शरीरको कुनै अंगको शल्यक्रिया गर्दा त्यो अंग लट्याउनु पर्छ। कतिपय ठूला शल्यक्रियामा त मानिसलाई पुरै अचेत पार्नुपर्ने हुन्छ। त्यो अचेत बनाउने विज्ञता प्राप्त चिकित्सक अपुग हुँदा देशभरकै स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ। विशेषज्ञ डाक्टरको तुलनामा लट्याउने प्रविधिका विज्ञ नगन्य हुँदा स्वास्थ्य सेवा शहर केन्द्रित हुन बल पुगेको हो।
शरीरको कुनैपनि भागको सामान्य सर्जरी या उपचार गर्नुपर्ने अवस्थामा बिरामीलाई दुखाई महसुस नहोस भन्नका लागि एनेस्थेसियाको प्रयोग गरिन्छ। जसको प्रयोग सुई इनहेलेशन, सामयिक लोशन, स्प्रे आँखा ड्रप तथा छाला प्याचको माध्यमबाट गरिन्छ।
यसको प्रयोगमा छुट्टै विशेषज्ञको आवश्यकता हुन्छ। सही तरिकाले यसको प्रयोग नहुँदा बिरामीले ज्यान गुमाएका धेरै घट्ना छन्। मधेश प्रदेशका केही अस्पतालहरुमा एनेस्थेसिया विशेषज्ञ बिना शल्यक्रिया भइरहेको पाइएपछि नेपालमा एनेस्थेसिया विशेषज्ञ चिकित्सकहरुको अवस्था बारे चासो बढेको छ।
जनकपुरधाम उपमहानगरपालिका-१४ पिडारी चोकस्थित मुस्कान अस्पतालका चिकित्सकले माघ ३ गते सर्लाहीको हरिपुर्वा नगरपालिका- ५ कि पविताकुमारी राय यादवको पित्तथैलीमा पत्थरी भएको भन्दै शल्यक्रिया गरेका थिए। पित्तथैलीको शल्यक्रिया गरेपछि बेहोस पविताको अझसम्म होस नफर्किएको परिवारजनको भनाइ छ। पीडित परिवारले अस्पताल र चिकित्सकविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषा, नेपाल मेडिकल काउन्सिललगायत निकायमा उजुरी दिएका छन्।
यो घटना सार्वजनिक भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमन गर्दा अस्पताल नै विना दर्ता सञ्चालनमा रहेको पाइयो। त्यसपछि माघ २६ गते मुख्यमन्त्रीसहितको अनुगमन तथा निरीक्षण टोलीले अस्पतालका बिरामीलाई सुरक्षित स्थानमा राखेर उक्त अस्पताललाई बन्द गराएको थियो। मुस्कानजस्तै अन्य अस्पतालमा पनि बिरामीको उपचारमा गम्भीर लापरवाही भएपछि धेरै अस्पतालको सेवा ठप्प भएको छ।
विज्ञता नभएको व्यक्तिले एनेस्थेसिया लगाउँदा यो अवस्था आएको सरोकारवालाको दाबी छ। देशभरका धेरै अस्पतालमा शल्यक्रियाको सुविधा बढाउने तथा एनेस्थेसियाको आवश्यक जनशक्तिबारे नसोच्दा यस्ता घटना दोहोरिने गरेको सम्बन्धित विज्ञ बताउँछन्।
के हो एनेस्थेसिया ?
कुनैपनि बिरामीको उपचार गर्दा बेहोस गराएर फेरि पूर्ववत अवस्थामा ल्याउने एउटा प्रक्रियालाई एनेस्थेसिया भनिन्छ। सुईका माध्यमबाट शरीरको कुनैपनि अङ्गलाई बेहोस गराउने या पुरै बेहोस बनाएर बिना पीडा आवश्यक उपचार तथा शल्यक्रिया गर्न सकिने एउटा उपचारकै विधि अन्तर्गत यो विधा पर्ने वीर अस्पतालमा कार्यरत एनेस्थेसियालोजिष्ट डा. प्रदीप कोइरालाले बताए।
डा. कोइरालाका अनुसार बिरामीको अवस्था र प्रकृति हेरर एनेस्थेसियाको प्रकार छुट्टाछुट्टै हुन्छ। जस्तै ढाडमा सुई लगाएर आधा शरीर मात्रै लठ्याउने विधिलाई स्पाइनल एनेस्थेसिया भनिन्छ। कुनैलाई पुरै शरीर बेहोस गराएर अप्रेशन गर्नुपर्ने हुन्छ, त्यसलाई जनरल एनेस्थेसिया भनिन्छ। कुनै अवस्थामा सर्ट एनेस्थेसिया दिने जसले सबै कुरा थाहा हुन्छ, दुखाई मात्रै कम गराइदिने हो। यस्तो अवस्थामा बिरामीले सबै कुरा थाहा पाउँछ।

मुख्यगरी एनेस्थेसिया ३ प्रकारको हुन्छ। यसको लागि एकदमै अनुभवी चिकित्सक जसलाई बिरामीको हरेक समस्या र शल्यक्रिया पश्चात आउनसक्ने जोखिम त्यसको व्यवस्थापन गर्नसक्ने क्षमता हुनुपर्ने उनले बताए।
रोगको प्रकृति हेरेर कस्तो एनेस्थेसिया दिने भन्ने कुराको निर्धारण गरिने र सोही अनुसारको एनेस्थेसिया दिनुपर्ने उनले बताए। ‘शल्यक्रिया गर्नुपर्दा जोकसैलाई पनि एनेस्थेसिया दिनुपर्ने हुन्छ। तर बालबालिका, वृद्धवृद्धा तथा गर्भवतीलाई एनेस्थेसिया दिनुपर्दा धेरै जोखिम हुने भएकाले एकदमै संवेदनशील भएर दिनुपर्ने हुन्छ’ डा. कोइरालाले भने- ‘बच्चा र वृद्धवृद्धालाई दिने तरिका अलग हुन्छ। गर्भावस्थामा छुट्टै तरिकाले दिइन्छ। त्यसबाहेक अरु बेहोस गराएर गर्ने चिजहरु भिन्दै हुन्छ। मुटुको शल्यक्रिया गर्दा छुट्टै प्रकारको एनेस्थेसिया दिने व्यवस्था हुन्छ।’
कस्तो छ त एनेस्थेसियाको अवस्था ?
सोसाइटी अफ एनेस्थेसियोजिष्ट अफ नेपालको तथ्याङ्कअनुसार नेपालमा अहिले ६ सय एक जना रजिष्टर्ड एनेस्थेसियोलोजिष्ट छन्। त्यसमा अरु ३ सयको हाराहारीमा थपिने अवस्था रहेको बताइन्छ। ३४ देखि ३५ हजारको संख्यामा एमबीबीएस चिकित्सक र त्यही अनुपातमा अस्पताल तथा बिरामीहरुको संख्या थपिँदो छ।
तर जम्मा ६ सय जना एनेस्थेसिया विशेषज्ञ चिकित्सकहरुले देशभर सेवा दिनुपर्ने अवस्था रहेको डा. कोइरालालाले बताए। त्यसमाथि उपलब्ध जनशक्ति शहरी क्षेत्रमा सीमित छ। संवेदनशील क्षेत्र भएकोले आवश्यक स्रोतसाधनको अभावमा धेरैजसो यसखाले जनशक्ति दुर दराजका ठाउँमा पुग्न सकेका छैनन्। डा. कोइरालाले भने, हाम्रो देशको परिस्थितिअनुसार जनसंख्याका आधारमा प्रादेशिक, जिल्ला र केन्द्रीय अस्पताल सबैमा विशेषज्ञ चिकित्सक पठाउने र विशेषज्ञ तथा शल्यक्रिया सेवा सञ्चालन गर्ने भन्ने निर्णय गरेको छ यो राम्रो कुरा हो। तर शल्यक्रिया गर्नका लागि सामान्य पारामेडिक्सदेखि नर्सिङ स्टाफ र अप्रेशन थियटरमा चाहिने अन्य मेनपावरसँगै अत्यावश्यक भनेको एनेस्थेसियोलोजिष्ट हो, जसका बारेमा सरकारले सोच्दै नसोच्नु दुर्भाग्य हो।
निर्णय गर्नुभन्दा पहिले हामीले सेवा दिने भनेको ठाउँमा चाहिने पूर्वाधार छन् कि छैनन् ? हामीले तयारी गरेको कामलाई अगाडि बढाउन के कस्तो प्राविधिक जनशक्ति चाहिन्छ ? भन्ने तर्फ सरकारले खै त सोचेको उनले प्रश्न गरे।
पहिलेको तुलनामा केही सुधार आए पनि अहिलेकै जनशक्तिले देशभर सेवा दिनसक्ने अवस्था नै छैन। वीर अस्पतालले वर्षेनी १५ देखि २० जना एनेस्थेसियोलोजिष्ट उत्पादन गर्छ। नेपाल सरकारको छात्रवृत्तिमा पढ्न आएका डाक्टरले दुरदराजमा गएर दुई वर्ष काम गरिरहेका छन्।
उनीहरुलाई दुई वर्षमात्रै नभएर यसतर्फ आकर्षित गर्न सक्नुपर्यो। जागिरको अवसर दिएर वा सेवासुविधा बढाएर हुन्छ, यस विषयमा सरकारको ध्यान जान जरुरी रहेको डा. कोइरालाले बताए।
किन भयो जनशक्ति अभाव ?
डा. कोइराला भन्छन्- ‘मैले अध्ययन सकेपछि वीर अस्पतालमा यही विषय रोजेँ। किनकी मलाई क्रिटिकल केशहरु हेर्दा, उनीहरुको जीवन बचाउन पाउँदा एकदमै आनन्द आउँछ र सन्तुष्टि मिल्छ। तर मैले आफ्नो क्षमता र काम अनुसारको सेवासुविधा पाइरहेको अवस्था छैन।
उनका अनुसार शल्यक्रिया कक्षमा प्रयोग हुने ग्याँसले फोक्सोमा समस्या देखिने, चौबीसै घण्टा अलर्ट भएर बस्नुपर्ने अन्य चिकित्सकहरुको जस्तो ५-१० मिनेट ढिलो हुनुहुँदैन। कसैको मुटुको चाल नै रोकिने अवस्था हुनसक्छ।
फोन आउने बित्तिकै जहाँ जस्तोसुकै अवस्थामा भएपनि उपस्थित हुनुपर्ने हुँदा त्यसैपनि नयाँ आउने जनशक्तिले कम जोखिमपूर्ण काम रोज्दा यस क्षेत्रमा नयाँ आकर्षण कम भएको भुक्तभोगीहरुको विश्लेषण छ। कार्यरत जनशक्ति उचित सेवा सुविधा, प्रोत्साहन नपाउँदा हातोत्साही रहेको रहेको गुनासो छ। रजिष्टर्ड एनेस्थेसियोजिष्ट ६ सय १ जना हुँदा डाक्टरको संख्या ३४-३५ हजार पुगिसकेको छ। कसरी आकर्षण बढाउन सकिन्छ त भन्ने विषयमा माथिल्लो तहबाटै सोच्न जरुरी रहेको यसक्षेत्रका विज्ञहरु बताउँछन्।
शल्यक्रियाका लागि आवश्यक पूर्वाधार भएका जिल्ला तथा प्रादेशिक अस्पतालमा एक एक जना एनेस्थेशिया चिकित्सक पठाउन सके दुरदराजका मान्छे उपचार खोज्दै काठमाडौं लगायत शहरी क्षेत्र तथा भारत जानुपर्ने अवस्था आउने थिएन।
शल्यक्रियाका लागि आवश्यक पूर्वाधार भएका जिल्ला तथा प्रादेशिक अस्पतालमा एक एक जना एनेस्थेशिया चिकित्सक पठाउन सके दुरदराजका मान्छे उपचार खोज्दै काठमाडौं लगायत शहरी क्षेत्र तथा भारत जानुपर्ने अवस्था आउने थिएन।
एनेस्थेशियाको अध्ययन अध्यापनको अवस्था
डा. कोइरालाका अनुसार वार्षिक एक सय एनेस्थेसियोलोजिष्ट डाक्टर नेपालमै उत्पादन हुन्छन्। यस वर्ष वीर अस्पतालले २० वटा सिट पाएको छ। टिचिङ, धरान, पाटन, आर्मी अस्पताल तथा विभिन्न निजी कलेजहरुमा गरेर १ सय देखि डेढसय संख्यामा उत्पादन भइरहेको छ।
तर जनसंख्याको आधारमा त्यो म्यानपावर एकदमै थोरै हो। यो अति संवेदनशील विषय भएकाले शल्यक्रिया कक्षमा शल्यक्रिया गर्दा कम्तिमा दुई एनेस्थेसियोलोजिष्ट रउसलाई सहयोग गर्ने सहयोगी चाहिन्छ। तर हाम्रोमा अहिले त्यो सम्भावना नै नभएको कोइरालाले बताए।
जसका कारण जनकपुरमा घटेको जस्तो घटना दोहोरिने जोखिम बढेको बताइन्छ। जनकपुरमा विशेषज्ञ नहुँदा असिस्टेन्टले एनेस्थेशिया दिनुपर्ने अवस्था आएको हो। विशेषज्ञ डाक्टर नभएपनि जोकोहीबाट गराइदिन्छु पैसा दिइहाल्छन् भन्ने मानसिकता कि त मिलोमतोमा यस्ता अप्रिय घट्ना हुने गरेको देखिएको छ।
नियमअनुसार एमबीबीएस तथा ब्याचलर डिग्री गरिसकेपछि ३ वर्षको मास्टर डिग्री विशिष्ट युनिभर्सिटीबाट उत्पादित चिकित्सकलेमात्रै एनेस्थेसिया दिन पाइन्छ। यस्ता अब्बल जनशक्तिबाट मात्र राम्रो परिणामको आशा गर्न सकिन्छ। देखेकै भरमा म गर्न सक्छु भन्ने आत्मविश्वासले मात्र एनेस्थेसिया सम्भव नभएको चिकित्सक बताउँछन्।
‘१५ देखि २० सेकेण्डमा मान्छेलाई बेहोस गराउनुपर्छ यदि त्यो अवधिमा कुनै कारण बिरामीलाई होसमा ल्याउन सक्ने अवस्था भएन भने के गर्ने ? एमडी नगरेको, अनुभव नभएको डाक्टरले यो काम गर्दाको परिणाम हामीले हेरिसकेका छौं। अब त्यस्ता ठाउँमा म्यानपावर पठाएर यस्ता घटना दोहोरिन नदिन के गर्ने भन्ने कुरामा सम्बन्धित निकाय लगायत सरकारले सोच्नुपर्छ’, डा. कोइरालाले सचेत गराए।
यसको प्राविधिक नियमअनुसार १५ सेकेण्डमा मान्छे बेहोस गराउनुपर्ने हुन्छ। त्यही मान्छेलाई उठाएर हिँडाउने हैसियतमा ल्याउनुपर्ने हुन्छ। तीन मिनेटको बीचमा यो अवस्था आउन सकेन भने ज्यानै जाने जोखिम रहन्छ। जस्तै कसैको नसा काटियो भने केही समयसम्म बाँधेर राखेर पनि २४ घण्टा बचाउन सकिन्छ भने कुनै औषधी निर्धारित समयभन्दा पछि खाँदा फरक पर्दैन। तर यो काम तीन मिनेटमा केही गर्न सकिएन भने मान्छे मर्छ। यस्तो संवेदनशील विषयमा त्यो विशेषज्ञता नभई दिन पाइँदैन। तर नेपालमा सबैभन्दा ठूलो गैरजिम्मेवारी माथिल्लो तहबाट हुने गरेको आरोप उनले लगाए।
जनकपुरमा एनेस्थेसिया दिने डा. विज्ञ नभएर प्राविधिकले दिएको भन्ने आएको छ। चिकित्सा संहिताले एनेस्थेसिया असिस्टेन्ट भनेर एउटा कोर्स खुलाइरहेको छ। जसका कारण यस्ता घटना फेरि फेरिदोहोर्याउने तर्फ सरकार गइरहेको छनक मिलेको छ। असिस्टेन्ट भन्ने बित्तिकै अप्रेशन थियटरमा उसले सहयोग गर्ने हो, उसले दिन पाउँदैन। तर जनकपुरमा उसले आफैँ दिँदा यो समस्या आएको उनको भनाइ छ।
कोइराला भन्छन्-‘पाँच वर्षे एनेस्थेसियाको कोर्षको तयारीबारे कुरा भइरहेको छ। तर हामी के भन्छौं भने एनेस्थेसिया भनेको पेरिअपरेटिभ फिजिशियन हो। जसले एमबीबीएस पढेकै हुनुपर्छ। त्यो नपढिकनै एनेस्थेसिया मात्रै पढेर राम्रो परिणाम आउँदैन। यो एकदमै गलत तयारी भइरहेको छ। त्यसको हामी खुलेरै विरोध गर्छौं।
अहिले नेपाल सरकारका निकायमा एनेस्थेसियामा दरबन्दी लगभग ५०-६० भन्दा धेरै छैन। त्यो बाहेक अरु ५-६ सय जना निजी अस्पतालमा कार्यरत छन्। जनशक्तिको चरम अभाव छ।
जनशक्ति बढाउन सरकारले गर्नुपर्ने काम
विज्ञको भनाइमा अहिले जनशक्ति बढाउनुको विकल्प छैन। अहिले नेपाल सरकारका निकायमा एनेस्थेसियामा दरबन्दी लगभग ५०-६० भन्दा धेरै छैन। त्यो बाहेक अरु ५-६ सय जना निजी अस्पतालमा कार्यरत छन्। जनशक्तिको चरम अभाव छ। त्यसको परिपूर्तिका लागि लोकसेवा आयोग खुलाउने, एनेस्थेसिया पढ्नको लागि के के चीजहरु चाहिने हो, त्यसको व्यवस्थापन जरुरी छ। दुरदराजमा स्रोत र साधन उपलब्ध जनशक्तिलाई खुशी भएर काम गर्नसक्ने वातावरण दिन उनीहरुले आग्रह गरेका छन्।
के भन्छ स्वास्थ्य मन्त्रालय ?
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी आवश्यक जनशक्तिका लागि सरकारले चिकित्सा शिक्षा आयोग गरेको बताउँछन्।
‘हामीभित्र पनि एनेस्थेसियाको दरबन्दी कम छ। अहिले समयक्रमसँगै प्रायजसो पालिका तहसम्म पनि आधारभूत अस्पताल भइसकेपछि त्यहाँसर्जर र प्रसूति गराउनुपर्ने हुन्छ। त्यसैले संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएममार्फत केही दरबन्दीहरु थप्ने मन्त्रालयले तयारी गरेको छ’ उनले भने।
डा. बुढाथोकीका अनुसार अहिले भएको दरबन्दी २०४० सालमा निर्धारण गरिएको हो। त्यस समयमा नेपालको जनसंख्या एक करोड पनि थिएन। शल्यक्रिया हुने अस्पतालको संख्या पनि थोरै थियो। त्यसबेला तोकिएको ५० दरबन्दी पनि धेरै थियो। अहिले अब सेवासुविधा अनुसार जनशक्ति उत्पादनका लागि चिकित्सा आयोगलाई भनिसकिएको र दरबन्दी बढाउन लागि मन्त्रालयभित्र ओएनएम भइरहेको छ।

उनले भने, ‘विज्ञ एनेस्थोसियोलोजिष्टसँग नै हुने हो। तर विज्ञ नै दुरदराजका ठाउँमा जानसक्ने अवस्था नआउनसक्छ वा नयाँ जनशक्ति उत्पादनका लागि लाग्ने समय, खर्च, सेवासुविधा तत्काल सरकारले थाम्न सक्ला नसक्ला निश्चित नभएकाले अनुभवी चिकित्सकलाई तालिम दिन सकियो भने तत्काल काम गर्न सक्ने भएकाले सरकारले त्यतातर्फ सोचेको छ।
यसको मात्रै छुट्टै कोर्ष गराएर नयाँ उत्पादन नगरी सेवाभित्रै रहेको जनशक्तिलाई कार्यविभाजन गरी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम दिएर उनीहरुलाई सिकाउने र सरकारी स्वास्थ्य संस्थाबाट सेवा दिन सक्ने वातावरण बनाउनेतर्फ मन्त्रालयले तयारी गरेको उनको भनाइ छ।
प्रतिक्रिया