एमालेको जरा अभियान : जनतालाई ‘न मल न पानी !’ | Khabarhub Khabarhub

एमालेको जरा अभियान : जनतालाई ‘न मल न पानी !’

के एजेन्डा बोकेर गाउँ जान्छ एमाले ?



काठमाडौं– प्रमुख सत्तारुढ एमालेले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न भन्दै यही माघदेखि चैतसम्म तीन महिने वडाकेन्द्रित अभियान थाल्दै छ । जरासम्मै बलियो बनाउन बिरुवालाई गोडमेल, मलजल र पानी चाहिन्छ ।

एमालेले यही सूत्र अपनाउँदै पार्टीलाई जरासम्म बलियो बनाउने योजनासहित गाउँ जान खोजेको हो । आफ्नै नेतृत्वको सरकार हुँदा पनि जनतामा उत्साह भर्न नसकेको निष्कर्ष एमालेले निकालेको छ । उत्साह भर्न नसक्दा जनतालाई मल र पानी दिन नसकेको टिप्पणी भइरहेको छ ।

वडासम्मै पुगेर जराकेन्द्रित अभियान चलाउने निर्णय गरेको एमालेले ०८४ को निर्वाचनलाई लक्षित गर्न खोजेको देखिन्छ । जराकेन्द्रित अभियानमा एमालेले के के गर्छ ? जनतालाई के जवाफ दिन्छ ? एमाले नेताहरूले बोल्न सकेका छैनन्। ०७९ को निर्वाचनबाटै ‘मिसन०८४’ भनिरहेको एमाले अहिले सत्ता यात्रामा छ ।

तर सत्ताको बागडोर सम्हालेर पनि एमालेले जनताका समस्या समाधानमा ध्यान दिन सकेको छैन । निर्वाचनको एक वर्षबाहेक एमाले सत्तामै छ । तर, आशा देखाएर चुनाव लडेको एमालेप्रति जनताको निराशा चुलिँदै गएको छ ।

०७९ पछि गत साल वैशाख १० गते बारा १, चितवन २ र तनहुँ १ मा भएको उपनिर्वाचनमा एमालेले जित निकाल्न सकेन । ०८१ वैशाख १५ गते भएको इलाम २ र बझाङ प्रदेश सभा १ (क) को उपनिर्वाचनमा भने एमालेले जित निकाल्यो । तर इलाम २ भने एमालेका प्रभावशाली नेता एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्बाङको क्षेत्र हो । त्यहाँ उनका छोरा सुहाङले जिते ।

पछिल्लो पटक मंसिर १६ गते सरकारमै भएकाबेला ४२ वटा स्थानीय तहको उपनिर्वाचनमा एमालेले ८ स्थानमा मात्रै जित्यो । कांग्रेसले १७ र माओवादी केन्द्रले १० ठाउँमा जिते । यसको पनि एमालेले समीक्षा गरिसकेको छैन । यस्तोमा एमालेले अबको तीन महिना जनतामा गएर के भन्छ , चासोको विषय बनेको छ ।

असफल ‘मिसन ग्रसरुट’

एमालेले ०७९ को निर्वाचनलगत्तै ०७९ फागुन ५ गतेबाट दुई महिने ‘मिसन ग्रसरुट ’ अभियान चलाएको थियो । एमालेको तीन महिने अभियानले नतिजा दिएन । एमाले अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा विशेष कमिटीलाई सम्बोधन गर्दै सुरुवात गरेको अभियानमा एमालेले पार्टी सदस्यता नवीकरण, कमिटी व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक, अन्तरक्रिया र स्थानीय तहको समस्या बुझ्ने काम गरेको थियो ।

त्यसैगरी पार्टीभित्रको अन्तर्विरोध बझेर हल गर्नेसहितका काम त्यसबेला एमालेले गरेको थियो । त्यसका लागि एमालेले सातै प्रदेश उपाध्यक्षको नेतृत्वमा संयोजन तथा अनुगमन टोली बनाएर अभियान चलायो । केन्द्रीय नेतालाई पालिकास्तरको कार्यक्रममा सञ्चालन तथा अनुगमनमा खटायो । तर त्यसको उपलब्धि देखिएन ।

०८० मा भएको तीन क्षेत्रको प्रतिनिधि सभा उपनिर्वाचनमा एमाले तेस्रो र चौथो स्थानमा खुम्चियो । त्यसपछि अध्यक्ष ओलीले सचिवालय बैठकमा अभियान सफल हुन नसकेको निष्कर्ष सुनाए । एमालेले त्यसबेला कार्यकर्ताको छटपटी र असन्तुष्टि तथा जनताका समस्या बुझ्न सकेन । एमालेसँग निर्वाचनलगत्तै गाउँ लैजाने एजेन्डा थिएनन् । मिसन ०८४ भनेर दौडिरहँदा उसको अभियान फेल भयो ।

फाइल फोटो ।

प्रतिवेदनमै सीमित संकल्प यात्रा

ग्रसरुट अभियानले उपनिर्वाचनमा उपलब्धि नदिएपछि एमालेले ०८० मंसिर १४ देखि पुस २ गतेसम्म ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ चलायो । उक्त अभियानमा एमाले मध्यपहाडका २६ जिल्ला र अन्य ११ सहित ३८ जिल्ला पुगेको थियो । २ सय १५ भन्दा बढी बस्तीहरू रहेको यो क्षेत्रमा १० वटा ठूला सहरको विकास भइरहेको छ । यहाँ बस्ने करिब एक करोड जनतासँग एमालेले अन्तरक्रिया गरेको बतायो ।

त्यसबेला प्रतिपक्षमा रहेको एमालेले २६ जिल्लाका समस्याबारे प्रतिवेदन पनि बनायाने । तत्कालीन प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझायो । तर, अहिले त्यो प्रतिवेदन अलपत्र छ । खासमा त्यसलाई कार्यान्वयन गर्ने तहमा एमाले छ । आफैंले बनाएको प्रतिवेदन कार्यान्वयन गर्न एमालेले भुलेको छ ।

पश्चिममा देखिएको सीमा समस्या, पहाडको बसाइसराईँ रोक्ने विधि, युवालाई स्वरोजगार बनाउने उपाय अहिलेसम्म एमाले सरकारमा हुँदा पनि ल्याउन सकेको छैन । यस्तै मध्यपहाडको खानेपानी अभाव र पुल नहुँदा तुइनमा झुन्डिनुपर्ने समस्या समाधानबारे एमालेले ठोस विकल्प दिन सकेको छैन ।

एमाले उपमहासचिव विष्णु रिमालले मध्यपहाडका समस्या समाधानका लागि सरकारले प्रयत्नसहित काम गरिरहेको बताए । उनले तिनका परिणाम बिस्तारै आउने पनि बताए । उता ओली एमालेले देखेका समस्या समाधान गर्न काम भइरहेको दाबी गर्छन् । यो अभियानमा एमालेले छिचोलेका मध्यपहाडका २६ जिल्लामा प्रतिनिधिसभाका ३८ सिट छन् । तीमध्ये उसले ०७९ मा १० सिट मात्रै जितेको थियो । अब ०८४ को निर्वाचनमा यहाँको समस्या समाधान गरेको नतिजा देखिने छ ।

पछिल्लो समय एमालेलाई आफ्ना नेता मुछिएका विभिन्न काण्ड ढाकछोप गर्न लागेको आरोप पनि छ । त्यहीकारण कांग्रेससँग जोडिन पुगेको आरोप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाइरहेका छन् । ओलीको गृहजिल्ला पुगेर दाहालले सोमबार भ्रष्टाचार ढाकछोपकै लागि कांग्रेस र एमाले मिलेको आरोप लगाए ।

एमाले सरकारमा गएर पनि कार्यकर्ता र जनतामा उत्साह भर्न सकेको छैन । ओलीले सरकारको नेतृत्व गरेको ६ महिना हुन लाग्दा पनि कार्यकर्ता र जनताको निराशा चिर्न सकेका छैनन् । अर्कातिर राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिशोध साधेको आरोप पनि झेल्नु परेको छ । कांग्रेस नेताहरू डा.शेखर कोइराला, चन्द्र भण्डारीहरूले रास्वपा सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको आरोप लगाउँदै आएका छन् ।

जराकेन्द्रित अभियान

तीन वर्षसम्म सत्तामा बिताएको एमालेले जनताको समस्या समाधानका लागि न मल न पानी पु¥याउन सकेको छैन । यही अवस्थामा एमालेले जराकेन्द्रित अभियान चलाउने तयारी गरेको छ ।

एमालेले मंसिर २९ र ३० गते च्यासलमा दुई दिने ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशाला पनि चलायो । केन्द्रीय संगठन विभागद्वारा आयोजितमा दुई दिने कार्यशालामा अभियान चलाउने घोषणा भएको थियो ।

कार्यशालामा एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, महासचिव शंखर पोख्रेल लगायतले प्रशिक्षण दिएका थिए ।
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न भन्दै यही तीन महिने वडाकेन्द्रित अभियान चलाउँदै छ । जनताका घर–घर पुग्ने अभियान सञ्चालन गर्न कार्यशालामा भनिएको कोशी प्रदेश सचिव राजकुमार भण्डारीले बताए ।

तर के र कस्ता मुद्दा लिएर अभियानमा जानुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘एमाले सरकारमा गएर जनताका के–के कुरा पुरा गरेको छ या छैन ? पार्टीप्रति जनताको बुझाइ के छ ? समस्या के छ ? बुझ्नु भनिएको छ । जनजीविकाका सवाल पनि उठाउन भनिएको छ । स्थानीय तहको सेवा प्रवाहबारे जनताको बुझाइ र सुधार्ने पक्ष केलाउन लगाइएको छ ।

एमाले प्रचार विभाग प्रमुख गौतम जराकेन्द्रित अभियानमा कसरी प्रस्तुत हुने ? जनताका कुरा कसरी सुन्नेबारे पुस २१ र २२ गते हुने केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताउँछन् ।

‘कार्यशालामा पनि भनिएको छ । यसको स्पष्ट नीति, ढाँचा र दस्तावेज केन्द्रीय कमिटीमा तयार हुन्छ’, गौतमले खबरहबलाई भने, ‘तल्लो तह अर्थात् जरासम्म पुग्न एमालेले तयारी गर्न बाँकी छ । सरकारको काम र पार्टीको नीति पनि समेट्नुपर्ने छ ।’
एमाले सचिव योगेश भट्टराई तीन महिने वडाकेन्द्रित अभियानमा पार्टीप्रति जनताको बुझाइ र उत्साह देख्न पाइने दाबी गर्छन् ।

उनी एमालेले सरकारमा भएका बेला कृषि, शिक्षा, स्वास्थ्य र गाउँमा उत्पादन वृद्धि जस्ता महत्वपूर्ण काम गरेकाले उत्साह देखिने बताउँछन् ।

असन्तुष्टिबीच जरासम्मको यात्रा

अहिले एमालेका तल्लो तहका कार्यकर्तामा छटपटी छ । कार्यशालामा एमाले अध्यक्ष ओलीले कुनै गुट नभएको बताउँदै एक ढिक्का भएर अघि बढ्नुपर्ने भन्दै कार्यकर्तालाई फकाए ।

उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंखर पोख्रेलको कुनै गुट नभएको बताए । उनीहरूलाई आफूले नै पदाधिकारी बनाएको बताएका ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले नै राजनीतिमा ल्याउने बताए ।

उनले पूर्वउपाध्यक्ष भण्डारीलाई आफूले नै राष्ट्रपति बनाएको दाबीसमेत गरे । यस्तै उनले आफ्नो तीव्र हुन थालेपछि चिनियाँ कम्युनिस्ट पार्टीको उदाहरण दिन भ्याए । चीनमा नेतृत्वको आलोचना नहुने भन्दै आफ्नो पनि विरोध नगर्न आग्रह गरे । कार्यशालामा आएका तीन सय बढी नेता कार्यकर्तालाई आफ्नो विकल्प नभएको सन्देश उनले दिए ।

असार ३० गते प्रधानमन्त्री भएका ओलीले गत असोज १० देखि १२ सम्म आएको बाढीपछि राहत तथा उद्दार अभियानलाई प्रभावकारी बनाउन सकेनन् । अर्कातिर विवादित व्यापारीबाट अर्बौंको जग्गा चन्दामा लिँदा जनतामा अर्को आक्रोश देखियो ।

५ पटक अर्थमन्त्री भइसकेका एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि यस पटक नतिजा दिन सकेका छैनन् हालसम्म पुँजीगत खर्च १३.४४ प्रतिशत मात्रै भएको छ । कार्यसञ्चालन खर्च ३४.६७ प्रतिशत छ । वित्तीय व्यवस्थापन २२.३९ प्रतिशत मात्रै छ । तर

असार १७ गते कांग्रेससँग मिलेर सरकार बनाएयता एमाले र ओली दुवैको लोकप्रियताको ग्राफ निरन्तर ओरालो यात्रामा छ ।
ओली आफैंले पनि गत पुस ११ गते बसेको सचिवालय बैठकमा सरकारले सोचे जति काम गर्न नसकेको स्वीकारेका थिए ।

निराश हुनुपर्ने गरी केही नभएको बताएका उनले अब सरकारलाई गति दिने आश्वासन च्यासलमा दिएका थिए । यस्तोमा १० महिनापछि पुस २१ र २२ गते बस्न लागेको केन्द्रीय कमिटी ओलीका लागि एउटा परीक्षाबराबर हुने छ । एमालेले उक्त बैठकमा गम्भीर समीक्षा गरेर तीन महिने अभियानमा लैजाने एजेन्डा तय गर्नुपर्नेछ । त्यही बैठकले सरकारको समीक्षासहित ओलीलाई गल्ती सुधार्ने उपाय पनि सुझाउन सक्ने छ ।

यो पनि…
ओलीलाई एमालेभित्रै कु’ को डर

एमालेमा सल्किएको भुसको आगो !

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ८ : ५४ बजे

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

वीरगञ्ज– वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको

धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही 

पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकमा

विकास हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बोर्डको अनुमति  

काठमाडौं– विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ)

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवाले काठमाडौंमा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाईवाले

पुराना नेता र ‘जेनजेड’ पुस्ताको अपेक्षा

नेपालको राजनीति अहिले पनि पुराना अनुहारकै कब्जामा रहेको छ। दशकौँदेखि