गुल्मीमा ३८ जातका कफीको परीक्षण « Khabarhub

गुल्मीमा ३८ जातका कफीको परीक्षण


२६ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण गरिएको छ । जिल्लामा व्यावसायिक कफीखेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि उक्त परीक्षण गरिएको हो ।
     
कफी अनुसन्धान कार्यक्रमअन्तर्गत भण्डारीडाँडामा आर्थिक वर्ष २०८२-८३ मा ३८ जातका कफीको जातीय मूल्यांकन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्जन गौतमले जानकारी दिए । 

उनका अनुसार परीक्षण गरिएका जातमध्ये तीन वटा जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन् । ती जातमा ‘गुल्मी लोकल’, ‘सेलेक्सन–१०’ र ‘एलोक्याटुरा’ रहेका छन् ।

रुरुक्षेत्र गाउँपालिकाम रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधिमार्फत ३८ जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो । आगामी वर्ष थप अनुसन्धानमा समावेश गर्नेगरी भारतबाट चार वटा नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्ना उत्पादन सुरु गरिएको गौतमले बताए।

कफी अनुसन्धान कार्यक्रमअन्तर्गत करिब १०० रोपनी क्षेत्रफलमध्ये ६० रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बीउ–बेर्ना उत्पादन भइरहेको छ । नेपालमा हालसम्म कुनै पनि कफीका जात सिफारिस नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष तीन जात सिफारिसका लागि अन्तिम चरणमा पुर्‍याएको उनले जानकारी दिए । 

उक्त तीन वटा जातलाई सिफारिसका लागि बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रमा प्रस्ताव पेस गरी प्राविधिक उपसमिति तथा जात उन्मोचन, दर्ता र अनुमोदन उपसमितिमा प्रस्तुत गर्ने प्रक्रिया अघि बढाइएको बताइएको छ ।

कफीका जातीय तथा रोगकीरा व्यवस्थापनसम्बन्धी प्रविधि विकासमा अनुसन्धान भइरहेको छ । अनुसन्धान कार्यक्रममा कफीको मातृबोट, हाँगा, बीउ छनोटदेखि बीउअनुसारको माटो, बिरुवा उत्पादन र गुणस्तरसम्मका विषयमा अध्ययन भइरहेको गौतमले बताए। उनले अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको बताए।

अनुसन्धान कार्यक्रमबाट वार्षिक १२ हजारभन्दा बढी उन्नत जातका कफीका बेर्ना उत्पादन गरी बिक्री तथा वितरण हुँदै आएको छ । यस वर्ष १५ हजारभन्दा बढी बेर्ना उत्पादन भएको छ । साथै, करिब १०५ किलोग्राम उन्नत जातका कफीका बीउ बिक्री गरिएको छ । जात खुलेको कफीको बेर्ना प्रतिगोटा रु ३५ र बीउ प्रतिकिलो रु दुई हजार ५०० मा बिक्री हुँदै आएको छ ।

कफीमा लाग्ने सिन्दुरे रोग, सेतो गवारो कीरा तथा मलखाद व्यवस्थापनसम्बन्धी अनुसन्धानबाट प्रविधि विकास गरिएको छ । कफी बालीमा मलखाद तथा छहारी व्यवस्थापन, कफी रोप्ने विधि एवं रोगकीरा व्यवस्थापनसम्बन्धी परीक्षणसँगै कफीको गुणस्तरका विषयमा अध्ययन भइरहेको कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा जिल्लामा कफीको बीउ तथा बेर्नाको माग बढ्दै गएको छ । कार्यालयले सीमित बजेटका कारण गत आवमा ५१ किलो कफीको बीउ र १० हजार बेर्ना उत्पादन गर्ने लक्ष्य राखेको थियो । 

उक्त लक्ष्यमध्ये यसपटक बीउतर्फ ५०० किलो र बेर्नातर्फ १८ हजारभन्दा बढीको माग आएको कार्यालयले जनाएको छ । मागअनुसार बीउ उत्पादन गर्न नसकिएको कार्यालय प्रमुख गौतमले बताए।

गुल्मीमा उत्पादित कफीका बिरुवा गुल्मीबाहेक अर्घाखाँची, कास्की, स्याङ्जा, लमजुङ, धादिङ लगायत ४२ भन्दाबढी जिल्लाबाट माग आउने गरेको छ ।

माग धेरै भए पनि आवश्यक स्रोतसाधन र जनशक्तिको अभावमा मागअनुसार बिरुवा उत्पादन गर्न नसकिएको कार्यालयले जनाएको छ । कफीका उन्नत बीउ–बेर्ना उत्पादनका लागि समूह तथा सहकारीमार्फत काम गर्नुपर्ने कार्यालय प्रमुख गौतमले बताए। 

जिल्लामा कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडा तथा स्थानीय तहले कफीखेतीको उत्पादन र प्रवर्द्धनमा काम गर्दै आएका छन् । जिल्लामा हाल करिब ३०० हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती हुँदै आएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार  १२ : ३० बजे

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट