टिमाई नदीको झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य | Khabarhub Khabarhub

टिमाई नदीको झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

झापा– पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा रहेको मोबाइलको क्यामराले पुललाई पृष्ठभागमा राखेर उनीहरु फोटो र श्रव्यदृश्य खिचिरहेका छन् । यो दृश्य झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुङ्गे पुलको हो । जहाँ पुल हेर्ने पर्यटकको घुइँचो लाग्ने गरेको छ । पूर्वी नेपालको विभिन्न जिल्ला र भारतको सिक्किम तथा पश्चिम बङ्गालबाट समेत उक्त पुल हेर्न पर्यटक आउने गरेका छन् ।

बुद्धशान्ति–६ र ७ को दुई वटा गाउँ कोल्बुङ र रमिते गौडाबासीलाई टिमाईको गहिरो गल्छी छिचोल्न सहज बनोस् भनेर निर्माण गरिएको चार सय ७७ मिटर लामो डी आकारको झोलुङ्गे पुल कोशी प्रदेशकै लामो भएका कारण हेर्न, फोटो खिच्न र टिकटक बनाउन टाढादेखि पर्यटक आउन थालेका हुन् । वडा नं ७ का वडाध्यक्ष चन्द्रप्रसाद भण्डारीले पुलमा नसोचेको सङ्ख्यामा पर्यटक आउन थालेको बताए ।

‘वल्लो डाँडाबाट पल्लो डाँडासम्म फलामे लट्ठामा अडिएको झोलुङ्गे पुल हेर्दै पर्यटक रमाउने गरेका छन्,’ वडाध्यक्ष भण्डारीले भने, ‘बर्ने, सुनमाई, चारआली र धुलाबारीको बाटो हुँदै पुल हेर्न आउने पर्यटक दिनहुँ बढिरहेका छन् ।’ पर्यटकले यहाँ टिकटक बनाउने गरेका छन् ।

दैनिक तीन सयदेखि पाँच सय जना पुल हेर्न आउँदा झोलुङ्गे पुल बनेको वारिपारिको क्षेत्रमा पर्यटकीय चहलपहल बढेको छ । बिदाका दिन पाहुनाको सङ्ख्या दोब्बर हुने गरेको छ । पर्यटकको मागअनुसार स्थानीय बस्ती, सडक र पुलको छेउछाउ खाजा तथा नास्ता बिक्री गर्ने साना होटल खुलेका छन् । चटपटे, पानीपुरी र मौसमी फलफूल बेच्ने अस्थायी पसल ह्वात्तै बढेको र स्थानीयवासीको आम्दानीसमेत वृद्धि भएको वडाध्यक्ष भण्डारीले बताए ।

सङ्घीय सरकारको पाँच करोड ९८ लाखको लागतमा पुल निर्माण भएको स्थानीय पूर्वाधार विभागको सस्पेन्सन ब्रिज डिभिजनका इन्जिनियर जयप्रसाद गुप्ताले बताए ।

झापा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत असार २४ गते शिलान्यास गरेको सो पुलको पाँच महिनामै निर्माण कार्य सम्पन्न भएको हो । यसको उद्घाटन हुन बाँकी नै छ । यही पुस २५ गते झोलुङ्गे पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए ।

झापा र इलामको सीमामा रहेको टिमाई नदी गहिरो गल्छीका कारण पहिल्यैदेखि चर्चित छ । त्यहाँ पर्यटकीय आकर्षणका लागि बन्जी जम्प सञ्चालन हुनुपर्ने माग छ । वनभोज खान र नजिकैको पर्यटकीय क्षेत्र धारागोला र ठुटेबर घुम्न जानेको सङ्ख्या पनि अत्यधिक छ । अहिले आँखाले भ्याएसम्मको लामो झोलुङ्गे पुलले पर्यटकहरुको ध्यान खिच्न सफल भएको छ । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको ठाउँको नयाँ नामकरण गरेर पूर्वाधारहरु थप्ने पालिकाको योजना रहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष प्रसाईंले बताए ।

हाल पुलको नाम ‘कोलबुङ्गे गौडा रमिते गौडा झोलुङ्गे पुल’ रहेको छ । पुल बनाउनुअघि स्थानीय गाउँलेको भाषामा गौडा जोडेर परियोजनाको नाम जुराइएको थियो । तर नाम लामो भएकाले पालिकाले नयाँ नाम दिन लागेको प्रसाईंले बताउनुभयो । पुलको वडा नम्बर ७ तर्फको किनारामा चार करोड ५० लाखको बजेटमा बुद्धशान्ति हरित उद्यान निर्माण कार्य अघि बढाइएको छ । पालिकाको पहल र सङ्घीय सरकारको बजेटमा सो उद्यान निर्माण थालिएको र त्यसबाट पुल हेर्न र घुम्न आउने पर्यटकका लागि समय बिताउने रमणीय स्थान बन्ने उनको भनाइ छ ।

पर्वतको कुश्मामा रहेको लामो झोलुङ्गे पुलमा झैँ पर्यटकको आकर्षण बुद्धशान्तिको झोलुङ्गे पुलमा देखिएको छ । पुलको केही किलोमिटर वरपर धारागोला भ्यूटावर, जरेबर, ठुटेबर, गौडालगायतको पहिल्यैदेखिका प्रख्यात पर्यटकीयस्थल रहेका कारण पुलमा आउने पर्यटक आगामी दिनमा झनै बढ्ने सम्भावना रहेको वडा नम्बर ६ का अध्यक्ष शिवराज पौडेलले बताए ।

काठमाडौंको थानी÷जगदम्बा जेभीले निर्माण गरेको उक्त झोलुङ्गे पुलको भारवहन क्षमता ९० मेट्रिक टन रहेको छ । स्थानीय पूर्वाधार विकास विभागको सस्पेन्सन ब्रिज डिभिजनको शिलालेखमा पुलले एकपटकमा ६ सय ४७ पदयात्रीको भार थेग्ने क्षमता राख्ने उल्लेख छ ।

पर्यटकको भीड बढ्दै जाँदा पुल हल्लिएर पदयात्री तर्सिने र दुर्घटना निम्तिन सक्नेतर्फ समेत ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ ।

पालिकाले पुलमा आउजाउ गर्ने पर्यटकको भीडको रेखदेख र अनुगमन गर्नका लागि सुरक्षागार्डको व्यवस्था मिलाउनुपर्ने झापाको कचनकबल–४ बाट पुल हेर्न आएकी १७ वर्षीया जसोदा राजवंशीले सुझाव दिइन् ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ८ : २५ बजे

सर्वोच्च बारको अध्यक्षमा पोखरेल विजयी

काठमाडौं – सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी

निर्वाचनमा उपलब्धिपत्र लिएर जनतामाझ जानुपर्छः महामन्त्री थापा

गण्डकी – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को निर्वाचनमा

भूमिसम्बन्धी समस्या सामाधान गर्न आयोगले द्रुतगतिमा काम गर्नेछः उपप्रधानमन्त्री सिंह

रौतहट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूमिसम्बन्धी समस्या

इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला

सर्लाही – सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या

काठमाडौंले जित्यो बागमती प्रदेश लिग फुटबलको उपाधि

मकवानपुर – बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँले हात पारेको