'नागरिक उन्मुक्ति पार्टीको सरकारमा बस्‍ने मनसाय छैन' | Khabarhub Khabarhub

अन्तर्वार्ता

‘नागरिक उन्मुक्ति पार्टीको सरकारमा बस्‍ने मनसाय छैन’

‘अपहरण शैलीमा रेशमलाई पक्रिइयो, राणाशाहीमा पनि यस्तो हुँदैनथ्यो’



काठमाडौं– जनमत पार्टी र नागरिक उन्मूक्ति पार्टीबीच प्रज्ञा भवन कमलादीमा एकता घोषणा कार्यक्रम थियो ।

जनमत अध्यक्ष चन्द्रकान्त (सिके) राउत र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठभन्दा अगाडि कार्यक्रमस्थल पुगेका थिए नाउपा संरक्षक- रेशम चौधरी । तर उनलाई सादा पोसाकमा खटिएका प्रहरीले कमलादीबाट डिल्लीबजार कारागार पुर्‍याए । यो घटनाले सबै चकित भए ।

रेशम समातिएसँगै पार्टी एकता घोषणामा आएका नेता–कार्यकर्ता अलपत्र परे । उनीहरू सरकारविरुद्ध नाराबाजीमा उत्रिए । उनीहरूले थारु र मधेसीबीचको एकता रोक्न षड्यन्त्र भएको भन्दै नारा लगाए ।

जनमत पार्टीका नेताहरु पनि रेशमको पक्षमा नाराबाजी गर्न थाले ।

रेशम पक्राउ पर्नुका पछाडि के थियो ? खोजीनीति हुँदा सर्वोच्चले दिएको आदेश–पत्र सर्वोच्चकै ढड्डामा भेटिएन ।

न्यायाधीश आफैं चकित भए । खोजी गर्दै जाँदा सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टले आफैंले पत्र लेखेको खुल्यो । विष्ट पक्राउ परे । अहिले उनी हिरासतमा छन् । रेशम भने ५ घण्टाको कारागार बसाइपछि घर फिर्ता भए ।

नेताहरूका अनुसार अहिले जनमत र नाउपाले यो विषयलाई गम्भीर समीक्षा गरिरहेका छन् । तत्काल पार्टी एकता रोकेर यसको सत्यतथ्य जाँच गर्न नेताहरू लागेका छन् । रेशम पक्राउ परेको विषयलाई प्रतिनिधि सभामा सामूहिक प्रतिवाद गर्ने बिहीबार बेलुका र शुक्रबार बसेको दुई दलको बैठकले सहमति जुटाएको छ ।

दुवै पार्टी सरकारमा भएपनि यो आरोप सरकारका दुई ठूला दल कांग्रेस र एमालेमाथि लागेको छ । राजनीतिक प्रतिशोध साँधिएको उनीहरूको आरोप छ ।

बर्दिया क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद हुन् लालवीर चौधरी । रेशम चौधरीका पितासमेत हुन् उनी । यो महिनाभित्र नाउपा र जनमतबीच एकता हुने उनको दाबी छ । सरकारबाट एकैसाथ दुबै पार्टी निस्कने उनको सङ्केत छ । ‘रेशम पक्राउ पर्नुका कारण सरकारमा रहेका ठूला पार्टी नै हुन् ।’

उनको यही दाबी छ, शुक्रबार सदनमा आवाज उठाउने उनको भनाइ छ । यसै सन्दर्भमा प्रस्तुत छ, खबरहबले सांसद् चौधरीसँग गरेको छोटो संवादको सम्पादित अंश :

जनमत र नाउपा एकता घोषणाका दिन बुधबार यहाँहरूलाई ठूलो सङ्कट आइलाग्यो होइन ?

– यो त फिल्मको कहानीजस्तो भयो । राज्य लाग्यो भने कतिसम्म लाग्दो रहेछ भन्ने उदाहरण पनि हो । हामीले बुधबार पनि रातभर बसेर सबै परिघटना नाउपा र जनमतका नेताले छलफल गरेका छौँ । दुवै पार्टीका नेता र छुट्टाछुट्टै पार्टीका नेताबीच कुरा भएको छ ।

छलफल हुँदा हामीले पाएको जानकारी र नेताहरूको सूचनाअनुसार यो सामान्य कर्मचारीको गल्ती होइन । हाम्रो निष्कर्ष पनि त्यही निस्कियो । समयक्रमअनुसार घटनाको भित्री कुरो अवश्यै उजागर हुन्छ ।

यहाँ त पार्टी संरक्षक रेशम चौधरीको बुबा पनि हुनुहुन्छ । उहाँ पक्राउ पर्ने सूचना थिएन ?

– कहाँ हुनु, थिएन नि । हामी अचम्ममा पो परेका थियौँ । न जानकारी, न सूचना । एक्कासि सादा पोसाकमा प्रहरी आए । अपहरणकै शैलीमा पो काम भयो त । यो त राणा र राजा शासनमा पनि हुने थिएन होला । सूचना भएको भए त हामी आफैँ प्रहरीकहाँ पुग्थ्यौँ । पक्राउ गर्नुपर्ने पनि थिएन ।

यो सबै कुरा बडो षड्यन्त्र गरेर मिलाइएको छ । यसमा कर्मचारीलाई प्रयोगमात्र गरियो । जनमत पार्टी अध्यक्ष राउतले त विभिन्न अन्तर्वार्तामा मार्नेसम्म धम्की आएको कुरा गर्नुभएको थियो । हिजोको घटनाले थारू र मधेसी माथिको आक्रमण छरपस्ट भएको छ । घुमाई–घुमाई काम भएको छ ।

जनमत पार्टी अध्यक्षले पनि माथिबाट षड्यन्त्र भएको छ भनेर बिहीबार बोल्नुभयो । यहाँले पनि यसै भन्नुहुन्छ, माथि भनेको को हो ? केही प्रमाण पाउनुभयो कि यत्तिकै आरोप लगाउनु भएको ?

– हामीले केही कुरा समीक्षा गरेका छौँ । एक–दुई दिन यो घटनाको अध्ययन गर्छौँ । अहिले सबै तनावमा भएकाले यसै भन्ने अवस्था भएन । शुक्रबारबाट सदनमा हामीले यसबारे आवाज उठाउने छौँ । यो कुरा सामान्य होइन । सामान्य कर्मचारीको बलले मात्र त्यसो गर्न सकिने राज्यको संयन्त्र भइसकेको जस्तो महसुस हामीलाई भएको छैन ।

हाम्रो ठम्याइ त्यही छ । यो सरकार पक्षका ठूला व्यक्तिहरूबाट भएको हुनसक्छ । यसको व्यापक अध्ययनपछि सार्वजनिक गर्छौँ । फेरि पनि भन्छु, यो कर्मचारीको मात्र गल्ती होइन । यदि कर्मचारीको गल्ती हो भने हाम्रो प्रहरी प्रशासन यति कमजोर भएको छ त ? हाम्रो प्रहरी प्रशासनको विषयमा त विश्वभर नै तारिफ हुन्छ । यो गल्ती होइन षड्यन्त्र नै हो । हामीमाथिको प्रहार हो ।

तर बाहिर हल्ला चाहिँ एकता नचाहने पार्टीभित्रका व्यक्तिको पनि हात हुनसक्छ भन्ने पनि रहेछ ?

– अहिलेसम्म त्यो कुरा देखिएको छैन । दुवै पार्टीमा यस्तो घात गर्ने व्यक्ति छैन भन्ने हामीलाई विश्वास छ । पार्टीभित्र नै यति ठूलो षड्यन्त्र भएको होइन भन्ने छ । तर शङ्का त गर्न पाइयो नि । राजनीतिक प्रतिशोध नै हो भनेर बुझेका छौँ । सरकारका ठूला दल र व्यक्तिबाहेक अरूले यस्तो काम गर्न सक्छ भन्ने लागेको छैन ।

पार्टी अध्यक्ष त जनमतसँग एकताको पक्षमा हुनुहुन्न थ्यो रे, होइन ?

– कहाँ नहुनु । उहाँले एकता प्रकृया सर्वमान्य होस् भन्नुभएको हो । बाहिर एकता भाँड्न अनेक आरोप आए ।

बुधबारको घटनालाई सरकार र गृहमन्त्रीले चासो राख्नुभयो होला नि ? हुन त यहाँहरू पनि सत्ता साझेदार दल नै हो ?

– कतैबाट हामीले सुनेका छैनौँ । सोध्ने कुरा पनि भएन । उहाँहरूले टेलिफोन गरेर केही कुरा पनि गर्नुभएन । उहाँहरू आफैँले वक्तव्य दिएर पनि जानकारी गराउनुभएको छैन । खै त ? सर्वोच्चले बाहेक कसैले विज्ञप्ति निकालेको देखिएन ।

सत्ता साझेदारभन्दा पनि सरकारले गरेका राम्रो कामलाई समर्थन गर्ने नराम्रोलाई प्रतिवाद गर्ने सहमतिमा सरकारमा गएका हौँ । पक्राउ परेका कर्मचारी महिमानसिंह जीले पनि खुलाउनुहोला नि बयानमा, बिस्तारै ।

बयानमा महिमानसिंहले के भन्नुभएछ थाहा पाउनुभयो ?

– प्रहरीको अनुसन्धानमा भएकाले हामीलाई कुनै जानकारी छैन । तर सत्यकुरा त एक दिन अवश्य आउँछ नि । घामजस्तै छर्लङ्गै देखिन्छ सत्यकुरा ।

नाउपा संरक्षक छुट्नुभएको छ, अब पार्टी एकता कहिले हुन्छ ?

– बुधबारको एकता बिथोलिएपछि केही दिनका लागि पार्टी एकताको कुरा रोकिएको छ । सबै घटनालाई विश्लेषण गरेर बसेका छौँ । पार्टी एकता चाहिँ हुन्छ नै । यो महिनाभित्र जसरी एकता गरिछाड्ने हाम्रो कुरा छ । बुधबार पार्टी संरक्षकले त ‘म जहाँ भएपनि एकता नरोकियोस् कार्यक्रम नसार्नू’ भन्नुभएको थियो ।

तर जनमत अध्यक्ष सिके राउतलगायतका नेताहरूले ‘यसो नगरौँ राज्यले प्रतिशोध राखेको छ । हाम्रो एकता भाँड्नलाई दुवै पार्टी मिलेर सामना गर्नुपर्छ’ भन्नुभयो अनि रोकियो ।

पार्टी एकताका लागि विभिन्न जिल्लाबाट आएका नेता कार्यकर्ता घर फर्कनुभयो ?

– यो कुरा एकदमै महत्त्वपूर्ण हुने रहेछ । उहाँहरू एउटा ऊर्जा र उत्साह लिएर आउनुभएको थियो । तर, निराश बनाउने काम भयो । यसलाई हामीले सामान्य हिसाबले लिएका छैनौँ । हाम्रा कार्यकर्ताले यो कुरा बुझ्नुभएको छ । उहाँहरूले मधेसी र थारूमाथि भएको आक्रमणलाई निकै गहन ढङ्गले लिनुभएको छ ।

अत्यन्त दुःखी हुनुभयो उहाँहरू । तर पार्टी एकता रोकिनु हुँदैन । हामी जुनसुकै बेला आउन तयार छौँ भनेर उहाँहरू फर्किनुभएको छ । यही सल्लाहमा उहाँहरू जानुभयो । जुनसुकै बेला एकता हुँदा उहाँहरू आउन तयार हुनुहुन्छ । उहाँहरू बिहीबार बिहान घर फिर्ता हुनुभएको छ ।

दुई पार्टीका गरेर कति जना भेला हुनुभएको थियो उपत्यकाबाहिरबाट ?

– हाम्रो बाहिरबाट आएका १ सय ५४ प्रतिनिधि हुनुहुन्थ्यो । जनमतको २ सय जति हुनुहुन्थ्यो । उपत्यकाका साथीहरू जोड्दा दुवै पार्टीबाट ६ सय जना जति हुनुहुन्थ्यो । अचानक यस्तो हुँदा त सबै अचम्ममा परियो नि ।

यहाँहरूले हिजो नै सरकारबाट बाहिरिने कुरा गर्नुभयो थियो । राज्यमन्त्रीबाट अरुणकुमार चौधरीले राजीनामा–पत्र नै बोकेर हिँडेको कुरा थ्यो । फेरि किन रोकिनुभएको ?

– हामीले सबै तयारी गरेको हो । तर पार्टीमा संसदीय दल र नेताहरूले छलफल गर्ने भनेर पर्खिएको हो । फेरि बुधबार भ्याइएन पनि । रेशमलाई पनि लिन जानुपर्ने, पार्टीको पनि मिटिङ भएकाले यो काम हुन सकेन । फेरि साथीहरूसँग बसेर छलफल भएपछिमात्र निर्णय लिने चलन भएकाले रोकियो ।

हाम्रो पनि पार्टी कमिटीले निर्णय गर्नुपर्छ । उहाँले राजीनामा–पत्र बोके पनि निर्णय गरेर जाऔं न त भनेर रोकियौँ । यसबारे पनि पार्टीले छिटो निर्णय गर्छ ।

जनमत पार्टीले पनि सरकार छाड्न लागेको हो ? यहाँहरूबीच त छलफल भयो होला नि ?

– यसको विषयमा व्यापक छलफल हुन पाएको छैन । तर हामीबीचको एकता भाँड्न त्यो किसिमले अगाडि बढेपछि करिब–करिब हामी दुवै पार्टीले एकै पटक सरकार छाड्न सक्ने अवस्था छ ।

जनमत पार्टी यहाँहरूसँगै सरकारबाट बिदा हुन तयार छ त ? उहाँहरूको त मधेसमा आफ्नो सरकार छ ।

– हामीले छलफल गरेका छौँ । उहाँहरू हाम्रो साथमा हुनुहुन्छ । हामी उहाँहरूको । एकैचोटि निस्कने कि बस्ने निर्णय गर्छौँ होला । तर अहिले नै निर्णयमा पुगेका छैनौँ । छलफल भइरहेको छ ।

पार्टीले सरकारमा बस्ने मनसाय गरेको छैन । उहाँहरू पनि त्यही सोचमा हुनुहुन्छ । किनकि अब त एकै पार्टी बन्दै छ । हाम्रा निर्णयहरू सामूहिक रूपमा आउँछन् । तर यसमा कसैले कसैलाई कर लगाउने, रोक्ने काम भएको छैन ।

यहाँहरूको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले बिरामी भएर अस्पताल भर्ना हुनुभएको छ । पार्टीको बैठकमा कसले नेतृत्व गर्दै हुनुहुन्छ ?

– पार्टी संरक्षक हुनुहुन्छ । संसदीय दलको नेता गङ्गानारायण चौधरी पनि हुनुहुन्छ । महामन्त्री पनि हुनुहुन्छ । नेतृत्व भनेर तोकेको छैन । सबैले आफ्ना काम गरिरहेका छौँ । पार्टी अध्यक्ष पनि पुनः अस्पताल भर्ना हुनुभएको हो । आवश्यक पर्दा उहाँ पनि उपलब्ध हुनुभएको छ ।

बुधबारको घटनाबारे सदनमा शुक्रबार दुवै पार्टीका सांसदहरू प्रस्तुत हुँदै छौँ । यसबारे प्रस्तुत हुनुपर्छ भनेर दुवै अध्यक्ष बसेर छलफल भएको छ । उहाँहरूले आवाज उठाउन अनुमति दिइसक्नुभएको छ ।

यो पनि पढ्नुहोस् :

एकता रोकिएपछि जनमत र नाउपाका नेताहरू छलफलमा

छुटे रेशम चौधरी

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : ४९ बजे

प्रोसेस बने भ्वाइस अफ नेपाल सिजन ६ को विजेता

काठमाडौं – प्रोसेस पाण्डेले ‘द भ्वाइस अफ नेपाल’को छठौं सिजनको

‘तोप चलाउने’ सरकारको ‘झिँगा मार्ने’ कार्यक्रम !

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नेपाल सरकारको

‘के घर के डेराः घर नं २’ को ट्रेलर- घरधनी र डेरावालको कथा

काठमाडौं – दीपेन्द के खनाल निर्देशित मल्टिस्टार फिल्म ‘के घर

निर्देशक चाम्सको दाबी : ५१ दिन मनाउने पहिलो बायोपिक बन्यो ‘अञ्जिला’

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो

आँखाको उपचार सेवा विस्तार गर्न ‘स्पेक्स–२०३०’ हुने

काठमाडौं – नेपालमा आँखा उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले