चितवन राष्ट्रिय निकुञ्जभित्रको हुलाकी सडकमा मोज्याक टायल | Khabarhub Khabarhub

चितवन राष्ट्रिय निकुञ्जभित्रको हुलाकी सडकमा मोज्याक टायल


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने भएको छ । माडी नगरपालिकाले चालु आर्थिक वर्षबाट ‘मोज्याक’ लगाउन सुरु गर्न लागेको हो ।
 
माडी नगरपालिकाका प्रमुख तारा काजीकुमारी महतोका अनुसार कालोपत्र गर्न नमिलेपछि सडकलाई धुलोरहित बनाउन मोज्याक टायल लगाउन लागिएको हो । 

सडकको भागमध्ये सात मिटरमा मोज्याक टायल लगाउन लागिएको हो । यसका लागि वन मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई आवश्यक सहजीकरण गरिदिन पत्राचार गरिसकेको छ । 

विभागले चितवन राष्ट्रिय निकुञ्जलाई सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गर्न पत्राचार गरेको छ ।
 
प्रमुख महतोले चालु आर्थिक वर्षमा नगरपालिकाले मोज्याक टायलका लागि पाँच करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सो रकमले काम थालनी गर्ने उनको भनाइ छ । राजमार्गस्तरको बाटोमा नेपालमा अहिलेसम्म मोज्याक टायल नलगाइएकाले लागत अनुमान गर्न कठिन भएको छ । 

नगरपालिकाले सडक विभाग र निकुञ्जका प्राविधिकको परामर्शमा लागत अनुमान तयार गर्ने काम गरिरहेको उनले बताइन् । 

उनले भनिन्, ‘राजमार्गमा बलियो संरचना निर्माण गर्नुपर्ने भएकाले कालोपत्रभन्दा महँगो हुँदोरहेछ, यो वर्ष हाम्रो रकमले थोरै क्षेत्रमा काम हुन्छ ।’ यसको प्रभावकारितालाई हेरेर आगामी वर्षको बजेटमा सङ्घ, प्रदेश र पालिकाले बजेट विनियोजन गरी थप काम गर्ने उनको भनाइ छ ।

कसराको राप्ती पुलबाट रिउखोलासम्म करिब नौ किलोमिटर सडक निकुञ्जभित्र पर्दछ । त्यसमध्ये राजपत्रमा प्रकाशित भएको सुविधा प्राप्त बाटो भनी उल्लेख गरेको रिउ खोलादेखि ध्रुव पोष्टसम्मको सडकलाई पहिलो प्राथमिकता राख्न लागिएको छ । करिब पाँच किलोमिटर सडक रहेको सुविधा प्राप्त बाटोको काम सुरुमा गरिने प्रमुख महतोले जानकारी दिइन् ।
 
निकुञ्जका सूचना अधिकारी अविनाथ थापामगरका अनुसार विभागले मन्त्रालयमा भएको सहमतिअनुसार सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गरिदिन पत्र पठाएको छ । उनले भने, ‘काम माडी नगरपालिकाले गर्दैछ, आवश्यक सहजीकरण हामीले गर्छाैं ।’
 
माडीका नागरिकले पटकपटक सो सडकलाई धुलोरहित बनाउन माग गर्दै आएका थिए । जेनजी आन्दोलनका क्रममा माडीमा कुनै सरकारी वा निजी सम्पत्तिमाथि आक्रमण नगर्ने तर निकुञ्जभित्रको सडक निर्माण गर्ने सहमति भएको थियो । 

सोहीअनुसार माडीका आन्दोलनकारीले सो क्षेत्रमा कुनै पनि संरचनामाथि आक्रमण गरेका थिएनन् । त्यसलगत्तै माडीका जनप्रतिनिधि, आन्दोलनकारी, राजनीतिक दललगायत सरोकारवालाहरुले वन तथा वातावरण मन्त्रालयमा पुगेर सडकमा कालोपत्र नगर्ने तर मोज्याक वा ढुङ्गा लगाएर धुलोरहित बनाउने सहमति गरेका थिए ।
 
माडी जान चितवन राष्ट्रिय निकुञ्ज हुँदै पुग्नुपर्ने हुन्छ । माडी क्षेत्रलाई सबैतिर जङ्गलले घेरेको छ । उर्वर भएर पनि सो क्षेत्रका बासिन्दा वन्यजन्तुबाट प्रभावित छन् । सदरमुकाम भरतपुर आवतजावत गर्ने यो मात्रै सडक हो । रासस

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ०९ बजे

खाँदबारी-किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का

माओवादीसहित आठ दलबीच एकताका लागि १९ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं- सात वामपन्थी दलहरूबीच एकीकृत पार्टी गठन गर्ने सहमति भएको

विदेशमा रहेका नेपालीलाई मतदान गर्न दिनेबारे गृह र प्रतिष्ठानबीच छलफल

काठमाडौं- आइतबार गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच भएको

‘रुग्ण आयोजनाका ठेक्का तोडेर स्टन्टबाजी गरिरहेको छ सरकार’

काठमाडौं– नेपालको पूर्वाधार विकासको क्षेत्रमा रुग्ण आयोजना मुख्य समस्याको रूपमा