पाकिस्तानको साथ लिएर भारतमाथि दबाब बढाउँदै अमेरिका | Khabarhub Khabarhub

पाकिस्तानको साथ लिएर भारतमाथि दबाब बढाउँदै अमेरिका



काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई लक्षित गरी एकपछि अर्को अनपेक्षित घोषणा गरिरहेका छन् । यससँगै अहिले अमेरिका र भारतबीचको सम्बन्ध दशकौँयताको न्यून विन्दुमा पुगेको छ ।

लामो समयदेखि अमेरिकासँग सम्बन्ध सुधारमा लागेको भारतमा ट्रम्पका पछिल्ला घोषणाले अनिश्चय र निराशा पैदा गरेको छ । यससँगै आगामी दिनमा भारत र अमेरिकाबीचको सम्बन्ध कस्तो रहला भन्ने प्रश्न पनि उब्जिएको छ ।

ट्रम्पले गत बुधबार भारतीय सामानमा २५ प्रतिशत भन्सार महशुल लगाउने घोषणा गरेका छन् । यो शुल्क अगष्ट १ अर्थात् शुक्रबारदेखि कार्यान्वयनमा आएको छ । रुससँग तेल, हतियार र अन्य सामान खरिद गरिरहेको भन्दै ट्रम्पले भारतमाथि थप दण्डात्मक कदम चाल्ने चेतावनी पनि दिएका छन् ।

भारतीय सामानमा २५ प्रतिशत भन्सार महशुल लगाएको ट्रम्प प्रशासनले एशियाका अन्य मुलुकमा पनि विभिन्न दरमा भन्सार शुल्कको घोषणा गरेको छ । अमेरिकाले म्यान्मारलाई ४० प्रतिशत भन्सार लगाउने भएको छ । त्यसबाहेक ट्रम्प प्रशासनले पाकिस्तान र इण्डोनेशियालाई समान १९ प्रतिशत, जापान र अफगानिस्तानलाई समान १५ प्रतिशत, भियतनाम, श्रीलंका र बंगलादेशलाई पनि समान २० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको छ ।

ट्रम्पको यो घोषणालगत्तै अमेरिकाले भारतलाई चिढ्याउनेगरी पाकिस्तानसँग अर्को सम्झौताको घोषणा पनि गरेको छ । ट्रम्पले पाकिस्तानसँग तेल सम्झौता गरेको घोषणा गरेका हुन् ।

ट्रम्पका अनुसार पाकिस्तानमा रहेको भनिएको विशाल तेल भण्डारको उत्खननमा अमेरिकी कम्पनीलाई पनि साझेदार बनाइनेछ । ट्रम्पले एक दिन पाकिस्तानले भारतलाई तेल बेच्ने अवस्था समेत आउने टिप्पणी गरेका छन् ।

उनले आफ्नो ट्रुथ सोसल सामाजिक सञ्जालमा लेखेका छन्–

याद रहोस्, भारत हाम्रो मित्र भएपनि, हामीले, उनीहरुसँग वर्षौँदेखि तुलनात्मक रुपमा थोरैमात्र व्यापार गरिरहेका छौँ किनभने उनीहरुको भन्सार शुल्क अति नै धेरै छ, संसारमै धेरैमध्ये छ, र उनीहरुको गैर–मौद्रिक व्यापारिक व्यवधान कुनै पनि देशमध्ये सबैभन्दा कठोर र अप्रिय छ । अनि, उनीहरुको सैन्य उपकरणको ठूलो मात्रा उनीहरुले सधैँ रुसबाट किन्दै आएका छन् र रुसको सबैभन्दा ठूलो ऊर्जा खरिदकर्ता हुन्, चीन पनि हो, युक्रेनमा हत्या रोकियोस् भन्ने सबैको चाहना भएका बेला – सबै कुरा ठीक छैन ! त्यसैले भारतले २५ प्रतिशत भन्सार शुल्क तिर्नेछ, त्यससँगै माथि उल्लेखित (रुससँगको व्यापार सम्बन्ध) कारण थप दण्ड पनि हुनेछ, अगष्ट प्रथमका दिनदेखि शुरु हुनेगरी । यस विषयमा तपाईँले ध्यान दिनुभएकोमा धन्यवाद । (मेक अमेरिका ग्रेट अगेन) मागा !

त्यसैगरी, ट्रम्पले ट्रुथ सोसलमै भारतसँग ठूलो व्यापार घाटा रहेको पनि उल्लेख गरेका छन् ।

ट्रम्पले भारतको अर्थतन्त्रलाई ‘मृत’ सम्म भन्न भ्याएका छन् ।

उनले अर्को पोस्टमा लेखेका छन्–

भारतले रुससँग के गर्छ मलाई मतलब छैन । उनीहरुले आफ्ना मृत अर्थतन्त्रलाई सँगै तल लैजाउन्, मेरो मतलब यति हो । हामीले भारतसँग थोरैमात्र व्यापार गरेका छौँ, उनीहरुको भन्सार शुल्क अति धेरै छ, संसारकै धेरै छ । त्यसैगरी, रुस र अमेरिका आपसमा करिब कुनै पनि व्यापार नै गर्दैनन् । यसलाई यतिकै रहन दिउँ, र रुसका असफल पूर्वराष्ट्रपति (दिमित्री) मेद्भेदेव, जो आफूलाई अझै पनि राष्ट्रपति ठान्छन्, उनलाई आफ्नो मुख हेर्न भन्नुहोस् । उनी धेरै खतरनाक क्षेत्रमा प्रवेश गर्दैछन् !

उनले पाकिस्तानसँग तेल सम्झौता गर्नेबारे सोही सामाजिक सञ्जालमा लेखेका छन्–

… हामीले भर्खरै पाकिस्तान भन्ने देशसँग सम्झौता सम्पन्न गरेका छौँ, जहाँ उनीहरुको विशाल तेल भण्डारको विकासमा सँगै काम गर्नेछौँ । हामी यस सम्झौताको नेतृत्व गर्ने तेल कम्पनी छान्ने प्रक्रियामा छौँ । कसलाई के थाहा, शायद उनीहरुले कुनै दिन भारतलाई तेल बेच्नेछन् !…

त्यसैगरी, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि भारतले निरन्तर रुसी तेल आयात गरिरहेकोमा कडा आलोचना गरेका छन् । उनले यसबाट युक्रेनमा जारी ‘युद्ध प्रयासलाई वित्त पोषण गर्न मद्दत गरिरहेको’ टिप्पणी गरेका छन् । फक्स रेडियाको प्रस्तोता ब्रायन किलमेडसँगको कुराकानीमा उनले रुस र भारतबीचको व्यापारलाई अमेरिका र भारतबीचको सम्बन्धममा ‘चिढ्याउने विन्दु’ को संज्ञा दिएका छन् ।

उनले भनेका छन्, ‘दुर्भाग्यवश (भारत–रुस व्यापार) ले रुसी युद्ध प्रयासलाई टिकाउन मद्दत गरिरहेको छ । त्यसैले यो निश्चित रूपमा भारतसँगको हाम्रो सम्बन्धमा चिढ्याउने विन्दु हो – (तर) एक मात्र चिढ्याउने विन्दु होइन ।’

भारतका लागि अमेरिका सबैभन्दा ठूलो व्यापारिक साझेदार मात्रै होइन, भारतीय सामानको सबैभन्दा ठूलो आयातकर्ता मुलुक पनि हो । भारतीय उद्योग वाणिज्य मन्त्रालयअन्तर्गत वाणिज्य विभागको आर्थिक वर्ष सन् २०२३–२४ को तथ्याङ्क अनुसार सो अवधिमा दुई मुलुकबीच १ खर्ब १९ अर्ब ७१ करोड अमेरिकी डलर बराबरको व्यापार भएको छ ।

यसमध्ये भारतले अमेरिकातर्फ ७७ अर्ब ५१ करोड ५० लाख अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ । त्यस्तै, भारतले भने अमेरिकाबाट केबल ४२ अर्ब १९ करोड ५५ लाख डलर बराबरको सामान आयात गरेको छ । यसअनुसार अमेरिकासँगको व्यापारबाट भारतको व्यापार सन्तुलन ३५ अर्ब ३१ करोड १९ लाख डलर नाफामा छ ।

अर्कोतर्फ, भारत विश्वको तेस्रो ठूलो तेल आयातकर्ता मुलुक हो । इण्डियन एक्सप्रेसका अनुसार भारतले आफ्नो कुल मागको ८८ प्रतिशत तेल विदेशबाट आयात गर्दै आएको छ । भारतको आधिकारिक व्यापार तथ्याङ्कलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले जनाएअनुसार आर्थिक वर्ष सन् २०२४–२५ मा भारतले रुसबाट ८ करोड ७४ लाख टन तेल खरिद गरेको छ, जसको मूल्य ५० अर्ब अमेरिकी डलरभन्दा धेरै हो ।

२५ प्रतिशत भन्सार महशुल लाग्दा अमेरिकामा भारतमा उत्पादित वस्तुको मूल्य बढ्ने र फलस्वरुप माग घट्ने निश्चित छ । यसले गर्दा निर्यातमा आधारित भारतीय उद्योगहरु मर्कामा पर्नेछन् । अर्कोतर्फ, अमेरिकाको कुरा मानेर रुसबाट तेल, हतियार वा अरु सामान नकिन्दा त्यसले पनि भारतीय अर्थतन्त्रमा प्रभाव पार्ने छ । त्यसबाहेक परम्परागत साझेदार रुससँग भारतको द्विपक्षीय सम्बन्धमा पनि त्यसको असर पर्नसक्छ ।

भारत अहिले यही दोधारे अवस्थामा उभिएको छ ।

ट्रम्पको घोषणापछि केही भारतीय तेल प्रशोधनकर्ता कम्पनीले रुसबाट तेलको आयात रोक्का गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार गत सातादेखि भारतका राज्यसञ्चालित तेल प्रशोधनकर्ता कम्पनीहरु हिन्दूस्तान पेट्रोलियम कर्प, भारत पेट्रोलियम कर्प, मेङ्गलोर रिफइनरी पेट्रोकेमिकल लिमिटेड र इण्डियन आयल कर्पले गत सातादेखि रुसी तेल खरिद गर्न बन्द गरेका छन् ।

यी कम्पनीहरुले ‘डेलिभरी बेसिस’ मा रुसबाट तेल ल्याउँदै गरेकोमा अब ‘स्पट मार्केट’ मा किन्न थालेको रोयटर्सले उल्लेख गरेको छ । यी कम्पनीहरुले अब संयुक्त अरब इमिरेट्सको अबु धाबी मुरबान क्रुड र पश्चिम अफ्रिका आयलबाट तेल किन्न थालेका छन् । यद्यपि भारतका निजी प्रशोधनकर्ता कम्पनीहरु रिलायन्स र नायरा इनर्जी रुसी तेलका ठूला खरिदकर्ता हुन् । तैपनि राज्यसञ्चालित प्रशोधनकर्ता कम्पनीले भारतमा ६० प्रतिशत तेल प्रशोधन गर्छन् । भारतको दैनिक तेल प्रशोधन क्षमता ५३ लाख ब्यारेल छ ।

भारतको प्रतिक्रिया

भारतले भने अमेरिकी कदमबारे संयमित प्रतिक्रिया दिएको छ । अमेरिकाको व्यापारिक समाचार संस्था ब्लूमबर्गका अनुसार भारत सरकारले अमेरिकी कदमको प्रतिक्रिया दिन विभिन्न विकल्पबारे विचार गरिरहेको छ । यद्यपि भारतले अमेरिकी कदमको विरोधमा बदलास्वरुप तत्काल कुनै घोषणा गर्ने सम्भावना भने नरहेको ब्लूमबर्गले उल्लेख गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विभिन्न बदलाव र चुनौतिबाट गुज्रिएको भएपनि भारत र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध दृढ रहेको जनाएका छन् । उनले दुई मुलुकबीचको सम्बन्ध सुदृढ र सहनशील रहेको बताएका छन् । उनले दुई देशको सम्बन्ध आपसी हित र सम्मानमा आधारित रहेको पनि टिप्पणी गरेका छन् ।

‘विगत वर्षौँदेखि अमेरिकासँग कायम रहेको हाम्रो बलियो रक्षा सम्बन्ध थप मजबुत हुँदै आएको छ ।’ उनले भने, ‘हाम्रो रक्षा सहकार्यमा थप अभिवृद्धिको ठाउँ पनि छ । हामी दुबै मुलुक प्रतिबद्ध रहेका महत्वपूर्ण एजेण्डामा दृढ छौँ ।’ उनले दुई देशबीचको सम्बन्धलाई तेस्रो मुलुकको दृष्टिकोणबाट हेर्न नहुने पनि टिप्पणी गरे ।

त्यसबाहेक भारतले अमेरिकासँग एफ ३५ लडाकु विमान किन्ने योजना पनि स्थगित गर्न लागेको समाचारहरु आएका छन् । ब्लूमबर्गका अनुसार भारतीय अधिकारीले अमेरिकी समकक्षीलाई यसबारे सूचना दिइसकेका छन् । अमेरिकाले भारतलाई एफ ३५ लडाकु विमान खरिद गर्न आग्रह गर्दै आएको बताइन्छ ।

गत फेब्रुअरी महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा ट्रम्पले भारतलाई एफ ३५ विमान बिक्री गर्ने घोषणा गरेका थिए । यद्यपि भारतीय विदेश मन्त्रालयले एफ ३५ को बिक्रीबारे अमेरिकासँग कुनै औपचारिक छलफल नभएको प्रष्ट्याएको छ ।

भारत–अमेरिका सम्बन्धका उतारचढाव

ट्रम्पको पहिलो कार्यकालमा सम्बन्ध सुमधुर भएपनि पछिल्लो समय दुई मुलुकबीच तिक्तता बढेको छ । दक्षिणपन्थी र राष्ट्रवादी छवि बनाएका दुबै राजनेताले व्यक्तिगत रुपमा पनि निकै राम्रो सम्बन्ध बनाएका थिए । सन् २०१९ र २०२० मा दुबै राजनेताले एक अर्काको मुलुकमा विशाल राजनीतिक र्‍यालीको पनि आयोजना गरेका थिए ।

मोदीको अमेरिका भ्रमणका क्रममा सन् २०१९ को सेप्टेम्बरमा ट्रम्पले टेक्सस राज्यको ह्युस्टन शहरमा रहेको एनआरजी रंगशालामा ‘हाउडी मोदी’ नामक र्‍यालीको आयोजना गरेका थिए । त्यस भव्य र्‍यालीमा ५० हजारभन्दा धेरैको सहभागिता रहेको थियो ।

त्यसैगरी, ट्रम्पको भारत भ्रमणका क्रममा मोदीले सन् २०२० को फेब्रुअरी महिनामा गुजरात राज्यको अहमदावाद शहरस्थित सरदार पटेल रंगशाला (हालको नरेन्द्र मोदी रंगशाला) मा ‘नमस्ते ट्रम्प’ र्‍यालीको आयोजना गरेका थिए । उक्त र्‍यालीमा १ लाखभन्दा धेरैको सहभागिता थियो । त्यसबेलासम्म दुबै मुलुकको सम्बन्ध ज्यादै राम्रो थियो । मोदी र ट्रम्पले एक अर्कालाई सच्चा मित्रको समेत संज्ञा दिने गरेका थिए ।

त्यसपछि सन् २०२० मा आयोजित राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भए । मोदी भने सन् २०१९ मा भएको आम निर्वाचन जितेर भारतका प्रधानमन्त्रीको पदमा यथावत नै रहे । त्यसपछि दुई जनाको सम्बन्धमा पनि तिक्तता उत्पन्न हुन थाल्यो ।

सन् २०२४ को सेप्टेम्बर महिनामा मोदी अमेरिका पुगेका थिए । चारपक्षीय सुरक्षा संवाद (क्वाड) को शिखर सम्मेलन र संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मोदी अमेरिका पुगेका थिए । त्यसबेला अमेरिकामा राष्ट्रपतीय निर्वाचनको माहोल थियो ।अमेरिका भ्रमणका क्रममा मोदीले आफूसँग पनि भेट गरुन् भन्ने रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चाहना थियो । सार्वजनिक र्‍यालीमै ट्रम्पले यस्तो चाहना व्यक्त गरेका थिए ।

फ्लिन्ट, मिसिगनमा आयोजित एउटा र्‍यालीमा ट्रम्पले आफ्ना समर्थकमाझ मोदीलाई ‘फ्यान्टास्टिक’ को संज्ञा दिएका थिए । उनले भनेका थिए, ‘उहाँ फ्यान्टास्टिक हुनुहुन्छ । मैले भनेको छु, फ्यान्टास्टिक मान्छे हो ।’

ट्रम्पले लङ आइल्याण्डको नसाउ कोलिसियममा आयोजना हुने तय भएको र्‍यालीमा मोदीलाई पनि बोलाउने अपेक्षा गरिएको थियो । तर, मोदीले ट्रम्पलाई भेटेनन् । मोदीले ट्रम्पमात्रै होइन, उनका प्रतिद्वन्द्वी भारतीय मूलकी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिससँग पनि भेट गरेनन् ।

व्यस्त कार्यतालिका र अमेरिकाको आन्तरिक राजनीतिमा नअल्मलिने योजनाअनुसार मोदीले उनीहरुसँग भेट नगरेको समाचार त्यसबेला आएको थियो । अमेरिकामा रहँदा मोदी औपचारिक कार्यक्रममा व्यस्त भएका थिए । त्यसबाहेक उनले भारतीय प्रवासीसँग अन्तरक्रिया गरेका थिए भने विभिन्न ठूला कम्पनीका प्रमुख कार्यकारीसँग पनि छलफल गरेका थिए ।

यही घटनापछि ट्रम्प मोदीसँग चिढिएको विश्लेषण गरिन्छ । नोभेम्बरमा आयोजित निर्वाचनमा विजयी भएपछि ट्रम्पले जनवरीमा शपथ ग्रहण गरेका थिए । ट्रम्पको शपथ ग्रहण कार्यक्रममा पनि मोदी गएनन् । ट्रम्पको शपथ ग्रहणमा विदेशमन्त्री एस जयशङ्करले भारतको प्रतिनिधित्व गरेका थिए ।

त्यसपछि पनि ट्रम्पले भारतसँग असन्तोष जाहेर गरी नै रहे । राष्ट्रपतिमा निर्वाचित हुनुअघिदेखि नै ट्रम्पले भारतमाथि अनुचित व्यापारिक अभ्यास गर्दै आएको आरोप लगाउने गरेका थिए । शपथ ग्रहण गरेको एक महिना नबित्दै ट्रम्पलाई भेट्न मोदी फेब्रुअरी महिनामा अमेरिका पुगेका थिए ।

ट्रम्प र मोदीको भेटवार्ताका क्रममा व्यापारिक सम्बन्धका बारेमा गहन छलफल पनि भएको थियो । सोही भेटवार्ताका क्रममा भारतले अमेरिकामा निर्मित एफ ३५ लडाकु विमान खरिद गर्ने समाचार आएको थियो । त्यसैगरी, सोही भ्रमणका क्रममा भारतले अमेरिकाबाट अझ धेरै तेल र ग्यास खरिद गर्ने ट्रम्पले घोषणा गरिदिएका थिए । आफ्नो अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई ‘मेगा साझेदारी’ को संज्ञा दिएका थिए ।

अमेरिकमा रहेका अवैध भारतीय आप्रवासीलाई जञ्जिरले बाँधेर स्वदेश फर्काइदिएपछि फेरि भारतमा अमेरिकाको व्यवहारलाई लिएर बहस छेडिएको थियो । भारतमा विपक्षीहरुले अमेरिकी व्यवहारलाई लिएर तीव्र आक्रोश व्यक्त गरेका थिए । तर, त्यसबेला भारत सरकारले भने अमेरिकी कदमको संयमित प्रतिक्रिया दिएको थियो ।

त्यसपछि अमेरिकामा स्वघोषित ‘मुक्ति दिवस’ को अवसर पारेर अप्रिल २ का दिन ट्रम्पले विभिन्न मुलुकमाथि भन्सार महशुल लगाए । आफ्नो घोषणामा ट्रम्पले भारतलाई ‘ट्यारिफ किङ’ अर्थात् ‘भन्सार महशुलको बादशाह’ को संज्ञा दिएका थिए ।
अप्रिल २ को सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘भारत धेरै–धेरै कठोर छ, धेरै कठोर छ । प्रधानमन्त्री भर्खरै जानुभयो र उहाँ मेरो असल मित्र हुनुहुन्छ ।’

तर, दुई नेताबीचको व्यक्तिगत सम्बन्धले व्यापारिक सम्बन्धमा कुनै प्रभाव नपार्ने ट्रम्पले त्यसबेला प्रष्ट पारेका थिए । भारतले अमेरिकासँग राम्रो व्यवहार नगरेको पनि ट्रम्पले आरोप लगाएका थिए । ट्रम्पले भनेका थिए– ‘मैले (मोदीलाई) भनेँ– तपाईँ मेरो मित्र हो, तर तपाईँले हामीसँग राम्रो व्यवहार गरिरहनु भएको छैन ।’

‘उनीहरुले हाम्रो सामानमा ५२ प्रतिशत (भन्सार महशुल) लगाउँछन् । तपाईँहरुले यो बुझ्नुपर्छ, हामीले वर्षौँवर्ष, दशकौँदेखि उनीहरुमाथि केही महशुल लगाएका छैनौँ ।’ ट्रम्पले भनेका थिए । भारतले खासगरी विदेशमा निर्मित मोटरसाइकलमा उच्च भन्सार शुल्क र अरु व्यवसायिक अवरोध सिर्जना गर्दै आएको ट्रम्पको आरोप छ ।

अप्रिल २ कै घोषणाका क्रममा पनि ट्रम्पले यो कुरा उठाएका थिए । उनले भनेका थिए– ‘अमेरिकाले अरु मुलुकका मोटरसाइकलमा केबल २.४ प्रतिशतमात्र भन्सार महशुल उठाउने गर्छ । तर, थाइल्याण्ड र अरु मुलुकहरुले ६० प्रतिशतजस्तो धेरै भन्सार लगाउँछन् । भारतले ७० प्रतिशत भन्सार लगाउँछ भने भियतनामले ७५ प्रतिशत लगाउँछ ।’

खासगरी अमेरिकाले भारतीय बजारमा आफ्नो मुलुकमा उत्पादन हुने कृषिजन्य वस्तु र प्रविधिको सहज पहुँच चाहेको छ । आफैँ कृषिजन्य वस्तुको ठूलो उत्पादनकर्ता रहेको हिसाबमा भारतले भने आफ्नो बजारमा अमेरिकी वस्तुलाई पहुँच दिन आनाकानी गरिरहेको बताइन्छ ।

अहिले भारत विश्वमा धेरै कृषिजन्य वस्तुको उत्पादन गर्ने एवम् निर्यात गर्ने मुलुकको सूचीमा आउँछ । भारत विश्वको सबैभन्दा ठूलो दूध उत्पादक मुलुक हो भने भारतमा अन्न, फलफूल, मासुजन्य वस्तु पनि उल्लेख्य मात्रामा उत्पादन हुँदै आएको छ । हाल भारत कृषिजन्य वस्तुको विश्वको आठौँ ठूलो निर्यातकर्ता मुलुक हो ।

यस्तो अवस्थामा आफ्नो कृषि क्षेत्रलाई विदेशी आयातित वस्तुबाट जोगाउनका लागि भारतले कृषिजन्य उत्पादनको आयातमा उच्च भन्सार महशुल लगाउने गरेको छ । भारतले कृषिजन्य आयातमा वस्तु तथा अवस्थाअनुसार शून्यदेखि १ सय ५० प्रतिशतसम्म भन्सार महशुल लगाउने गरेको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार भारतले अमेरिकी कृषिजन्य वस्तुको आयातमा औसतमा ३७.७ प्रतिशत भन्सार शुल्क लगाउँछ । यसको विपरित अमेरिकाले भने भारतीय कृषिजन्य वस्तुमा मुक्ति दिवसअघि केबल ५.३ प्रतिशत भन्सार शुल्क लगाउने गरेको थियो ।

अमेरिकाले भारतीय बजारमा गहूँ, कपास, मकैजस्ता वस्तुको निर्यातका लागि सहज पहुँच चाहेको बताइएको छ । अमेरिका र भारतबीच कृषिको क्षेत्रमा ठूलो असमानता छ । उदाहरणका लागि भारतको झण्डै आधा अर्थात् ७० करोड जनसङ्ख्या कृषिमा निर्भर छन् । यद्यपि कृषिले भारतको कुल ग्राहस्थ उत्पादनमा केबल १५ प्रतिशतको योगदान दिन्छ ।

त्यसैगरी, भारतको खेतीयोग्य जमिन पनि खण्डीकृत छ । भारतमा औसतमा एक जना किसानसँग एक हेक्टरभन्दा थोरै जमिन छ । यसको विपरित अमेरिकाका २ प्रतिशतभन्दा कम जनसङ्ख्या कृषि पेशामा छन् । अमेरिकामा औसतमा एक जना किसानसँग ४६ हेक्टरसम्म जमिन रहेको विश्वास गरिन्छ ।

त्यसपछि गत अप्रिल महिनामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा आए । भारतीय मूलकी महिलासँग विवाह गरेका भान्सको भारत भ्रमणपछि दुई देशबीचको सम्बन्धमा केही सुधार आउने अपेक्षा गरिएको थियो । भान्सको भारत भ्रमणबाट पनि खासै ठूलो उपलब्धि हासिल हुन सकेन । कुनै महत्वपूर्ण सम्झौता नै नगरी भान्स अमेरिका फर्किए ।

भान्स अमेरिकामै रहेका बेला अप्रिल २२ का दिन भारत प्रशासित कश्मीरको पहलगाम क्षेत्रमा आतंककारी आक्रमण भयो । उक्त आक्रमणमा एक जना नेपालीसहित २६ जनाले ज्यान गुमाए । उक्त आक्रमणको दोष लगाउँदै भारतले ७ मेमा पाकिस्तानमा रहेका आतङ्ककारी पूर्वाधारलाई लक्षित गर्दै विरुद्ध ‘अपरेशन सिन्दुर’ नामक सैन्य कारवाही सञ्चालन गर्‍यो । चार दिनसम्म भारत र पाकिस्तानबीच सैन्य टकराव चल्यो ।

यो द्वन्द्व त्यसबेला रोकियो, जब १० मेका दिन ट्रम्पले दुई मुलुकबीच युद्धविराम भएको घोषणा गरे । युद्धविराम भएको दुबै मुलुकले पुष्टि गरेपनि भारतले चाहिँ यो युद्धविराम हुनुमा अमेरिकाको कुनै भूमिका नरहेको बताउँदै आएको छ । तर, ट्रम्पले चाहिँ यो द्वन्द्व आफूले समाधान गरी दुई आणविक शक्तिसम्पन्न मुलुकबीच सम्भावित युद्ध टारेर दशौँ लाखको ज्यान जोगाएको दाबी गर्दै आएका छन् ।

ट्रम्पले भारत–पाकिस्तान द्वन्द्व समाधान गरेको भनेर दर्जनौँ पटक सार्वजनिक रुपमै भनिसकेका छन् । यद्यपि पाकिस्तानसँगको सम्बन्धमा तेस्रो मुलुकको मध्यस्थता नचाहने भारतीय पक्षले ट्रम्पको यो दाबी अस्वीकार गर्दै आएको छ । भारत–पाकिस्तान द्वन्द्वमा युद्धविराम भएको केही सातापछि पाकिस्तानी सेनाप्रमुख फिल्ड मार्शल आशिफ मुनिर अमेरिका भ्रमणमा गएका थिए ।

त्यस भ्रमणका क्रममा उनले ट्रम्पसँग भोजन पनि गरेका थिए । त्यसपछि पाकिस्तानले ट्रम्पलाई यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको थियो । धेरैले पाकिस्तानसँग सम्बन्ध सुधारको अमेरिकी प्रयासलाई भारत–अमेरिका सम्बन्धको नजरले पनि हेर्दै आएका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ३ : ४९ बजे

हिमानी र मनिषा देखिए एक साथ (तस्बिरहरू)

काठमाडौं– हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र

माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक

प्रधानमन्त्री ओलीले भने- कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भो, खेलोफड्को भइराखेको छ

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट

सिरहामा १०३ किलो गाँजासहित नौ जना पक्राउ

सिरहा– यहाँको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौ

‘माधव नेपालले आदेश दिनासाथ पार्टी किन छाड्ने ?’

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले