नेताले किन पढ्नु पर्छ ? « Khabarhub

नेपाल लिटरेचर फेस्टिभल

नेताले किन पढ्नु पर्छ ?


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली समाजमा एउटा सर्वमान्य मानक बनेको छ,  ‘नेताले पढ्दै पढ्दैनन् ।’  के साँच्चै नेताले नपढ्ने हुन् त ? पढ्दा कस्ता के पढ्छन् ? कस्ता पुस्तक पढ्छन् ? यिनै प्रश्नको सेरोफेरोमा पोखरामा शनिबार बहस चल्यो ।

फेवाताल किनारको बाराहीघाटमा बुकवर्म फाउण्डेसनको आयोजनामा जारी १२औँ संस्करणको एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलमा ‘नेताले किन पढ्नुपर्छ ?’ अन्तरक्रियामा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता हिसिला यमी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल, राजनीतिशास्त्री हरि शर्मासँग राजनीतिक अध्येयता शङ्कर तिवारीले सवालहरू राखे  । बहसमा सहभागी तीनै जना नेता पढ्नुपर्नेमा एकमत भए ।

राजनीतिशास्त्री शर्माले नेपाली राजनीतिज्ञहरूले कम पढ्ने तर्क प्रस्तुत गरे । ‘राजनीतिज्ञहरूले कम पढ्छन् भन्नलाई मलाई कुनै सङ्कोच छैन । किनभने जनताको आकाङ्क्षा, उर्लँदो इच्छालाई पढ्न सकिरहेका छैनन्’, उनले भने, ‘यो कुनै किताबसँग सम्बन्धित छैन । तर, किताबलाई पढ्ने कुरा महत्वपूर्ण छ ।’

उनले किताब मात्रै नभएर नेताले मान्छेको भावना बुझ्नुपर्ने बताए । ‘पढ्ने विषय पुस्तक मात्रै पढ्ने होइन । मान्छेको भावना बुझ्न सक्ने नेताले पढे की पढेनन् भन्ने कुरातिर जान्छ’, उनी थप्छन्, ‘ज्ञानको माध्यम पहिला किताब थियो । अहिलेको जेन–जी ट्याब्लेट भएर आएको छ । आइफोन भएर आएको छ । पुस्तक एउटा माध्यम हो । अक्षरहरू आफैँ बोल्दैनन्, अक्षरलाई बोलाइनुपर्छ । लेखकले बोलाउनुपर्छ । पाठक त्यसमा आबद्ध हुन्छन् ।’

उनले पढ्नुलाई व्यापकताको संज्ञा दिए । राजनीतिज्ञ मनोवैज्ञानिक हुनुपर्ने विचार व्यक्त गरे । नेताले पढिदिउन् भन्ने जनताको चाहनालाई सकारात्मक रुपमा लिनुपर्नेमा उनको जोड छ । ‘हाम्रो इच्छा के हो भने हाम्रो नेताले नेतृत्वले पढिदेओस् भन्ने आकाङ्क्षाबाट आएको हो । यो सकारात्मक छ मैले नकारात्मक लिइनँ ।’

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की नेतृ यमी पनि नेताले पढ्नुपर्नेमा सहमत छिन् । उनले रूपान्तरणको राजनीति गर्न पढ्नुको विकल्प नभएको ठोकुवा गरिन् । ‘राजनीतिज्ञले सबै पढ्नुपर्छ । राजनीतिमा पनि कुन खालको राजनीति हो ? सत्ता केन्द्रित राजनीति हो भने मान्छेलाई पढेर स्वार्थमा पार्न सक्ने हो भने सत्ता अर्को पटक पनि आउँछ । तर, रूपान्तरणको राजनीति गर्ने हो भने पढ्नुपर्छ, पढ्नुपर्छ, पढ्नुपर्छ । र संसारका चर्चित नेताहरूले असाध्यै पढेको देखिन्छ’, उनले भनिन् ।

सत्तादेखि सत्ताका लागि हो भने पढ्न आवश्यक नभएको उनको भनाइ थियो । पपुलिज्म खोज्ने नेताहरूले कम पढेको उनको टिप्पणी छ । नेतृ यमीले जनयुद्ध सुरु भएपछि किताब पढ्ने अभ्यास बढेको बताइन् । जनयुद्धको क्रममा रोल्पमा ६ महिने कारबाहीमा पर्दा डा. बाबुराम भट्टराईसँगको संगतले धरै किताब पढ्ने भएको बताइन् । ‘माओ र लेनिनवाद’ का किताबहरु रटेको उनको स्मरणमा ताजै छ ।

जनयुद्धका बेला नपढेको नेतासँग आफू प्रभावित भएको किस्सा पनि उनले सुनाउन भ्याइन् । ‘सबैभन्दा ठूलो कुरा के सिकेँ भने हामी जस्तो पढेलेखेको मान्छे डिग्रीवालाहरुको एउटा घमण्ड हुन्छ ज्ञानको घमण्ड । तर, जनयुद्धमा गइसकेपछि नपढेका मान्छेलाई चान्स दियो भने उनीहरु यति सिर्जनशील हुँदा रहेछन् । यति कलात्मक हुँदा रहेछन् । मैले त तिनीहरुलाई नमनै गरेँ’, उनले उल्लेख गरिन् ।  डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएको बखत ‘प्रथम महिला’ को कामबारे हिलारी क्लिन्टनको पुस्तक पढेको सुनाइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनालले अहिले उड्डयनसँगै परराष्ट्र नीति र कुटनीतिक विषयका पुस्तक पढिरहेको सुनाए । उनले चेतना र चिन्तन निर्माणमा पुस्तकको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको बताए । उनले व्यवहार परिवर्तनमा किताब पढेपछि सघाएको सुनाए । ‘चेतना वृद्धिको लागि पढ्नुको अत्यन्तै ठूलो महत्व हुन्छ जस्तो लाग्छ । त्यो म पटक पटक अनुभव गर्छु’, उनी भन्छन् ।

पपुलिष्ट नेतामा समाजको प्रचलित मानसिकतालाई तुरुन्तै पढ्न सक्ने खुबी भएको उनले बताए । ‘कुन भाषा, कुन शब्दावली बिक्छ भन्ने कुरा उसको पढाइको क्षमतामा हुन्छ । किताबको ज्ञान भन्दा पनि समाजको मनोविज्ञानको एकदम चाँडो पढ्न सक्ने क्षमता उसमा देखिन्छ’, उनको भनाइ थियो । 

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ९ : ४८ बजे

रवि भन्छन् : दुईतिहाइको सरकारले मविरुद्ध विष हाल्यो, अब सिंहदरबार बदल्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा

पुराना दललाई रविको चेतावनी : फागुन २१ मा आउने सुनामीको सामना गर्न तयार हुनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन

एयर चाइनाले २०२६ मा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने

एजेन्सी– चीनको प्रमुख राष्ट्रिय वायुसेवा कम्पनी एयर चाइनाले सन् २०२६

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी– पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको छैन

सामाजिक सञ्जाल विधेयक संसद्‍बाट फिर्ता लिने सरकारको निर्णय

काठमाडौं– सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय