बालेन्द्र बास बस्नै गएका थिए काभ्रे, न उपमेयरलाई थाहा छ न प्रवक्तालाई « Khabarhub

बालेन्द्र बास बस्नै गएका थिए काभ्रे, न उपमेयरलाई थाहा छ न प्रवक्तालाई


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब खान नपाएको चार महिना हुन लागिसकेको छ ।

तलब नपाएर दैनिक कठिनाइ झेलिरहेका कर्मचारीले पटक पटक मेयर बालेन्द्र साहलाई आफ्ना कुरा राख्न चाहेका थिए । काठमाडौं महानगरको वातावरण विभागका कर्मचारी मत्ताबाबु मालाकारकै शब्दमा तलब नपाएर भोकभोकै पर्ने अवस्था हुँदा पनि मेयर साहले भेट्न अस्वीकार गरेका थिए ।

तलब नपाएर आजित भएका कर्मचारीको समस्या मेयरले सुन्नै नचाहेको उनको गुनासो छ । उता भ्रष्टाचार आरोपमा कारबाही गरिएको भनिएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको न सरुवा भएको थियो न हाजिर गर्न पाएका थिए ।

गुरागाईंको कार्यकक्षमा मेयर बालेनको सचिवालयले ताला लगाइदिएकै चार महिना पुग्न लागिसकेको थियो । यस्तोमा बिहीबार कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा कसैले अपेक्षा नगरेको दृश्य देखियो ।

कार्यालयको गेटमै तैनाथ थिए नगरप्रहरी प्रमुख राजुनाथ पाण्डसहितका दस्ता । उनीहरूको उद्धेश्य थियो, हाजिर हुन आउने प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्नु । यो आदेश अरु कसैले नभएर मेयर बालेन्द्रले दिएको कुरा उनी त्यहीँ भनिरहेका थिए ।

वडाअध्यक्ष र कर्मचारीहरूको एउटा समूहले घेरेर अधिकृत गुरागाईंलाई कार्यालयमा ल्याउँदा पाण्डेले रोक्ने हरसम्भव प्रयास गरे । तर उनै पाण्डेले प्रमुख प्रशासकीय अधिकृतबाटै आफू चल्नुपर्ने कानुनी कुरा भने भुले । महानगरको कानुनमा नगर प्रहरी प्रमुखलाई चलाउने जिम्मा नै प्रमुख प्रशासकीय अधिकृतको हुन्छ ।

तर, वडाध्यक्ष र कर्मचारीले नगरप्रहरीलाई पेलेर गुरागाईंलाई कार्यालयमा हुले । ३ महिना १४ दिनपछि गुरागाईं कार्यालयमा मात्रै छिरेनन् कर्मचारीले तालाचाबी फुटाइदिएपछि कार्यकक्षमा पसेर हाजिरसमेत गरे ।

त्यसक्रममा त्यहाँ ठूलै तनाव हुने अवस्था थियो । तर त्यस कुरालाई उपमेयर सुनिता डंगोलले हस्तक्षेप गरिन् । उनले आक्रमक भएका नगर प्रहरी प्रमुख पाण्डे र कर्मचारीलाई पनि शान्त गराइन् ।

बालेन्द्रले लगाएको तालाबारे उनले नगर प्रहरी प्रमुख पाण्डेलाई सोधिन् । तर पाण्डेले मेयरको आदेश भन्दै ताला खोल्न अस्वीकार गरे । त्यसपछि उनले लिखित आदेश भए देखाउन नत्र आफू पनि उपमेयर भएकाले आफ्नो आदेश पनि मान्न भनिन् । उपमेयरले घेरेपछि ब्याक भएका नगर प्रहरी प्रमुख आफ्नो दस्तासहित त्यहाँबाट बाहिरिए ।

उता गुरागाईं आउने थाहा पाएपछि बालेनले उनी चढ्ने सरकारी गाडीमा समेत ह्वील लक गर्न लगाइदिए । ह्वील लक भएपछि गुरागाईं वातावरण विभागको गाडी चढेर सिंहदरबारतिर गए ।

कर्मचारीहरू भने प्रमुख प्रशासकीय अधिकृत आएकाले अब तलब निकास हुने आशमा बसेका छन् । तर, यसबारेमा बालेन्द्रको ठोस धारणा आएको छैन । उनका स्वकीय सचिव भुपदेव शाहले भने राजनीतिक दलको आडमा प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा छिरेको भन्दै आपत्ति जनाएका छन् ।

महानगरको कार्यालयमा बिहीबार यस्तो घटनाक्रम भइरहँदा मेयर साह भने उता काभ्रेको पाँचखालतिर लस्सी पिएर गर्मी भगाइरहेका थिए ।

खासमा उनी बिदा मनाउन भन्दै बुधबार नै काभ्रेको पाँचखालतिर सोझिएका थिए । तर, बुधबार कुनै सार्वजनिक बिदा थिएन । उनी व्यक्तिगत रुपमा बिदा मनाउन भन्दै काठमाडौंबाहिर गएका थिए ।

मेयर साह बिदा मनाउन हिँडेको भने पनि उनीबारे उपमेयर डंगोल र प्रवक्ता नवीन मानन्धर पनि अनभिज्ञ छन् । प्रवक्ता मानन्धरले मेयर साह कहाँ छन् भन्ने आफूलाई जानकारी नभएको बताए ।

‘उहाँ कहाँ जानु भएको ? कता हुनुहुन्छ भन्ने जानकारी हामीलाई भएन’, उनले भने, ‘सचिवालयले बिदा मनाउन गएको भनेको सुनेँ तर कहिले कहाँ गएको हो केही थाहा छैन । यत्रो विवाद भइरहँदा खासमा उहाँ कार्यालयमा हुनुपर्ने हो ।’

उता उपमेयर डंगोलको सचिवालयले पनि मेयर साहले केही जानकारी नगराएको बताएको छ । उपमेयर डंगोलले बिहीबार दुई पक्षलाई शान्त बनाउन मेयरको खोजी गरिन् । तर मेयर साह कार्यालयमा थिएनन् । त्यसपछि उनैले परिस्थिति सम्हाल्नुपर्ने अवस्था आयो ।

महानगरको कार्यालयमा यसअघि कहिल्यै नदेखिएको नगरप्रहरी र कर्मचारीबीच झडपको अवस्था आउँदा अभिभावकका रुपमा रहेका मेयर साह आफूलाई पाँचखालमा लस्सीले शीतल बनाइरहेका थिए ।  पाँचखालस्थित एक रेस्टुरेन्टकी साहुनीले उनै मेयर बालेनसँग खिचेको तस्बिर राखेर यसकुराको पुष्टि गरिन् ।

‘आज बालेन साहसँगको भेट, पाँचखाल केराघारी एसएल अर्गानिक कफी एन्ड लस्सी सेन्टरमा’, उनले यति लेखेपछि मेयर साह काठमाडौंबाहिर रहेको पुष्टि भयो । यद्यपि उनी नगरप्रहरी प्रमुख पाण्डेलाई उतैबाट निर्देशन भने दिइरहेका थिए । त्यहीअनुसार पाण्डे पनि खासमा कानुनले उल्लेख गरेअनुसार आफूलाई निलम्बन गर्नेसमेत अधिकार भएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई छेक्न कम्मर कसेर लागेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ६ : ५५ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि