पीडित बचतकर्ताले चलाउन खोजेको सूर्यदर्शन सहकारीको घरै लिलाम ! | Khabarhub Khabarhub

सहकारीमा सलह :

पीडित बचतकर्ताले चलाउन खोजेको सूर्यदर्शन सहकारीको घरै लिलाम !

नियामक बेखबर, प्रहरी र अदालततिर औँला


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँदेखि योजनाबद्ध रूपमा बिछ्याइएको सहकारी ठगीको जालोभित्रको एउटा संस्था हो – पोखराको नयाँबजारमा कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था !

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले वि.सं. २०८१ पुस ७ गते जिल्ला अदालत, कास्कीमा दायर गरेको मुद्दा मिसिलअनुसार; सूर्यदर्शन सहकारीबाट ११५६ बचतकर्ताको बचत गायब पारिएको छ ।

उक्त सहकारी ठगी प्रकरणमा सरकारी वकिल कार्यालयले कुल बिगो नै एक अर्ब ५१ करोड ४० लाख १९ हजार रुपैयाँ कायम गरेको जनाएको थियो ।

मूल अभियोजन पत्रमा १९ जना र पूरक अभियोजन पत्रमा पूर्वउपप्रधान/गृहमन्त्री रवि लामिछाने सहितलाई प्रतिवादी बनाइएको सूर्यदर्शन सहकारी ठगीको मुद्दा अहिले पनि चलिरहेको छ ।

मुद्दा दायर हुनुभन्दा १५ महिनाअघि २०८० असोज दोस्रो साता पोखरा महानगरपालिकाको विशेषज्ञ समितिले गरेको अध्ययन क्रममा उक्त सहकारीबाट एक अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको भेटिएको थियो ।

त्यतिखेर एक हजार ३६ बचतकर्ताले आफूहरूले सूर्यदर्शन सहकारीबाट एक अर्ब ११ करोड रुपैयाँ पाउनुपर्ने दाबी गर्दै निवेदन दिएका थिए ।

गोरखा मिडिया नेटवर्कमा पूर्वमन्त्री लामिछानेका व्यवसायिक साझेदार गीतेन्द्रबाबु (जीबी) राई नै सूर्यदर्शन सहकारी ठगीका मास्टरमाइन्ड थिए ।

सूर्यदर्शनलाई जीबीसहित सहकारी ठगीका पछिल्ला कुख्यातहरू छविलाल जोशी, दीपेश पुन, देवकुमार नेपाली, लिला पछाई, भूपेन्द्र राई, थानबहादुर बुढा लगायतले टाट पल्टाएका हुन् । अघिल्लो र पछिल्लो कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि सूर्यदर्शन सहकारी ठगीका अभियुक्त हुन् ।

आफूहरूको डेढ अर्ब रुपैयाँ हाराहारी बचत अपचलन भएपछि सदस्यहरूले २०८१ मङ्सिर तेस्रो साता उक्त सहकारी आफैँ चलाउने बताएका थिए । सहकारीले लगानी गरेको ऋण उठाउन समिति नै बनाउने उनीहरूको भनाइ थियो ।

के, ठगिएका बचतकर्ता सदस्यले सूर्यदर्शन सहकारी चलाउन सके त ? उनीहरू र सहकारीको अहिलेको अवस्था कस्तो छ ? आफैँ ऋणी खोज्दै हिँडेका उनीहरूले कति रकम फिर्ता पाए त ? सूर्यदर्शनको समस्या हल गर्न नियामकले के कति काम गरिरहेका छन् त ?

यी प्रश्न जति पेचिला छन्, जवाफ पाउन उत्तिकै असम्भव पनि ! किनकि यतिखेर सरकारी अधिकारीहरू नै सूर्यदर्शन सहकारीको अवस्थाबारे बोल्न चाहिरहेका छैनन् । अर्थात्, गाँस कटाएर सूर्यदर्शनमा रकम राखेका बचतकर्ताबारे राज्यसंयन्त्र मौन देखिएको छ ।

यो पनि –

गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार भेषराज रिजाल सूर्यदर्शन सहकारीबारे आफूहरूलाई कुनै औपचारिक जानकारी नभएको बताउँछन् ।

रिजाल भन्छन्, ‘त्यो (सूर्यदर्शन) पोखरा महानगरपालिका अन्तर्गतको सहकारी हो, हामीले दुईभन्दा बढी पालिका कार्यक्षेत्र भएका सहकारीमात्रै हेर्छौँ, उक्त सहकारीमा भएको भनिएको समस्याबारे हामीले पनि मिडियाबाट नै जानकारी पाउने हो ।’

पोखरा महानगरपालिकाको सहकारी शाखाका दर्ता अधिकारी अनिल कार्की पनि उस्तै जवाफ दिन्छन् । भन्छन्, ‘अदालतमा पुगेको सहकारीबारे हामीलाई जानकारी हुने भएन, पछिल्लो समय सहकारीको कार्यालय रहेको भवन नै लिलाम भएको सुनेका छौँ । सहकारी स्वःनियममा चल्ने भएकाले हामीले त्यति खोजी पनि गर्दैनौँ ।’

कार्कीका अनुसार, सूर्यदर्शन सहकारी ठगी प्रकरण प्रहरी र अदालतसम्म पुगेकाले अब उक्त मामिला पोखरा महानगरको कार्यक्षेत्रबाट ‘माथि’ गइसकेको छ । सहकारीको अनौपचारिक नयाँ सञ्चालक समिति गठन भएको र ऋण उठाइने प्रयास भइरहेको सामान्य जानकारी आफूसँग रहेको कार्कीले खबरहबरलाई बताए ।

काठमाडौँमा बुनिएको षडयन्त्रले पोखराबासीलाई अत्यायो

घटनाक्रम केलाउँदा सूर्यदर्शन सहकारी ठग्न सङ्लग्न गिरोहले काठमाडौँमै षडयन्त्र बुनेको थियो, सो षडयन्त्रमा परेका पोखराबासीले अनेक सास्ती खेपिरहेका छन् ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ मा यसबारे उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार; काठमाडौँमा कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र कुमारी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञानबहादुर बम्जनको अध्यक्षतामा २६ असार २०६५ मा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था खुलेको थियो ।

स्थापना गरेको केही समयमै बहिनीज्वाइँ गीतेन्द्रबाबु (जीबी) राईलाई अध्यक्ष बनाएर बम्जन सहकारीबाट बाहिरिएका थिए ।

जीबी राई अध्यक्ष हुँदा उक्त कार्यसमिति उपाध्यक्ष देवकुमार नेपाली (बागलुङको ढोरपाटन नगरपालिकाका मेयर) थिए । जिबीसँग विवाद भएपछि देवकुमार नेपालीले इमेज सहकारी स्थापना गरे । आफैँले खोलेको इमेज र अन्य सहकारीबाट समेत गरी दुई अर्ब रुपैयाँभन्दा रकम अपचलन गरेको आरोपमा फरार भएका नेपाली पक्राउ परी हाल पुर्पक्षका लागि थुनामा छन् ।

यसरी, ज्ञानबहादुर बम्जन अध्यक्ष भएर खोलेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षमा मीना गुरुङ, सचिवमा सूर्यध्वज न्यौपाने, कोषाध्यक्षमा आरती गुरुङ थिए । सूर्यध्वज न्यौपाने काठमाडौंको कुमारी बचत तथा ऋण सहकारीका अध्यक्ष हुन् । सञ्चालक समिति सदस्यहरूमा लीलाबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ र पेशलकुमार राई थिए ।

२०६८ मंसिरमा नयाँ कार्यसमिति चयन हुँदा ज्ञानबहादुर बम्जनले बहिनीज्वाइँ गीतेन्द्रबाबु राईलाई अध्यक्ष बनाएका थिए । उपाध्यक्षमा देवकुमार नेपाली, सचिवमा सुरेशचन्द्र पहरी, कोषाध्यक्षमा आरती गुरुङले नै निरन्तरता पाए । सदस्यहरूमा मेखबहादुर विक, कल्पना पहरी, विकास श्रेष्ठ, गोपीराज गौतम र अनुज नकर्मी थिए ।

सूर्यदर्शन सहकारीबारे संसदीय छानबिन समितिको प्रतिवेदन :

विवादका कारण देवकुमार नेपाली बाहिरिएपछि जिबी राई आफैँ कार्यकारी अध्यक्ष भएर सहकारी चलाए । जिबीपछि सहकारीको अध्यक्ष भूपेन्द्र राई भए ।

पछिल्लोपटक सहकारीको अध्यक्ष थानबहादुर बुढामगर, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धिरजकुमार दास र कोषाध्यक्षमा कुमार रम्तेल थिए । त्यस्तै सञ्चालकहरूमा हेमन्त अधिकारी, प्रमोद भट्टराई, भवीश्वर अर्याल थिए । उल्लेखित सबैविरुद्ध सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा मुद्दा चलिरहेको छ ।

सर्वसाधारणको बचतमा रजाइँ : ०.१२ प्रतिशत तरलता राखेर सबै कर्जामा

संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएअनुसार, सूर्यदर्शन सहकारीको कुल सम्पत्ति एक अर्ब ३६ करोड ५१ लाख १८ हजार ६८० रुपैयाँ १३ पैसा हो ।

कुल सम्पत्तिको आकार देख्दा सम्पन्न सहकारीजस्तो लागेपछि वासलातका अन्य विवरण हेर्दा बचतकर्ता लुट्नकै लागि सूर्यदर्शन सहकारीलाई कसरी दुरुपयोग गरिएको रहेछ भन्ने प्रष्ट हुन्छ ।

वित्तीय अवस्था अर्थात् सहकारीको सुशासन देखिने आकडाले यसलाई पुष्टि गर्छ ।

सूर्यदर्शन सहकारीको पछिल्लो वित्तीय अवस्था । (स्रोत : संसदीय छानबिन समितिको प्रतिवेदन)

जस्तो कि – संसदीय समितिले प्रतिवेदन बनाउँदै गर्दा २०८१ को सुरुवाती समयमा संस्थाको कूल बचत तथा निक्षेप एक अर्ब ३५ करोड ४९ लाख ८७ हजार ९६२ रुपैयाँ ९२ पैसा थियो ।

तर, नगद तथा बैङ्क मौज्दात १५ लाख ९७ हजार ७२१ रुपैयाँमात्रै थियो । अर्थात्, सूर्यदर्शन सहकारीमा ०.१२ प्रतिशतमात्रै तरलता बाँकी राखिएको थियो । जब कि नियमअनुसार सहकारीले कूल निक्षेप रकमको कम्तिमा १० प्रतिशत तरलता राख्नुपर्ने थियो ।

संस्थाले कूल निक्षेपको ९७.०८ प्रतिशतसम्म ऋण प्रवाह गरेको भेटिएको थियो । कूल निक्षेप तथा बचतमा जम्मा ब्याज खर्च १७ करोड १२ लाख २१ हजार १२८ रुपैयाँ ५० पैसा थियो, जुन औषत ब्याजदर १२.६४ प्रतिशत बराबरको रकम थियो ।

तर, मिलेमतो गरी करोडौँ रकम लगेका सञ्चालकहरूले सहकारीको ऋणमा औसत ब्याजदर ३.१० प्रतिशतमात्रै उठाउने गरेका थिए ।

त्यसैले संसदीय छानबिन समितिले प्रतिवेदनमा किटेर लेखेको थियो –

सम्पत्ति र दायित्व व्यवस्थापनका मूलभूत पक्षहरूलाई ध्यान नदिई बचत रकमको परिचालन गर्दा सम्पत्ति र दायित्वका बीचमा असन्तुलन देखियो ।

सूर्यदर्शन सहकारीबाट २०.६७ प्रतिशत ऋण त कम्पनीहरूलाई नै प्रदान गरेका थिए, जुन कम्पनी उनीहरूकै वा निकटका थिए ।

कुनै पनि सदस्यलाई ऋण प्रवाह गर्दा एउटा ऋण चुक्ता नभएसम्म पुनः अर्को ऋण प्रदान गर्न नपाइनेमा सूर्यदर्शन सहकारीबाट २० जना सदस्यले पटकपटक गरी ४२ पटकसम्म ऋण लगेका थिए ।

यो पनि –

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ६ : १८ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले