त्रिपक्षीय छलफलले निर्वाचनका लागि वातावरण बनाएको छ : नेताहरू « Khabarhub

त्रिपक्षीय छलफलले निर्वाचनका लागि वातावरण बनाएको छ : नेताहरू


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजनीतिक दलका नेताहरूले सरकार, जेन-जी र राजनीतिक दलबीचको त्रिपक्षीय संवादको थालनीले राज्यको प्राथमिकतामा रहेको निर्वाचनका लागि सकारात्मक वातावरण सिर्जना गरेको प्रतिक्रिया दिएका छन्।

उनीहरूले गत भदौ २३ र २४ को जेन-जी समूहको आह्वानमा भएको आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण संवादहीनताको अवस्था सिर्जना गरेकामा पछिल्लो त्रिपक्षीय छलफलबाट विश्वासको वातावरण कायम भई निर्वाचनमा जाने विषयमा अलिखित सहमति जस्तै भएको प्रतिक्रिया दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता माधव सापकोटाले भने, ‘त्रिपक्षीय छलफलपछि सहमत हुनसक्ने विषयमा समान धारणा बनाएर चुनावमा जानुको विकल्प छैन भन्नेमा अलिखित समझदारी जस्तै भएको छ । जेन-जी अभियन्ताहरूले संसद् पुनःस्थापना होइन, चुनावका लागि तयार हुनुस् भन्नुभएको छ ।’

छलफलमा जेन-जी समूहबाट भएको राम्रो तयारी, मर्यादित भाषाको प्रयोग, विषयवस्तुमाथिको अनुभव र जिम्मेवार प्रस्तुतिले पनि निर्वाचनमा सहमति कायम गर्न सहज तुल्याएको प्रतिक्रिया दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त त्रिपक्षीय छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले सरकार चुनावमा केन्द्रित छलफल र गृहकार्यमा लागिसकेकाले यस सन्दर्भमा आउने समस्या फुकाउने कार्य भइरहेको जानकारी गराएका थिइन् ।

त्रिपक्षीय छलफल र त्यसपछि विकसित परिस्थितिका विषयमा अघिल्लो सङ्घीय संसद् प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग राससले गरेको कुराकानीको सम्पादित अंश 

लोकतन्त्रका लागि योगदान गरेको एमाले निर्वाचनबाट भाग्दैन : नेता महेशकुमार बर्तौला

वर्तमान सरकारको आगामी  कार्यादेश आगामी फागुन २१ का लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन हो । त्यसका लागि सरकारबाट निर्वाचनको मुख्य सरोकार पक्ष राजनीतिक दलले भाग लिने वातावरण र शान्ति सुरक्षाको प्रतिबद्धता दिलाउनुपर्छ । 

मुलुकलाई लोकतान्त्रिक मार्गमा ल्याउने एउटा मात्रै मार्ग र विकल्प भनेको निर्वाचन नै हो । त्यो अनुसार सरकारका गतिविधि र भूमिका हुनुपर्छ । सरकारले निर्वाचनका लागि अझै धेरै मेहनत गर्नुपर्छ । मुलुकमा राजनीतिक परिवर्तन र लोकतन्त्रका लागि ठूलो योगदान पुर्‍याउँदै आएको एमाले निर्वाचनबाट भाग्दैन । 

जनताकाबीच परीक्षित हुने कुरालाई स्वीकार गर्छ । हामी निर्वाचनमा सहभागी हुन्छौ, तर त्यसअघि शान्ति–सुरक्षासहित भयरहित निर्वाचनको सुनिश्चिता हुनुपर्छ । मतदाताले मत खसाल्ने, उम्मेदवारले आफ्नो उम्मेदवारीको औचित्यता जनतासामु प्रस्तुत गर्ने वातावरण हुनुपर्छ  । 

तोकिएको मितिमा चुनाव नहुने र संसद् पनि नरहेको अवस्थामा भने संसद्को पुनःस्थापना गरी हाल उठेका राजनीतिक प्रश्न र जेनजीका मुद्धालाई सम्बोधन गर्न एमालेले संसद् पुनस्थापना विषयलाई जोड दिएको हो । त्यसबीचमा संविधान संशोधन गरी सर्वपक्षीय सरकार गठन गरी छोटो अवधिभित्रै ताजा जनादेशमा जाँदा उपयुक्त हुन्छ भन्ने हाम्रो मत हो । 

जेन-जी पुस्ताबाट आएको ताजा जनादेशमा जार्नैपर्छ भन्ने सोच पनि ठीक छ, त्यो जानैपर्छ । उनीहरूले संविधान र राजनीतिक दलाई अस्वीकार नगर्ने तथा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक÷समावेशीताप्रतिको पूर्ण प्रतिबद्धता र भावप्रति राजनीतिक दलका तर्फबाट सम्मान छ । 

छलफलका क्रममा कतिपय राजनीतिक शक्तिले विषयवस्तु र दलगत अवधारणाभन्दा तत्कालको लाभ र हानी कसरी हुन सक्ला भन्ने ध्येय राखेको समेत अनुभूति भयो । त्यो पक्षलाई उहाँहरु स्वयले सुधार गरेमा आफ्नो ओज र मर्यादा बढ्ने पक्षमा हेक्का राख्दा राम्रो हुन्छ । निर्वाचन सुरक्षा चुनौतीको प्रश्न विभिन्न कोणबाट उठे तापनि नेपाली काँग्रेसलगायतका राजनीतिक दलले निर्वाचनमा सरकारलाई सहयोग गर्ने र भाग प्रतिबद्धता व्यक्त भयो ।

कसैले नहार्ने, देशले जित्ने समझदारीमा जाऔँः राप्रपा प्रवक्ता मोहन श्रेष्ठ

हामीले विसं २०६२-६३ देखि नै देशमा अघि बढाइएको राजनीतिक मार्ग चित्र गलत छ, गलत बाटोबाट हिाडेपछि सही  ठाँउमा पुग्न सकिन्न भनी निरन्तर भन्दैआएका थियौ । जेन-जी आन्दोलनले त्यसको पुष्टयाइ गरेको छ । फलस्वरुप दुई तिहाइ बहुमतको सरकार ढलेको र संसद्समेत भङ्ग भएको अवस्था छ । 

जेनजीको भावनाअनुरुप नयाँ सरकार बनेको छ । अहिले विगतका त्रुटि र कमीकमजोरी सच्याएर अघि बढ्ने ऐतिहासिक अवसर हो । प्रधानमन्त्रीको आह्वानमा भएको छलफलमा तीनपक्षकै कुरा सुनियो । जेन-जी पुस्ताबाटै पनि आगामी मार्गचित्रबारे साझा धारणा आउन सकेन । उनीहरुमा गणतन्त्र, चुनाव र शासकीयस्वरुपबारे एकमत देखिएन । 

राजनीतिक दलमा पनि चुनावको तयारी देखिन्न । सरकारले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन आन्दोलनका बेला लुटिएका हतियार र जेलबाट भागेका कैदी फिर्ता ल्याउने कार्यलाई उच्च प्राथमिकता दिनुपर्छ । अनि मात्र निर्वाचनको वातावरण बन्छ । 

सरकारले पहिले प्रहरीको मनोबल उकास्ने काम गर्नुपर्छ । यस्तो अवस्थामा नयाँ समझदारी गरेर जानुपर्छ । त्यसले कसैलाई पनि निषेध नगरोस् । त्यसका लागि कसैले नहार्ने, देशले जित्ने नवीन समझदारी गरेर जाऔँ । जोसिलो उमेर समूह भए पनि जेन-जी पुस्ताबाट भएको सुझबुझपूर्ण, मर्यादित र संयमित प्रस्तुतीको भने तारिफ गर्नै पर्छ ।

संवादहिनताको अवस्था अन्त्य भएको : नेकपा(माओवादी केन्द्र)का नेता माधव सापकोटा

सरकार, जेनजी र दलहरुकाबीच बुधबार भएको छलफलपछि संवादहीनताको अवस्था अन्त्य भएको छ । जेन-जी आन्दोलनलाई विद्रोहका रुपमा लिएर उनको मागलाइ आगामी दिनमा संस्थागत गर्नुपर्छ भन्नेछ । त्यसका लागि आगामी दिनमा निरन्तर संवाद गर्दै जाने भन्ने भएको छ । 

छलफलमा जेन-जी समूहबाट राम्रो तयारी, मर्यादित भाषा, विषयबस्तुका हिसाबले जिम्मेवार ढंगबाट भएको प्रस्तुति सराहनायोग्य छ । देशका पुराना राजनीतिक दल रुपान्तरण हुनुपर्छ, उनीहरुको अस्थित्व स्वीकार गर्छौं भने । उनीहरूले सबैभन्दा पहिला लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा हुनुपर्छ, यसभित्रबाटै आफ्ना माग सम्बोधन र सुशासन कायम हुनुपर्छ भनेका छन् । 

केही ढिलो भएपनि संवादको प्रारम्भ भएको छ, यो स्वागत योग्य कुराछ । दलकाबीचमा संवाद र वातावरणलाई सकारात्मक रुपमा लिएर जाने अवस्था बनाउनुपर्छ । छलफलपछि सहमत हुनसक्ने विषयमा समाधान धारणा बनाएर चुनावमा जाने विषयमा अलिखित समझदारी जस्तै भएको छ । जेन-जी समूहले पनि संसद् पुनःस्थापनाका कुरा नगरौँ चुनावका लागि दलहरु तयार हुनुस् भने ।

रासस

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ५ : ०१ बजे

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा