बिलियार्ड कक्षको त्यो चिच्याहट- ‘डाक्टर चाँडो बोलाऊ…’ | Khabarhub Khabarhub

राजपरिवार संहारको २४ वर्ष

बिलियार्ड कक्षको त्यो चिच्याहट- ‘डाक्टर चाँडो बोलाऊ…’


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 11 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज जेठ १९ गते। शाहवंशीय राजा वीरेन्द्र शाहको परिवारको सामूहिक हत्या भएको २४ वर्ष पुगेको छ। ०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह, अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाहको सामूहिक हत्या भएको थियो ।

दरबार हत्याकाण्डको राति घाइते अवस्थामा फेला परेका युवराजाधिराज दीपेन्द्र र राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्रलाई तीन दिनपछि वीरेन्द्र सैनिक अस्पतालले मृत घोषणा गरेको थियो । हत्याकाण्डपछि राति ९:२४ बजे सैनिक अस्पताल पु-याइएका दीपेन्द्र जेठ २२ गते बिहान ३:४५ बजे र धीरेन्द्रलाई सोही दिन बेलुकी ५:५७ बजे अस्पतालमा मृत घोषित गरिएको हो।

राजपरिवारका सदस्य सहभागी रात्रिभोजमा भएको उक्त हत्याकाण्डको सत्यतथ्यआजसम्म पनि सार्वजनिक हुन सकेको छैन। राजा वीरेन्द्रको वंश मासिने गरी भएको दरबार हत्याकाण्डको षड्यन्त्रपर्दाफास हुन नसकेकै कारण आजका दिनसम्म पनि घटनामाथि आशंका यथावतै छन्।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा गएर राजसंस्था इतिहास बनिसक्दा पनि नारायणहिटी दरबारकाण्डको यथार्थ जनताले थाहा पाउन सकेका छैनन्। दरबार हत्याकाण्ड पत्ता लगाउन गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरे पनि धेरैले विश्वास गर्न सकेका छैनन्।

नारायणहिटी राजदरबार हत्याकाण्डको छानबिन गर्न जेठ २२ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही घोषणाद्वारा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गरेका थिए। समितिले जेठ २७ गतेबाट कार्यआरम्भ गरेको थियो।

उपाध्याय नेतृत्वको समितिले जेठ ३२ गते छानबिन प्रतिवेदन राजा ज्ञानेन्द्रसमक्ष बुझाएको थियो। उक्त प्रतिवेदनलाई समिति सदस्य (तत्कालीन सभामुख) तारानाथ रानाभाटले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए। ज्ञानेन्द्रले उच्चस्तरीय छानबिन समितिमा राखे पनि तत्कालीन विपक्षी दल नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अस्वीकार गरेका थिए।

वीरेन्द्रको वंशनाश भएको दरबार हत्याकाण्डलाई हरेक वर्षको जेठ १९ का दिन सम्झिएरमात्रै बित्ने गरेको छ। दरबार हत्याकाण्डपछि नारायणहिटी राजदरबारलाई सरकारले संग्रहालयमा परिणत गरेको छ। संग्रहालयमा तत्कालीन राजपरिवारले प्रयोग गरेका केही सामग्रीको संरक्षण गरिएको छ। तर, राजपरिवारका १० सदस्यको हत्या भएको स्थान वीरेन्द्र सदन भने भत्काइएको छ।

राजा वीरेन्द्रको हत्यापछि अचेत अवस्थामा रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो। श्रीपेच पहिरिन नपाउँदै उपचार क्रममा निधन भएपछि उनका काका ज्ञानेन्द्र शाह राजसिंहासनमा बसेका थिए।

दरबार हत्याकाण्डमा ज्ञानेन्द्रपत्नी (पूर्वरानी) कोमल, तत्कालीन अधिराजकुमारी शोभा राज्यलक्ष्मी शाही, कुमार गोरखशम्शेर ज.ब.रा. र श्रीमती केतकी चेष्टर घाइते भएका थिए।

के भन्छ उच्चस्तरीय समिति प्रतिवेदन ?
नारायणहिटी राजदरवारमा २०५८ जेठ १९ गते शुक्रबार राती घटेको घटनाको यथार्थ तथ्य संकलन गर्ने क्रममा यस उच्चस्तरीय समितिबाट घटनास्थलको अवलोकन, भौतिक चीज वस्तुको संकलन र वैज्ञानिक परीक्षण, घटना प्रत्यक्ष रूपमा देख्ने, घटनाबाट पीडित, एवं शाहीरक्षकहरू लगायतका उद्धारकार्यमा संलग्न व्यक्तिहरू, उपचारकार्यमा संलग्न चिकित्सकलगायतका व्यक्तिहरूसँग सोधपुछ गर्ने कार्य गरियो।

यसका अतिरिक्त छानबिनका क्रममा बुझिएका मानिसबाट खुल्न आएको तथ्यका सन्दर्भमा बुझ्न आवश्यक देखिएका मानिससँग बुझ्ने, सोधपुछ गर्ने एवम् सम्बन्धित ठाउँहरूबाट आवश्यक रेकर्ड कागजात झिकाउने समेतका कार्यहरू गरी छानविनबाट निम्न बमोजिमको तथ्य खुल्न आएको छ:-

१. नारायणहिटी राजदरबारमा हरेक महिनाको तेस्रो शुक्रबार राती नियमित रूपमा पारिवारिक जमघटको आयोजना गर्ने परम्परा रहेअनुसार २०५८ जेठ १९ गते शुक्रबार पनि जमघटको आयोजना भएको पाइयो।

नारायणहिटी राजदरवारको त्रिभुवन सदनमा आयोजना गरिएको सो जमघटमा श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव यसपछि श्री ५ महाराजाधिराज भनिएको, श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवीशाह। यसपछि श्री ५ बडामहारानी भनिएको, श्री ५ मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह। यसपछि श्री ५ मुमा बडामहारानी भनिएको, श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाह (यसपछि श्री ५ युवराजाधिराज भनिएको), श्री ५ अधिराजकुमार निराजन वीर विक्रम शाहका अतिरिक्त राजपरिवारका अन्य सदस्य एवं शाही नातेदारहरू गरी २४ जनालाई राती ७:३० बजे आमन्त्रण गरिएकोमा आमन्त्रितमध्ये श्री ५ अधिराजकुमारी पे्रक्षा राज्यलक्ष्मी देवी शाह, कुमार श्री मोहनबहादुर शाही र राजकुमारी विमला सिंह गरी ३ जना बाहेक अन्य सबैको उपस्थिति रहेको तथ्य श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयको २६ जेठ २०५८ को पत्रबाट खुल्न आएको छ। आमन्त्रित पाहुनाको नामावली अनुसूचीमा समावेश गरिएको छ।

२. उल्लिखित जमघट कार्यक्रम आयोजना गरिएको स्थान श्री ५ युवराजाधिराजको खोपी रहेको बंगला त्रिभुवन सदनमा राती ७:३० बजेभन्दा अगाडि नै सर्वप्रथम श्री ५ युवराजाधिराज उपस्थित भएको तथ्य शाही पाश्र्ववर्ती गजेन्द्र बोहरासमेतको भनाइबाट पुष्टि भएको छ। त्यसपछि क्रमश: आमन्त्रितहरूको आगमन भएको देखिन्छ।
राती ८ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोटरबाट श्री ५ मुमाबडामहारानी राजहुने बंगला महेन्द्र मन्जिल सवारी भईश्री ५ मुमा बडामहारानीलाई मौसुफको मोटर आफैँले चलाई जमघटस्थान त्रिभुवन सदनमा सवारी चलाइबक्सेको देखिन आयो। श्री ५ मुमा बडामहारानी बिलियार्ड कोठाको पूर्वतर्फ सानो बैठक भनिने कोठामा श्री ५ अधिराजकुमारी हेलेन शाहसँग राजभइबक्स्यो।
राजपरिवारका सदस्य एवं शाही नातेदारहरूको उपस्थिति भैसकेपछि अन्तमा राती करिव ८:३० बजे श्री ५ महाराजाधिराज मौसुफको अफिसबाट सिधै त्रिभुवन सदनमा पैदल सवारी भई श्री ५ मुमा बडामहारानी सरकारको दर्शन गरिबक्सी केही समयको भलाकुसारी पछि बिलियार्ड कोठातर्फ सवारी भएको तध्य घटनाक्रमका प्रत्यक्षदर्शीहरूबाट खुल्न आयो।

३. श्री ५ युवराजाधिराजले ७:३० बजे त्रिभुवन सदनको बिलियार्ड कोठामा केही समय एकलै बिलियार्ड खेलिबक्सेको र त्यस क्रममा १/२ पेग निट (पानी नराखी) ह्विस्कीसमेत पिइबक्सेको तथ्य मौसुफका एडीसी गजेन्द्र बोहरा, शाही नातेदार महेश्वर सिंह तथा रवि शम्शेर ज.ब.रा. समेतको भनाइबाट देखियो।

श्री ५ महाराजाधिराजको त्रिभुवन सदनमा सवारी हुनुभन्दा केही समय अगाडि (करिब १०-१२ मिनेटजति अगाडि) श्री ५ युवराजाधिराज शरीर थाम्न नसकी ढलपल ढलपल गरेको देखि ह्विस्कीको असरले हो कि ? भन्ने सम्झी श्री ५ अधिराजकुमार निराजन, श्री ५ शाहज्यादा पारस, कुमार गोरख र डा. राजीवसमेत ४ जना भई श्री ५ युवराजधिराजलाई त्रिभुवन सदनभित्र रहेको मौसुफको खोपीमा सवारी चलाएको कुरा बुझिएका प्रत्यक्षदर्शीहरूबाट खुल्न आएको छ।

४. श्री ५ युवराजाधिराज बिलियार्ड कोठामा रहँदाकै अवस्थामा राती ८ बजेर १९ मिनेटको समयमा आफ्ना पाश्र्ववर्ती गजेन्द्र बोहरालाई चुरोट ल्याउन मोबाइल फोनबाट हुकुम भएको र हुकुम भएबमोजिम गजेन्द्र बोहराले श्री ५ युवराजाधिराजका शाही अर्दली रामकृष्ण केसीलाई आदेश गरेअनुसार निजले विशेष प्रकारको शिखर चुरोटमा गाँजा र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई तयार गरिएको चुरोट बिलियार्ड कोठाको पूर्व ढोकामा गई श्री ५ शाहज्यादा पारसमार्फत् जिम्मा दिइआएको भन्ने निज रामकृष्णबाट जानकारी पाइयो।

गाँजालगायतका कालो पदार्थको व्यवस्था श्री ५ युवराजाधिराजले स्वयं गर्ने गरेको, कहाँबाट ल्याएको हुन्छ भन्ने थाहा नभएको र करिव १ वर्षदेखि आफूले त्यस्तो चुरोट बनाइदिने गरेको कुरा श्री ५ युवराजाधिराजका अर्दली रामकृष्ण केसीले समितिलाई जानकारी दिए। श्री ५ युवराजाधिराजका शाही पाश्र्ववर्ती गजेन्द्र बोहरा र राजु कार्कीसमेतबाट श्री ५ युवराजाधिराजले त्यस प्रकारको चुरोट पिउने गरिबक्सेको कुरा समिति समक्ष बताएकोले अर्दली रामकृष्ण केसीको भनाइ पुष्टि हुन आएको छ।

५. छानबिनको क्रममा केही टेलिफोनको विवरण आवश्यक भएकोले नेपाल दूरसञ्चार संस्थानबाट प्राप्त मोबाइल फोनको विवरण अनुसार २०५८ जेठ १९ गते राती ८:१२ बजेको समयमा श्री ५ युवराजाधिराजको मोबाइल नम्बर ९८१०२१५१३ बाट नेपाल ग्यास उद्योगको नाममा दर्ता रही उषा राणालाई दिइएको मोबाइल नम्बर ९८१०२४३३९ मा एक मिनेट चौध सेकेण्ड (१:१४) देवयानी राणासँग कुरा भएको र दोश्रो पटक देवयानी राणाले राती ८:१९ बजे फोन नं. ०१४२३०५१ बाट श्री ५ युवराजाधिराजसँग मौसुफको मोबाइल नं. ९८१०२१५१३ मा ४ मिनेट १४ सेकेण्ड (४:१४) कुरा भएको अभिलेखबाट देखियो।

पुन: राती ८:३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोवाइल नं. ९८१०२१५१३ बाट देवयानी राणालाई मोबाइल नं. ९८१०२४३३९ मा ३२ सेकेण्ड कुरा गरेको तथ्य सोही विवरणबाट खुल्न आएको छ। काठमाडौं, महाराजगञ्ज बस्ने निज देवयानी राणासँग श्री ५ युवराजाधिराजको घनिष्ट सम्बन्ध रहेको तथ्य शाही पाश्र्ववर्तीहरु गजेन्द्र बोहरा, राजु कार्की तथा श्री ५ युवराजधिराजको मित्र सुप्रिया शाहको भनाइबाट खुल्न आएको छ।

श्री ५ युवराजधिराज र देवयानी राणाका बीच सम्पर्क रहेको तथ्य देवयानीका मातापिता स्वयंले समिति समक्ष सोधपुछका क्रममा उल्लेख गर्नुभयो। देवयानी राणालाई समितिले बुझ्न खोज्दा उपचार क्रममा निज भारतमा रहेको बुझिएकाले भारतस्थित शाही नेपाली राजदूत डा. भेषबहादुर थापालाई समितिको तर्फबाट अख्तियार गरिए बमोजिम देवयानी राणालाई बुझ्दा (निजको आवाज अंकित टेप रिकर्डअनुसार) पनि श्री युवराजाधिराज र देवयानी राणाका बीच घनिष्ठता रहेको पुष्टि भएको छ।

६. देवयानी राणाले श्री युवराजाधिराजको कुरा आफ्नो व्यक्तिगत विषय भएकोले त्यसबारे बताउन नचाहेको र राती ८.२५ बजे कुरा भइरहेको समयमा श्री ५ युवराजाधिराजको स्वर लर्बराइरहेको जस्तो लागेकोले सरकासँग अरू कुरा हुन नसकेको कारणले ‘श्री ५ युवराजाधिराजको स्वर अलि लर्बराइ राखेको छ अलि सञ्चो छैन कि ? भनी श्री ५ युवराजाधिराजको पाश्र्ववर्ती गजेन्द्र बोहरालाई अफिसमा र राजू काकीलाई निजको घरमा फोन गरेर खोपीमा गई हेर्न आग्रह गरेकी हुँ भनी उल्लेख गरेको पाइयो।

७. देवयानी राणाले श्री ५ युवराजाधिराजको पाश्र्ववर्ती गजेन्द्र बोहरालाई फोन परेपछि र राजु कार्कीले गजेन्द्र बोहरालाई फोनबाट सो सम्बन्धी समाचार दिएपछि गजेन्द्र बोहराको आदेशानुसार श्री ५ युवराजाधिराजको अर्दली रामकृष्ण केसी र द्वारे आमा जमुना अधिकारी श्री ५ युवराजाधिराजको खोपीमा पुग्दाश्री ५ युवराजाधिराज भुइँमा पल्टिराखिबक्सेको र शरीरको माथिल्लो कपडा फुकाल्न खोजी बक्सेको देखी सो कपडा फुकाल्न निजहरूले सहयोग गरेको र कपडा फुकालीसकेपछि श्री ५ युवराजाधिराज बाथरूम सवारी होइबक्सेको, बाथरुमभित्र वाकवाक गरिबक्सेको आवाज जमुना अधिकारीसमेतले सुनेको र बाथरूमबाट निस्किबक्सेपछि श्री ५ युवराजाधिराजने ती दुवैजनालाई सुत्न आ–आफ्नो कोठातिर जानूभनी हुकुम भएको भन्ने द्वारेआमा र अर्दली रामकृष्ण केसीको कथन रहेको छ।

८. राती ८.३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोबाइल फोन नं. ९८१०२१५१३ बाट देवयानी राणालाई ९८१०२४३३९ नं. को मोबाइलमा ३२ सेकेण्ड कुरा गरिबक्सेको दूरसञ्चारको अभिलेखबाट देखिएकोमा सो कुरालाई देवयानी राणाले स्वीकार गरी श्री ५ युवराजाधिराज सरकारबाट ‘अब म सुत्न लागेँ, ‘गुड नाईट, भोलि कुरा गरौँला’ भनीबक्सेको भन्ने निजको कथन रहेको छ।

९. देवयानी राणासँग फोन सम्पर्क गरिबक्से पश्चात् श्री ५ युवराजाधिराजबाट सैनिक कम्ब्याट पोशाक पहिरी हात–हतियारसमेत लिई खोपी बाहिर निस्किबक्सिदा श्री ५ युवराजाधिराजको अर्दली रामकृष्णले देखी श्री ५ युवराजाधिराजको बाहिर सवारी हुने रहेछ क्यार भन्ने ठानी ‘इमर्जेन्सी ब्याग टक्र्याएँ सरकार’ भनी जाहेर गर्दा श्री ५ युवराजाधिराजबाट ‘पर्दैन अहिले’ भन्ने हुकुम भएको भन्ने अर्दली रामकृष्णको कथन रहेको छ।

१०. श्री ५ युवराजाधिराज कम्ब्याट सैनिक पोशाकमा दुईतर्फ राइफल र १२ बोर भिरिबक्सी बिलियार्ड कोठातर्फ प्रवेश गरिबक्सेको, बिलियार्ड कोठासँगै जोडिएको डाइनिङकोठाको पूर्वपट्टिको बैठकवाट ब्वाइज बच्चुराम केसीले देखेको भन्ने निजको कथन रहेको छ।

११. श्री ५ युवराजाधिराज सैनिक कम्ब्याट पोशाकमा बिलियार्ड कोठामा प्रवेश गरिबक्सी कालो रङ्गको बन्दुक द्वारा कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फायरिङ्ग गरेपछि तत्काल बिलियार्ड टेबुलको पूर्व छेउमा उभिएर अरुहरूसँग कुरा गरिबक्सेको अवस्थामा श्री ५ महाराजाधिराजलाई भटटट फायर गरी पछाडि सर्दै बिलियार्ड कोठा बाहिर निस्की सो कोठाको पूर्वतर्फ भित्री बगैँचाको छेउकै उत्तरतर्फ झ्याङ्ग नजिक १२ बोरको बन्दुक फ्याँकी पुन: भित्र बिलियार्ड कोठामा प्रवेश गरी बत्ती र टेलिस्कोपसहितको राईफल सोझ्याउँदै आएर भटटट पार्दै पुन: श्री ५ महाराजाधिराज एवं कुमार गोरखशम्शेर राणा, श्री वीरेन्द्र शाह र कुमार विक्रम शाह समेतलाई फायरिङ्ग गरी पछाडि सर्दै ढोकामा पुगी पुन: अगाडि बढेर तेस्रो पटक श्री अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, श्री ५ अधिराजकुमारी शान्तिराज्यलक्ष्मी सिंह र श्री ५ शाहज्यादी जयन्ती शाहलगायत अन्यलाई लाग्ने गरी जथाभावी पररर फायरिङ्ग गरी श्री ५ युवराजाधिराज बिलियार्ड कोठाबाट बाहिर पूर्वतिरको भित्री बगँैचातर्फ पछाडि सर्दै गइबक्सेको भन्ने व्यहोरा घटनास्थलमा उपस्थित श्री ५ अधिराजकुमारी शोभा, श्री ५ शाहज्यादा पारस, कुमार गोरख, केतकी चेष्टर, रवि शम्शेर, डा. राजीव शाही, महेश्वरकुमार सिंह समेतको भनाइ रहेको छ।

१२. बिलियार्ड कोठामा तेस्रो पटक अन्धाधुन्द फायरिङ्ग गरेपरचात् पछाडि सर्दैसर्दै पूर्वतर्फको भित्री बगैँचातिर जाँदा रातो सारी पहिरिएको महिलाको आकृतिले पनि त्यसतर्फ खेद्दै गरेको दृश्य बिलियार्ड कोठासँग जोडिएको उत्तरतर्फको डाईनिङ्ग रुमबाट ब्वाइज शान्तबहादुर खड्कासमेतले देखेको भनी निजले बताएको पाइयो।

बिलियार्ड कोठाबाट पूर्व भित्री बगैँचामा जाने बाटो हुँदै सो बगैँचाको उत्तर त्रिभुवन सदन खोपीतर्फ जाने बाटो र पूर्वतर्फ रहेको प्रतीक्षास्थल (सेड) मा जाने सानो बाटोको संगम जस्तो ठाउँमा श्री ५ बडामहारानीको पछाडि पछाडि श्री ५ अधिराजकुमार निराजन सवारी भएको भन्ने श्रीमती केतकी चेष्टरसमेतको भनाइ रहेको र सोही ठाउँमा रहेको नीलकाँडाको झ्याङ नाघी सानो चौरमा उभिएर दक्षिण मोहडा गरी उत्तरबाट दक्षिणतर्फ गोली चलेको त्यहाँ प्राप्त भएको गोलीको खोकाको स्थिति र दक्षिणतर्फको भित्तामा रहेको गोली लागेको प्वालहरू समेत घटनास्थलको अवलोकनबाट देखिएको र सो ठाउँमा नै श्री ५ अधिराजकुमार निराजन पूर्वतर्फ टाउको परेर अचेत अवस्थामा ढलिबक्सेको देखिएको भन्ने उद्धार गर्न आएका सेनानी विष्णु खड्कासमेतले त्यहाँबाट बोकी बाहिर ल्याई मोटरमा राखी अस्पताल पु-याएको भन्ने पाइयो।

१३. बिलियार्ड कोठामा भएको फायरिङ्गपश्चात् त्रिभुवन सदनको मूल ढोकाको दाहिने पट्टिको एडीसी अफिसको भित्री कोठामा रहेका शाही पाश्र्ववर्तीहरू फायरिङ्गको आवाज र ‘डाक्टर चाँडो बोलाऊ….’ भन्ने आवाज सुनी भित्र गई बिलियार्ड कोठाबाट चाँडो उद्वार गर्न सो कोठाको दक्षिणतर्फको साथै बन्द रहने गरेको ढोकाको सिसा फुटाएर शाही पाश्र्ववर्ती महासेनानी सुन्दरप्रताप रानासमेत भित्र प्रवेश गरी श्री ५ महाराजाधिराज सरकारलाई अचेत अवस्थामा बाहिर बोकेर ल्याई मोटरमा राखी सैनिक अस्पताल छाउनी लगेको भन्ने शाही पाश्र्ववर्तीहरूको कथन रहेको देखिन्छ।

१४. श्री ५ युवराजाधिराजको खोपीतर्फ जाने सानो पोखरीको पुलबाट उत्तर लागी माथि तलाको खोपीतर्फ जाने मुख्यद्वार हुँदै भित्री भ-याङ्गको सातौंखुड्किलोमा श्री ५ बडामहारानीलाई खोपीमा पुग्ने ठाउँको भ-याङ्गको माथिल्लो भागमा रहेको ल्याण्डिङ्ग एरियाबाट फायरिङ्ग भई श्री ५ बडामहारानी ढलिबक्सेको भनिएको सो ठाउँमा गिदी बाहिर निस्की छरपष्ट भएको, केही दाँत र बंगाराहरू समेत झरी छरिएर यत्रतत्र रहेको, रातो टीका, दुईवटा कानको रातो टप, रातो चुराको टुक्राहरू रहेको, रगतको छिर्काहरू ठाउँठाउँमा लागेको एक किसिमको रगतको खोलै बगेको स्थिति घटनास्थलको अवलोकनबाट देखिएको छ।

१५. श्री ५ युवराजाधिराज राज हुने त्रिभुवन सदन (जहाँश्री ५ युवराजाधिराजको खोपी छ) अगाडिको बगैँचाको स-साना पोखरीको सानो पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वारघ्वार आवाज निकाली रहेको अवस्थामा श्री ५ युवराजाधिराजलाई भेटिएको भनी उद्धारकर्मी सेनानी विष्णु खड्का एवं शाही पाश्र्ववर्तीसमेतले समितिसमक्ष जानकारी गराएको देखिन्छ।

श्री ५ युवराजाधिराजको साथमा रहने गरेको भनिएको ढmm। ऋबष्दिभच न्यिअप न्भक।पिस्तोल र खोकासमेत पूर्वपट्टिको पोखरीको पानीमा रहेको घटनास्थलको अवलोकन गर्दा पाइएको छ। छ। राइफल पनि सोही स्थानको पश्चिमपट्टि रहेको सानो चौरमा रहेको घटनास्थल अवलोकनक्रममा पाइएको छ।

१६. उपर्युक्त बमोजिमको बिलियार्ड कोठा र सो कोठाको पूर्वी बगैचा एवं खोपीमा जाने भ-याङ्गमा भएको घटना पश्चात् शाही पाश्र्ववर्तीहरू एवं अन्य सुरक्षाकर्मीहरूले उदार गरी श्री वीरेन्द्र सैनिक अस्पताल छाउनीमा पु-याएकोमा अस्पताल पु-याउँदाको समय र अवस्थाको सम्बन्धमा यस समितिमा देहाय बमोजिमको जानकारी प्राप्त भएको देखिन्छ:–
(क) श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव राती ९:१५ बजे वीरेन्द सैनिक अस्पताल पु-याउँदा मृत घोषित।
(ख) श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह राती ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पु-याउँदा मृत घोषित।
(७) श्री ५ अधिराजकुमार निराजन वीर विक्रम शाह राती ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पु-याउँदा मृत घोषित।
(घ) श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मीदेवी राणा राती ९:२० बजे वीरेन्द्र सैनिक अस्पताल पु-याएको र ९:५५ बजे अस्पतालमा मृत घोषित।
(ङ) श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह राती ९:३५ बजे वीरेन्द सैनिक अस्पताल पु-याउँदा मृत घोषित।
(च) श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह राती ९:३० बजे वीरेन्द्र सैनिक अस्पताल पु-याउँदा मृत घोषित।
(छ)श्री ५ शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह राती ९:३० बजे वीरेन्द्र सैनिक अस्पताल पु-याउँदा मृत घोषित।
(ज) श्री कुमार खड्गविक्रम शाह राती ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पु-याउँदा मृत घोषित।
(झ) श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाह २०५८/२/१९ राती ९:२४ बजे वीरेन्द्र सैनिक अस्पताल पु-याएको र २०५८/२/२२ गते सोही अस्पतालमा बिहान ३:४५ बजे मृत घोषित।
(ञ) श्री धीरेन्द्र शाह २०५८/२/१९ राती ९:२४ बजे वीरेन्द्र सैनिक अस्पताल पु-याएको र २०५८/२/२२ गते बेलुकी ५:५७बजे सोही अस्पतालमा मृत घोषित।
१७. माथि उल्लेख गरिएका १० (दश) जनाबाहेक सो घटनामा परी अन्य कोही कसैको मृत्यु भएको भन्ने कहीँ कतैबाट खुल्न आएको देखिएन।
१८. घटनाबाट पीडित घाइतेहरू वर्तमान श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शोभा राज्यलक्ष्मी शाही, कुमार गोरख शम्शेर ज.ब.रा. र श्रीमती केतकी चेष्टरलाई गम्भीर घा (घाउ) चोट लागेको तथ्य अस्पतालबाट प्राप्त घा चोट विवरणबाट देखिन्छ।
१९. श्री ५ युवराजाधिराजलाई घटनाको तत्काल पछि उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएकोमा सो अस्पतालबाट प्राप्त २०५८/२/२८ को पत्रअनुसार कालो आर्मी बुट, आर्मीको क्याम्पफलाईज (कम्ब्याट) ज्याकेट, पाइन्ट, छालाको कालो पञ्जा, कालो मोजा र क्याम्पफलाईज भेष्ट लगाएको अवस्थामा रहिबक्सेको उल्लेख भएको छ।

सो कपडा, पञ्जा, जुत्ताआदि र वेव बेल्टसमेत समितिले झिकाई अवलोकन गरेको र सोमा लागेको रगत र पहेँलो पहेँलो पदार्थको प्रयोगशालामा परीक्षण गराउँदा‘बी’ समूहको रगत भन्ने विशेषज्ञको राय प्राप्त भएको छ। मृतकहरू मध्ये श्री ५ बडामहारानी तथा श्री ५ युवराजाधिराजको रगत समूह पनि ‘बी’ रहेको पाइन्छ।

२०. श्री ५ युवराजाधिराजलाई उपचारका लागि अस्पताल पु-याउँदा पञ्जा लगाएको अवस्थामा पु-याइएको अस्पतालको पत्र प्राप्त हुन आएको छ। सो पञ्जा पनि समितिलाई उपलब्ध गराइएको छ। सो एकजोर पञ्जाबाहेक घटनास्थल एवं अस्पताल समेतबाट अन्य कुनै पञ्जा प्राप्त हुन सकेको देखिँदैन।

२१.(क) 5.56mm Caliber Colt M–16 A2 हतियार नं. A0073943 (Commando_ Automatic Rifle) बाट प्रहार भएका ४७ वटा Cartridge Cases फेला परेको पाइयो। उक्त राइफलको क्षमता प्रति मिनेट ७०० देखि १००० गोली फायर हुन सक्ने भन्ने विशेषज्ञको रायबाट देखिन्छ।
(२)घटनास्थलमा रहेका २९ वटा Cartridge Cases 9mm. Caliber MP-5 K automatic Sub-machine Gun बाट प्रहार भएको र उक्त बन्दुकको क्षमता प्रति मिनेट ९०० सम्म गोली फायर हुन सक्ने भन्ने विशेषज्ञको रायबाट देखिन्छ।

(ग) घटनास्थलमा फेला परेको २ वटा Cartridge Cases 9mm. Caliber MP-5 K automatic Ges.m.b.H Pistol बाट प्रहार भएको भन्ने विशेषज्ञको रायबाट देखिएको छ। उक्त Cartridge श्री ५ युवराजाधिराजलाई उद्धारकर्मीहरूले घाइते अवस्थामा फेला पारेको भनिएको सानो पुल छेउमा रहेको पोखरीमा फेला परेको थियो।
(घ) उपरोक्त प्रकरण (क) मा उल्लेख भएको A0073943 नं.को M16 बन्दुक शाही रक्षक सैनिक प्रहरी राजदरबारको ०५६/५/३१ को मागबमोजिम निकासी भइ शाही नेपाली सेनाको हतियार भण्डारबाट बुझिलिई राजदरबार कोतखानामा बुझाएको भनी समितिको कार्यालयमा सह-सेनानी माधव भण्डारीले बताएको। सो हतियार श्री ५ युवराजाधिराजसमेत ट्रेकिङ्गमा सवारी भैबक्सेको बेला साथमा लिइ सवारी भएको। श्री ५ युवराजाधिराज सरकारले चाहिबक्सेको बेलामा राजदरबार कोतबाट सिधै पनि हतियार लिने प्रचलन रहेको व्यहोरा श्री ५ युवराजाधिराजका पाश्र्ववर्ती गजेन्द्र बोहराले सोधपुछको क्रममा उल्लेख गरेको समेत पाइयो।

(ङ) एउटा पेस्तोल र 9mm. Caliberको बन्दुक १ समेत शाही पाश्र्ववर्ती राजदरबारबाट माग भएबमोजिम २०५३/१/२७ र २०५६/७/२८ मा निकासा भएको देखिन्छ। श्री ५ युवराजाधिराजका अंगरक्षक गजेन्द्र बोहराको अनुसार उक्त हतियारहरू श्री ५ युवराजाधिराज कै साथमा (जिम्मामा) थियो।
(च)ढ9mm. G19 Glock नं. g+= YY 334 नं. को पेस्तोल समेत २०५५/१०/२२ मा श्री ५ अधिराजकुमार निराजनका बाहुलीमा दाखिला हुने गरी कोतबाट निकासा भएको राजदरबारबाट प्राप्त विवरणबाट देखिन्छ।

(छ) बिलियार्ड कोठामा फेला परेको 9mm. Caliber Glock पेस्तोल र Lawn को दक्षिण पश्चिम बाटो छेउकुनामा फेला परेको १२ BoreSingle Barrel Shot Gun सो घटनामा Fire भएको भन्ने विशेषज्ञको राय एवं फेला परेका कारतुस समेतबाट देखिन आएन।

२२. नारायणहिटी राजदरबार त्रिभुवन सदनभित्र एडीसीको कार्यालय रहेको मूल प्रवेशद्वार र पूर्वतर्फको सानो बन्द रहेको सानो गेटबाहेक सो घटनाभएको स्थानमा प्रवेश गर्ने अन्य मार्ग घटनास्थलको अवलोकनबाट प्रत्यक्षत: देखिन आएन।

२३. २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा घटेको घटनामा परी मृतक हुने सबैको मृत्युको कारण बन्दुकको गोली लागेको कारणबाट भएको कुरा वीरेन्द्र सैनिक अस्पताल छाउनीका सम्बन्धित चिकित्सकहरूको राय समेतबाट देखिएको छ।

घटनाबाट पीडित घाइतेहरूको घा (घाउ) चोट समेत गोली लागेको कारणबाट भएको कुरा स्वयम् घाइतेहरूले सोधपुछका क्रममा उल्लेख गरेको पाइयो। वीरेन्द्र सैनिक अस्पतालबाट प्राप्त जानकारी अनुसार पनि घाइतेहरूको घाउ चोटको कारण बन्दुकको गोली लागेको भन्ने देखियो।

(नारायणहिटी राजदरबारमा गत २०५८ जेष्ठ १९ गते राति घटेको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन)

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ९ : २४ बजे

आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि, मैदानमै रोए विराट कोहली

काठमाडौं – रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग

नियमावली स्थगन निर्णयमा सेल्फ ड्राइभ तथा राइड सेयरिङ व्यवसायीको आपत्ति

पोखरा – गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ

आईपीएल फाइनल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ संस्करण फाइनलमा

ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने फिलिपिन्सको तयारी अन्तिम चरणमा

काठमाडौं– फिलिपिन्सले भारतमा निर्मित ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने तयारी अन्तिम

यातायात व्यवसायीले रोके आन्दोलन, गाडी चलाउने

काठमाडौँ – गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली स्थगन