सुनसरी- सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित सप्तकोशी किनार धार्मिक पर्यटन, जल पर्यटन, एग्रो टुरिजम र पर्यापर्यटनको अत्यधिक सम्भावना बोकेको क्षेत्र हो ।
जिल्लाकै कान्छो वराहक्षेत्र नगरपालिका गठनपछि तत्कालीन जनप्रतिनिधिले यहाँको विकासको प्रमुख प्राथमिकता नै कृषि, जल र पर्यापर्यटनलाई आधार मानेर विकास गर्दै लाने नीतिगत निर्णय गरेका थिए । तत्कालीन नगर प्रमुख निलम खनालले वराहक्षेत्रलाई समर सिटीका रुपमा विकास गर्ने लक्ष्य निर्धारण गरेका थिए ।
कोशी टप्पु वन्यजन्तु आरक्षको वैज्ञानिक विस्तार गर्ने, खाली रहेका कोशी नदी उकास विशाल क्षेत्रफलमा कृषिको आधुनिकीकरण गर्ने, सप्तकोशी नदीमा बोटको सञ्चालन गर्ने, नदी किनारमा रिसोर्ट, रेस्टुराँ खोल्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र समग्रमा कोशी नदीको जललाई ‘मनिटाइज’ गर्ने र आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्य लिइएको थियो ।
नगर सरकार गठन भएको झण्डै आठ वर्ष पुगेको छ । नगरले नीति निर्माण गरे पनि कार्यान्वयनमा ल्याउन कठिनाइ र चुनौतीका कारण कोशी नदी किनार समर सिटीका रुपमा विकास गर्ने पूर्वाधार बनेको छैन ।
गर्मीमा मात्रै होइन, कोशी किनारमा हिउँदमा समेत उत्तिकै सम्भावना भएको क्षेत्र हो । कोशी किनारलाई हिउँदमा पिकनिक स्पोर्टका रुपमा विकास गर्ने थुप्रै सम्भावना छन् । तर यो सम्भावनामाथि स्थानीय सरकारले काम गर्न सकेको छैन ।

व्यवसाय गर्न युवा तयार छन्, स्वरोजगार सिर्जनाका कार्यक्रम छैनन्
कोशी नदी किनारका सम्भावनामा युवा काम गर्न तयार छन् तर स्थानीय सरकारले स्वरोजगारका योजना अघि सार्न नसकेको उनीहरूको गुनासो छ ।
वराहक्षेत्र-७ का युवा हर्कबहादुर राई झण्डै एक दशकको वैदेशिक रोजगारबाट गाउँ फर्किए । गाउँ फर्किएर ‘लिज’ मा जग्गा लिएर कृषि फार्मको स्थापना गरी ‘एग्रोटुरिजम’ मा काम गर्ने योजना अघि बढाए । कृषि फार्म सञ्चालन गरेका उनले अपेक्षित उपलब्धि हासिल गर्न सकेनन् ।
यूएईको पिजा कम्पनीमा आठ वर्ष काम गरेका हर्कले कोशी किनारमा सामान्य होटल सञ्चालन गर्ने योजनाअनुसार टहरा निर्माण गरे । भैंसी चरण क्षेत्रलाई विकास गरेर कोशी किनारमा सामन्य होटल व्यवसाय सञ्चालन सुरु गरेको हर्क बताउँछन् ।
कोशीको बहाव अनुगमन गर्ने सडकका रुपमा कोशी किनारमा भारतको बिहार सरकारले एक लेनको कालोपत्रे सडक निर्माण गरेको छ । सडक निर्माण भएपछि कोशी किनार थप रमणीय बनेपछि आन्तरिक पर्यटक युवाको जमघट बढ्न थाल्यो । ‘चिया नास्ताको सामान्य पसल खोलौं न भनेर बसिबियाँलोका रुपमा व्यवसाय सुरु गरेको छु,’ हर्क भन्छन् ।

बर्खामा कोशीको चुनौती
हर्कजस्तै कोशी किनारमा पर्यटन विकासको सम्भावना खोजेका मणिकुमार तामाङ विगत पाँच वर्षदेखि कृषि पर्यटन र हस्पिटालिटी टुरिजमलाई सँगसँगै अघि बढाउँदै गएको बताउँछन् । सुरुवाती पाँच लाख रुपैयाँको लगानीमा कोशी किनारमा अस्थायी टहरा निर्माण गरी व्यवसाय सुरु गरेका उनले लगानी बढाउँदै लगे ।
कोशी किनारमा नरिवल सुपाडीलगायतका नगदे बाली लगाए । बाल उद्यानको अवधारणा अनुसार पूर्वाधार थप्दै गए । तर गत वर्षको कोशीको भेल उनले सञ्चालन गरेको रिसोर्टमा पस्यो । विस्तार गरेका सबै संरचनामा कोशीको बालुवा मिसियो । वृक्षरोपण गरिएको क्षेत्र बगरमा परिणत भयो । ‘लाखौंको लगानी बालुवामा पानी’ भनेझैँ भयो ।
हिम्मत नहारेका उनले अहिले कोशी किनारमै सामान्य होटल सञ्चालन गरेका छन् । केही दुहुना भैंसी र रागा पालेका छन् । लोकल कुखुरा पनि छन् ।
‘पर्यटन व्यवसाय गर्ने भनेर नगरको नीति अनुसार नै लगानी गरें । कोशी नदी उकास जग्गामा काम सुरु गरियो केही समयपछि नै नम्बरी जग्गा धनी निस्किए,’ मणि भन्छन्, ‘कोशी किनाराको लगानी सुनिश्चित छैन, सबैभन्दा ठूलो चुनौती कोशीको त्रास त छँदैछ ।’

कोशीलाई व्यवस्थित गर्न सके नदी किनारामा आधारित पर्यटन व्यवसायको सम्भावना रहेको मणि बताउँछन् । वैदेशिक रोजगारीमा युएईमा रहँदा देखेका सम्भावनामा आफ्नै ठाउँमा काम गर्ने हुटहुटीले उनलाई फेरि विदेश जान रोक्यो । हिउँदमा दुबईको जस्तो ओपेन भलिबल कोर्ट, ब्याडमिन्टन कोर्ट निर्माण गर्न सके खेल पर्यटनको सुरुवात गर्न सकिने उनलाई लागेको थियो ।
‘कोशी किनारमा हिउँदमा विशेष सम्भावना देखिन्छ, व्यवस्थित गर्ने योजना आवश्यक छ,’ मणि भन्छन् ।
कोशी किनारमा पर्यटनको क्षेत्रमा लगानी गर्ने विषयमा कोशी नदी मात्र बाधक छैन । कोशी सम्झौतासमेत बाधक रहेको स्थानीय व्यवसायी हर्कबहादुर राई बताउँछन् ।
कोशी सम्झौताका कारण बिहार सरकारले जुनसुकै बेला उठाउने सम्भावना भएकाले केही गर्न नसक्ने उनको भनाइ छ ।
‘१३ आरडीदेखि तलका क्षेत्रमा दिगो विकास गर्न सक्ने सम्भावना देखिँदैन,’ हर्क भन्छन्, ‘कोशी सम्झौता खारेज नभएसम्म कोशी किनारलाई समर सिटीका रुपमा विकास गर्ने योजनामा काम गर्न गाह्रो छ ।’
बर्खामा कोशीको भेल, लगानीमा कोशी सम्झौता बाधकसँगै स्थानीय सरकारको प्रोत्साहन गर्ने कुनै नीति नभएको व्यवसायीको गुनासो छ । ‘युवालाई प्रोत्साहन छैन, नगरले स्वरोजगारका कुनै कार्यक्रम ल्याउन सकेको छैन,’ हर्कले भने ।
‘स्टार्टप बिजनेसको कन्सेप्ट’ मा नगर सरकारले काम गर्न आवश्यक रहेको सरोकारवाला समेत बताउँछन् ।
स्टार्टअप बिजनेसका लागि ५० जनाआई १०/१० लाखका दरले प्रत्येक वर्ष नगर सरकारले अनुदान दिन सक्छ ।’ स्थानीय युवा विजयकुमार राउत भन्छन्, ‘नगरको आन्तरिक आयबाटै यस्तो व्यवस्था गर्न सक्ने अवस्था छ । नीति निर्माणमा काम गर्नेहरूले सोच्न आवश्यक छ ।’

के हो समर सिटी ?
गर्मी महिनामा छुट्टी मनाउन उपयुक्त शहर ‘समर सिटी’ अर्थात् ग्रिष्मकालीन शहर हो । गर्मीमा महिनामा हिमालबाट बग्दै आएको सप्तकोशी नदीमा डुबुल्की मार्दै यहाँका मौलिक खाना, कोशी नदीमा आधारित जल पर्यटन र सहासिक खेल पर्यटनको स्वाद लिन आगन्तुक इच्छुक हुन्छन् । यहाँको सूर्यास्तको मनोरम दृश्य र मौलिक कला संस्कृतिको अध्ययन गर्दै आनन्द उठाउन सक्छन् ।
समर सिटी (ग्रिष्मकालीन) शहरी विकास आयोजना हो । यो विश्वका विभिन्न विश्वविद्यालयमा अध्यापन गराइने विषयसमेत हो । कोलम्बिया विश्व विद्यालयको प्रिकलेज कार्यक्रमका अनुसार यसअन्तर्गत शहर र समुदायलाई प्रभाव पार्ने विचार र सीपहरू, शहरी डिजाइन र योजनाको अध्ययन र अभ्यास गराइन्छ । रणनीतिक दृष्टिकोणबाट सात प्रकारका शहरी योजना अवधारणा हुन्छन् ।
रणनीतिक शहरी योजना, भू-उपयोग योजना, गुरु योजना, शहरी पुनरुत्थान, आर्थिक विकास, वातावरणीय योजना र पूर्वाधार योजना । स्थानीय सरकारले यस्ता योजनालाई आफ्नो नीति, कार्यक्रम र बजेटमा सम्बोधन गर्दै कार्यान्वयन गर्न सक्छ ।
प्रतिक्रिया