नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु « Khabarhub

नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– मुलुकको पूर्वपश्चिम जोड्ने प्रमुख व्यापारिक नाका नारायणगढस्थित नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माण सुरु भएको छ । चितवनको नारायणगढ र नवलपुरको गैँडाकोट जोड्ने हालको पुलसँगै नयाँ पुल निर्माण सुरु गरिएको हो । 

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इ नारायणप्रसाद लामिछानेका अनुसार निर्माणाधीन पुलको काम निरन्तर अघि बढिरहेको छ । पुलको निर्माण डिजाइन एण्ड बिल्ड प्रणालीअन्तर्गत भइरहेको छ । 

निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनादेखि फिल्डमा काम सुरु गरिसकेको छ । विसं २०८० जेठ १९ गते ठेक्का सम्झौतापछि निर्माण कम्पनीले पुलको अन्तिम डिजाइन तयार गरी प्रमाणीकरण गराइसकेको प्रमुख लामिछानेले बताए।

उनले भने, ‘निर्माण व्यवसायीले समयमै डिजाइन पूरा गरी प्रमाणीकरण पनि भइसकेको छ, सोही आधारमा अहिले जग खन्ने र फाउन्डेसन निर्माण अघि बढाइएको छ ।’

लामिछानेका अनुसार यो पुल केबल–स्टेड शैलीको आधुनिक संरचना हो । पुलको मुख्य टावरबाट तानिएका ठूला स्टिल केबलहरूले पुललाई थाम्ने भएकाले यो संरचना बलियो, सुरक्षित, सौन्दर्यपूर्ण र पहिचानमूलक हुने बताइएको छ । हाल नदीमा डाइभर्सन निर्माण गरी पुलको फाउन्डेसन निर्माण गर्नुपर्ने स्थानहरूमा आवश्यक स्पेस तयार गर्ने काम भइरहेको छ । 
 
उक्त आयोजनाका व्यवस्थापक इ मञ्जिल मिश्रका अनुसार बर्खा सुरु हुनुअघि नै फाउण्डेसनको काम सक्नेगरी काम भइरहेको छ । प्रारम्भिक चरणमा टेस्ट पाइल पनि अघि बढिरहेको छ ।

चालु आर्थिक वर्षभित्र फाउन्डेसन तथा पाइलिङ सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुल निर्माणको अवधि चार वर्ष भए पनि हाल डेढ वर्ष जति समय बाँकी छ । हाल निर्माणको म्याद थपको प्रक्रिया पनि अघि बढिसकेको जानकारी उनले दिए।

इ मिश्रका अनुसार ‘सिग्नेचर’ पुलमा नदीतर्फ दुई र दायाँबायाँ गरी चारवटा पिलर रहनेछन् । नारायणगढतर्फ दुई महिनाभित्र पाइलिङ सकेर गैँडाकोटतर्फ अर्को महिनादेखि सुरु गरिने छ । यस वर्ष फाउन्डेसन तथा केही सब–स्ट्रक्चरका कामहरू सुरु गरिने मिश्रको भनाइ छ । 

सडक विभागले पुल निर्माणका लागि सन् २०२३ मा ठेक्का लगाएको थियो । नारायणी नदीमा रहेको अहिलेको पुलको समानान्तर निर्माण गरिँदै गरेको नयाँ पुलको लम्बाइ ४२० मिटर र चौडाइ १२ मिटर हुनेछ । 

आइकोनिक केबल–स्टेड  पुलअन्तर्गत आर्चब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सनलगायतका संरचनात्मक प्रविधिहरू समावेश हुनेछन् । पुल एक अर्ब ६८ करोड लागतमा निर्माण हुनेछ ।

नयाँ पुलको आयु कम्तीमा १०० वर्ष रहने बताइएको छ । हाल रहेको पुल विसं २०३८ मा निर्माण भएको हो र यसको आयु ७० वर्ष तोकिएको थियो ।  

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ७ : ०३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्