अर्थतन्त्र चौबाटोमा छ, अब चेतौँ | Khabarhub Khabarhub

अर्थतन्त्र चौबाटोमा छ, अब चेतौँ



हामी अहिले गर्वका साथ ‘सिमेन्ट र ऊर्जा उत्पादनमा आत्मनिर्भर भयौँ’ भनिरहेका छौँ । कुनै समय हाम्रो देशबाट कार्पेट निर्यात भइरहेको थियो ।

राजनीतिक स्थायित्वसँगै हामीले नीतिगत स्थायित्वमा जोड दियौं । तर कतिपय विषयलाई हामीले सम्बोधन गर्न सकेनौं । मलाई के लाग्छ भने आजको समयमा जुन चरणमा बैंकिङ क्षेत्र आइसकेको छ-यो क्षेत्रको योगदानलाई कसैले मूल्याङ्कन गर्न सक्दैन । बैंकिङ क्षेत्रमा जति पनि कमीकमजोरी छन्, त्यसमा अर्थव्यवस्थाको संरचनाको विषय नै जोडिएको छ ।

हाम्रो अर्थतन्त्रको संरचना नै आयातमा आधारित छ । हामी आयातनिर्भर भइरहेका छौं । अर्थतन्त्रको कमजोरी यही नै हो । आयातमा निर्भर हुँदाहुँदै वास्तविक अर्थतन्त्रलाई सँगसँगै लिएर जान सकेको भए हाम्रा आवश्यकतालाई सम्बोधन गर्न सक्थ्यौँ । यो मात्रामा आयात गर्नु पर्दैनथ्यो ।

आजको दिनमा बैंकिङ क्षेत्रमा निम्तिएका समस्या पनि त्यहीँबाट सिर्जित हुन् । हामी वास्तविक अर्थतन्त्रमा जान सकेनौं । लगानीकर्ताहरूले पनि अर्थतन्त्रको वास्तविक क्षेत्रमा लगानी गर्न सकेनन्, आयाततर्फ नै लागिरहे । यो अवस्थाबाट अब कसरी उत्पादनमा आधारित अर्थतन्त्रतर्फ जाने भन्नेबारे छलफल जरुरी छ ।

शुरूमा हामीकहाँ सरकारी सिमेन्ट उद्योगमात्रै थियो । बैंकबाट ड्राफ्ट गर्दा धेरै पैसा सिमेन्ट आयातमै जान्थ्यो । हामीलाई त्यो अवस्थाले निकै पिरोल्थ्यो । तर, अहिले हामी निर्यात गर्ने अवस्थामा छौं ।

देशले अबको दिनमा केही नीतिहरूमा महत्वपूर्ण ‘डिपार्चर’ खोजिरहेको छ । वास्तविक अर्थतन्त्रलाई राम्ररी अघि बढाउने हो भने भारत र चीनबीच बसेर हामीले गर्न सक्ने विषयमा राम्ररी छलफल गर्नुपर्छ जस्तो लाग्छ । भारत र चीनसँग हाम्रो व्यापारको जुन अवस्था छ, अब उनीहरूलाई नेपालमै लगानी गर्न लगाउने हो भने हामीलाई दीर्घकालीन फाइदा हुन्छ ।

झण्डै चार दशक यताको अवस्था हेर्दा बैंकिङ क्षेत्रमा अहिलेजस्तो समस्या थिएन । हिजोका दिनमा अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमफ)ले ‘तिमीहरूको देशमा किन खराब कर्जा (एनपीएल) लेबल किन कम छ ? कसरी हुन सक्यो ?’ भनी सोध्थ्यो । म आफैँले ‘भूकम्प तथा कोभिडको बेला यसरी पार पायौं’ भनेको थिएँ । अब भने हाम्रो खराब कर्जा निकै माथि पुगिसकेको छ ।

तर यसलाई रोक्न बैंकिङ क्षेत्रसँग ‘प्रेस्क्रिप्सन’ छैन । उद्योगी/व्यापारीलाई ‘छिटो ऋण भुक्तान गर’ भन्ने बाहेक हामीसँग अरू उपाय छैन । मिल्नेसम्मलाई ‘रिसेड्युल’ गर्न सकिएला, नसक्नेलाई लम्ब्याएर काम छैन । गर्न सक्नेलाई बैंकिङ क्षेत्रले रिसेटल गरिसकेको छ ।

अब राज्यले निजी क्षेत्रलाई दिनपर्ने कुरा सबै दिइहाल्नुपर्छ । निर्माण क्षेत्रमा धेरै समस्या भइरहेको देखिन्छ । यो क्षेत्रलाई हामीले चलायमान बनाउन सक्ने हो भने एउटा मार्ग बाटो पक्डन सकिन्छ । निर्माण क्षेत्रलाई राज्यले धेरै भुक्तानी गर्नुपर्ने अवस्था छ । भुक्तानी गर्ने बित्तिकै निर्माण क्षेत्रले आकार लिन थाल्छ ।

त्यस्तै, सरकारले कृषि लगायत धेरै क्षेत्रमा अनुदानको घोषणा गरेको छ, तर सो अनुदान भुक्तानी गरेको छैन । सरकारले ‘दिन्छु’ भनेपछि दिनुपर्‍यो। प्रधानमन्त्रीसँग नै छलफल गर्दा पनि हामीले ‘अहिले राज्यसँग पैसा छैन भने बन्डहरू जारी गरौं र व्यवसायीहरूलाई सहज रूपमा अगाडि बढ्ने वातावरण सिर्जना गरौँ’ भनेका छौँं ।

हाम्रा अघि धेरै चुनौती छन्, तर नेपालको अर्थतन्त्रको आधार निकै सानो छ । अलिकति ठाउँ पाउनेबित्तिकै हामी माथि आउन सक्छौँ । यसमा हामी सबैको सहभागिता जरूरी छ । ‘मैले केही गुमाउने हो भने गुमाउन तयार छु’ भन्न सक्नुपर्छ । यस निम्ति सरकार र निजी क्षेत्र दुबै तयार हुनुपर्छ । अहिले निजी क्षेत्र थिलोथिलो भएको बेला छ । यसलाई त्राण दिन सरकारले पहलकदमी लिने अवस्था आइसकेको छ ।

बैंकिङ क्षेत्र कस्तो अवस्थामा गयो भने राम्रो हुन्छ ? अब हामीले सबैको आत्मविश्वास पुनःजागृत गर्न के गर्न सकिन्छ भन्नेबारे छलफल गर्नुपर्छ । एक–अर्कोलाई दोषारोपण गर्नेतिर लाग्दा कहीँ पुगिँदैन ।

बैंकिङ क्षेत्र सन्तुलित हिसाबले चलिरहेको छ, सुशासन ठीक ठाउँमा राखेर सञ्चालन भइरहेको छ । मौजुदा कानून र नियामकीय निर्देशनअनुसार नै बैंकहरू अघि बढिरहेका छन् । भोलिका दिनमा बैंकिङ क्षेत्र कुन–कुन कुरामा लचिलो हुनुपर्ने भन्नेतिर चर्चा गरौँ । निष्क्रिय कर्जालाई गैर बैंकिङ सम्पत्ति (नन बैंकिङ असेट्स)मा जसरी परिवर्तन गरिरहेका छौं – समस्याको समाधान त्यो होइन । हामीले सम्पत्ति व्यवस्थापन कम्पनीकै विषयमा राज्यसँग पहिलेदेखि नै कुराकानी गरिरहेका छौँ ।

यसको लागि सरकार र निजी क्षेत्र मिलेर ठूलो कम्पनी खडा गरौँ, जसले समस्या आएका सम्पत्ति खरिद र व्यवस्थापनको काम गरोस् । त्यसो हुँदा भोलिका दिनमा जहाँ पैसा पुग्नपर्ने हो – त्यहाँ पुग्छ । अहिले बैंकमा ‘ब्याड असेट्स्’ बढ्दा विश्वासको मात्रा नै घटिरहेको छ । यो विषयमा हामीले राष्ट्र बैंकसँग विभिन्न तहमा छलफल गरिरहेका छौँ ।

भर्खरै कर्णाली विकास बैंकको व्यवस्थापन केन्द्रीय बैंकले ‘टेकओभर’ गरेको छ । यो घटनाले बैंकप्रतिको विश्वसनीयता फेरि एक लेभलमा घटेको छ । त्यो नहुनुपर्ने थियो, भैसकेको छ ।

अहिले नेपालको अर्थतन्त्र चौबाटोमा छ । चौबाटोमा रहेको अर्थतन्त्रलाई सही बाटोमा लैजानैपर्छ । उद्योगी/व्यवसायीले बैंकप्रति विश्वास गर्नुपर्छ । समस्या समाधान नै गर्न नसकिने अवस्थामा पुगेपछि मात्र हामीले ‘एक्सन’ लिएका छौँ । समस्या समाधान हुने अवस्थासम्म कसैलाई ‘ब्ल्याक लिष्ट’ गरेका छैनौं ।

यो विषयमा राष्ट्र बैंकले पनि जे गरेको छ – कानून र अन्तर्राष्ट्रिय अभ्यासअनुसार एक स्टेप अगाडि बढेरै गरेको छ । अब हामी रूपान्तरणकारी हिसाबले अघि बढ्न आवश्यक भैसकेको छ । अब टालटुले हिसाबले चल्दैन ।

अर्को सन्दर्भ – बैंकले जहिले पनि परियोजनाको आधारमा नै ऋण प्रवाह गर्न चाहिरहेको हुन्छ । त्यसो भएन भने साना उद्योग फस्टाउन सक्दैनन् । आज कुनै कारणले कर्जा गलत ठाउँमा गयो र सुरक्षण समस्या भयो भने बैंकरहरूलाई समातेर लैजाने चलन छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान अघि बढाउँदा त्यही गर्छ । राष्ट्र बैंकले सुपरीवेक्षण गर्न आउँदा पनि ‘खै धितो सुरक्षा ?’ भनेर सोध्छ । प्रहरीले अनुसन्धान गर्दा र न्यायालयले हेर्दा पनि त्यसैगरी हेर्छ ।

यस्तो अवस्थामा हामीले के गर्ने ? हामीले परियोजना र व्यवसायको आधार नै खोजेको हो । तर, भन्सारमा स्वःघोषणा गर्नुपर्ने र पारदर्शीताको विषय छ । यो सम्बोधन नहुने बेलासम्म समाधान हुँदैन । यो मामिलामा राज्यले कठोर निर्णय गर्नैपर्छ । लागत घटाउने र आम्दानी देखाउने काम भन्सारदेखि नै शुरू हुन्छ । यसतर्फ सुशासन आवश्यक छ ।

अहिले सहकारीमा जुन प्रकारको समस्या देखिएको छ, यो पनि ‘गभर्नेन्स’कै समस्या हो । राज्यले हेर्न नसक्दा निम्तिएको समस्यालाई सबैले पहल लिएर समाधान गर्नुपर्छ ।

(खबरहब डटकम र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च [आइएसएसआर]को संयुक्त आयोजनामा सम्पन्न ‘बैंकिङ क्षेत्रका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा पौडेलले राखेका विचारको सम्पादित अंश । – सं.)

यो पनि –

बैंकिङ क्षेत्र धराशायी भए नेपालको अर्थतन्त्र कसैले सम्हाल्न सक्दैन

राष्ट्र बैंकमाथि प्रश्न : विदेशीले जे भन्छन्, त्यतै दौडिने ?

बैंकहरू ‘साइलक’ को नयाँ संस्करण नबनून्

‘चेक बाउन्स’मा जेल, बैंकको झेल ?

बैंकिङ क्षेत्रको चुनौती : सहकारीपछि बैंकमा जोखिमको घण्टी

पूर्वमन्त्री र पूर्वमुख्यसचिवको दोहोरी : कर्मचारी खराब कि नेता ?

बैंकले उत्पादनशील क्षेत्रमा लगानी नगरे समस्या पर्नसक्छ

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ३ : ५० बजे

जसपाको केन्द्रीय समिति बैठक बस्दै

वीरगञ्ज– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति

तनावपूर्ण खेलमा आर्सनलको जित

काठमाडौं – इङ्लिस प्रिमियर सिपको शनिबार राति भएको खेलमा रिकार्डो

रविमाथि आज पनि थुनछेक बहस हुँदै  

बुटवल– रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी

राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज

चेल्सीविरुद्ध सिटीको शानदार जित

काठमाडौं – म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध ३–१ गोल अन्तरको शानदार जित