काठमाडौं – मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि दुई/दुई कार्यकाल राष्ट्रपति र उपराष्ट्रपति बन्ने शौभाग्य प्राप्त गरेका नाम हुन् – विद्यादेवी भण्डारी र नन्दबहादुर पुन ‘पासाङ’ !
भण्डारी अहिले सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)का तर्फबाट र पुन हालको प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का तर्फबाट दोहोर याएर क्रमशः राष्ट्रपति र उपराष्ट्रपति भइसकेका नेता हुन् ।
औपचारिक रूपमा राजतन्त्रको अन्त्य भएपछि नेपाली कांग्रेसका तर्फबाट डा. रामवरण यादव गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति र तत्कालीन मधेशी जनअधिकार फोरमका तर्फबाट परमानन्द झा प्रथम उपराष्ट्रपति बनेका थिए ।
नेपालका प्रथम राष्ट्रपति यादवको कार्यकाल २०६५ साउन ८ देखि २०७२ कात्तिक ११ सम्म र प्रथम उपराष्ट्रपति झाको कार्यकाल २०६५ साउन ८ देखि २०७२ कात्तिक १४ सम्म थियो ।
नेपालको पहिलो महिला राष्ट्रपतिमा नाम दर्ज गर्न सफल भण्डारीको पहिलो कार्यकाल २०७२ कात्तिक १२ देखि २०७४ फागुन २९ र दोस्रो कार्यकाल २०७४ फागुन ३० देखि २०७९ फागुन २९ रह्यो ।
उपराष्ट्रपति कार्यालयको अभिलेखअनुसार माओवादीका तत्कालीन नेता पुन २०७२ कात्तिक १५ देखि २०७९ चैत्र ५ सम्म गरी दुई कार्यकाल उपराष्ट्रपति थिए ।
गणतान्त्रिक मुलुकहरूमा सर्वोच्च दुई पद नै राष्ट्रपति र उपराष्ट्रपति हुन् । प्रधानमन्त्री कार्यकारी हुने र संघीय संसद् प्रभावशाली हुने व्यवस्था रहेको नेपालमा राष्ट्रपति र उपराष्ट्रपति पदीय मर्यादामा क्रमशः पहिलो र दोस्रो नम्बरमा पर्छन् ।
पदीय वरियताक्रममा सबैभन्दा माथिल्लो पद भएका कारण राष्ट्रपति र उपराष्ट्रपतिको जिम्मेवारीमा रहिसकेका व्यक्ति सामान्यतयाः सक्रिय राजनीतिमा फर्किँदैनन् ।
पदीय मर्यादाको ख्याल गर्दै नेपालका प्रथम राष्ट्रपति डा. यादव र प्रथम उपराष्ट्रपति झा कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्किएका छैनन् । उनीहरू पदबाट मुक्त भइसकेपछि सामाजिक कार्यहरूमा देखिए पनि राजनीतिक मञ्चमा उभिएका छैनन् ।
तर, दोस्रो र तेस्रो कार्यकाल लगातार राष्ट्रपति र उपराष्ट्रपतिको जिम्मेवारी बहन गरिसकेका भण्डारी र पुनका पछिल्ला गतिविधिहरूले दुवैजना दलीय राजनीतिमा फर्किने संकेत गरिरहेको अनुमान राजनीतिक वृत्तमा भइरहेको छ ।
पूर्वउपराष्ट्रपति पुन बिहीबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा र बेलुकी पूर्वउपराष्ट्रपति भण्डारी प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग देखिएपछि राजनीतिक वृत्तमा भइरहेको अनुमानलाई थप बल पुगेको छ ।
यो पनि –
माओवादी स्थायी समिति बैठक : पूर्वउपराष्ट्रपति पुन पनि सहभागी
एमाले सचिवालय बैठकपछि प्रधानमन्त्रीले भेटे पूर्वराष्ट्रपति, दुई घण्टा छलफल
पूर्वउपराष्ट्रपति पुन बिहीबारमात्रै राजनीतिक दलको कार्यक्रममा पहिलोपल्ट सहभागी भए पनि पूर्वराष्ट्रपति भण्डारी गत असारदेखि नै राजनीतिक प्रकृतिका कार्यक्रमहरूमा उपस्थित हुँदै आएकी थिइन् ।
गत असार १४ गते एमाले नेता मदन भण्डारीको ७२औं जन्मजयन्ती अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमबाट पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक प्रकृतिका कार्यक्रमहरूमा सहभागिता जनाउने र एमालेका नेताहरूसँग भेटघाटलाई तीव्रता दिन थालेकी हुन् ।
एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराई पूर्वराष्ट्रपति भण्डारीसँग भेटघाट र छलफल गर्ने नेतामा पर्छन् । उनले यसबीच भण्डारीसँग दुईपटक भेटेर छलफल गरिसकेको सार्वजनिक रूपमा नै स्वीकार गरिसकेका छन् ।
तर, उनी पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने विषयमा अहिले नै छलफल गर्नु हतार हुने बताउँछन् । पत्रकार जीवराम भण्डारीसँगको टेलिभिजन अन्तर्वार्तामा एमाले सचिव भट्टराईले भनेका छन्, ‘पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किने विषयमा छलफल गर्न अहिले नै हतार हुन्छ । हाम्रो पार्टीमा भोलि को अध्यक्ष हुन्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन, निश्चित छैन । त्यो भन्नु पनि हुँदैन, हतार हुन्छ । पार्टीभित्र अनावश्यक तनाव किन उत्पन्न गर्ने ?’
सामाजिक र राजनीतिक काममा भाग लिँदै आएका कारण पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन लागेको अनुमान राजनीतिक वृत्तमा भइरहे पनि आफूसँगको भेटमा यसबारे केही कुरा नभएको भट्टराईको भनाइ छ ।
‘पूर्वराष्ट्रपतिले सामाजिक काममा, राजनीतिक काममा भाग लिँदै आउनुभएको छ । त्यसले गर्दा कतिपयले अनुमान गरेका छन् कि उहाँ पार्टी राजनीतिमा सक्रिय हुन खोज्नुभएको छ’, भट्टराईले अन्तर्वार्तामा भनेका छन्, ‘म सँगको भेटमा उहाँ (भण्डारी) ले त्यस्तो कुरा भन्नुभएको छैन । मभन्दा माथि पार्टी अध्यक्षसँग के कुरा भएको छ त्यो थाहा छैन ।’
तर, उनले भविष्यमा पार्टीलाई अभाव खड्किए अध्यक्ष ओलीसँगको सहमतिमा सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको पुनरागमन हुनसक्ने संकेत भने गरेका छन् । पार्टी भित्रका नेताहरूसँग चुनावी प्रतिष्पर्धा गरेरै एमाले अध्यक्ष हुनेगरी भण्डारी सक्रिय राजनीतिमा नफर्किने भट्टराईको दावी छ ।
‘पूर्वराष्ट्रपति भण्डारी एमालेको कुनै नेतासँग पार्टीभित्रको चुनावी प्रतिष्पर्धामा भाग लिएर अध्यक्ष हुने गरी आउनुहुन्छ जस्तो मलाई लाग्दैन,’ भट्टराईको भनाइ छ, ‘भोलि उहाँले पार्टी राजनीतिको नेतृत्व गर्नुपर्ने अवस्था आयो भने यति कुरा भन्छु कि अहिलेका वर्तमान अध्यक्ष (ओली)कै सहमतिमा आउनुहुन्छ ।’
एमाले सचिव भट्टराई पूर्वराष्ट्रपति भण्डारी पार्टीमा फर्किनुपर्ने अवस्था आए त्यो उचित हुने/नहुनेबारे छलफल गरिने र अन्तराष्ट्रिय अभ्यास पनि हेरिने बताउँछन् । तथापि; भट्टराई पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिहरूलाई सक्रिय राजनीतिमा फर्किनका लागि संविधानले नछेकेको जिकिर गर्छन् ।
तर, संविधानविद्हरू संविधानमा नलेखिएको भए पनि पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिहरू पदीय मर्यादाको ख्याल राखेर सक्रिय राजनीति फर्किन नहुने तर्क गर्छन् ।
संविधानविद् विपीन अधिकारी राष्ट्रपति र उपराष्ट्रपति सबैभन्दा ठूलो वरियता भएका कारण ती पदहरूमा पुगिसकेका व्यक्ति फेरि साधारण राजनीतिमा फर्किने प्रचलन नरहेको बताउँछन् ।
‘पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनुहुँदैन भनेर संविधानमा कहाँ लेखेको छ भन्यो भने त संविधानमा कहीँ लेखेको छैन,’ अधिकारीको भनाइ छ, ‘तर, अन्तर्राष्ट्रिय प्रचलनअनुसार र हामीकहाँ पनि सक्रिय राजनीतिमा फर्किने चलन छैन ।’
सबैभन्दा उच्च तहको पदीय मर्यादामा रहिसकेका कारण पूर्वराजा ज्ञानेन्द्र शाह पनि सक्रिय राजनीतिमा नआएर सर्वसाधारण नागरिकका हैसियतमा बसेका संविधानविद् अधिकारीको तर्क छ ।
‘त्यही कारणले पूर्वराजा ज्ञानेन्द्र पनि चुप लागेर बसेका हुन्,’ उनले खबरहबसँग भने, ‘राजनीति नै गर्न खोजेको भए त राजनीतिक आधारहरू उनीसँग पनि त हुन्थे होलान् नि !’
सरकारबाट सेवासुविधा पाइरहेका पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिले सक्रिय राजनीतिमा लाग्दै जीत–हारको राजनीति गर्न नहुने मान्यता रहेको संविधानविद् अधिकारीको भनाइ छ ।
‘राष्ट्रपति–उपराष्ट्रपतिको प्रोटोकल, उहाँहरूलाई राज्यले उपलब्ध गराएको सेवासुविधा, नेपाल सरकारले दिएको संरक्षण आदि पाइसकेको मान्छेले जीतहारको राजनीति गर्नुहुँदैन भन्ने मान्यता छ,’ अधिकारीले भने, ‘जीतहारले मान्छेलाई राष्ट्रको साझा हुन दिँदैन भने कसरी राष्ट्रपति ? कसरी उपराष्ट्रपति ?’
राजनीतिक विश्लेषक शंकर तिवारी पूर्वराष्ट्रपति भण्डारी र पूर्वउपराष्ट्रपति पुनको राजनीतिमा पुनःसक्रिय हुने मोहले भविष्यका राष्ट्रपति र उपराष्ट्रपतिको कार्यसम्पादनमै नकारात्मक असर पर्ने जोखिम औंल्याउँछन् ।
‘अहिले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति आ–आफ्ना पूर्वपार्टीका गतिविधिमा सक्रिय बन्न चाहेको र बनिरहेको देखिन्छ, यसो हुनुको एउटा कारण ती पार्टीमा देखापरेको नेतृत्व संकट हो,’ तिवारीले खबरहबसँग भने, ‘तर त्यो संकट निवारणको सही उपाय हो भन्ने तर्कमा मेरो सम्मति छैन । त्यसले भविष्यमा हुने राष्ट्रपति वा उपराष्ट्रपतिको कार्यसम्पादनमा नकरात्मक असर पार्दछ । किनकी ऊ देशहित भन्दा ज्यादा पार्टीहित र आफ्नो भविष्य हेर्ने साँघुरो दृष्टिबाट निर्देशित हुन पुग्छ ।’
राजनीतिक विश्लेषक तिवारी तानाशाही मुलुकमा एकै व्यक्ति कहिले राष्ट्रपति र कहिले प्रधानमन्त्री बने पनि नेपालमा त्यो सम्भव नरहेको तथा गणतान्त्रिक मुलुकहरूमा राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किने गरेको प्रचलन नरहेको बताउँछन् ।
‘तानाशाही रूसमा भ्लादिमिर पुटिनले २५ वर्ष शासन गर्दा कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्री र पुनः राष्ट्रपति बनेर शासन गर्दैछन् । नेपालमा त त्यो सम्भव छैन । आवधिक निर्वाचनबाट जनअनुमोदित भएरमात्र प्रधानमन्त्री बन्न पाइन्छ,’ तिवारीको भनाइ छ, ‘राष्ट्रपति वा उपराष्ट्रपति भएको व्यक्ति पुनः राजनीतिमा फर्केर पार्टीको कार्यकारी हुने कुरा हाम्रो लागि नौलो हो, किनकी छिमेकी भारतमा समेत कार्यकाल निवृत्त भएका सम्माननीयहरू सक्रिय राजनीतिमा फर्किएको पाइँदैन ।’
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले संविधान संशोधन गरेर पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्किन नपाउने व्यवस्था गर्नुपर्ने बताउँछन् । उनीहरू सक्रिय राजनीतिमा फर्किनु गलत र विवादितमात्रै नभएर संविधान र लोकतान्त्रिक गणतन्त्रको सिद्धान्त, मूल्य–मान्यता र अभ्यासविपरीत हुने उनको तर्क छ ।
‘पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन सक्रिय पार्टी राजनीतिमा आउन चाहेको देखिन्छ, जुन गलत र विवादित मात्रै होइन; संविधान र लोकतान्त्रिक गणतन्त्रको सिद्धान्त, मूल्य–मान्यता, अभ्यास र नजिरविपरीत !,’ राजनीतिक विश्लेषक वाग्लेले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेखेका छन्, ‘संविधान संशोधन गरी प्रतिबन्धात्मक प्रावधान राख्नु आवश्यक !’
प्रतिक्रिया