पोल्याण्डले बाटो बन्द गर्दा युरोपसँगको व्यापारमा चीनलाई धक्का « Khabarhub

पोल्याण्डले बाटो बन्द गर्दा युरोपसँगको व्यापारमा चीनलाई धक्का


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्ला धेरै वर्षदेखि युरोपेली संघ ईयूले चीनको आक्रामक निर्यात रणनीतिका कारण उत्पन्न आर्थिक असन्तुलनका परिणामसँग संघर्ष गर्दै आएको छ। विद्युतीयदेखि कपडा जस्ता वस्तु चीनबाट सस्तो मूल्यमा युरोप भित्रिन्छन् । सस्ता चिनियाँ वस्तुहरु युरोपेली बजारमा यत्रतत्र देख्न पाइन्छ ।

यसले गर्दा स्थानीय उत्पादनकर्ताहरूलाई कमजोर हुँदै जाँदा युरोपेली औद्योगिक क्षेत्रमा नकारात्मक परिणाम देखा परेको छ । उपभोक्ताहरूले केही समयका लागि सस्ता सामानको फाइदा उठाए पनि दीर्घकालीन परिणामहरू धेरै गम्भीर हुनसक्छन् । सस्ता चिनियाँ सामानका कारण युरोपमा कारखाना बन्द, घरेलु उत्पादनमा गिरावट, र प्रमुख ईयू अर्थतन्त्रहरूमा युवा बेरोजगारीको वृद्धिको जोखिम देखिएको छ ।

यो स्थिति विशेष गरी स्टिल, सौर्य प्यानल, र उपभोक्ता इलेक्ट्रोनिक्सजस्ता क्षेत्रमा झन् स्पष्ट रूपमा देखिएको छ । यी क्षेत्रमा राज्यले प्रदान गर्ने अनुदानको सहारामा चिनियाँ कम्पनीहरूले युरोपेली प्रतिस्पर्धीहरूलाई पछि पारेका छन् । यसबाट बजारमा खराब परिणाम देखा पर्ने युरोपेली आयोगले बारम्बार चिन्ता व्यक्त गर्दै पनि आएको छ ।

तर चीनको विशाल निर्यात संयन्त्रका कारण प्रभावकारी प्रतिकारात्मक कदमहरू लागू गर्न ईयूलाई कठिन छ । सन् २०२४ सम्ममा चीन ईयूको कुल आयातको करिब १५% हिस्सा ओगटेको थियो । युरोप र चीनबीच ५ खर्ब ७० अर्ब युरो बराबर द्विपक्षीय व्यापार हुँदै आएको छ ।

यस व्यापारिक सम्बन्धको महत्वपूर्ण आधार चीनदेखि बेलारुस हुँदै पोल्याण्डसम्म जोड्ने विशाल स्थलमार्ग हो । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण गरिएको यो मार्गले चीनलाई युरोपसँग जोड्दछ ।

यस रेल सञ्जालले समुद्री मार्गभन्दा छिटो र सस्तो विकल्प प्रदान गर्दै डेलिभरी समय घटाएको छ । यसै मार्गका कारण युरोपेली खुद्रा तथा उत्पादन कम्पनीहरू “जस्ट–इन–टाइम” आपूर्ति सञ्जाल पनि सम्भव भएको छ ।

तर, यो मार्ग ११ सेप्टेम्बर २०२५ मा अचानक विच्छेद भयो । रुस र बेलारुसले “जपद २०२५” सैन्य अभ्यास सञ्चालन गरेपछि पोल्याण्डले बेलारुससँगको सिमाना बन्द गरिदियो । यससँगै अहिले यो मार्ग अनिश्चितकालका लागि ठप्प भएको छ । पोलिश अधिकारीका अनुसार “पूर्ण रूपमा सुरक्षित” भएपछि मात्र यो मार्गमा यातायात पुनः सुचारु हुनेछ ।

चीनका लागि यो निर्णय गम्भीर असर पार्ने खालका छन् । वार्षिक करिब २५ अर्ब युरो बराबर व्यापार हुने मार्ग ठप्प हुँदा हजारौँ कन्टेनरहरू बाटोमै अड्किएका छन् । यससँगै निर्यातकर्ताहरू वैकल्पिक मार्ग खोज्न बाध्य भएका छन् । चीनका औद्योगिक केन्द्रका व्यवसायहरूले बढ्दो लागत, ढिलो ढुवानी, र भण्डारणको चापको सामना गरिरहेका छन् ।

रेलमार्गबाट १५–२० दिनमै पुग्ने सामानहरू अहिले समुद्री वा हवाई मार्गबाट ढुवानी गर्नुपरेको छ, जसले समय र लागत दुबै बढाएको छ । धेरै व्यापारीका लागि यो थपिएको खर्च धान्न मुश्कील पर्दै गएको छ ।

चीनको शानडोङ शहरस्थित एक मोटर पार्ट्स आपूर्तिकर्ताले समुद्री ढुवानीमा स्विच गर्दा परेको आर्थिक दबाबबारे गुनासो गरेका छन् । उनले भण्डारण शुल्क र ठेक्का जोखिम दुवै बढेको पनि बताएका छन् । त्यसैगरी, यीवुका एक कपडा निर्यातकले भने हवाई ढुवानीले लागत तीन गुणा बढाउने भएकाले नाफा असम्भव हुने बताए । सेन्जेनका ट्याब्लेट उत्पादकहरूले पनि नगद प्रवाहमा अवरोध र ग्राहक असन्तुष्टिको चिन्ता व्यक्त गरेका छन् ।

यसको असर चीन बाहिर पनि फैलिएको छ । पोल्याण्डका रसद कम्पनीहरू विशेषगरी राज्य स्वामित्वको पीकेपी कार्गोले चेतावनी दिँदै यो अवरोध लामो समय रहेमा भने व्यापारको प्रवाह कजाखस्तान, क्यास्पियन र कृष्ण सागर हुँदै दक्षिण युरोप वा टर्कीसम्म मोडिन सक्ने बताएको छ । जसले स्थल मार्गलाई अझ लामो, महँगो र अनिश्चित बनाउनेछ । यसका साथै पोलिश परिवहन कम्पनीहरूमा कार्यरत हजारौँ बेलारुसी चालकहरू अहिले बिचल्लीमा परेका छन् । उनीहरु न काममा फर्कन पाएका छन् न घर जान नै पाएका छन् ।

भू–राजनीतिले पनि यस सङ्कटमा भूमिका खेलेको छ । युरोपेली आयोगको साथ लिएर पोल्याण्डले गरेको यो निर्णयले आर्थिक व्यवहारिकताभन्दा रणनीतिक सावधानीलाई प्राथमिकता दिएको संकेत गर्छ । व्यापारिक विषयलाई अब सुरक्षाको विषयले प्रतिस्थापन गरेको छ । पोल्याण्डले अहिले आफूलाई रुसी आक्रमण र चिनियाँ प्रभावबाट जोगाउने प्रयास गरिरहेको छ ।

विशेषज्ञहरूको भनाइमा युक्रेन युद्धमा रूसलाई सहयोग गर्ने नीतिले युरोपमा चीनको विश्वास घटेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको रुससँगको गठबन्धनले बाल्टिक राष्ट्रहरू पनि सतर्क भएका छन् । चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका एक पूर्वअनुसन्धानकर्ताले भनेअनुसार पोल्याण्डको कदम व्यापक प्रवृत्तिको हिस्सा हो । उनले अब व्यापार नीतिलाई भू–राजनीतिले निर्देशित गर्न थालेको बताएका छन् । उनका अनुसार चीनले कुनै समय सुरक्षित र भरपर्दो ठानेका स्थल मार्गहरू अब असुरक्षित भएका छन् ।

यो घटनाले ईयू–चीन सम्बन्धमा एउटा निर्णायक मोड ल्याएको छ । चीनका विश्वव्यापी महत्वाकांक्षा र अधिनायकवादी शैलीले सतर्क भएका युरोपेली राष्ट्रहरू आफ्ना निर्भरताहरू पुनः मूल्याङ्कन गरिरहेका छन् । अमेरिकाले पनि यसलाई मौन रुपमा हेरिरहेको छ । पोल्याण्डका पूर्वगुप्तचर प्रमुख पियोट्र क्राभचिकका अनुसार वाशिङ्टन यस बन्दबाट खुसी छ, किनभने यसले औपचारिक प्रतिबन्ध बिना नै चिनियाँ सामानमा “अप्रत्यक्ष शुल्क” लगाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ३ : २२ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको