एमाले महाधिवेशन प्रतिनिधि निर्वाचन : कास्कीमा खगराज टिमभित्रै घात-अन्तर्घात « Khabarhub

एमाले महाधिवेशन प्रतिनिधि निर्वाचन : कास्कीमा खगराज टिमभित्रै घात-अन्तर्घात


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेकपा (एमाले) जिल्ला कमिटी कास्कीमा महाधिवेशन प्रतिनिधि छनोटका कारण विवाद देखिएको छ ।

प्रतिनिधिका उम्मेदवारहरूले नेताहरूलाई गरेको विश्वास घातमा बद्लिएको चर्चा एमाले कास्की वृत्तमा चलेको छ । आइतबार दिउँसोसम्म प्रतिनिधिको छिनोफानो नभएपछि कार्याकर्ताहरूले पार्टी कार्यालयमा पुगरे चर्को विरोध गरेका थिए ।

प्रतिनिधि छनोटमा केन्द्रीय सदस्यहरूको भूमिकालाई लिएर आलोचनासँगै संगठन विभागमा पनि उजुरी परेको छ । सल्लाहकार परिषद् सदस्य देवी सुवेदी, एमाले कास्की उपसचिव सन्तु सुवेदी लगायतले प्रतिनिधि छनोटमा असन्तुष्टिसहित उजुरी दिएका हुन् ।

केन्द्रमा केपी शर्मा ओलीलाई नै नेतृत्व माने पनि गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको तलसम्मै गुट छ।

यी दुई नेताका कार्यकर्ताबीचको लडाइँमा पछिल्लो समय विद्या भण्डारीनिकट कृष्ण थापाका कारण खगराज अधिकारी समूहका नेताहरू पराजित भएको आरोप लागेको छ।

कास्की इन्चार्जसमेत रहेका थापा लामो समय खगराजनिकट थिए । तर २०७९ को स्थानीय तह निर्वाचनमा थापा पृथ्वीसुब्बा गुटको अन्तरघातबाट पोखरा महानगरपालिकाको मेयर पदमा पराजित भए । त्यसयता उनी चर्को रुपमा सुनिन्थे ।

पछिल्लोपटक पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको पोखरा भ्रमणका क्रममा थापाको सक्रियताले गुट फेरेको चर्चा एमाले वृत्तमा थियो ।

भण्डारीलाई काठमाडौंमा भेटेर फर्किएपछि थापाले गुरुङनिकट नेताहरूसँग छलफल थालेका थिए । त्यसैको परिणाम प्रतिनिधि छनोटमा देखिएको एमाले जिल्ला तहका नेताहरू बताउँछन् ।

एमाले कास्कीमा युवा नेता दिलीप न्यौपाने प्रतिनिधि बन्नबाट रोकिए । पोखरा महानगर कमिटीका पूर्वअध्यक्ष न्यौपाने लामो समय विद्यार्थी राजनीति गरेका अधिकारीका विश्वासिला पात्र हुन् ।

पोखरा महानगरको अधिवेशनमा उनी नदोहोरिई बिदा भएका थिए । त्यसयता पार्टीको साधारण सदस्यका रुपमा काम गर्दै आएका उनी पछिल्लो पुस्ताको तर्फबाट आगामी महाधिवेशनमा केन्द्रीय सदस्यका दाबेदार थिए ।

तर थापा र पृथ्वीसुब्बा गुटका पोलिटब्युरो सदस्य जगत विश्वकर्माको सहमतिले उनको नाम प्रतिनिधिको सूचीमै परेन । न्यौपानेलाई रोकेर अघिल्लो पुस्ताले गलत गरेको नयाँ पुस्ताका नेताहरू बताउँछन् ।

थापा र विकले न्यौपानेसँगै जोडिएका अनेरास्ववियुका निर्वतमान सचिव आर्शीवाद सुवेदीलाई पनि प्रतिनिधि बन्न रोके । सुवेदीलाई सर्मथन गरेका विजय पौडेललाई नेताहरूले प्रतिनिधि बनाएका छन् ।

त्यससँगै एमाले पोखरा महानगर कमिटीका अध्यक्ष जीवन आचार्य पनि प्रतिनिधि बन्न पाएनन् । उनको ठाउँमा खगराज अधिकारीनिकट एमाले कास्की उपाध्यक्ष भेषराज बराल प्रतिनिधि भएका छन् । ‘खगराजनिकट भएकै कारण दिलीप, जीवन, आर्शिवाद र विवेकलाई रोक्न थापा र जगत मिले’, एमाले कास्कीका एक नेताले भने ।

कास्की क्षेत्र नं. ३ मा निर्वतमान प्रतिनिधि सभा सदस्य दामोदर बैरागी प्रतिनिधि बन्न पाएनन् । त्यही क्षेत्रका पूर्वसांसद एवम् पोलिटव्युरो सदस्य विकले सहमतिका नाममा वैरागीलाई प्रतिनिध बन्न रोकेको आरोप छ।

एक दिनअगाडिसम्म क्षेत्र नं. ३ बाट युवा क्लस्टरमा प्रतिनिधिमा नाम राखिएका विवेक देवकोटा रोकिए । उनको ठाउँमा विक खेलकुद मन्त्री रहँदाका स्वकीय सचिव भरतमान गुरुङ प्रतिनिधि बने ।

लामो समय अनेरास्ववियुमा काम गरेका देवकोटा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीका निर्वतामान अध्यक्ष हुन् ।

खगराजनिकट हुँदा हुँदै भण्डारी गुटमा लागेका थापाले पृथ्वीसुब्बा गुटसँग सम्झौता गरेकै कारण अधिकारीनिकट नेताहरू प्रतिनिधि बन्न रोकिएका बताइएको छ ।

‘आफैँ पदाधिकारीको दाबेदार खगराजले प्रतिनिधि छनोटमा विवाद खोज्नु भएन, विश्वास गरेर जिम्मा दिनुभयो तर विश्वास गरेकालेलै घात गरे’ एक नेताले भने ।

बिहानसम्म जिल्ला अध्यक्षको असहमतिका कारण टुंगिन नसकेको प्रतिनिधि छनोट चर्को दबाबपछि टुंगिएको छ । नेताहरूले सहमति गरेपछि जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री प्रतिनिधिको नामप्रति सन्तुष्ट थिएनन् ।

त्यहीकारण उनले हस्ताक्षर नगर्दा नेताहरूले छानेको नाम सिफारिस हुन सकेको थिएन । तर दबाबपछि अपरान्ह प्रतिनिधिको नाम जिल्ला पार्टी कार्यालयमा टाँसिएको थियो ।

जनप्रतिनिधि रोकिए

एमाले कास्कीले पठाएको प्रतिनिधि छनोटमा जनताबाट अनुमोदन भएका जनप्रतिनिधिहरूलाई रोकिएको भन्दै असन्तुष्टि पोखिएको छ ।

संघीय सांसद दामोदर बैरागी, मनबहादुर गुरुङ, प्रदेश सांसद गणेशमान गुरुङ, देवका पहारी, राजकुमारी भुजेल, नन्दकला नेपाली, जिल्ला समन्वय सभापति लीलाधर पौडेल र अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु केसी प्रतिनिधिका उम्मेदवार थिए । तर प्रतिनिधिमा उनीहरू अटेनन् ।

जनताबाट अस्वीकृतले जनताको मतबाट जनताको प्रतिनिधि भएका अनुहारलाई रोकेको भन्दै कार्यकर्ता पंक्तिमा असन्तुष्टि बढेको छ ।

यस्तो छ अंकगणित

कास्कीबाट २३ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । इन्चार्ज र केन्द्रीय सदस्यहरूले टुंग्याएको नाममा १० र १३ को भागबण्डा भएको छ । कास्की क्षेत्र नं. १ बाट बैनबहादुर अधिकारी क्षत्री, दर्शन लामा, टीकाराम पंगेनी, बेदबहादुर गुरुङ, रक्षा भट्टराई, विजया सुवेदी र नवराज ओझा प्रतिनिधि बनेका छन् ।

भट्टराई र सुवेदी महिला र ओझा युवा क्लस्टरबाट प्रतिनिधि बनेका हुन् । सातजनामध्ये ५ जना अधिकारीनिकट छन्, एकजना गुरुङनिकट छन् । अर्का एकजनाले अधिकारीसँगै रहे पनि ओलीको चर्को आलोचना गर्दै आएका छन् ।

क्षेत्र नं. २ तेज नारायण अधिकारी, भेषराज बराल,रश्मी आचार्य, राम प्रसाद खनाल खुल्ला तर्फबाट प्रतिनिधि छन् । महिला प्रतिनिधि हिरा गिरी र सिर्जना शर्मा रहेका छन् । युवा क्लस्टरमा विजय पौडेल प्रतिनिधि छन् । बराल, आचार्य र खनाल अधिकारी निकट हुन् । तेजनारायण गुरुङ निकटका रुपमा परिचित छन् ।

यस्तै हिरा पृथ्वी सुब्बानिकट हुन् । गण्डकी प्रदेश पूर्वउपसभामुख शर्मा अधिकारीनिकट हुन् । तर उनका पति माधव शर्मा पूर्वराष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार रहेकाले कसलाई सर्मथन गर्छिन् भन्ने चर्चा एमाले वृत्तमा छ । युवा क्लस्टरका पौडेल खगराजनिकट हुन् ।

क्षेत्र नं. ३ को प्रतिनिधि छनोटमा भने पोलिटब्युरो सदस्य विकले एकलौटी गरेको भन्दै विरोध भएको छ । पूर्वस्वकीयदेखि गुटगत राजनीति गर्नेलाई प्रतिनिधि बनाएको भन्दै कार्यकर्ता विभाजित छन् ।

माधवप्रसाद बास्तोला, दीपक पौडेल, जगन्नाथ बास्तोला, लालबहादुर परियार, शोभा पहारी, गीता विक, भरतमान गुरुङ प्रतिनिधि बनेका छन् । यीमध्ये कास्की जिल्ला कमिटी उपसचिव रहेका परियार मात्रै खगराज अधिकारीनिकटका रुपमा चिनिन्छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ३ : २७ बजे

ट्रम्प–मदुरो संवाद, काराकासको आपत्ति

एजेन्सी– संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति

‘नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना’

काठमाडौं– नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको बताइएको

स्वास्थ्मन्त्री र श्रीलङ्काका राजदूत डेल्पिटियाबीच भेटवार्ता, आपसी सहयोगबारे छलफल 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

यस्तो छ कांग्रेसको पन्ध्रौँ महाधिवेशन कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म

नेपालमा सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइने 

काठमाडौं– सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ