लाहाखेतीबाट मनग्य आम्दानी  « Khabarhub

लाहाखेतीबाट मनग्य आम्दानी 


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

मोरङ– झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौरादहमा २०७५ सालदेखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै आएका छन् । उनले जिल्लाको गौरादह– २ मा ‘निर्मल चप्रा उद्योग’ सञ्चालन गरी वार्षिक एक सयदेखि डेढ सय मजदुरलाई लाहा बाँध्ने, खोल्ने, काट्ने र प्रशोधन गर्न रोजगारी दिएका छन् । उनले भने, ‘लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ ।’

लाहाबाट उत्पादन हुने चप्राको माग बढेसँगै विश्वकर्माले धनकुटा, भोजपुर र तेह्रथुमका किसानलाई लाहाखेती गर्न सिकाएर खरिद गर्दै आएका छन् । वर्षमा दुई याममा उत्पादन हुने लाहा उनले वार्षिक आठ हजार किलोग्रामसम्म उत्पादन गर्दै आएका छन् । उनका अनुसार कोशी प्रदेशबाट वार्षिक २०–२५ क्विन्टलसम्म उत्पादन हुने गरेको छ ।

झापाबाट सुरु गरेको लाहाखेतीले कोशी प्रदेशका पाँच जिल्लामा रोजगारी सृजना सुरु गरेको पूर्व डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले बताए । कोशी प्रदेशको चतराको बगरबाट राजमार्ग उत्तरको जङ्गली भेग हुँदै मेचीसम्म लाहाखेतीका लागि उपयुक्त क्षेत्र भएको उनको भनाइ छ ।

लाहाको बीउ उत्पादन गर्न बयरको बोट उत्तम हो । एक किलो लाहा बराबर पाँच सय ग्राम चप्रा निस्किने गरेको छ । रङ्गीन लाहा सात–आठ सयमा बिक्री हुँदै आएको छ भने कुसुमी लाहा एक हजार रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको छ ।

विश्वकर्माले प्रदेशभरिका लाहा खरिद गर्ने र प्रशोधन गरी चप्रा उत्पादन गर्दै आएका छन् । उक्त चप्रा पूर्वकै बजारमा अपुग रहेको विश्वकर्माले बताए । लाहाबाट चप्रा निस्किन्छ भने चप्राबाट रेजिन, गम र पप्स तीन चिज निस्किन्छ । उक्त चप्रा सुन तथा फर्निचर पसलमा जाने गरेको छ ।

लाहाखेतीका लागि धनकुटाको साँगुरीगढी गाउँपालिका र चौबीसे गाउँपालिका उर्वरभूमि रहेको मोरङ जिल्ला वन कार्यालयका प्रमुख उत्सव थापाले बताए ।

लाहाखेती बहुआयामिक भएकाले कोशी प्रदेश सरकारले लाहाखेती विस्तार र प्रवर्द्धन कार्यक्रम नै सुरु गरेको थापाको भनाइ छ । राम्रो आम्दानी र रोजगारी सृजना हुने भएकाले बाँझो खेत राख्नुभन्दा लाहाखेती लगाएर आम्दानी बढाउन सामुदायिक वन र किसानलाई थापाले सल्लाह दिँदै आएको बताए ।

तराई भेगको तातो हावापानी भएको क्षेत्रमा हुने, शिरिष, मौवा, वडहर, कुसुम खयर, बयरजस्ता कमलो बोक्रा भएका रुखमा यसको खेती हुने गरेको छ ।

लाहा एक प्रकारको कीरा हो । रङ्गीन र कुसुमी प्रजातिका कीराबाट लाहा उत्पादन हुने गर्छ । यो भाले र पोथी गरी दुई प्रजातिको हुन्छ । यस कीराले उत्पादन गरेको चोपबाट लाहा उत्पादन हुने गर्दछ । यो फिमेल लाहा कीराले गर्भधारण गर्ने बेलामा निस्किएको तरल पदार्थबाट उत्पादन हुने डम्बर विश्वकर्माले बताए ।

विश्वकर्मा सात वर्ष भारतको पश्चिम बङ्गालको लाहा कारखानामा काम गरी २०७५ सालबाट गौरादहमा लाहाको खेतीसँगै चप्रा प्रशोधन गर्दै आएका छन् । चप्रा मागअनुरुप उत्पादन नभएको र भारतबाटै आयात गर्नुपरेको विश्वकर्माले बताए । तराईका वन र बाँझो खेतमा यो खेती गरे रोजगारी र आम्दानी दुवै हुने डम्बर विश्वकर्माको भनाइ छ ।

प्रशस्त उत्पादन हुने क्षेत्र भए पनि किसान र सामुदायिक वनलाई यस विषयमा जानकारी नभएकाले आम्दानी गर्न नसकेको विश्वकर्मा बताउँछन् । विश्वकर्माले झापा गौरादहमा पाँच बिघा जमिन लिजमा लिएर लाहाखेतीसँगै प्रशोधन र खरिदबिक्री गर्दै आएका छन् ।

लाहाबाट प्रशोधन गरेको चप्राबाट सुनका गहना बनाउन, फर्निचरको प्राकृतिक रङ उजिल्याउन, मेकअपका समान निर्माण गर्न, औषधिमा प्रयोग गर्न र शीलबन्दीका लागि प्रयोग हुने गर्दछ । नेपालमा प्रशस्तै उत्पादन हुने भए पनि राज्यबाट कुनै पहल नभएकाले व्यावसायिक हुनसकेको छैन । हाल कोशी प्रदेशमा लाहाखेतीलाई मोरङ जिल्ला वन कार्यालयले अभियानका रूपमा अगाडि बढाएको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ७ : ४३ बजे

साफ महिला क्लब च्याम्पियनसिप : फाइनलमा एपीएफ र इस्ट बंगालबीच प्रतिष्पर्धा हुने

काठमाडौं– साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा शनिबार एपीएफ फुटबल क्लब

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनीत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सङ्घीय नेतृत्व मञ्चमा १७

शपथमा प्रतिस्पर्धी पोखरेललाई नबोलाएका ओली भन्छन् : अब एमालेमा गुट-उपगुट र प्यानल सकियो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनसंगै पार्टी थप

नख्खुबाट छुटेका रविबारे रास्वपाको निष्कर्ष : निरंकुश सरकारको प्रतिशोध वर्तमान नागरिक सरकारले सच्याओस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्च अदालत तुलसीपुरको

अमेरिकाको एपस्टीन ‘सेक्स स्क्यान्डल’मा सबैभन्दा ठूलो खुलासा हुने सम्भावना

वासिङ्टन डीसी- अमेरिकाको कुख्यात जेफ्री एपस्टीन सेक्स स्क्यान्डलसँग सम्बन्धित मुद्दामा