शक्तिपूजाको इतिहास कसरी सुरु भयो ? | Khabarhub Khabarhub

शक्तिपूजाको इतिहास कसरी सुरु भयो ?



नारीलाई शक्तिको रूपमा महत्व दिएर पूजा र प्रार्थना गर्ने परम्परा निक्कै प्राचीन हो । शक्ति रूपलाई पूजा गर्ने चलनले त्यसबेलाका नारीप्रतिको सम्मान र अस्तित्वलाई पनि स्वीकार गरेको देखिन्छ । संसारका प्राचीन सभ्यताहरूमा पनि नारीलाई शक्तिको रुपमा उपासना गरेको देखिन्छ । त्यसबेला प्राप्त नारी मूर्तिहरुले यस सत्यलाई सहमति दिन्छन् ।

सिन्धु सभ्यताको उत्खननमा प्राप्त स्त्री मूर्ति तथा मोहरमा अंकित छापबाट त्यसबेला शक्तिपूजाको परम्परा भएको तथ्य स्वीकार्न सकिन्छ । हिन्दूहरूको सर्वप्राचीन ग्रन्थ वेदमा विभिन्न देवदेवताको नामका साथै शक्तिदेवीको नामका विवरण पाइन्छ । ऋग्वेदमा राची, उषाको साथसाथै वाक्देवीको नामबाट त्यसबेला देवीलाई पूजा प्रार्थना गर्ने परम्परा रहेको देखिन्छ । राची इन्द्रकी पत्नी, उषालाई अरुणोदयकी देवी तथा वाकदेवीलाई विभिन्न देवताहरूकी शक्तिको रुपमा उल्लेख गरिएको छ ।

यस्तै उपनिषद्हरूमा पनि शक्तिपूजाको विस्तृत विवरण पाइन्छ । खास गरेर उपनिषद्का दार्शनिक तत्त्वहरूको उल्लेख गरिएको हुनाले त्यसबेला नारी शक्तिलाई प्रकृति र पुरुष शक्तिको रुपमा मान्न थालेको देखिन्छ ।

उपनिषद्को एउटा कथाअनुसार देवताले देवीको परिचय माग्दा उनी भन्छिन्– ‘म व्रह्माको रूप हुँ, म बाटै प्रकृृति र पुरुषको रुप यसैबाट यो चराचर जगतको उत्पति हुन्छ । यसैगरी केन उपनिषद्मा रुद्रको साथसाथै उमा हेमवतीको पनि उल्लेख भएको पाइन्छ । यिनैलाई पछिल्ला ग्रन्थहरुले शिवशक्तिका रुपमा स्वीकार गरेका छन् ।

खास गरेर उपनिषद्पछि शक्ति देवीको मान्यतामा वृद्धि हुन गयो । यसैबेलातिर शक्तिको स्वतन्त्र अस्तित्वको विकास पनि हुन गएको थियो । ब्राम्हण साहित्य तथा सूत्र साहित्यका अरु अनेक सौम्य रूपहरूको पनि विकास भयो । हरेक नामसँग उनको तादात्म्य कायम भयो । साथै उपनिषद्ले प्रतिपादन गरेको सांख्य दर्शनको विकास भएपछि प्रकृतिलाई पुरुषको अपेक्षा बढी क्रियाशील ठानियो ।

महाभारतमा शक्तिपूजाको अझ महत्व रहेको देखिन्छ । महाभारत पात्र भीष्म, अर्जुन युद्धमा विजय प्राप्त गर्न श्रीकृष्णका परामर्शअनुसार देवीदुर्गाको उपासना गर्छन् । महाभारतकै विराट पर्वमा पनि युधिष्ठिरले देवीको स्तुति गरेका थिए । यसबाट शक्ति प्राप्त गर्न तथा सफलताको लागि देवीपूजा र प्रार्थनाले त्यसबेलाको जनमानसमा ठूलो प्रभाव पारेको देखिन्छ ।

पुराणकालमा यसको महत्व अझ उच्च भएर गयो । ब्रह्मवैदर्त पुराण, कर्मपुराण, हरिवंश पुराण र मार्कण्डेय पुराणमा देवीको महत्वलाई दर्शाउने उनीसँग सम्बन्धित अनेकौँ कथा उल्लेख गरिएको छ । मार्कण्डेय पुराणमा महिषासुर मर्दिनी भगवतीलाई शिव, विष्णु र ब्रह्माको संयुक्त तेजबाट बनेकी भनिएको छ ।

त्यसमा रहेको एउटा कथाअनुसार शुम्भ र निशुम्भ नामक दैत्यले देवताहरूलाई अत्यन्त कष्ट दिएकाले देवताहरूले हिमालयमा गई देवीको आराधना गर्न थाले ।

देवताको आराधनाबाट प्रसन्न भएकी पार्वतीले आफ्नो शरीरबाट शक्तिरुपी अम्बिकालाई पैदा गरिन् । अम्बिका कालो वर्णकी भएकीले उनलाई कालिका भन्न थालियो । शक्तिदेवीको यस्तो महत्व रहेको हुनाले उनलाई चामुण्डा नामले पुकारिन थालियो ।

शक्तिदेवीको यस्तो महत्व रहेको हुनाले प्रत्येक देवताको शक्तिको रुपमा देवीको शक्तिलाई मान्न थालियो । यसअनुसार ब्रम्हा, विष्णु, महेश, कुमार, इन्द्र, वराह र यमका क्रमशः ब्राह्मी, वैष्णवी, माहेश्वरी, कौमारी, ऐन्द्री, वाराही र यमी आदि देवीहरूको महत्व देखापर्‍यो । साथै देवीका सौम्य रूप र उग्ररूपमा अलग विभेद देखायो । फलस्वरुप सात शक्तिरुपलाई सात मातृकाको रुपमा मान्न थालियो । यिनमा महालक्ष्मीलाई समावेश गरेर अष्टलक्ष्मी समावेश गरेर अष्ट मात्रिकाको रुपमा मानियो ।

नेपालमा शक्तिपूजाको परम्परा लिच्छवीकालअघि नै रहेको लिच्छवीपूर्वका मूर्तिबाट थाहा हुन आउँछ । मानदेव प्रथमको पालामा विक्रम संवत ५६० मा गृहपतिकी पत्नी विजय स्वामिनीले पलाञ्चोकमा विजयश्वरी देवीको मूर्ति स्थापना गरेकी थिइन् । त्यस्तै अंशुवर्माको अभिलेखहरूमा ‘श्रीदेवी’ र ‘षष्ठीदेवी’को उल्लेख पाइन्छ । यस्तै उपत्यकाभित्रका शोभाभगवती र नक्साल भगवतीका मूर्तिलाई लिच्छवीकालीन नै मानिन्छ । यसबाट लिच्छवीकालमा शक्तिधर्मको पनि उत्तिक्कै विकास भएको पाइन्छ ।

मध्यकालमा पनि शक्तिपूजाको यो प्रतिष्ठा यथावत देखिन्छ । अझ उपत्यकामा तलेजु भवानीको मूर्ति ल्याउने कर्णाटवंशी राजा हरिसिंहदेवको नाम वंशावलीमा भएकोले सम्भवतः नेपालको तराई भेग त्यसबेला शक्तिकेन्द्रको प्रमुख स्थल थियो भन्न सकिन्छ । मल्लराजाकी इष्टदेवी तलेजु भवानी थिइन् । त्यसैले तीनवटै राजदरवारमा तलेजु मन्दिर निर्माण गरिएको थियो । साथै मल्ल राजाहरुले ‘श्री तलेजुमाजु , श्री कुमारीमाजु’ उपाधि लिएकोबाट पनि मल्ल राजाहरु शक्तिका उपासक थिए भन्न सकिन्छ । साथै यसबेलातिर विभिन्न शक्तिदेवीका मन्दिर र मूर्तिहरु बनेको हुनाले धर्मको प्रभाव यहाँ व्यापक रुपमा रहेको देखिन्छ ।

मल्लकालमा स्थापित मन्दिरहरुमा दक्षिणकाली, गुह्येश्वरी, भद्रकाली, साँखुको बज्रयोगिनी र चापागाउँको बज्रवाराहीलाई महत्वपूर्ण उदाहरण लिन सकिन्छ । यी शक्तिपीठहरुमा पूजा प्रार्थना गर्ने परम्पराले एकातिर नेपालको आफ्नो धार्मिक मौलिकतालाई देखाएको छ ।

विभिन्न पर्वहरुमा शक्तिपीठ पूजाको साथसाथै हाम्रो महत्वपूर्ण चाड दशैँमा नौ दिनसम्म नवदुर्गाको पूजा र पाठ गर्ने परम्पराले शक्ति धर्मको लोकप्रियताको बारेमा अनुमान गर्न सकिन्छ । नौ दिनसम्म विभिन्न देवीहरूको प्रार्थनाबाट नराम्रा तत्वहरुमाथि विजय गर्ने शक्ति प्राप्त हुने विश्वास रहेकाले दशैँको महिमा बढेको हो । 

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ६ : ३१ बजे

राष्ट्रपति पौडेलले लगाए टीका 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन

जेन-जी आन्दोलन : मधेसका २९७ कार्यालयमा क्षति

जनकपुरधाम– जेन-जीको आन्दोलनमा मधेस प्रदेशका ९० वटा प्रहरी र २०७

पेरिसका अन्तिम समाचारपत्र हकर अली अकबर : साहस र हास्यले भरिएको जीवनकथा

एजेन्सी – पेरिसका सबैले चिनेका अली अकबर अब ७३ वर्ष

प्रदेश प्रमुख मियाँद्वारा बडादसैँको शुभकामना व्यक्त

गोदावरी– सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले बडादसैँका अवसरमा स्वदेश तथा

प्रदेश गौरवका दुई सडक योजनाको काम अगाडि बढेन

पर्वत– गण्डकी प्रदेश सरकारअन्तर्गत पर्वतमा निर्माणाधीन दुई सडक आयोजना निर्माण