ताप्लेजुङ– राष्ट्रिय युवासंघ नेपाल ताप्लेजुङको जिल्ला अधिवेशनमा भाँडभैलो भएको छ।
केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा बिहीबार उद्घाटन सत्र सकिएपछि राति नै बन्द सत्र सुरु भएको थियो । तर विवाद भएका कारण नयाँ समिति चयन प्रक्रिया रोकिएको छ ।
संघको बन्द सत्र सुरु भएपछि प्रतिनिधिहरूबाट नयाँ कमिटीको लागि नाम सूची तयार गरेर अध्यक्षमण्डलको तर्फबाट एकलौटी कमिटी घोषणा गर्न खोजिँदा विवाद भएको हो ।
युवा संघ जिल्ला कमिटीको चुनावमा पनि प्रेस चौतारीको महाधिवेशनमा राजेश राई पक्षलाई निषेध गरिए जस्तै अभ्यास एमालेले गरेको हो ।
बन्द सत्रका क्रममा निर्वाचनका कुनै पनि प्रक्रिया पूरा नगरी संघमा लामो समय काम गरेकाहरूलाई निषेध गरेर विधानविपरीत कमिटी चयन गर्दा विवाद सुरू भएको एकजना प्रतिनिधिले बताएका छन् ।
अधिवेशनको प्रमुख अतिथि बनेर थेवे गृहजिल्लामा जाँदासमेत आतंक मच्चाइएको गुनासो ती प्रतिनिधिले गरेका छन् ।
जिल्ला सदरमुकाम फुङलिङको सडकमा करिब २५ जना युवाहरूको मोटरसाइकल जुलुससहित थेवे पुगेका थिए ।
‘युवा संघका नेताहरू आउँदै हो-हल्ला थियो । बेलुका युवासंघभित्र ठूलै विवाद भएछ’, एकजना प्रतिनिधिले भने, ‘केन्द्रीय अध्यक्षको निर्देशनमा जवरजस्ती एकलौटी कमिटी घोषणा गराउन खोजिएपछि तनाव देखिएको हो ।’
संघलाई एकल निर्देशनमा चलाउन खोज्ने यस्तो प्रवृत्तिले पार्टीलाई पनि असर गर्ने प्रतिनिधिहरूको भनाइ छ । उनीहरूले बन्दसत्रको विधि र प्रक्रियामा जानुपर्ने माग गरेका छन् ।
अधिवेशन जिल्लाको पार्टी कार्यालय फुङलिङमै भएको थियो । विवाद भएपछि अधिवेशनस्थलमा टेबल, कुर्सी र माइकमा पनि तोडफोड भएको छ ।
संघको बन्द सत्रमा बिहीबार राति कुर्सी हानाहान तथा तोडफोड भएको हो । विहीबार राति युवाहरूबीच कुर्सी हानाहान तथा सभा हलमा तोडफोड भएको हो ।
बिहीबार दिउँसो थेवे आफैँले १० औं जिल्ला अधिवेशन उद्घाटन गरेका थिए । उनलाई युवाहरूको समूहले काबेलीबाट मोटरसाइकल र्यालीसहित भित्र्याएका थिए । तर बन्द सत्र सुरु भएपछि झडप भएको हो ।

दुई समूहबीच सर्वसम्मत नेतृत्व चयनका लागि छलफल भएको थियो । युवा संघ जिल्ला अधिवेशन आयोजक समितिका संयोजक मानिक तुम्बाहाम्फेको नेतृत्वमा समिति चयन गर्न छलफल भएको थियो ।
अघिल्लो अधिवेशनमा पराजित बलबहादुर साम्सोहाङ पक्षधरले सहमतिमा कमिटी चयन गर्दा आफूहरूले सचिव पाउनु पर्ने भनेका थिए । अध्यक्षमण्डलले मानिकको नेतृत्वमा एकपक्षीय नाम घोषणा गरेपछि विवाद सुरु भएको थियो ।
राति ११ बजेदेखि सुरु विवाद बिहान २ बजेसम्म चलेको थियो । कुटाकुट भएपछि अध्यक्षमण्डलले शुक्रबार मध्यान्ह १२ बजेदेखि बन्दसत्रको कार्यक्रम यथावत गर्नेगरी सूचना सार्वजनिक गरेको थियो ।
अध्यक्षमण्डलको अध्यक्षमा निरोज पौडेल, सदस्यमा सुमना लिवाङ, अम्बिका नुगो, हेमराज निरौला, लेखनाथ भट्टराई र दीपक धिताल छन् । सूचनामा लेखनाथले मात्रै हस्ताक्षर गरेका थिए ।
सदस्य दीपक धितालले सामान्य विवाद भएकाले शुक्रबार टुंगिने जवाफ सञ्चाकर्मीलाई दिएका थिए । ‘प्रकृयामा नजाँदा सामान्य विवाद भएको हो, शुक्रबार सहमतिमा टुंगिन्छ’, धितालले भनेका थिए ।
उता केन्द्रीय अध्यक्ष थेवेले सबै प्रक्रिया पूरा भइसकेको प्रतिक्रिया सञ्चाकर्मीलाई दिएका थिए । एमाले जिल्ला अधिवेशनयता ताप्लेजुङमा डम्बरध्वज तुम्बाहाम्फे र बलबहादुर साम्सोहाङको दुई समूहबीच समस्या छ । ताप्लेजुङ एमाले सचिव योगेश भट्टराईको गृहजिल्ला पनि हो । तर उनी युवा संघको जिल्ला अधिवेशनमा देखिएनन् ।

एमालेमा पछिल्लो समय विधानसम्मत र लोकतान्त्रिक प्रणाली प्रक्रिया अपनाउने भन्दा टीके प्रथा चलाउन थालिएको छ । यो प्रक्रिया माथिबाट तलैसम्म चलेको छ ।
जनसंगठन र भ्रातृसंगठनबाट थालिएको टीकेप्रथा जिल्लासम्मै पुग्न थालेको छ । माथिल्लो कमिटी र नेताको ठाडो हस्तक्षेपले कार्यकर्ता र कमिटी चलायमान हुन छाडेका छन् ।
टीके प्रक्रियाबाट निर्वाचित एमालेको विभिन्न संगठनका नेताहरू संगठन बनाउने भन्दा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई रिझाउनेतिर धेरै लाग्न थालेका छन् । त्यसका कारण एमालेको संगठन चल्ने भन्दा लथालिंग हुन थालेका छन् ।
प्रतिक्रिया