन, आतंकवाद, साइबर आक्रमण, महामारीलगायत क्षेत्रीय र विश्वव्यापी चुनौतीबारे ध्यानाकर्षण गराउँदै साझा समस्याका समाधानका लागि सहकार्य अनिवार्य रहेको बताए।
‘विभाजनबाट एकतातर्फ, द्वन्द्वबाट परामर्शतर्फ र प्रतिस्पर्धाबाट सहकार्यतर्फको रुपान्तरण अपरिहार्य छ’, उनले सम्बोधनका क्रममा भने।
प्रधानमन्त्री ओलीको सम्बोधनको सार
महोदय राष्ट्रपति सी चिनफिङ,
यस बैठकका अध्यक्ष तथा चिनियाँ जनगणतन्त्रका राष्ट्रपति,
माननीय राष्ट्रप्रमुख तथा सरकार प्रमुख महानुभावहरू,
प्रतिष्ठित प्रतिनिधिहरू,
महिला तथा सज्जनहरू,
थियान्चिन-सुन्दरता, संस्कृतिको गहिराइ र नवप्रवर्तनले सधैँ उज्यालो यो सहरमा, एससीओ प्लस बैठकलाई सम्बोधन गर्न पाउनु मेरा लागि ठूलो सम्मान हो।
यस बैठकको सफलताका साथै सबै सदस्य राष्ट्रहरूको निरन्तर प्रगति र समृद्धिका लागि म नेपाली जनताको तर्फबाट हार्दिक शुभकामना र बधाई प्रकट गर्न चाहन्छु।
बैठकका लागि उत्कृष्ट आतिथ्य र व्यवस्थापनका लागि चिनियाँ सरकारलाई म आफ्नो प्रतिनिधिमण्डलसहित हार्दिक धन्यवाद दिन चाहन्छु।
महोदयहरू,
हामी विज्ञान, प्रविधि र नवप्रवर्तनमा असाधारण प्रगतिसहितको युगमा बाँचिरहेका छौँ।
तर यो प्रगतिमाथि गहिरा विभाजनहरू-असमानताको बढ्दो खाडल, आर्थिक अस्थिरता, जलवायु सङ्कट, र सीमापारका द्वन्द्वहरूले छायाँमा पारेको छ।
यस्तो विश्वमा कुनै राष्ट्र एक्लै सुरक्षित रहन सक्दैन। कुनै जनता टुक्रावमा समृद्ध हुन सक्दैन।
यही कारण हो-बहुपक्षीयता हाम्रो समयको अपरिहार्यता हो।
तर हामीलाई एउटा कठोर सत्य स्वीकार्नैपर्छ।
नियममा आधारित विश्वव्यवस्था चुनौतीमा छ। शान्ति र न्याय अझै अधुरै छन्।
यसैले बहुपक्षीयता सङ्कटमा छ।
यो सङ्कट बाहिरी कारण मात्र होइन,
यसले आफ्ना वाचा पूरा गर्न नसकेको असफलताबाट पनि आएको हो।
बहुपक्षीय मञ्चहरूले धेरै वाचा गर्छन्, तर धेरैपटक अलिकति मात्र उपलब्धि दिन्छन्।
प्रगतिबिना वाचा र विश्वास हराउँछ।
तर बहुपक्षीयतालाई त्याग्नु विकल्प होइन।
हामीलाई अझ सशक्त बहुपक्षीयताको आवश्यकता छ।
संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राख्दै वैश्विक शासन प्रणालीलाई अझ प्रभावकारी र दक्ष बनाउनुपर्छ।
यस सन्दर्भमा, चिनियाँ ग्लोबल गभर्नेन्स इनिसिएटिभ (जीजीआई) ले बहुपक्षीय प्रणालीलाई अझ न्यायपूर्ण, समावेशी र समानतामूलक बनाउन मद्दत गर्नेछ-मानवजातिको साझा भविष्यका लागि।
साङ्घाई सहयोग संगठनले पनि यही नयाँ बहुपक्षीय भावनालाई सम्प्रभु समानतामाथि आधारित भएर थप सबल बनाउनेछ।
त्यसैले आजको आवश्यकता छ-पुनर्जीवित एससीओ को:
– अझ एकताबद्ध,
– अझ एकीकृत, र
– अझ लचिलो, ताकि गहिरिँदै गएका भू-राजनीतिक, आर्थिक र पारिस्थितिकीय चुनौतीहरूसँग हामी सामूहिक रूपमा जुध्न सकौँ।
नेपाल, सन् २०१६ देखि गर्वका साथ संवाद साझेदार रहँदै आएको, अब पूर्ण सदस्य बन्ने आशा गर्दछ।
महोदयहरू,
हामी शान्तिबारे कुरा गर्न सक्दैनौं, जबसम्म क्षेत्रीय सुरक्षाबारे पनि कुरा गर्दैनौं।
खतरा हरेक दिन सीमापार आउँछन्।
आतंकवादले समाजबाट सुरक्षासँगै अवसर पनि खोस्छ।
जलवायु परिवर्तनले जोखिमलाई गुणा गर्छ।
हिमालय मुटुमा बोकेको नेपालले यसका प्रत्यक्ष असर भोगिरहेको छ।
हाम्रो हिमालले विश्वको जलवायु सन्तुलन कायम राख्छ, तर अहिले यसका हिमढुक्क हराउँदैछन्, जसले तलतिर बस्ने अर्बौं जनताको जीवन जोखिममा पारेको छ।
साइबर आक्रमण, महामारी, पारिस्थितिकीय झटका जस्ता नयाँ खतराहरू सीमामा थुनिएका छैनन्।
दिगो विकास लक्ष्य (एसडीजीएस) पूरा गर्न बाँकी पाँच वर्ष मात्र हुँदा पनि हामी स्पष्ट रूपमा मार्गमै छैनौँ।
महोदय अध्यक्ष, माननीयहरू,
यस्तो अशान्त समयमा क्षेत्रीय सहकार्य नै साझा चुनौतीहरू (आर्थिक, प्राविधिक, पारिस्थितिक) लाई सम्बोधन गर्ने उपाय हो।
क्षेत्रीय सहकार्यप्रति नेपालको प्रतिबद्धता दृढ छ, र हाम्रो सम्बन्ध एससीओ सदस्यहरूसँग प्रगाढ छ।
महोदयहरू,
अबको बाटो तीनवटा रूपान्तरण माग्छः
पहिलो, एक्लोपनबाट सम्पर्कतर्फ।
हामीले भौतिक, आर्थिक, डिजिटल, सामाजिक–सांस्कृतिक र जन–जनबीचको सम्पर्क बढाएर क्षेत्रीय शान्ति, प्रगति र समृद्धि निर्माण गर्नुपर्छ।
दोस्रो, टकरावबाट परामर्शतर्फ।
मतभेद स्वाभाविक छन्, तर विवाद विनाशकारी हुनुपर्दैन।
सांङ्घाई आत्मालाई आत्मसात गर्दै हामीले संवाद र कूटनीति बढाउनुपर्छ, जसले गहिरो समझदारीलाई पोषण गर्छ।
तेस्रो, प्रतिस्पर्धाबाट सहकार्यतर्फ।
आजको विश्वलाई विभाजन होइन, साझेदारी चाहिएको छ।
क्षेत्रीय र वैश्विक रूपमा मिलेर काम गर्दा मात्र हामी न्यायपूर्ण, समावेशी र लचिलो प्रणाली बनाउन सक्छौं र दिगो विकास हासिल गर्न सक्छौं।
यस्तो ‘सम्पूर्ण विश्वव्यापी समन्वय’ ले कुनै पनि राष्ट्रलाई पछि नपार्ने सुनिश्चित गर्नेछ।
महोदय अध्यक्ष,
अन्त्यमा, नेपालले एससीओ भित्र क्षेत्रीय सहकार्य प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्दछ।
हामी नियममा आधारित, समावेशी बहुपक्षीय प्रणालीलाई समर्थन गर्दछौं—दिगो भविष्यका लागि।
आउनुहोस्, हामी साङ्घाई आत्मालाई जीवन्त बनाऔं।
मैत्री, साझेदारी र असल छिमेकी सम्बन्धलाई सबल बनाऔं।
यदि हामीसँगै अघि बढ्ने दृढ संकल्प गर्छौं भने, लचिलो र समृद्ध एससीओ क्षेत्र हाम्रो पहुँचमै छ।
धन्यवाद !
प्रतिक्रिया