काठमाडौं- लामो समयदेखि अध्यक्ष/संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग फरक मत राख्दै आएका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पार्टिभित्र एक्लिएका छन्।
नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग यही कात्तिक १८ गते एकीकरणको निर्णय भएसँगै ‘जनयदुद्ध’का कुशल कमान्डर प्रभाकर एक्लिन पुगेका हुन् ।
विचार र सिद्धान्त नमिली गरिने एकता फलदायी नहुने निष्कर्षसहित शनिबार बसेको सचिवालय बैठकमा समेत फरक मत राखेका उनी त्यहीकारण एक्लिन पुगेका हुन्। अब उनीसामु संयोजक प्रचण्डसँग दुई लाइन संघर्ष अझै चर्काएर बसिरहने या नयाँ यात्रा थाल्ने दुईवटा विकल्प देखिएका छन् ।
संयोजक प्रचण्ड अध्यक्षतामा शनिबारदेखि बसिरहेको महाधिवेशन आयोजक सचिवालय समितिको बैठकमा जनार्दनको फरक मतलाई अन्य कुनै पनि नेताले साथ नदिएको अर्का नेता हरिबोल गजुरेल बताउँछन् । प्रचण्ड प्रधानमन्त्री हुँदा असन्तुष्ट भएर प्रमुख सल्लाहकार पद त्यागेका गजुरेल अहिले संस्थापन पक्षमै उभिएका छन् ।
गजरेलका अनुसार शनिबार बसेको सचिवालय बैठकमा जनार्दनले तीन पृष्ठ लामो फरक मत राखेका थिए । जसलाई अन्य कुनै पनि पनि नेताले साथ दिएनन् भने कोही पनि नेताले जनान्दरको फरक मतलाई स्वीकार गरेनन् ।
‘उहाँ आफ्नो कुरा राखेर निस्किनुभयो, हाम्रो कुरै उहाँले सुन्नुभएन अरुका पनि कुरा सुन्नुपर्यो उहाँले आफ्नो मात्रै कुरा राख्नुभयो, हाम्रा सुझाव सुन्नै चाहनुभएन’, गजुरेलले खबरहबलाई भने, ‘उहाँले उठाएको पार्टी पुनर्गठन र नयाँ नेतृत्वको मुद्दा एकदमै सही छ । तर अहिलेको अवस्थामा पार्टी एकीकरण गरेरै विद्रोह गर्न सकिन्छ। कम्युनिस्टहरू एक हुनु अहिलेको आवश्यकता हो । संविधान र व्यवस्थामाथि पटकपटक प्रहार भएपछि यसो गर्नैपर्ने हुन्छ।’

जनार्दनलाई साथ दिने को को ?
अहिलेसम्म जनार्दनतर्फ शीर्ष तहका कोही नेता खुलेका छैनन । उनले उठाएका मुद्दा र विचारलाई ठिक भने पनि अरू दलसँग एकताबारे सबै नेता एकमत छन्
।
माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले त्यहाँका अधिकांश नेता र शुभचिन्तक एकीकरणकै पक्षमा छन्। लामो समय जनार्दनको सचिवालयमा बसेर काम गरेका मिक्सो पनि उनलाई एकताको पक्षमा उभिन सुझाउँछन् ।
अहिलेसम्म माओवादीका पूर्वसांसद् एवम् केन्द्रीय नेतामध्ये सुदन किराती जनार्दनको पक्षमा खुलेका छन्। सुदनसहितका केही नेताले माओवादी केन्द्रलाई नै सुदृढ र एकताबद्ध बनाएर जानुपर्ने मतमा जनार्दनलाई साथ दिइरहेका छन् ।
किराती जनार्दनको पक्षमा उभिइरहँदा अन्य पूर्वसांसद खुलिसकेका छैनन् । पूर्ववरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि पार्टी पुनर्गठन र नेतृत्व फेर्नुपर्ने पक्षमा छन् । तर उनी अहिले नै प्रचण्डको विकल्पको पक्षमा खुलेर लागेका छैनन् ।
जनार्दनको पक्षमा खुलेर लागेका नेतामा रुकुमबाट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा हुन । यदि जनार्दनले पार्टी छाडेमा उनले पनि साथ दिने स्रोतले जनाएको छ।
‘अहिले पार्टीलाई फुटतिर लानु हुँदैन । एकता अनिवार्य आवश्यकता हो। हामीले २०८१ पुस पहिलो साता नै बैठक बसेर सबै विचार मिल्ने शक्तिहरूसँग एकताको निर्णय नै गरिसकेका थियौँ’, माओवादी पूर्वमहासचिव देव गुरुङले खबरहबलाई भने, ‘पार्टी फुटाएर जानेभन्दा एकताबद्ध गरेर निरन्तर संघर्ष गरिरहने हो। पार्टी पुनर्गठन र रूपान्तरण हुनुपर्ने कुरा त हामीले उठाइरहेका छौँ ।’
शनिबारको बैठकपछि माओवादी संयोजक प्रचण्डले पनि जनार्दनबाहेक सबै एक ढिक्का रहेको बताएका थिए। जनार्दनले तीन पृष्ठ लामो फरक मत प्रस्तुत गरेर हिँडेकोमा प्रचण्डले चित्त दुखाए । उनले आफ्नो कुरा मात्रै राखेको जनार्दनले अरूको कुरा नसुनेकोप्रति चित्त दुखाए ।
‘हाम्रो पार्टी अहिले पार्टी एकीकरणको पक्षमा एक ढिक्का छ। पार्टी एकीकरण हुनु हुँदैन भनेर कसैले बोल्नुभएको छैन’, उनले भने, ‘जनार्दनजीले पनि भोलिसम्म एकताकै पक्षमा मत राख्नुहुनेछ भन्ने विश्वास छ।’

जनार्दनलाई साथ देलान् ?
यदि जनार्दन शर्माले पार्टी फुटाए कस-कसले साथ दिन्छन् खुलिसकेको छैन । जनार्दनको पक्षमा युवा नेता र विद्यार्थीहरूको ठूलो पंक्ति छ।
माओवादीका अर्का नेता राम कार्की पनि कम्युनिस्टहरू एक भएर अगाडि बढ्नुपर्ने पक्षमा छन्। उनी कम्युनिस्टहरू एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने वकलात गरिरहेका छन् ।
उता जनार्दनतिर खुलेका नेता सुदनले भने माओवादीलाई नै तल्लो तहसम्म पुर्याएर अगाडि बढ्नुपर्ने मत राखिरहेका छन् ।
यी सबै परिदृश्यले नाटकीय परिवर्तन नभए एकीकृत समाजवादीसँग एकता भए जनार्दन पक्ष माओवादीमा नरहने सम्भावना बलियो छ।
अझै आशावादी
माओवादी नेता देव गुरुङ जनार्दन पनि पार्टी एकताकै पक्षमा उभिने दाबी गर्छन्। ‘उहाँले फरक मत राख्नुभएको हो । अन्तिमसम्म एकताकै पक्षमा उभिनुहुन्छ भन्नेमा विश्वस्त छौं’, उनले भने, ‘माओवादी आन्दोलन र सिद्धान्त नै सकिने चिन्तासहित उहाँले फरक मत राख्नु स्वभाविक हो। हाम्रो पार्टी सकिन लागेको होइन । झन् पार्टीको आकार बढाएर जाने कुरा हो । यो कुरा जनार्दनजीले बुझ्नुभएको छ।’
माओवादी केन्द्रकी पूर्वउपाध्यक्ष पम्फा भुसालले पनि जनार्दन शर्मा एकताको पक्षमा उभिने बताएकी थिइन्। उनले माओवादी विभाजनतिर नगई एकताबद्ध होस् भनेर उनले फरक मत राखेको हुनसक्ने तर्क गरिन् ।
‘चौतर्फी प्रहार भइरहेको बेला कम्युनिस्टहरू एक भएर जान खोज्नु स्वभाविक हो। पार्टी एकीकरण गरेपछि रूपान्तरण र पुस्तान्तरण गरेर अगाडि बढ्न सकिन्छ’, भुसालले भनिन्, ‘जनार्दनजीले यो कुरा बुझ्नुभएको छ भन्ने लागेको छ। एकीकरण गरेपछि पार्टीलाई वैचारिक कार्यदिशामा अगाडि बढाउन निरन्तर संघर्ष गर्न सकिन्छ।’













प्रतिक्रिया