राजावादी आन्दोलन : यी हुन् गोली लागेर उपचाररत घाइतेहरू | Khabarhub Khabarhub

राजावादी आन्दोलन : यी हुन् गोली लागेर उपचाररत घाइतेहरू


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : गत चैत १५ गते (शुक्रबार) काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको आन्दोलनका क्रममा घाइते भएकाको यकीन विवरण कसैसँग छैन ।

दुर्गा प्रसाईं र नवराज सुुवेदी नेतृत्वको राजावादीको प्रदर्शनका क्रममा जलेर पत्रकार सुरेश रजक र गोली लागेर कीर्तिपुरका सविन महर्जनले ज्यान गुमाएका थिए ।

त्यसक्रममा घाइते भएकाको विवरण अझै पनि राज्यका निकायले उपब्लध गराउन सकेका छैनन् । पछिल्लो विवरणअनुसार उक्त आन्दोलनमा घाइतेको संख्या १२९ छ । जसमध्ये गोली लागेर घाइते हुने २० जना छन् । तिनमा १८ जना पुरुष र २ जना महिला छन् ।

घाइतेमध्ये २० जनालाई गोली लागेको पुष्टि नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले मंगलबार गरिसकेका छन् । गोली लागेर कीर्तिपुरका सविन महर्जनले ज्यान गुमाएका थिए । गोली लागेका घाइतेको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार घटनामा प्रहरी, प्रदर्शनकारी र सर्वसाधारणसहित अस्पताल पुगेकामध्ये ५७ जनालाई अस्पताल भर्ना गरेर उपचार गरिँदैछ ।

जसमध्ये १३ जनाको जटिल शल्यक्रिया गरिएको छ । ४ जना अझै पनि सघन उपचार कक्षमा छन् ।



कुन अस्पतालमा कति घाइते ?

तीनकुने क्षेत्रमा आन्दोलनका क्रममा घाइतेमध्ये सबैभन्दा धेरै काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा उपचाररत छन् । त्यहाँ गोली लागेकासहित ६ जनाको उपचार भइरहेको छ ।

त्यहाँ घाइतेमध्ये २४ वर्षीय आशिष बोहोरा, विकास कुमार गौतम, २२ वर्षीय विशाल निरौला, ४७ वर्षीय कुमारजंग रानासहित ४ जनाको मात्रै परिचय खुलेको छ । बाँकी २ जनाको परिचय अस्पतालले खुलाएको छैन ।

त्यसैगरी गोली लागेर घाइते भएका भोजपुरका दुईजनाको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार हुँदैछ । २७ वर्षीय डिल्लीप्रसाद लुइँटेल र ३० वर्षीय शम्भु दर्जी दुवै भोजपुरका हुन् । दुवैजनालाई गोली लागेको अवस्थामा ट्रमा सेण्टरमा भर्ना गरिएको थियो ।

उता उदयपुरका दुई दाजुबहिनीको निजामती अस्पतालमा उपचार भइरहेको छ । २४ वर्षीय दिनेश खत्री र २२ वर्षीया रेबिका खत्रीको निजामती अस्पतालमा उपचार हुँदैछ ।

आन्दोलनमा नगएका दुवैजनालाई कोटेश्वरस्थित कोठानजिकै गोली लागेको थियो । निजामतीमै इन्द्रमाया लिम्बूको पनि उपचार भइरहेको छ । यी तीन घाइतेमध्ये दिनेशको अवस्था सामान्य छ । रेबिकाको शघन उपचार कक्ष (आईसीयू) मा उपचार जारी छ । घाइते इन्द्रमाया उपचारपछि डिस्चार्ज भइसकेकी छन् ।

त्यस्तै पाटन ललितपुरको अस्पताल गोली लागेर घाइते ३ जना उपचारका लागि पुगेका थिए । जसमध्ये २ जना डिस्चार्ज भइसकेका छन् । एकजनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक रवि शाक्यले बिरामीको अनुमति नभएकाले नाम बताउन नमिल्ने उल्लेख गरे । उनका अनुसार अस्पतालमा उपचाररत एकजना घाइतेको शल्यक्रिया गरिएको छ । ले गोली लागेपछि शल्यक्रिया गरिएकाले ती घाइते अझै केही दिन अस्पतालमै बस्नुपर्ने उनले बताए ।

गोली लागेरै घाइते भएका अन्य ४ जनाको ललितपुरकै बीएण्डबी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर ती चारजना को र कहाँका हुन् भन्ने अस्पताल प्रशासन र सरकार दुवैले खुलाएका छैनन् ।

उपचार सरकारले गर्ने

प्रदर्शनमा घाइतेहरूको उपचार निःशुल्क गर्ने घोषणा सरकारले नै गरेको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को चैत १५ गतेको बैठकले उपचार व्यवस्थापन निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

मन्त्रालयका अनुसार घाइते र उनका परिवारले उपचार गरेकै अस्पतालमा विवरण खुलाएर निःशुल्क सेवाका लागि निवेदन दिनुपर्छ ।

यो दिन, यो समय र यो स्थानमा घाइते भएको विवरण बिरामी र तिनका परिवारले बुझाएपछि अस्पतालले भेरिफाइ गरेर निर्णय लिनेछ । अस्पतालभित्र भएका उपचार र औषधि सबै निःशुल्क हुने मन्त्रलायले जनाएको छ ।

घाइतेहरू उपचाररत सबै अस्पतालहरूमा निःशुल्क उपचार गरिदिन र खर्चको विवरण स्वास्थ्य मन्त्रालयमा बुझाउन निर्देशन दिइसकेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

यता घाइते नागरिक र तिनका परिवारले अहिले आफ्नै खर्चले उपचार गराइरहेको बताएका छन् । अस्पताल प्रशासनले बिल सुरक्षित राख्न भनेको उनीहरूले जानकारी दिएका छन् । बिलका आधारमा उपचार खर्चको सबै रकमा सरकारले शोधभर्ना गर्ने गरी अस्पतालहरूले दिने तयारी गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ६ : २५ बजे

कोशी प्रदेशका उद्यमी किसानलाई कृषि कर्जामा अनुदान

ओखलढुङ्गा– कोशी प्रदेशका उद्यमी किसानले कृषि कर्जामा ब्याज अनुदान पाउने

महावीर जयन्ती मनाइँदै

काठमाडौं– सत्य, अहिंसा र ब्रह्मचर्यको सन्देश प्रवाह गर्दै आज महावीर

दुलेगौँडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका- ४ दुलेगौँडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौँडा खण्डमा

नेपालको दोस्रो जितमा कुशल, आशिफ र दीपेन्द्रको विष्फोटक ब्याटिङः कुवेत ६ विकेटले पराजित

काठमाडौं – चारदेशीय टी-२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित

रास्वपा सचिवालय बैठक आज पनि बस्दै, केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज पनि बस्दैछ