बालेन्द्र बास बस्नै गएका थिए काभ्रे, न उपमेयरलाई थाहा छ न प्रवक्तालाई | Khabarhub Khabarhub

बालेन्द्र बास बस्नै गएका थिए काभ्रे, न उपमेयरलाई थाहा छ न प्रवक्तालाई


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब खान नपाएको चार महिना हुन लागिसकेको छ ।

तलब नपाएर दैनिक कठिनाइ झेलिरहेका कर्मचारीले पटक पटक मेयर बालेन्द्र साहलाई आफ्ना कुरा राख्न चाहेका थिए । काठमाडौं महानगरको वातावरण विभागका कर्मचारी मत्ताबाबु मालाकारकै शब्दमा तलब नपाएर भोकभोकै पर्ने अवस्था हुँदा पनि मेयर साहले भेट्न अस्वीकार गरेका थिए ।

तलब नपाएर आजित भएका कर्मचारीको समस्या मेयरले सुन्नै नचाहेको उनको गुनासो छ । उता भ्रष्टाचार आरोपमा कारबाही गरिएको भनिएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको न सरुवा भएको थियो न हाजिर गर्न पाएका थिए ।

गुरागाईंको कार्यकक्षमा मेयर बालेनको सचिवालयले ताला लगाइदिएकै चार महिना पुग्न लागिसकेको थियो । यस्तोमा बिहीबार कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा कसैले अपेक्षा नगरेको दृश्य देखियो ।

कार्यालयको गेटमै तैनाथ थिए नगरप्रहरी प्रमुख राजुनाथ पाण्डसहितका दस्ता । उनीहरूको उद्धेश्य थियो, हाजिर हुन आउने प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्नु । यो आदेश अरु कसैले नभएर मेयर बालेन्द्रले दिएको कुरा उनी त्यहीँ भनिरहेका थिए ।

वडाअध्यक्ष र कर्मचारीहरूको एउटा समूहले घेरेर अधिकृत गुरागाईंलाई कार्यालयमा ल्याउँदा पाण्डेले रोक्ने हरसम्भव प्रयास गरे । तर उनै पाण्डेले प्रमुख प्रशासकीय अधिकृतबाटै आफू चल्नुपर्ने कानुनी कुरा भने भुले । महानगरको कानुनमा नगर प्रहरी प्रमुखलाई चलाउने जिम्मा नै प्रमुख प्रशासकीय अधिकृतको हुन्छ ।

तर, वडाध्यक्ष र कर्मचारीले नगरप्रहरीलाई पेलेर गुरागाईंलाई कार्यालयमा हुले । ३ महिना १४ दिनपछि गुरागाईं कार्यालयमा मात्रै छिरेनन् कर्मचारीले तालाचाबी फुटाइदिएपछि कार्यकक्षमा पसेर हाजिरसमेत गरे ।

त्यसक्रममा त्यहाँ ठूलै तनाव हुने अवस्था थियो । तर त्यस कुरालाई उपमेयर सुनिता डंगोलले हस्तक्षेप गरिन् । उनले आक्रमक भएका नगर प्रहरी प्रमुख पाण्डे र कर्मचारीलाई पनि शान्त गराइन् ।

बालेन्द्रले लगाएको तालाबारे उनले नगर प्रहरी प्रमुख पाण्डेलाई सोधिन् । तर पाण्डेले मेयरको आदेश भन्दै ताला खोल्न अस्वीकार गरे । त्यसपछि उनले लिखित आदेश भए देखाउन नत्र आफू पनि उपमेयर भएकाले आफ्नो आदेश पनि मान्न भनिन् । उपमेयरले घेरेपछि ब्याक भएका नगर प्रहरी प्रमुख आफ्नो दस्तासहित त्यहाँबाट बाहिरिए ।

उता गुरागाईं आउने थाहा पाएपछि बालेनले उनी चढ्ने सरकारी गाडीमा समेत ह्वील लक गर्न लगाइदिए । ह्वील लक भएपछि गुरागाईं वातावरण विभागको गाडी चढेर सिंहदरबारतिर गए ।

कर्मचारीहरू भने प्रमुख प्रशासकीय अधिकृत आएकाले अब तलब निकास हुने आशमा बसेका छन् । तर, यसबारेमा बालेन्द्रको ठोस धारणा आएको छैन । उनका स्वकीय सचिव भुपदेव शाहले भने राजनीतिक दलको आडमा प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा छिरेको भन्दै आपत्ति जनाएका छन् ।

महानगरको कार्यालयमा बिहीबार यस्तो घटनाक्रम भइरहँदा मेयर साह भने उता काभ्रेको पाँचखालतिर लस्सी पिएर गर्मी भगाइरहेका थिए ।

खासमा उनी बिदा मनाउन भन्दै बुधबार नै काभ्रेको पाँचखालतिर सोझिएका थिए । तर, बुधबार कुनै सार्वजनिक बिदा थिएन । उनी व्यक्तिगत रुपमा बिदा मनाउन भन्दै काठमाडौंबाहिर गएका थिए ।

मेयर साह बिदा मनाउन हिँडेको भने पनि उनीबारे उपमेयर डंगोल र प्रवक्ता नवीन मानन्धर पनि अनभिज्ञ छन् । प्रवक्ता मानन्धरले मेयर साह कहाँ छन् भन्ने आफूलाई जानकारी नभएको बताए ।

‘उहाँ कहाँ जानु भएको ? कता हुनुहुन्छ भन्ने जानकारी हामीलाई भएन’, उनले भने, ‘सचिवालयले बिदा मनाउन गएको भनेको सुनेँ तर कहिले कहाँ गएको हो केही थाहा छैन । यत्रो विवाद भइरहँदा खासमा उहाँ कार्यालयमा हुनुपर्ने हो ।’

उता उपमेयर डंगोलको सचिवालयले पनि मेयर साहले केही जानकारी नगराएको बताएको छ । उपमेयर डंगोलले बिहीबार दुई पक्षलाई शान्त बनाउन मेयरको खोजी गरिन् । तर मेयर साह कार्यालयमा थिएनन् । त्यसपछि उनैले परिस्थिति सम्हाल्नुपर्ने अवस्था आयो ।

महानगरको कार्यालयमा यसअघि कहिल्यै नदेखिएको नगरप्रहरी र कर्मचारीबीच झडपको अवस्था आउँदा अभिभावकका रुपमा रहेका मेयर साह आफूलाई पाँचखालमा लस्सीले शीतल बनाइरहेका थिए ।  पाँचखालस्थित एक रेस्टुरेन्टकी साहुनीले उनै मेयर बालेनसँग खिचेको तस्बिर राखेर यसकुराको पुष्टि गरिन् ।

‘आज बालेन साहसँगको भेट, पाँचखाल केराघारी एसएल अर्गानिक कफी एन्ड लस्सी सेन्टरमा’, उनले यति लेखेपछि मेयर साह काठमाडौंबाहिर रहेको पुष्टि भयो । यद्यपि उनी नगरप्रहरी प्रमुख पाण्डेलाई उतैबाट निर्देशन भने दिइरहेका थिए । त्यहीअनुसार पाण्डे पनि खासमा कानुनले उल्लेख गरेअनुसार आफूलाई निलम्बन गर्नेसमेत अधिकार भएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई छेक्न कम्मर कसेर लागेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ६ : ५५ बजे

अमेरिकालाई चीनको जवाफ- हामी डराउँदैनौँ, कसैसँग झुक्दैनौँ

बेइजिङ- अमेरिकाले लगाएको एकपछि अर्को करलाई लिएर चीनले कडा प्रतिक्रिया

सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट

आठ महिनामा ४.२ प्रतिशतले बढ्यो बैंकिङ क्षेत्रको निक्षेप, गैर नाफामूलक संस्थाको बचतमा भने गिरावट

काठमाडौं- चालु आर्थिक वर्षको आठ महिनामा नेपालको बैंक तथा वित्तीय

नवनिर्वाचित अध्यक्ष मिश्र भन्छन्- संविधान संशोधनमा बारले रचनात्मक भूमिका खेल्छ

काठमाडाैं– नेपाल बार एशोसियशनकाे नव अध्यक्ष विजय मिश्रले संविधान संशोधनमा

शैक्षिक परामर्श दिने कम्पनीलाई ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवर्द्धन गर्नुपर्छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शैक्षिक परामर्श सेवा