त्रिपक्षीय छलफलले निर्वाचनका लागि वातावरण बनाएको छ : नेताहरू | Khabarhub Khabarhub

त्रिपक्षीय छलफलले निर्वाचनका लागि वातावरण बनाएको छ : नेताहरू


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजनीतिक दलका नेताहरूले सरकार, जेन-जी र राजनीतिक दलबीचको त्रिपक्षीय संवादको थालनीले राज्यको प्राथमिकतामा रहेको निर्वाचनका लागि सकारात्मक वातावरण सिर्जना गरेको प्रतिक्रिया दिएका छन्।

उनीहरूले गत भदौ २३ र २४ को जेन-जी समूहको आह्वानमा भएको आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण संवादहीनताको अवस्था सिर्जना गरेकामा पछिल्लो त्रिपक्षीय छलफलबाट विश्वासको वातावरण कायम भई निर्वाचनमा जाने विषयमा अलिखित सहमति जस्तै भएको प्रतिक्रिया दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता माधव सापकोटाले भने, ‘त्रिपक्षीय छलफलपछि सहमत हुनसक्ने विषयमा समान धारणा बनाएर चुनावमा जानुको विकल्प छैन भन्नेमा अलिखित समझदारी जस्तै भएको छ । जेन-जी अभियन्ताहरूले संसद् पुनःस्थापना होइन, चुनावका लागि तयार हुनुस् भन्नुभएको छ ।’

छलफलमा जेन-जी समूहबाट भएको राम्रो तयारी, मर्यादित भाषाको प्रयोग, विषयवस्तुमाथिको अनुभव र जिम्मेवार प्रस्तुतिले पनि निर्वाचनमा सहमति कायम गर्न सहज तुल्याएको प्रतिक्रिया दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त त्रिपक्षीय छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले सरकार चुनावमा केन्द्रित छलफल र गृहकार्यमा लागिसकेकाले यस सन्दर्भमा आउने समस्या फुकाउने कार्य भइरहेको जानकारी गराएका थिइन् ।

त्रिपक्षीय छलफल र त्यसपछि विकसित परिस्थितिका विषयमा अघिल्लो सङ्घीय संसद् प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग राससले गरेको कुराकानीको सम्पादित अंश 

लोकतन्त्रका लागि योगदान गरेको एमाले निर्वाचनबाट भाग्दैन : नेता महेशकुमार बर्तौला

वर्तमान सरकारको आगामी  कार्यादेश आगामी फागुन २१ का लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन हो । त्यसका लागि सरकारबाट निर्वाचनको मुख्य सरोकार पक्ष राजनीतिक दलले भाग लिने वातावरण र शान्ति सुरक्षाको प्रतिबद्धता दिलाउनुपर्छ । 

मुलुकलाई लोकतान्त्रिक मार्गमा ल्याउने एउटा मात्रै मार्ग र विकल्प भनेको निर्वाचन नै हो । त्यो अनुसार सरकारका गतिविधि र भूमिका हुनुपर्छ । सरकारले निर्वाचनका लागि अझै धेरै मेहनत गर्नुपर्छ । मुलुकमा राजनीतिक परिवर्तन र लोकतन्त्रका लागि ठूलो योगदान पुर्‍याउँदै आएको एमाले निर्वाचनबाट भाग्दैन । 

जनताकाबीच परीक्षित हुने कुरालाई स्वीकार गर्छ । हामी निर्वाचनमा सहभागी हुन्छौ, तर त्यसअघि शान्ति–सुरक्षासहित भयरहित निर्वाचनको सुनिश्चिता हुनुपर्छ । मतदाताले मत खसाल्ने, उम्मेदवारले आफ्नो उम्मेदवारीको औचित्यता जनतासामु प्रस्तुत गर्ने वातावरण हुनुपर्छ  । 

तोकिएको मितिमा चुनाव नहुने र संसद् पनि नरहेको अवस्थामा भने संसद्को पुनःस्थापना गरी हाल उठेका राजनीतिक प्रश्न र जेनजीका मुद्धालाई सम्बोधन गर्न एमालेले संसद् पुनस्थापना विषयलाई जोड दिएको हो । त्यसबीचमा संविधान संशोधन गरी सर्वपक्षीय सरकार गठन गरी छोटो अवधिभित्रै ताजा जनादेशमा जाँदा उपयुक्त हुन्छ भन्ने हाम्रो मत हो । 

जेन-जी पुस्ताबाट आएको ताजा जनादेशमा जार्नैपर्छ भन्ने सोच पनि ठीक छ, त्यो जानैपर्छ । उनीहरूले संविधान र राजनीतिक दलाई अस्वीकार नगर्ने तथा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक÷समावेशीताप्रतिको पूर्ण प्रतिबद्धता र भावप्रति राजनीतिक दलका तर्फबाट सम्मान छ । 

छलफलका क्रममा कतिपय राजनीतिक शक्तिले विषयवस्तु र दलगत अवधारणाभन्दा तत्कालको लाभ र हानी कसरी हुन सक्ला भन्ने ध्येय राखेको समेत अनुभूति भयो । त्यो पक्षलाई उहाँहरु स्वयले सुधार गरेमा आफ्नो ओज र मर्यादा बढ्ने पक्षमा हेक्का राख्दा राम्रो हुन्छ । निर्वाचन सुरक्षा चुनौतीको प्रश्न विभिन्न कोणबाट उठे तापनि नेपाली काँग्रेसलगायतका राजनीतिक दलले निर्वाचनमा सरकारलाई सहयोग गर्ने र भाग प्रतिबद्धता व्यक्त भयो ।

कसैले नहार्ने, देशले जित्ने समझदारीमा जाऔँः राप्रपा प्रवक्ता मोहन श्रेष्ठ

हामीले विसं २०६२-६३ देखि नै देशमा अघि बढाइएको राजनीतिक मार्ग चित्र गलत छ, गलत बाटोबाट हिाडेपछि सही  ठाँउमा पुग्न सकिन्न भनी निरन्तर भन्दैआएका थियौ । जेन-जी आन्दोलनले त्यसको पुष्टयाइ गरेको छ । फलस्वरुप दुई तिहाइ बहुमतको सरकार ढलेको र संसद्समेत भङ्ग भएको अवस्था छ । 

जेनजीको भावनाअनुरुप नयाँ सरकार बनेको छ । अहिले विगतका त्रुटि र कमीकमजोरी सच्याएर अघि बढ्ने ऐतिहासिक अवसर हो । प्रधानमन्त्रीको आह्वानमा भएको छलफलमा तीनपक्षकै कुरा सुनियो । जेन-जी पुस्ताबाटै पनि आगामी मार्गचित्रबारे साझा धारणा आउन सकेन । उनीहरुमा गणतन्त्र, चुनाव र शासकीयस्वरुपबारे एकमत देखिएन । 

राजनीतिक दलमा पनि चुनावको तयारी देखिन्न । सरकारले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन आन्दोलनका बेला लुटिएका हतियार र जेलबाट भागेका कैदी फिर्ता ल्याउने कार्यलाई उच्च प्राथमिकता दिनुपर्छ । अनि मात्र निर्वाचनको वातावरण बन्छ । 

सरकारले पहिले प्रहरीको मनोबल उकास्ने काम गर्नुपर्छ । यस्तो अवस्थामा नयाँ समझदारी गरेर जानुपर्छ । त्यसले कसैलाई पनि निषेध नगरोस् । त्यसका लागि कसैले नहार्ने, देशले जित्ने नवीन समझदारी गरेर जाऔँ । जोसिलो उमेर समूह भए पनि जेन-जी पुस्ताबाट भएको सुझबुझपूर्ण, मर्यादित र संयमित प्रस्तुतीको भने तारिफ गर्नै पर्छ ।

संवादहिनताको अवस्था अन्त्य भएको : नेकपा(माओवादी केन्द्र)का नेता माधव सापकोटा

सरकार, जेनजी र दलहरुकाबीच बुधबार भएको छलफलपछि संवादहीनताको अवस्था अन्त्य भएको छ । जेन-जी आन्दोलनलाई विद्रोहका रुपमा लिएर उनको मागलाइ आगामी दिनमा संस्थागत गर्नुपर्छ भन्नेछ । त्यसका लागि आगामी दिनमा निरन्तर संवाद गर्दै जाने भन्ने भएको छ । 

छलफलमा जेन-जी समूहबाट राम्रो तयारी, मर्यादित भाषा, विषयबस्तुका हिसाबले जिम्मेवार ढंगबाट भएको प्रस्तुति सराहनायोग्य छ । देशका पुराना राजनीतिक दल रुपान्तरण हुनुपर्छ, उनीहरुको अस्थित्व स्वीकार गर्छौं भने । उनीहरूले सबैभन्दा पहिला लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा हुनुपर्छ, यसभित्रबाटै आफ्ना माग सम्बोधन र सुशासन कायम हुनुपर्छ भनेका छन् । 

केही ढिलो भएपनि संवादको प्रारम्भ भएको छ, यो स्वागत योग्य कुराछ । दलकाबीचमा संवाद र वातावरणलाई सकारात्मक रुपमा लिएर जाने अवस्था बनाउनुपर्छ । छलफलपछि सहमत हुनसक्ने विषयमा समाधान धारणा बनाएर चुनावमा जाने विषयमा अलिखित समझदारी जस्तै भएको छ । जेन-जी समूहले पनि संसद् पुनःस्थापनाका कुरा नगरौँ चुनावका लागि दलहरु तयार हुनुस् भने ।

रासस

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ५ : ०१ बजे

हरिबोधिनी एकादशीः २६ हजारले गरे चाँगुनारायणको दर्शन

भक्तपुर – भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६

सुदूरपश्चिम रोयल्सको प्रशिक्षण आजबाट सुरु

काठमाडौं – सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)का

तान्जानियाको राष्ट्रपतिमा सामिया पुनः निर्वाचित

एजेन्सी– तान्जानियामा पछिल्लो केही दिनदेखि जारी अशान्तिका बीच भएको निर्वाचनमा

प्रधानमन्त्रीले डाकिन् सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी

एकताको पक्षमा उभिए बामदेव, भन्छन् : माधव जहाँ जान्छन्, त्यहीँ जान्छु

काठमाडौं – नेकपा एकीकृत समाजावादीका नेता बामदेव गौतम माओवादी केन्द्रसँगको