ओलीको ‘झोले’ अभियान : एमालेलाई मार्क्स-लेनिनको विचारभन्दा मोदीको ‘चौकीदार’ ठूलो | Khabarhub Khabarhub

ओलीको ‘झोले’ अभियान : एमालेलाई मार्क्स-लेनिनको विचारभन्दा मोदीको ‘चौकीदार’ ठूलो


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि एउटा अनौठो एवं विवादास्पद अभियानको थालनी गरेका छन्– ‘म झोले हुँ’ भन्ने अभियान ।

ओलीको यो अभियान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘म चौकीदार हुँ’ भन्ने अभियानको ठ्याक्कै फोटोकपीजस्तै देखिएको छ ।

सोमबार दिनभरि सामाजिक सञ्जालमा एमाले नेताहरुले ‘म झोले हुँ’ भन्दै एकपछि अर्को तस्बिर पोस्ट गरिरहेका छन् । उता, नागरिक तहबाट भने एमाले नेताहरुमाथि आलोचनाको वर्षा भइरहेको छ ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व सम्हालेको यो तेस्रो कार्यकाल हो । यसअघि उनी २०७२ को भारतीय नाकाबन्दीको समय र २०७४ को निर्वाचनपछि दुई पटक प्रधानमन्त्री भइसकेका छन् ।

तुलनात्मक रुपमा उनको पहिलो र दोस्रो कार्यकालमा केही सम्झनलायक काम भए । पहिलो कार्यकालमा भारतीय नाकाबन्दीको प्रतिरोध गर्न उनको योगदान स्मरणीय छ ।

दोस्रो कार्यकालमा उनले थालेका कयौँ विकासका आयोजनाले अहिले पूर्णता पाइरहेका छन् । तर, पहिलो र दोस्रो कार्यकालमा लोकप्रियताको उचाइ समेताका ओली तेस्रो कार्यकालमा आलोचनाको घेरामा छन् ।

२०८१ असार १७ गते रामेश्वर थापाको घरमा कांग्रेससँग ७ बुँदे सहमति गरेर असार ३१ गते तेस्रो पटक शक्तिशाली सरकारको बागडोर सम्हालेका ओली कहिले काठमाडौंका मेयर बालेन्द्र साहसँग जुध्छन् त कहिले राष्ट्रिय स्वतन्त्र पार्टी र राजावादीसँग पौँठैजोरी खेलिरहन्छन् ।

खासगरी बालेन्द्रसँगको शीतयुद्ध र रास्वपा सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा राजनीतिक प्रतिशोध साँधेको आरोपबीच नयाँ दलका कार्यकर्ताले एमाले र कांग्रेस दुवैका नेता-कार्यकर्तामाथि ‘झोले’ ट्याग भिराइदिएका छन् ।

कांग्रेस नेता-कार्यकर्तालाई पनि सर्वसाधारण र खासगरी नयाँ डिजिटल पुस्ताकाहरूले ‘झोले’ भन्न छाड्दैनन् । तर कांग्रेसको पंक्ति तुलनात्मक रुपमा शान्त देखिँदैन। नेतृत्वले पनि प्रतिकारमा उत्रिनु भनेको सुनिँदैन ।

यता सत्ताको नेतृत्व गरेको एक वर्ष पुग्न लाग्दा पनि परिणाममुखी काम गर्न नसकेका प्रधानमन्त्री ओलीलाई ‘झोले’शब्दले भाउन्न हुने गरेको छ । त्यही कुराको पुष्टि ओली र उनको सचिवालयले सोमबार पुष्टि गरेको छ ।

सोमबार सबैभन्दा पहिले ओलीले एउटा तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे। ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो’, लेखिएको उक्त तस्बिर केहीबेरमै भाइरल भयो ।

प्रधानमन्त्री ओलीले आफू ‘झोले’ भएको उल्लेख गर्दै फेसबुकमार्फत् ‘झोले’ भनेर लखेट्दैमा सत्य अँगाल्न नछोड्न आग्रह पनि गरे । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्ने उनको तर्क छ ।

‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ,’ स्टाटसमा भनिएको छ, ‘भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ ।’

त्यसपछि उनकै प्रमुख सल्लाहकारण विष्णु रिमाल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेलले समेत ओलीकै जस्तो तस्बिर बनाएर पोस्ट गरे ।

उपमहासचिव प्रदीप ज्ञवालीले पनि केही घण्टापछि झोले शब्दसहितको तस्बिरले आफ्नो फेसबुक वाल रंग्याए । ज्ञवाली एमालेमा वैचारिक र अध्ययनशील नेता मानिए पनि ओलीको अनुयायीका रुपमा उनले त्यसो गर्नुलाई अन्यथा मान्न सकिँदैन ।

‘भनिन्छ-जहाँ तर्क सकिन्छ, त्यहीँबाट गाली-गलौज सुरू हुन्छ । अचेल सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको एउटा जमात इमान, निष्ठा र जनसेवाको राजनीति गरिरहेको पार्टी पङ्क्तिलाई निरुत्साहित गर्न गालीगलौजको अभियान नै चलाइरहेको छ’, उनले भनेका छन्, ‘वंशवाद र जन्मजात श्रेष्ठताको सामन्ती मान्यता बोक्ने रैती बन्नुमा गर्व गर्ने तर प्रतिष्पर्धात्मक लोकतन्त्रका पक्षधरहरूलाई चाहिँ ‘झोले’ भन्दै खिसिट्युरी गर्ने उनीहरू चाहन्छन्- राजनीतिक कार्यकर्ताहरू, कुनै नेतालाई मन पराउने कलाकारहरू या नागरिकहरू ‘सेल्फ सेन्सर्ड’ बनून् र बोल्न छाडून् । यो दूषित मनसायलाई हुर्किन दिनुहुन्न । सामन्तको पो झोला बोक्न हुन्न, विचारको झोला बोक्न के को संकोच’, उनले यति भन्दै आफ्नो फेसबुक वाल रंग्याएका छन् ।

समस्या

हुन त ओली नेतृत्वको सरकारले विकासको गतिलाई पनि तीव्रता दिइरहेको बताइरहेको छ। तर दुईतिहाइको शक्तिशाली सरकार विकास खर्च गर्ने मामिलामा कमजोर देखिएको छ । जेठ लाग्दासम्म चालु आर्थिक वर्षको ३५ प्रतिशत मात्रै विकास खर्च गरेको यो सरकारले पहिले जस्तै यस पटक पनि असारे विकासमा पैसाको खोलो बगाउने निश्चित छ ।

अर्कातिर बलियो सरकार भए पनि देशभित्रै रोजगारी सिर्जनमा असफल भएको आरोप पनि यो सरकारमाथि छ । त्यससँगै विभिन्न विवाद र काण्डमा मुछिएका व्यक्तिहरूलाई संरक्षण गरेको आरोप पनि ओली सरकारको शीरमा छ । पछिल्लो पटक भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ‌ओलीले काँध थापिरहेको दृश्यल आश्चर्य लाग्दो ।

कतिसम्म भने कुनै बेला कांग्रेस प्रतिपक्षमा हुँदा प्रमुख सचेतक बनेका लेखक आफैं प्रश्न उठेपछि मन्त्रीले राजीनामा दिनुपर्ने कुरा संसद्मै राख्थे । तर आज उनैमाथि प्रश्न उठ्दा उनी राजीनामाको साटो आफूमाथि छानबिन गरिरहेका डीआईजीलाई दिउँसो सरूवा गरेर आलोचना भएपछि साँझमा अख्तियारमै दरबन्दी थमौती गर्न पनि बाँकी राख्दैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै बेला भनेअनुसार नै ज्यान मुद्दाका दोषी मोहम्मत अफताव आलम जेलबाट रिहा भइसकेका छन् । देउवाले आलमलाई छुटाउन प्रयास भइरहेको भनेर दिएको अभिव्यक्ति केही वर्ष पनि पुरानो भएको छैन । भलै आलम अदालतको आदेशमा त छुटेका हुन् ।

सम्पत्ति शुद्धीकरणको सवालमा ग्रे लिस्टमा परेको नेपालले भ्रष्टाचार नियन्त्रणमा चासो नदिए कालोसूचीमै पर्ने जोखिम छ । तर सरकार भने प्रश्न उठेकाहरूमाथि छानबिन गर्नको साटो जोगाउन लागेपछि आलोचनाको स्वर झन बढेको छ ।

प्रतिक्रिया

कुनै पनि क्रान्तिकारी र रुपान्तरणकारी राजनीतिक शक्तिले आफ्ना विम्ब र नाराहरू विचारधारात्मक रुपमा स्पष्ट राख्नुपर्ने हुन्छ । त्यो कुरा भाषिक रुपमा स्तरीय बनाएर जनतासम्म लैजानुपर्छ ।

‘मदन भण्डारी स्वयम् स्तरीय भाषा र प्रस्तुतिका मानक हुनुहुन्थ्यो । एमाले त मदन भण्डारीको हुर्मत लिन अब कुनै क्षेत्र बाँकी छोडेनन्’, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशेष घिमिरे भन्छन्, ‘क्रान्तिकारी आन्दोलनले माग गर्ने भाषा र प्रस्तुतिको यो हुर्मत, विचारधारात्मक टाटपल्टाइको अर्को खसोखास उदाहरण हो । सामाजिक लफङ्गाहरू, लम्पटहरूको झगडामा एक झगडियाका रुपमा आफ्नो पहिचानलाई भारी गिरावट गर्नु, सामान्य होइन यो त एमालेभित्रको डरलाग्दो पतन हो ।’

उनको विचारमा क्रान्तिकारीहरूले स्पष्ट रुपमा आफूलाई समाजवादी र क्रान्तिबीज भन्न सक्नुपर्छ । ‘लम्पटहरूले व्यंग्य गर्ने झोले होइन । हामी कसैको झोले होइनौँ’, उनी भन्छन्, ‘एमालेका साथीहरूले बुझ्नु पर्ने कुरा झोले हुनु कुनै गौरवको कुरा होइन । यो हीनताबोधबाट निस्किएर सिद्धान्तमा पस्नुस् ।’

उनको तर्कमा सिद्धान्त किताबका काला अक्षर होइनन् । ‘ती हजारौँ हजार मानव संघर्षका अनुभवका निष्कर्ष हुन् । संकटको सामना सिद्धान्तबाट भागेर होइन, त्यसलाई दह्रोसँग पक्रिएर मात्र गर्न सकिन्छ’, उनले एमालेका नेताहरूलाई सुझाउँदै भनेका छन् ।

चौतर्फी आलोचनाबीच एमालेले झोले अभियान थालेपछि राजनीतिक विश्लेषक केशव दाहालले यसलाई नालायकीपनको संज्ञा दिएका छन् । दाहालले झोले बन्नुलाई सबैभन्दा चुत्थो काम भनेका छन् ।

‘लौ न यिनलाई कसैले भनिदेओस्, लोकतन्त्रमा झोले हुनु सबैभन्दा पत्रु, अर्थहीन र लाजमर्दो कुरा हो। सक्छौ, सार्वभौम, सचेत, स्वाभिमानी र स्वतन्त्र मान्छे बन, सक्दैनौँ राजनीति नगर। तर झोले नबन’, उनले सुझाएका छन्, ‘झोले बन्नु सबैभन्दा चुत्थो काम हो । अन्यथा, यदि तिमी झोले नै हौ भने यति कुरा ठोकेर भन्छु, तिमी नेता बन्न लायक छैनौँ।’

ओली र एमाले नेताहरूको यो झोले अभियानबारे अनेरास्वियुकै एकजना नेताले पनि अस्वीकार गरेका छन् । भर्खरै भएको स्वतन्त्र विद्यार्थी युनियनको त्रिवि केन्द्रीय क्याप्समा चुनावमा झिनो मतले पराजित सिद्धान्त भट्टले वैचारिक तर्क दिएका छन् ।

‘म सिद्धान्त हुँ । व्यक्तिको होइन, पार्टी संगठनको, विधिको, विधान, पद्धति र वामपन्थी जबज विचारमा अडिग छु’, उनले झोले अभियानतिर संकते गर्दै भनेका छन्, ‘म नागरिक हुँ राष्ट्र र राष्ट्रियताप्रति बफादार छु ।’

एकजना वाम नेताको बुझाइमा ओली अब कम्युनिस्ट विचाराधारबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उग्र दक्षिणपन्थी धारतिर अघि बढेका छन् ।

‘केपी ओलीले कार्ल मार्क्स, भीआई लेनिन, हो चि मिन्ह, ह्युगो चाभेज र मदन भण्डारीबाट सिक्लान् भन्ने अपेक्षा थियो’, उनी भन्छन्, ‘ओली त मोदीबाट सिकेर आन्दोलन ध्वस्त बनाउनतिर प‍ो लागेछन् । मोदीले ‘म चौकिदार’ भनेका थिए, यता ओलीले त्यसकै भद्दा नक्कल ‘झोले’का रुपमा गरेका छन् ।’

उनको दृष्टिकोणमा यो एमालेको आवाराकरण हो । ‘यो एमालेको टपरटुइँयाकरणको अर्को संस्करण हो । ओलीले मार्क्स र लेनिनको विचार छाडेर मोदीको नाराको कपी पेस्ट गर्नतिर लाग्नु भनेको एमालेलाई वैचारिक अवसानको बाटोतिर लगे भन्ने हाम्रो निष्कर्ष हो’, उनले भने।

यस प्रकरणलाई लिएर सोमबमार दिनभर सामाजिक सञ्जाल तातेको छ । सुदन ज्ञवालीले एमालेमा झोले होइन भन्ने अवस्था नरहेको पनि बताएका छन् । ‘एमालेका कमरेडहरूले अब ‘म झोले होइन’ भन्न पनि नपाउने गरी सार्वभौम पार्टी सदस्यहरूको निजी प्रतिष्ठा र अस्तित्वसमेत ओलीराजमा मेटियो’, उनले तीखो प्रतिक्रिया दिएका छन् ।

अर्कातिर कुलमान तामाङ नामका गरेका सर्वसाधारणले आफू न रैती न त झोले भएको बताएका छन् । ‘म झोले होइन, रैती पनि होइन म, नयाँ उन्नत समाजवादमा सबै जनता हाँसिखुसी जिउन सकोस्… त्यो ठूलो कुरा हो’, उनले भनेका छन् ।

उता एकजना पत्रकार सूर्यप्रकाश कँडेलले आफू कहिल्यै झोले नभएको बताउँदै त्यस्तो नबन्ने प्रण गरेका छन् ।

अर्का सर्वसाधारण शिव थापाले पनि यस्तो उट्पट्याङ कुराको पछि लाग्ने प्रधानमन्त्रीमाथि प्रश्न उठाएका छन् । ‘प्रधानमन्त्रीले म झोले होइन भनेर पोस्ट हालेछन् । सबका सब एमालेले आफूलाई झोले भन्दै ट्रेन्ड चलाउँदैछन् । होइन यो उटपट्याङ सल्लाह प्रधानमन्त्रीलाई कसले दिन्छ । हाम्रैतिरका रिमालज्यूले कि कसले ?’,उनले प्रश्न गरेका छन्।

भयो ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ८ : ३१ बजे

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

काठमाडौं- पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले

४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

काठमाडौं– सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य