‘माओवाद’ त्यागेका प्रचण्ड फर्किए नेकपाकालकै ‘मार्क्सवाद-लेनिनवाद’मा | Khabarhub Khabarhub

‘माओवाद’ त्यागेका प्रचण्ड फर्किए नेकपाकालकै ‘मार्क्सवाद-लेनिनवाद’मा


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका संयोजक/अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तत: माओवादसम्बन्धी आफ्नो मूल सिद्धान्त त्यागेका छन्। उनी २०७५ सालमा एमाले र माओवादी मिलेर बनेको नेकपाले अंगालेको मार्क्सवाद लेनिनवादमै पुगेका छन् ।

२०७५ सालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । त्यसबेला एकता गर्दा ‘संयुक्त वैचारिक सिद्धान्त’ बनाउनुपरेको थियो ।

नेकपा बन्दा दुवै दलले सहमति गरेको मुख्य वैचारिक आधार माक्सवाद–लेनिनवाद थियो। एकीकृत नेकपाले यसलाई ‘वैज्ञानिक समाजवादतर्फको दिशानिर्देशक सिद्धान्त’ मानेको थियो।

नेकपा बनाउँदा माओवादीको ‘प्रचण्डपथ’ र एमालेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ बीचको वैचारिक भिन्नतालाई सिधै मिलाइएको थिएन। दुवै धारालाई ‘मार्क्सवाद–लेनिनवादको सृजनात्मक प्रयोग’ का रूपमा स्वीकार गरिएको थियो ।

एकताका क्रममा माओवादी पक्षको ‘क्रान्तिकारी रूपान्तरण’ दृष्टिकोण, एमालेको ‘लोकतान्त्रिक माध्यमबाट समाजवाद’ दृष्टिकोणलाई जोडेर भनिएको थियो, ‘नेपालको समाजवादमा पुग्ने बाटो शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक माध्यममार्फत हुनेछ, तर त्यो वर्गीय रूपान्तरणको लक्ष्यसहित हुनेछ।’

यसरी नेकपाले ‘शान्तिपूर्ण क्रान्ति’ वा ‘लोकतान्त्रिक माध्यमबाट समाजवाद’ भन्ने संयुक्त दृष्टिकोण बनाएको थियो। नेकपाको दीर्घकालीन लक्ष्य ‘वैज्ञानिक समाजवाद ।’

यसमा दुवै दलका व्यवहारिक प्राथमिकता मिसिएका थिए । एमालेको सुशासन र विकास दृष्टि तथा माओवादीको सामाजिक न्याय र रूपान्तरण दृष्टि घुलमिल गरिएको थियो।

नेकपाकालमै त्यागिसकेको माओवाद फेरि एक पटक प्रचण्डले त्यागेका छन् । आगामी कात्तिक १९ गते अन्य सात दलसँग एकता गर्ने गरी नामबिनाको पार्टी बनाउने १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेसँगै प्रचण्डले १० वर्षे ‘जनयुद्ध’देखि अंगाल्दै आएको माओवाद त्यागेका हुन् ।

आइतबार सार्वजनिक गरिएको ‘पार्टी एकता सहमति पत्र’मा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी) ले हस्ताक्षर गरेका छन् । नेकपा एमालेले अपनाउँदै आएको ‘मार्क्सवाद-लेनिनवाद’ नै नाम नखुलाइएको पार्टीको मार्गनिर्देशक सिद्धान्त हुने उल्लेख छ ।

त्यसैगरी आठ दल मिलेर बनाउन लागिएको नामबिनाको उक्त पार्टीले ‘नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ’ भन्ने सहमति जुटाएको छ।

उता पार्टीको तात्कालिक कार्यनीति पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने भनेर व्याख्या गरिएको छ ।

के थियो माओवाद ?

प्रचण्डले लामो समय अंगालेर आइतबारदेखि त्यागेको माओवाद परम्परागत चिनियाँ माओवादको प्रतिलिपि नभएको उनैले बताउँदै आएका थिए । उनले नेपाली सन्दर्भमा पुनर्व्याख्या गरिएको रुपमा यसलाई वर्णन गर्थे । उनले यसलाई प्रायः ‘प्रचण्डपथ’ भनेर परिभाषित गरेका थिए ।

माओवादी आन्दोलनको राजनीतिक–वैचारिक दिशा बुझ्नका लागि प्रचण्डले व्याख्या गरेको माओवादलाई चार मुख्य आधारमा ब्याख्या गरेका थिए ।

१. मार्क्सवाद–लेनिनवादको निरन्तरता र नेपाली सन्दर्भको प्रयोग

प्रचण्डले माओवादलाई मार्क्सवाद–लेनिनवादको निरन्तरता मानेका थिए । तर नेपालको वर्ग संरचना, भूगोल र सामाजिक अवस्थालाई ध्यानमा राखेर प्रयोग गर्नुपर्ने सिद्धान्तका रूपमा उनले व्याख्या गर्ने गरेका थिए । उनले सारमा भन्थे, ‘वर्ग संघर्षमार्फत नयाँ प्रकारको जनवादी राज्य स्थापना गरी समाजवादतर्फको संक्रमण।’

तर नेपालमा उनले यसलाई सशस्त्र संघर्ष र २०६२/६३ को जनआन्दोलनपछिको लोकतान्त्रिक मार्गको संयोजनमार्फत् अघि बढाउने दृष्टिका रुपमा बुझाउने गर्थे ।

२. जनयुद्ध र जनसत्ता निर्माण

प्रचण्डले माओवादको ‘दीर्घकालीन जनयुद्ध’ सिद्धान्तलाई नेपाली भूमिमा रूपान्तरण गरेर अघि बढाएका थिए । चीनमा माओत्सेतुङले जस्तै उनले पनि ग्रामीण क्षेत्रबाट सहर घेरिएको सशस्त्र संघर्षको रणनीति अपनाएर प्रत्याक्रमणको चरणमा पुग्दै १० बुँदे सहमतिमार्फत् शान्ति प्रक्रियामा आएका थिए ।

रणनैतिक प्रत्याकरणको चरणमा पुगेपछि २०६२ सालमा प्रचण्डले यसलाई ‘संविधानसभामार्फत नयाँ जनवादी राज्य निर्माणको रणनीतिक मार्ग’मा परिणत गरेर हतियार बिसाए । यो निर्णयपछि माओवादी आन्दोलनलाई सशस्त्र युद्धबाट शान्तिपूर्ण राजनीतिक प्रक्रियामा रूपान्तरण गर्दै २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भयो ।

३. नयाँ जनवाददेखि समाजवादसम्मको संक्रमण

प्रचण्डले नेपालमा तत्कालीन लक्ष्य ‘नयाँ जनवादी क्रान्ति’ भनेका थिए । जसले सामन्तवाद, दलाल पूँजीवाद र विदेशी निर्भरतालाई अन्त्य गरी राष्ट्रिय पूँजीवादको विकासमार्फत समाजवादको आधार तयार गर्ने उनको जिकिर थियो । यो चरण समाजवादको ‘पूर्वचरण’ भनेर उनले कार्यकर्तालाई प्रशिक्षण दिन्थे । त्यसपछि समाजवादी अर्थतन्त्र र अन्ततः साम्यवादतर्फको यात्रा सम्भव हुने उनको जिकिर थियो ।

४. ‘प्रचण्डपथ’: नेपाली माओवादी विचारको विशेषता

वि.सं. २०५९ सालमा भूमिगत अवस्थामै तत्कालीन माओवादी पार्टीले प्रचण्डको नाममा ‘प्रचण्डपथ’ लाई माओवादको सृजनात्मक प्रयोगको रूपमा अंगालेको थियो।

यसका विशेषता :

नेपालको विशिष्ट भौगोलिक, वर्गीय र सांस्कृतिक अवस्थाअनुसार माओवादको पुनर्व्याख्या

सशस्त्र संघर्ष र शान्तिपूर्ण राजनीतिबीचको लचकता

वर्गसंघर्षसँगै राष्ट्रिय स्वतन्त्रता र पहिचान–आधारित मुद्दाको संयोजन

‘जनताको बहुदलीय जनवाद’ जस्ता अवधारणासँग बोकेका शक्तिसँग संवाद

प्रचण्डले आइतबारदेखि त्यागेको माओवाद वर्गसंघर्ष, राष्ट्रिय स्वाधीनता र समाजवादी रूपान्तरणका तीन स्तम्भमा अडिएको उनी बताउँथे ।

तर यसको रूपान्तरणशील स्वरूपका रुपमा सशस्त्र युद्धबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराएर माओवादी सिद्धान्तलाई व्यवहारिक र राजनीतिक रुपमा नयाँ दिशामा विस्तार गरेको उनको तर्क थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ८ : ०० बजे

दक्षिण अफ्रिकालाई हराउँदै भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं – भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक

जेन-जी समूहले माग्यो लिखुपिके गाउँपालिकाको खर्च तथा प्रगति विवरण

सोलुखुम्बु– सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गठित जेन जी युवा समूहले गाउँपालिकाको

मुलुक बनाउने जिम्मेवारी हामी सबैको होः प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको

उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले उद्योगको लाइन अविलम्ब जोड्न

जेन-जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ‘जेन-जी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एकजनालाई पक्राउ