मधेशबाट ‘बलियो’ भएर फर्किइन् विद्या, सक्रियता बढाउँदा ओलीमाथि थप दबाब | Khabarhub Khabarhub

मधेशबाट ‘बलियो’ भएर फर्किइन् विद्या, सक्रियता बढाउँदा ओलीमाथि थप दबाब

यस्तो छ विधान महाधिवेशनको रणनीति



काठमाडौँ– नेकपा एमालेको विधान महाधिवेशन नजिकिएका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मधेश प्रदेश बारा-पर्सा घुमेर फर्किएकी छन् । भदौ १४ गते सिमरा हुँदै पर्साको वीरगञ्ज पुगेकी उनी १५ मा फेरि बाराको सिमरा फर्किइन् ।

संयोग कस्तो भने भण्डारी मधेश झर्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली उत्तरतिर उडिसकेका थिए । ओली चीनतिर लाग्दा भण्डारी दक्षिण दिशामा लागेकी थिइन् ।

भण्डारीले चीन भ्रमण गरेर आएपछि नै मुखर भएर एमालेको नेतृत्व लिन तयार भएको बताएकी थिइन् । त्यसपछि ओलीले आफूसँग प्रतिस्पर्धा गर्न आएको भन्दै साउन ५-६ को केन्द्रीय कमिटी बैठकमा नवीकरण भइसकेको उनको सदस्यता नै खारेज गरिदिए ।

त्यहाँका जिल्ला र केन्द्रीय तहका नेतालाई भेटेकी उनले आफू राजनीतिमा फर्किने निर्णयबाट पछि नहट्ने अडान लिइन् । उनले कम्युनिस्ट शक्तिलाई एकीकृत गर्ने सन्देश पनि दिइन । उनले त्यहाँ एमाले नेतृत्वसँग असन्तुष्टहरूलाई भेटेर ढाडस देखाइन् ।

सिमरा विमानस्थलमा उत्रिँदा विद्यालाई एमाले नेताहरूले ५५ केजीको मालाले स्वागत गरे । भदौ १५ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा भाग लिन सिमरा पुगेकी उनले सरप्राइज पाएको बताइन् ।

त्यसबेला उनी प्रफुल्लित मुद्रामा देखिइन् । मधेश प्रदेशका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालय र महासचिव शंकर पोखरेलसहित भण्डारीको स्वागतमा नजान निर्देशन दिएका थिए ।

तर एमाले नेतृत्वको निर्देशनलाई अवज्ञा गर्दै स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल र केन्द्रीय सदस्य अरविन्द सिंहसहितका नेता–कार्यकर्ताहरू विमानस्थल पुगेर स्वागत गरे ।

उनीहरूले भण्डारी मधेश आउँदा आफूहरू ज्यादै हर्षित भएको बताए । त्यसका कारण ओली र उनी पक्षीय नेताहरू थप चिढिएका छन् ।

भण्डारीको सचिवालयका सदस्य राजकुमार राईका अनुसार यो पटकको मधेश भ्रमण कोशीको जस्तै भव्य भएको छ । उनका अनुसार मधेशबासी र नेताहरूले भण्डारीलाई राजनीतिमा आएर एमालेलाई सच्याउन सुझाव दिएका छन् ।

‘तपाईं राजनीतिमा आउनुपर्छ बाटो बन्द हुनु हुँदैन । हामी विधान महाधिवेशनमा पनि कुरा राख्छौँ । तपाईंप्रति हाम्रो भरोसा छ भन्नुभएको छ’, नेताहरूको भनाइ उद्धृत गर्दै सचिवालय सदस्य राईले भने, ‘विधान महाधिवेशनपछि धेरै कुरा बाहिर आउनेछन् । उहाँको मधेश भ्रमण सोचेभन्दा राम्रो भयो । उहाँ राजनीतिबाट पछि हट्ने मुडमा हुनुहुन्न । जनताको अपार मायाले थप बलियो हुनुभएको छ ।’

हुन पनि यो पटकको मधेश दौडमा उनले राम्रो माहोल बनाएको देखियो । ८ जिल्ला रहेको मधेशका नेताहरूसँग उनले औपचारिक–अनौपचारिक छलफल गरेर आफ्नो प्रभाव बनाएकी छन् ।

उसो त राष्ट्रपतिबाट बिदा हुनेबित्तिकै नै पुनः एमालेको राजनीतिमा फर्किने स्पष्ट सन्देश दिएकी भण्डारीले सदस्यता नवीकरण गर्न जोड गरेकी थिइन् । तर, ०८१ वैशाखमा सदस्यता नवीकरण गर्न च्यासल पुगेपछि उनको सदस्यता नवीकरण र राजनीतिमा फर्किने कुरा एमालेमा पेचिलो बनेको थियो ।

गत असार १४ मा मदन भण्डारी जयन्तीको कार्यक्रममा आफू राजनीतिबाट पछि नहट्ने बताएपछि ४ साउनमा ओली र भण्डारीबीच ‘वान टु वान’ वार्ता भएको थियो । त्यसबेला ओलीले सदस्यता नवीकरण नहुने बताएका थिए ।

त्यसपछि एमाले केन्द्रीय कमिटी बैठक ६ साउनमा बसेर भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय लियो । च्यानलको ढोका बन्द भएपछि एमालेको राजनीतिक परिस्थिति बुझेर कोशी प्रदेश भ्रमणमा निस्किएकी उनलाई कोशीका नेताहरूले राम्रो साथ दिए ।

लगत्तै उनले ५ भदौमा थापा गाउँमा सम्पर्क कार्यालय खोलिन् । उक्त कार्यक्रममा उनलाई साथ दिन एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा उपस्थित थिए ।

भण्डारीले प्रभाव बढाएको सुइँको पाएपछि ओलीले सबै केन्द्रीय र जिल्ला तहका नेतालाई सकेसम्म बालुवाटार बोलाएर छेकिरहेका छन् । अहिले ओली विद्यालाई कहीँ पनि स्पेस नदिने योजनामा छन् ।

ओलीले विद्यालाई छेक्न खोजे पनि उनी रोकिएकी छैनन् । बरु उनी आफ्नो छुट्टै टिम बनाउँदै छन् । पार्टी कार्यालय प्रवेश गर्न रोक लगाइएको उनलाई कोशी प्रदेशको मोरङ कार्यालयमा प्रवेश गरेर ओली चिढ्याइन् ।

मोरङको कार्यालय प्रवेश गराउने एमाले नेता विनोद ढकाल, जिल्ला कमिटी अध्यक्ष अजम्बर राई, सोमराज थापाबारे केन्द्रीय नेतृत्वले प्रश्न उठाइरहेका छन् ।

यतिमात्रै होइन, कोशी प्रदेशमा भएको एमाले बैठकमा पनि उनलाई रोक्न नहुने पक्षमा नेताहरू खुलेको थिए । यता बागमती प्रदेशको सुझाव संकलन समिति बैठकमा पनि रोक्नु गलत भएको आवाज उठ्यो । जिल्ला कमिटी र प्रदेश कमिटी अध्यक्ष नै उनको पक्षमा उभिए । सुदूरपश्चिम प्रदेशको बैठकमा पनि केही नेताहरू उनको पक्षमा खुले ।

भंगाल धाउँदै नेताहरू

एमालेको दोस्रो विधान महाधिवेशन २० गतेबाट २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ । विधान महाधिवेशनका लागि काठमाडौँ आएका नेताहरू धमाधम भण्डारी निवास भंगाल धाउँदै छन् ।

मधेशबाट आएलगत्तै कोशी प्रदेश पूर्वमुख्यमन्त्री एवम् एमाले इन्चार्ज शेरधन राईले भण्डारीलाई भेटेर विधान महाधिवेशनमा प्रस्तुत हुने फरक दस्तावेजको विषयमा छलफल गरेको स्रोतको दाबी छ ।

‘कोशीबाट शेरधन नियमित संवादमा हुनुहुन्छ । उहाँले अन्य नेतालाई पनि साथमा लिएर जानुभएको छ’, स्रोतले भन्यो, ‘हरेक प्रदेशबाट नेताहरू भंगाल जाने क्रम जारी छ ।’

यसबारे प्रश्न गर्दा पूर्व मुख्यमन्त्री राईले आफूले पूर्वराष्ट्रपतिलाई नभेटेको बताए । उनले भने, ‘मैले भेटेको छैन । बाहिर आएका कुरा हल्ला मात्रै हुन् ।’ राईले भण्डारीको विषयमा थप कुरा गर्नसमेत चाहेनन् ।

यस्तै, बागमतीबाट पनि उनको पक्षमा ठूलो पंक्ति सक्रिय भएको छ । आनन्द पोखरेल, कैलाश ढुङ्गेल, सानुकुमार श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ अहिले भण्डारीको पक्षमा माहोल बनाइरहेका छन् ।

यस्तै सूदुरपच्चिम प्रदेशबाट कर्ण थापा लगायतका नेताहरूले उनको पक्षमा लागिरहेका छन् । यता, सांसद विद्या भट्टराई लगायत पनि सक्रिय भएका छन् । विमला राई पौडेल भण्डारीलाई अघि बढाउन लागिरहेकी छन् ।

एमाले स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली लगायतका नेताहरू फरक दस्तावेजमा काम गरिरहेका छन् । उनीहरू नियमितजसो भण्डारीको सम्पर्कमा छन् ।

भण्डारीका सचिवालय सदस्य राईले नेताहरूको बाक्लो उपस्थिति र संवाद भइरहेको बताए । ‘एमालेका धेरै नेताहरूले पूर्वराष्ट्रपतिसँग छलफल गर्नुभएको छ’, राईले खबरहबलाई भने, ‘नियमित सम्पर्क र समन्वय भइरहेको छ । उहाँको अभाव पार्टीमा खड्किएको बताउनुहुन्छ ।

भण्डारीको पक्षमा दस्तावेज

भण्डारीलाई रोक्न नहुने पक्षमा एमाले नेताहरू क्रमशः खुलिरहेका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेल, पाण्डे, ज्ञवाली लगायत नेताले फरक दस्तावेज बनाएर उनको पक्षमा प्रस्तुत गर्ने तयारीमा छन् । उपाध्यक्ष पाण्डेले त सोमबार संविधानले नै पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कने कुरा नरोकेको बताए । उनले फरक दस्तावेज बनिरहेको पनि संकेत गरे ।

यो समूहले बनाएको दस्तावेजमा ११ औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण र पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गर्नुपर्ने कुरा राखिएको छ । यस्तै उमेर हद कायम गर्नुपर्नेबारे पनि उल्लेख गरिएको नेताहरूको दाबी छ । यस्तै सरकारले जनताको निराशा चिर्न नसकेको र तल्लो तहका नेता कार्यकर्ताको असन्तुष्टि पनि समेटिएको छ ।

विधान महाधिवेशनपछि नेताहरू विद्याको पक्षमा खुल्ने तयारीमा छन् । यसबारे प्रश्न गर्दा एमाले उपाध्यक्ष पाण्डेले भने, ‘समय आएपछि विस्तारै देखिन्छ । समय भएको छैन । मैले पटक–पटक भनेको छु, संविधानले रोकेको छैन, पूर्वराष्ट्रपतिलाई एमालेको राजनीतिमा फर्काउँछौँ ।’

तर अध्यक्ष ओलीले उनको पक्षमा खुलेका नेताहरूलाई एमालेमा स्पेस नदिने भएकाले डर त्रास पनि उत्तिकै छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ८ : ३१ बजे

विल्सनले ‘सोल्टिनी’लाई हेपेर ‘मैझारो’ जुधाउन ल्याएका हुन् ?

काठमाडौं – कात्तिक ६ गते भाइटीकाकाे दिन पारेर फिल्म ‘सोल्टिनी’

बेनी–दरवाङ सडक सञ्चालनमा

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, जेन-जीको आक्रमणपछि पहिलो पटक सार्वजनिक हुँदै देउवा

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

गैरकानूनी चन्दा उठाउनेलाई कारबाही गरिने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग