कृषि पेसाबाट मनग्य आम्दानी « Khabarhub

कृषि पेसाबाट मनग्य आम्दानी


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि पेसा । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय धेरै व्यक्ति कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् । खासगरी युवा पुस्ताले कृषि क्षेत्रलाई अँगाल्न छाड्दै गएका छन् ।

वैदेशिक रोजगारी र बसाइँसराइले गाउँका कैयौँ खेतीयोग्य जमिन बाझिँदै गएका छन् । यद्यपि, तेह्रथुमको म्याङलुङ नगरपालिका–६ मेक्चानाका तिलबहादुर श्रेष्ठ र कुष्णकुमार श्रेष्ठको कृषिकर्म भने जिल्लामै उदाहरणीय छ । पछिल्लो समय गाउँमा सम्भावना छैन भन्दै विदेश पलायन हुने र गाउँघर छाडेर सहर बजार क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दा खेतीयोग्य जमिन बाँझिँदै गएका छन् ।

म्याङलुङ नगरपालिका–६ मेक्चानाका ५३ वर्षीय कृष्णकुमार र ५६ वर्षीय तिलबहादुर श्रेष्ठले कृषि पेसा अँगालेर गाउँमै लोभलाग्दो आम्दानी गरिरहेका छन् । श्रेष्ठ कृषि फार्म खोलेर व्यावसायिक तरकारीखेती गर्दै आएका तिलबहादुर श्रेष्ठले वार्षिक लाखौँ आम्दानी गर्ने बताए । लगानी र आफ्नो खर्च काटेर वार्षिक ११ लाख रुपैयाँ बच्ने गरेको उनको भनाइ छ ।

‘गर्नेलाई जहीँतहीँ, नगर्नेलाई कहीँ न कहीँ’ भनेझैँ गाउँकै जमिनमा व्यावसायिक रूपले तरकारीखेती गरेर श्रेष्ठले मनग्य आर्थिक उपार्जन गरिरहेका हुन् । उनले आफ्नै ३० रोपनी र भाडामा लिएको गरी ४२ रोपनीमा तरकारीखेती गर्दै आएका छन् । उनले बारीमा मौसम र बेमौसमका सागसब्जी लगाउने गरेको बताए । यसमा काँक्रा, घिरौँला, बैगुन, स्क्वास फर्सी, करेला, सिमी, क्याप्सिकन, आलु, अकबरे खुर्सानीलगायतका तरकारी बाली छन् ।

करिब डेढ दशकअघि तिलबहादुरले कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका हुन् । उनस् मौसमी र बेमौसमी दुवै किसिमको तरकारीखेती गर्छन् । उनको कृषि फार्म विशेषतः अकबरे खुर्सानीका लागि प्रख्यात छ । बट्टामा अकबरे खुर्सानीको अचारसमेत बिक्री गर्ने उनले यस वर्ष ११ रोपनीमा अकबरे खुर्सानीमात्र लगाए भने आगामी वर्ष त्यसलाई बढाएर ३० रोपनी पुर्याउने लक्ष्य रहेको बताए ।

‘यो वर्ष अकबरे ३० क्विन्टल बेचिसकेँ, अब मङ्सिरको पहिलो सातासम्ममा १० क्विन्टल जति निस्किन्छ’, आलु रोप्न खेतालासँगै बारीमा माटो तयार गरिरहेका तिलबहादुरले भने ।

तिलबहादुरसँगै छिमेकी कृष्णकुमार श्रेष्ठले पनि कृषि कर्मबाट पर्याप्त आम्दानी गर्दै आएका छन् । परम्परागत खाद्यान्न बालीसँगै व्यावसायिक पशुपालन र कृषि पेसामा रमाइरहेका कृष्णकुमारले गत वर्ष २५ लाख आम्दानी भएको बताए । २०६९ सालमा रङ्गेली कृषि फार्म दर्ता गरी ३२ रोपनी क्षेत्रफलमा तरकारीखेतीमात्र लगाएका उनले पनि अकबरे खुर्सानीलाई विशेष प्राथमिकता दिएका छन् ।

यो याममा हालसम्ममा एक हजार दुई सय केजी अकबरे खुर्सानी बेचिसकेका उनले पछिल्लो याममा रोपेको अकबरेले अहिले फल दिइरहेको बताए । वैशाखमा रोपिएका लोकल र इलामे लोकल जातको अकबरे खुर्सानी बेचिसकिएको र साउनमा रोपिएका बिरुवाले अब मङ्सिरसम्म उत्पादन दिने श्रेष्ठले बताए ।

नातामा दाजुभाइ पर्ने श्रेष्ठद्वयले उत्पादित कृषि उपज करिब चार किलोमिटरको दूरीमा रहेको तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको शुक्रबारे र मङ्गलबारे हटिया अनि एक किलोमिटरको दूरीमा रहेको जिरी बजारको सोमबारे हटियामा बेच्दै आएका छन् । कतिपय व्यापारी र ग्राहक घरैमा समेत पुग्ने गरेका छन् । अकबरे खुर्सानी धरान, इटहरीलगायत तराईका बजारसम्म पनि खपत हुने गरेको कृष्णकुमारले बताए । (रासस)
 

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १२ : ३६ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त