ऐनापहरा उद्यानबाट सात महिनामा ३० लाख आम्दानी | Khabarhub Khabarhub

ऐनापहरा उद्यानबाट सात महिनामा ३० लाख आम्दानी


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा ३० लाख आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो ।

पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले दुई करोड लगानी गरिसकेको छ । यस पहरामा रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई आकर्षित गरिएको छ । झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकर्षक आकृति निर्माण गरिएको छ ।

उक्त स्थानमा पुग्ने जो कोही व्यक्ति आनन्द महसुस गर्छन् । यहाँ निर्माण गरिएका आकर्षक मूर्ति र आकृतिले पर्यटकको ध्यान आकर्षित गरेको छ । यहाँ दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटक आउने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । उनले भने, ‘महिनामा तीन लाखदेखि चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।’

बिदाका दिनमा र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको चाप बढी हुने गरेको छ । उद्यान प्रवेशमा स्थानीयलाई ५०, विद्यार्थीलाई ३० र अन्य पालिका तथा बाह्य पर्यटकका लागि १०० प्रवेश शुल्क कायम गरिएको छ । गाउँपालिकाले फोहर व्यवस्थापनसहित चार जना कर्मचारी खटाएको छ । वर्षायाममा झरना हेर्न र हिउँदमा कलात्मक मूर्ति र आकृति हेर्न पर्यटक यहाँ आउने गरेका छन् ।

बिदामा आन्तरिक पर्यटकको अझ बढी घुइँचो लाग्ने गरेको छ । पर्यटकको आवागमनले पार्किङ क्षेत्रमा असुविधा हुने गरेकाले त्यसलाई मध्यनजर गर्दै थप पार्किङको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान तानेको छ । गर्मीको समयमा झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लाग्छ । पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत आकर्षक गन्तव्यस्थल बनेको छ । यो ठाउँ गर्मीमा यात्रा गर्नेका लागि विश्रामस्थल बनेको छ ।

ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । यस पहरामा रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको पर्यटकको सङ्ख्या बढेको छ ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढीखोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले गुरुयोजना तयार गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ७ : २३ बजे

‘कर्मा’ कलाकारका दाबी : नयाँ स्वादको फिल्म

काठमाडौं – सौभर चौधरीको निर्देशन रहने फिल्म ‘कर्मा’ आगामी नयाँ

इन्जिनियर कुटिएको घटनाको विराेध, दोषीलाई कारबाही गर्न माग

सुर्खेत– जाजरकोट बारेकोट गाउँपालिकामा कार्यरत सब-इन्जिनियर हिमाल पुनमाथि कुटपिट भएपछि

पूर्वराजाको मन्त्रणासँगै सुवेदीले छाडे राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्य सम्पादन समिति सदस्य तथा

आजका समाचार : माओवादी फकाउन खोज्दै ओली, नेपाल प्रहरीमा नयाँ महानिरीक्षक र ट्रम्प-पुटिनबीच वार्ता हुने

सोमबार दिउँसो काठमाडौंमा एउटा ‘र्‍युमर’ फैलियो– ओली र देउवासँग प्रचण्डले

नयाँ वर्ष : पोखराका होटलमा पर्यटकलाई २० प्रतिशत सहुलियत

लेखनाथ– पर्यटकीय राजधानी पोखराका होटलले पर्यटकलाई लक्षित गरी नयाँ वर्षमा