हामी सामान्य पेट दुखेको सिकायत लिएर स्वास्थ्य जाँच गर्न गयौँ भने पनि डाक्टरले पक्कै सोध्नेछन्- “यसअघि तपाईँले त्यस्तो के खानुभएको थियो ?” अझ जटील प्रकृतिको समस्या लिएर गए डाक्टरले “के यसअघि तपाईँको आमा बुबा वा हजुरबा हजुरआमालाई पनि यस्तो समस्या थियो ?” भनेर पक्कै सोध्नेछन्।
विगतमा भएको कमकमजोरीले जसरी वर्तमानमा सताइरहन्छ, त्यो भविष्यको लागि पनि ठूलो पिरलो बनिरहन्छ। त्यसैले वर्तमानको अवस्थाबारे विश्लेषण गर्दा इतिहासको अध्ययन गर्नैपर्छ। इतिहास दर्शनले भन्छ, “आगतका सम्भावित दुर्घटनाहरु नियन्त्रण गर्न विगततिर अवलोकन गर्नैपर्छ।”
हामीले वर्तमानमा जुन समस्या भोगिरहेका छौँ, यसका कारणहरु विभिन्न छन्। तीमध्ये एउटा ज्वलन्त कारण हो, राजा रणबहादुर शाहको अदूरदर्शितापूर्ण राजकाज। उनको राजकाज कस्तो थियो ? यो लेखमा यसै इतिहासलाई निफन्ने कोशिस गरिएको छ।
छोटो आयु र छोटै राज्यकाल बिताएर राजा प्रतापसिंह शाहको मृत्यु हुँदा उनका उत्तराधिकारी रणबहादुर शाह केवल अढाई वर्षका थिए। उनी राजा हुनासाथ राजदरबारभित्र अनेकौँ हानाथाप र षडयन्त्र मच्चिन सुरु भयो।
छोटो आयु र छोटै राज्यकाल बिताएर राजा प्रतापसिंह शाहको मृत्यु हुँदा उनका उत्तराधिकारी रणबहादुर शाह केवल अढाई वर्षका थिए। उनी राजा हुनासाथ राजदरबारभित्र अनेकौँ हानाथाप र षडयन्त्र मच्चिन सुरु भयो। आफू वयस्क भएपछि तात्कालीन नायब काका बहादुर शाहबाट राज्याधिकार लिए। त्यसपछि उनी उत्पातपूर्ण मनमौजी भएर निस्केका थिए। बास्तवमा मुलुक आज जुन बेहालतमा छ, यसको सुरुवात रणबहादुर शाहकै समयदेखि भएको हो भन्दा फरक पर्दैन।
बालविधवासँग जबरजस्ती विवाह
दुई जना पटरानी छँदाछँदै बालविधवा कान्तवतीसँग उनले गरेको जबरजस्ती विवाहले मुलुकको राजनीति नै टेढोमेढो हुन पुग्यो। वि.सं. १८५२ को शिवरात्रीमा पशुपतिनाथको दर्शन गर्न मिथिलातिरबाट आएकी कान्तवती नामकी यी नवयौवना तिरहुतिया सुन्दरीसँगको आकस्मिक भेटले रणबहादुर ठूलै आसक्तिमा परेका थिए।
आफ्ना बाबुका नेवार भित्रिनीतिरका दाजु विदुर शाही र भाइ शेरबहादुर शाही यस प्रकरणमा राजाको ठूलो सहयोगी भएर निस्के। उनीहरुकै सल्लाहअनुसार कान्तवतीलाई पक्रन लगाई म्यानामा बन्दी बनाएर रणबहादुरले जबरजस्ती दरबारमा भित्र्याए। विधवा र त्यसमा पनि ब्राह्मणीले परपुरुषसँग विवाह गर्नु असामान्य मात्रै होइन, सामाजिक रुपमा निन्दित पनि मानिने समय भएकोले कान्तवती राजा नै भए पनि ६ महिनासम्म रणबहादुरसँग विवाह नगर्ने अडानमा रहिन्। पछि रणबहादुरले उनीबाट पैदा भएका छोरालाई नै राजगद्दीको उत्तराधिकारी बनाउने प्रस्ताव गरेपछि बल्ल कान्तवती विवाहका लागि तयार भइन्। त्यसबेलासम्म राजराजेश्वरीका तर्फबाट एक छोरीको जन्म भइसकेको थियो भने सुवर्णप्रभातर्फबाट रणोद्योत शाहको जन्म भइसकेको थियो। गोरखाली राजपरम्पराअनुसार रणोद्योत शाह राजगद्दीका वास्तविक उत्तराधिकारी थिए (बाबुराम आचार्य, “अब यस्तो कहिल्यै नहोस्”- २०६८:२५)। तर राजाको जबरजस्तीले रणोद्योत शाह राजउत्तराधिकारबाटै वञ्चित हुन प-यो।
विधवा र त्यसमा पनि ब्राह्मणीले परपुरुषसँग विवाह गर्नु असामान्य मात्रै होइन, सामाजिक रुपमा निन्दित पनि मानिने समय भएकोले कान्तवती राजा नै भए पनि ६ महिनासम्म रणबहादुरसँग विवाह नगर्ने अडानमा रहिन्। पछि रणबहादुरले उनीबाट पैदा भएका छोरालाई नै राजगद्दीको उत्तराधिकारी बनाउने प्रस्ताव गरेपछि बल्ल कान्तवती विवाहका लागि तयार भइन्।
उनै रणोद्योत शाहका सन्तान हुन्, २०१७ सालको काण्डपछि चितवनमा मारिएका काँग्रेस नेता जगतप्रकाशजङ्ग शाह। उनैका छोरा हुन्, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति नविनप्रकाशजङग शाह।
वि.सं. १८५४ असोज १९ गते कान्तवतीको गर्भबाट गीर्वाणयुद्धको जन्म भयो। पूर्ववाचाअनुसार उनी राजउत्तराधिकारी घोषित गरिए। आचार्य (२०६८:२६)ले उल्लेख गरेअनुसार गीर्वाणयुद्धको जन्मपछि आफूलाई सोमवंशी क्षेत्रीयकुल मान्ने गोरखाको शाह राजवंशले आफ्नो वंशलाई उज्जैनको परमार वंश स्वीकार गरी युवराजको नामको पछाडी “विक्रम” भन्ने उपाधि जोडेपछि राजपरिवारका सबै पुरुष सदस्यहरुको नाम पछाडी विक्रम उपाधि जोड्ने परम्परा चलेको हो। तर गीर्वाणयुद्धको जन्मको बेला शिशु सट्टापट्टा गरिएको चर्चा पनि गरिएको पाइन्छ। यस्तो चर्चा गर्ने इतिहासकार हुन्, रामजी उपाध्याय। उनले “नेपालको इतिहास अर्थात् दिग्दर्शन” (२००७:१८९) मा तिरहुतिया कान्तवतीबाट जन्मेका बालकलाई राजगद्दीमा राखे रक्तशुद्धता नहुने भएकोले त्यसैबेला एक चौतरियाकी पत्नीबाट जन्मेका छोरासँग स्नानगारमा लगी साटेर कान्तवती सुतेको पलङमा ल्याएर सुताइदिएको उल्लेख गरेका छन्। अर्थात् गीर्वाणयुद्ध रणबहादुरका छोरा नभई सट्टापट्टामा परेका कुनै चौतरियाका छोरा हुन्। उनले यसबारे रामनगरका राजपरिवारमा चर्चा चल्ने गरेको आधारमा आफूले लेखेको पनि उल्लेख गरेका छन्। तर चित्तरञ्जन नेपालीले “श्री ५ रणबहादुर शाह” (२०७५:२२)मा उपाध्यायले उल्लेख गरेको उक्त प्रकरणलाई “मनगढन्त कथा” भनेका छन्।
माथि उल्लेख भएका घटना भइरहेको बेला महारानी कान्तवती भने रोगले थलिँदै गइरहेकी थिइन्। उनमा आफ्ना नाबालक छोरा गद्दीमा बसेको हेर्न चाहने इच्छा तीब्र हुँदै गइरहेको थियो। उनको इच्छालाई पूर्ण गराउन रणबहादुरले आफ्ना पाँच महिने बालक छोरा गीर्वाणयुद्ध विक्रमलाई वि.सं. १८५५ फागुन २८ गते राजगद्दी सुम्पिए।
उनको यस कदमको समर्थनमा दरबारका भारदारमध्ये ९५ जनाले ताम्रपत्र गरी धर्मपत्र भाके। गीर्वाणयुद्धविक्रमको राज्याभिषेक हुनुभन्दा केही दिनअघि ती भारदारलाई पशुपतिको धर्मशिला छुवाई नाबालक युवराजलाई राजा मान्ने कबोल गराइएको थियो। त्यसबेला गुरु गजराज मिश्र आदि सीमित भारदारले भने धर्मपत्रमा सही हालेनन्। तापनि धेरै भारदारहरुले राजाको आज्ञा शिरोपर गर्ने वचन दिए। यद्यपि भारदारहरुको तात्कालिन मनोभावनाअनुसार उक्त कुरा मञ्जुर गर्नु असाधारण थियो। भित्र अनिच्छा भए पनि राजआज्ञालाई उनीहरुले शिरोपर गरे भन्ने धारणा इतिहासकारहरु धनबज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठले “शाहकालका अभिलेख”(२०३७:२६७) मा ब्यक्त गरेका छन्।
राजपाठ नाबालक छोरालाई सुम्पिएपछि रणबहादुरले स्वामीको भेषधारण गरे। कान्तवतीलाई पनि स्वामिनीको भेषधारण गराए। कान्तवतीको ब्यथा दिनदिनै बढ्दै गइरहेको र उपचारका सबै जसो उपायहरु असफल हुँदै गइरहेको थियो। अन्ततः कान्तवती वि.सं. १८५६ कात्तिक १९ गते पशुपति आर्यघाटमा परमधाम भइन्।
कान्तवतीको देहान्तपछि रणबहादुर ठूलो विलापमा परे, उनले अति असामान्य व्यवहारहरु देखाए। स्वामिनीको निधनपछि उनकै चोलो गलामा झुण्ड्याई तोपले हनाई मर्छु भन्दै भूइँमा पल्टी पल्टी विलाप गरे।
कान्तवतीको देहान्तपछि रणबहादुर ठूलो विलापमा परे, उनले अति असामान्य व्यवहारहरु देखाए। स्वामिनीको निधनपछि उनकै चोलो गलामा झुण्ड्याई तोपले हनाई मर्छु भन्दै भूइँमा पल्टी पल्टी विलाप गरे। राज्यभरका प्रजालाई मुण्डन गर्न लगाए। खडानन्द नामका बाहुनलाई तुलजा भवानीलाई उखेलेर फ्याँक्न लगाए। भादगाउँको बेताललाई बन्चरोले चिरेर नरककुण्डमा हालिदिए। करबीर मसानको पनि विध्वंश गरे। स्वयम्भूको बुढिया (हारती मा)लाई गुहुको धूप दिएर उखेली फ्याँक्न लगाए (“प्राचीन नेपाल” सङ्ख्या २४– साउन २०३०:६-७)।
त्यसो त रणबहादुरले आफ्नी रानी जीवितै हुँदा पनि उनलाई निको पार्न नसक्दा क्रुद्ध भई रानीको उपचारमा खटिने वैद्यहरुलाई सुन्दै आङ सिरिङ्ग हुने दण्ड दिएका थिए। रानी शिथिल हुँदै जाँदा “यी वैद्यहरुबाट काम चल्न सकेन” भन्दै मिलह्म वैद्यको औषधी बनाउने हात तेल पेल्ने कोलमा लगेर पेलाइदिँदा हात पेलिएको असह्य पीडाले उनी मृत्युलोकमा पुगे। मार्न नमिल्ने ब्राह्मण भएकोले लक्ष्मीनारायण दाहाललाई अभक्ष कुराहरु खुवाई चारपाटा मुडाएर आँखामा सिउँडीको दूध हाल्न लगाई नेपालको दक्षिणी सीमाबाट पारी कटाइदिए। उनकी श्रीमती दमाईलाई सुम्पिइयो। दुवै वैद्यको घरमा आगो लगाई सर्वश्व हरण गरिएको थियो (आचार्य, २०६८:२९)। व्यक्तिगत खुसी लुटिँदा मानवीय मर्यादा र सामाजिक मूल्य नै बिर्सेर राज्यलाई नोक्सानी गर्ने यी कस्ता राजा ?
काका बहादुर शाहको हत्या
माथि उल्लेख भएको विध्वंशअघि नै रणबहादुरले मनपरी गर्न थालिसकेका थिए। उनले सबैभन्दा पहिले नायवी लिएर शासनमा सहयोग गर्दै रहेका सहोदर काका बहादुर शाहलाई आँखाको तारो बनाए।
रणबहादुरले ल्याइतातिरका भाइहरु विदुर शाही र शेरबहादुर शाहीलाई चौतरिया पद्वी दिई मन्त्रिमण्डलमा राखे। टक्सारी, खजाञ्ची र कपरदारहरुलाई पनि मन्त्रिमण्डलमा राखी मन्त्रीहरुको सङ्ख्या बढाए। त्रिभुवन प्रधानलाई हजुरिया मन्त्री बनाई अरु मन्त्रीहरुको अधिकार कम गरिदिए। भतिजा राजाको यी काम बहादुर शाहलाई मन परिरहेको थिएन। यस्तै आश्रित राज्य पाल्पाका राजा महादत्त सेनको गुल्मीको रियासत खोसिएकोमा बहादुर शाहले विरोध गरेका थिए। यसैको परिणामस्वरुप बहादुर शाहले दरबार छाड्न परेको बाबुराम आचार्यले “पूर्णिमा” पूर्णाङ्क ६३ (चैत २०४१:२१) मा उल्लेख गरेका छन्।
कान्तवतीतिरबाट जन्मेको छोरालाई राजा बनाउने रणबहादुरको कटिबद्धताप्रति पनि बहादुर शाह विरोधी थिए नै, उनलाई अरुले पनि यसमा साथ दिएका थिए। ब्राह्मण र सगोत्रीलाई मार्न नहुने चलन भएको हुँदा रणबहादुरको परम्परागत धर्मविरुद्धको उक्त कटिबद्धताको विरोधमा केही ब्राह्मण र चौतरियाहरुले खुलेरै विरोध मात्रै होइन दरबारअगाडी आएर धर्ना नै कसेका थिए। बहादुर शाह पनि यो विरोधी दलमा सामेल भएका थिए। यसरी धर्ना दिने ब्राह्मणहरुमध्ये कसैलाई डामियो, कसैलाई अभक्ष खुवाएर सर्वश्व गरी देशनिकाला गरियो भने बहादुर शाह कैदमा परे (ज्ञानमणि नेपाल, “नेपालको महाभारत”–२०५२:३४–३५)।
जतिखेर दरबार छाडेर बहादुर शाह पशुपति, देवपाटनमा आफैँले बनाएको सदावर्त घरमा बसी साधु सन्तका साथ समय बिताइरहेका थिए, त्यतिबेला राजा रणबहादुर भने ब्यसनी र फजुलखर्ची भई राजकोशका धन रित्याउँदै थिए। बहादुर शाहले धेरै धन लुकाएर राखेका छन् भन्ने शङ्का गरी वि.सं. १८५३ फागुन २ गते रातको समय एक कम्पनी सैनिक पठाई पक्रेर ल्याई आफू बालक छँदा कामकाज गरेको हिसाव बुझाऊ भनी कैदमा राखे (नेपाल, २०५२:२२)।
अहिले परोपकार केन्द्र रहेको ठाउँमा मल्लकालिन किल्ला थियो र पछि त्यसलाई कारागार बनाइएको थियो। बहादुर शाहलाई त्यहीँ राखिएको थियो।
यसरी थुनामा परेका बहादुर शाहको वि.सं. १८५४ असार १५ गते अस्वाभाविक र रहस्यमय ढङ्गले मृत्यु हुन पुग्यो। उनको मृत्यु अस्वाभाविक थियो भन्ने विषयमा इतिहासकारहरु एक मत छन्, तर कसरी उनको मृत्यु भयो भन्ने बारेमा उनीहरुमा मतक्यैता भने छैन।
आचार्य (२०६८:२२)लेउल्लेख गरेअनुसार रणबहादुरले आफ्नी आमा राजेन्द्रलक्ष्मीलाई विष खुवाएको अपराध लगाएर बहादुर शाहकी रानीको हुर्मत लिएका थिए। आफ्नी पत्नीको हुर्मत लिएको सहन नसकी बहादुर शाहले डोरीको पासो लगाएर कैदी अवस्थामै आत्महत्या गरेको आचार्यले उल्लेख गरेका छन्।
नेपाल (२०५२:३६) भने बहादुर शाहले आत्महत्या गरेको नभई उनको हत्या नै भएको उल्लेख गरेका छन्। उनकाअनुसार वि.सं. १८५४ असारको औंशीको मध्यरातमा बहादुर शाहलाई कैदी अवस्थामै मारियो। भोलिपल्ट विहान पटुकाले पासो लगाएर दलिनमा झुण्डिएको लाश देखियो भन्दै उनले आफैँ आत्महत्या गरेको घोषणा गरियो भन्ने इतिहासकार नेपालले उल्लेख गरेका छन्।
तर बहादुर शाहकै विषयमा विद्यावारिधि गर्ने इतिहासकार डा. भद्ररत्न बज्राचार्यले भने उनको मृत्युबारे आङै जिरिङ्ग हुने तथ्य प्रकाशमा ल्याएका छन्। उनले “ईकान्तिपुर” (२०७३ जेठ २९)माबहादुर शाहकै परिवारलाई स्रोत बनाएर उल्लेख गरेअनुसार जेलमै रहेको बेला तात्कालिन राजा रणबहादुर शाहको निर्देशनमा उनको शरीरमा तातो तेल छर्किइएको थियो। तातो तेलले पु-याएको पीडाले नै अन्ततः उनको मृत्यु भएको थियो। त्यस अगाडी उनकी पत्नीको बद्नाम गर्ने चेतावनी दिइएको थियो।

यसरी गोत्रहत्यामा हात हाल्ने शाहवंशीय राजाको रुपमा रणबहादुरले इतिहासमा पहिलोपटक आफ्नो नाम लेखाए।
स्वार्थका लागि गृहयुद्धको तयारी
नाबालक छोरालाई राजा घोषणा गरिसकेका र आफूले सन्यासी भएर “स्वामी” कहलाइसकेका रणबहादुरले राजकाजको लोभ भने गर्न नछाड्दा नाबालक राजालाई जोगाउन दामोदर पाँडेजस्ता भारदारहरुलाई हम्मे परिरहेको थियो। रानी कान्तवतीको देहान्तले विछिप्त बनेका उनी अनेकौँ हर्कतहरु गरिरहेका थिए।
नाबालक राजा जोगाउन काठमाडौँबाट नुवाकोट दरबार लैजाँदा रानी सुवर्णप्रभा पनि आफ्ना छोराकासाथ त्यहाँ पुगेकी थिइन्। उनका दुई छोरा रणोद्योत र शमशेर शाहलाई चौतारा मान प्रदान गरिएको थियो।
छोरा गीर्वाणयुद्धविक्रम शाहलाई राजगद्दी सुम्पनुअघि रणबहादुरले कलकत्तामा दूतका रुपमा खटिएका दीनानाथ उपाध्ययलाई वि.सं. १८५५ फागुन वदी १४ रोज ३ मा लेखेको पत्रमा “…श्रीकान्छी रानीतिरका पुत्र श्रीगीर्वाणयुद्धविक्रम साहलाई मेरो भरमुलुकको रजाञी गादी बक्स्यां. फागुणका दिन २८ जाँदा शुक्रबार शुभलग्नमा राज्याभिषेक हुन्छ. चौतारा मान श्रीरणउद्योतसाहलाई दोश्रो चौतारा मान विदुर साह सेरवहादुर साह अभिमानसिंको षायल कजाइ कीर्तिमानसिंहलाई हुन्छ…” (धनबज्र बज्राचार्य, “त्रिरत्न-सौन्दर्य-गाथा”-२०१९:२८५) भन्ने उल्लेख भएकोले सुवर्णप्रभातिरबाट जन्मेर राजगद्दीबाट वञ्चित हुनु परेका दुई छोरालाई रणबहादुरले चौतारा मान प्रदान गरेका थिए भन्ने देखिन्छ। त्यसबेला चौताराले राजाका सहायकको जिम्मेवारी पाउँथे।
“लक्ष्मीपतिको परम्परा टिपोट” अनुसार राजकुमार रणोद्योतको जन्म वि.सं. १८५१ भदौ २ गते भएको रानी सुवर्णप्रभाको कोखबाट भएको हो (दिनेशराज पन्त, “पूर्णिमा” पूर्णाङ्क १६–माघ२०२४:४०७) भन्ने पाइएबाट मुख्य चौतरियाको जिम्मेवारी पाउँदा रणोद्योत चार वर्षका नावालक थिए भन्ने देखिन्छ।

सन्यास लिइसकेका रणबहादुर एकाएक आफूले त्याग गरिसकेको राज्यसत्ता फर्काउने उद्योगतिर अग्रसर भई समानान्तर सरकारको अभ्यास गर्न थाले। उनले नुवाकोटमा रहेको भारदारीलाई विघटन गरी मुख्य चौताराका रुपमा बलभद्र शाहलाई राखी मूलकाजीका रुपमा प्रतिमन रानालाई जिम्मेवारी दिए। उनले विदुर शाही, रणकेशर पाँडे, जहरसिंह बस्न्यात, भीमसेन थापाका बाबु अमरसिंह थापा लगायत रहेको भारदारी बनाए। उनले नुवाकोटमा रहेको वैध सरकारविरुद्ध विभिन्न सैन्य कम्पनीहरुलाई आफूलाई सहयोग गर्न आउन आह्वान गरी पत्राचार गरे (आचार्य, २०६८:३२–३३)।
त्यसैबेला स्वामी महाराजको स्याहार सुसारमा ब्यस्त जेठी महारानी राजराजेश्वरी पनि नुवाकोटमा रहेको वैध सरकारविरुद्ध जुर्मुराएर उठेकी थिइन्। उनले गुरुवक्स कम्पनीका सैन्यलाई आफूहरुलाई सहयोग गर्न पत्रमार्फत् आह्वान गरेकी थिइन् (नेपाली, २०७५:५०)।
यसरी स्वामी महाराज र उनकी जेठी महारानीले समानान्तर अभ्यासका साथ सैन्य मोर्चा तयार गर्दै गरेको अवस्थामा नुवाकोटमा रहेको वैध सरकार पनि चुपचाप लागेर बस्ने अवस्था रहेन।
त्यताबाट पनि सैन्य कम्पनीहरुलाई आफ्नो आदेश मान्नका लागि राजा गीर्वाणयुद्ध विक्रम शाहको तर्फबाट पत्रहरु दौडाएर ब्यापक आह्वान गरियो।
नेपाल (२०५२:८५–८६)ले प्रकाशित गरेको राजा गीर्वाणयुद्ध विक्रम शाहको वि.सं. १८५७ वैशाख सुदी ५ रोज ३ मा तात्कालिन प्रभावशाली भारदारहरुको नाममा जारी गरिएको पत्रमा “एकहरा कुरामा पोलाहका आगापिछा रहन्या र जिउ बचाउनाका निमित्य एकाजियले हुँडोलदा येत्रो देश यो ऐश्वर्य बिग्रन्या ढप पारि आपस्मा तकरार गरी कल बढाउन्या काम नगर. यहांका सेवक पनि मेरै हुन्. ताहांको सेवक पनि मेरै हो” भन्ने उल्लेख भएबाट नुवाकोटका भारदारहरु पनि युद्धको तयारीमा लागेको थाहा पाइन्छ।
यसरी बाबु र छोराबीच युद्धको तयारी भइरहेको बेला मुख्य काजी कीर्तिमानसिंह बस्न्यातको निर्देशनअनुसार काजी दामोदर पाँडेको नेतृत्वमा एउटा सैनिक दल नुवाकोटबाट काठमाडौंतिर प्रस्थान ग-यो। यो सैनिक दल बालाजुनजिक मुड्खुसम्म आइपुग्दा यो समाचार पाएका रणबहादुर अत्तालिएर बनारसतिर भागे (आचार्य, २०६८:३३–३४)।
उनको बनारस पलायनपछि तत्कालको लागि सम्भावित गृहयुद्ध टरेर गयो।
बनारस बस्दा ऋणमा चुर्लुम्म
निर्वासनका क्रममा बनारसबासका क्रममा मोजमस्त स्वामीज्यूलाई लागेको ऋणले यता नेपालमा तात्कालिन राजा गीर्वाणयुद्ध विक्रमलाई पनि टाउको दुखाईको विषय हुन पुग्यो। कतिसम्म भने ऋणबाट स्वामीज्यूको मुक्तिका लागि भारदारहरुबाट रकम उठाउनेसम्मको आदेश जारी भयो। राजाले वि.सं. १८६१ जेठ वदी १३ मा जारी गरेको आदेशमा “…चौतारिया काजि सर्दार षजान्चि षर्दार जेठा बुढा गैरह भारदार प्रति सम्वत १८६० मा (श्री दीदीज्यू)का विवाहमा लाग्याको गोडधुवाई माफ गरिवक्स्यौ (श्री वुवाज्यूले) चार वर्ष बनारस रहनुपर्दा लाग्याको कर्जा तिर्नाकन तपसिल दरकार सलामी रुपैया हाम्रा हजुरमा चह«ाउन ल्याऊ…” (नेपाली, २०७५:१२८–२९) भन्ने भाका परेको छ। यस आदेशअनुसार ९२ जना भारदार तथा कर्मचारीहरुले सलामी तिरेको देखिन्छ। तीमध्ये सबैभन्दा बढी रकम चौतरिया प्राण शाह र शेरबहादुर शाहले पाँच सय ५१ का दरले सलामी तिरेको उक्त पत्रमा उल्लेख छ।
निर्वासनमा रहँदा रानी राजराजेश्वरीले आफूले लगेको खर्च मात्रै होइन, उनका गरगहनासमेत सबै रणबहादुरले बेचेर खाइदिए। यसबाट चित्त दुखाएर राजराजेश्वरी बेतियाको रामनगर आएर बसेकी थिइन्।
निर्वासनमा रहँदा रानी राजराजेश्वरीले आफूले लगेको खर्च मात्रै होइन, उनका गरगहनासमेत सबै रणबहादुरले बेचेर खाइदिए। यसबाट चित्त दुखाएर राजराजेश्वरी बेतियाको रामनगर आएर बसेकी थिइन्। पछि उनी काठमाडौं आइसकेकी थिइन्, रणबहादुर शाह भने कम्पनी सरकारबाट नजरबन्दीमा परेका थिए। आफू शक्तिमा आएपछि राजराजेश्वरीले नजरबन्दीबाट उनलाई मुक्त गर्न कम्पनी सरकारसँग आग्रह गरिन्। तर कम्पनी सरकारले बनारसमा रहँदा उनले त्यहाँका साहुमहाजनसँग लिएको ऋण यथासक्य चाँडो चुक्ता नगरेसम्म नजरबन्दीबाट मुक्त नगर्ने अडान लिइदियो (बाबुराम आचार्य, “नेपालको सङ्क्षिप्त वृत्तान्त”–२०६३:२७६)।
रणबहादुरले आफ्नो पुरानो बानीअनुसार अनेकौ रखौटी राखेका थिए। एक मुसलमानकी पुत्री महतावलाई धेरै प्रयत्नले पत्नीका रुपमा बस्न स्वीकार गराए। रसरङ र आफ्नो दलका सदस्यहरुको भरणपोषणमा उनको खर्च ठूलो थियो (नेपाल, २०५२:५३)।
यसैक्रममा उनले त्यहाँ एकै जना सेठ द्वारिकादासबाट मासिक सयकडा १० ब्याजमा एक वर्षभित्र तिर्ने गरी ६० हजार रुपैयाँ ऋण लिएका थिए। अर्का साहु शिवलाल दुवेबाट महिनाको एक मोहर ब्याजमा एक लाख बनारसी सिक्का (मो.रु. ५० हजार) ऋण लिएका थिए। यसअघि ब्राह्मणलाई दक्षिणा दिन भनी गंगाराम शास्त्रीबाट मासिक सयकडा २ रुपैयाँ ब्याजमा १४ सय रुपैयाँ ऋण काढेका थिए। यी रुपैयाँमध्ये ब्राह्मणको दक्षिणास्वरुप ५ सय रुपैयाँ पनि यिनकै खर्च थियो (नेपाल, २०५२:५४–५५) । यो रकम तिर्न बाँकी हुँदा उनी कम्पनी सरकारको नजरबन्दमा परेका थिए।
अधिनायकवादको उदय
रणबहादुर शाह बनारसबाट वि.सं. १८६० मा नेपाल फर्केपछि मुलुकको शान्ति सुब्यवस्था झन खल्बलिएर गयो। उनी नयाँ मुख्तियार घोषित भएपछि नेपालमा रहेका भारदारहरुमाथि अनेकौं दोष थोपर्न थाले। तीमध्ये अङ्ग्रेजलाई नेपाल ल्याएर कोठी खोल्नका लागि १८ हजार रुपैयाँ दिएको दोष लगाई काजी त्रिभुवनलाई तत्कालै विष्णुमतीमा लगेर काट्ने आदेश दिए। हालको रणमुक्तेश्वरमा भएको उनको घरसमेत सर्वश्व गरी त्यहाँ रणबहादुर आफैँ बस्न थालेका थिए। तर मारिनुअघि काजी त्रिभुवनले भारदारी सभा राखे सबै पोल खोलिदिने बताएपछि वि.सं. १८६३ वैशाख १४ गते राती उनकै घरमा कचहरी बस्यो। कचहरीकै समयमा रणबहादुरसँग क्रुद्ध भएर उनकै सौतेला भाइ शेरबहादुरले तरबार चलाई उनको प्राण लिएपछि बालनरसिंह कुँवरबाट तत्कालै शेरबहादुर काटिए। त्यतिखेर भात खान गएका भीमसेन थापा हात पुछ्दै घटनास्थलमा आइपुग्दा स्वामी महाराजको हत्याको बदलामा “लौ हेर त अब टेकु दोभानदेखि आर्यघाटसम्म सोला चढाउन सकिनँ भने म भीमसेन थापै होइन” भनी सबैलाई ललकारेर कर्नाल फुकाई सबै सैनिकलाई सामेल हुन सूचना दिए (नेपाल, २०५२:६१-६३)।
त्यसपछि भीमसेन थापाको खाँडो जाग्यो। यही रात चौतारिया विदुर शाही, काजी त्रिभुवन प्रधान, काजी नरसिंह गुरुङ र पाटन दरबारमा दुई वर्षदेखि बन्दी बनाइएका पाल्पाली राजा पृथ्वीपाल सेन, उनका भाइलगायत उनका सिपाही र नोकरहरु दरबारको भण्डारखाल बगैँचामा काटिए। भोलिपल्ट शेरबहादुर, विदुर, त्रिभुवन र नरसिंह गुरुङका २ देखि १५ वर्षसम्मका छोरा नातीहरुलाई पनि विष्णुमतिमा लगेर काटियो। त्यतिखेरै हेलम्बूमा निर्वासित रानी राजराजेश्वरीलाई झिकाएर नौ जना सुसारे केटीसहित सति पठाइयो। भीमसेन थापाले यो हत्याकाण्डमा सति जाने १६ जना स्त्रीसहित ७७ जना पुरुष गरी ९३ जनाको ज्यान लिए (नेपाल, २०५२:६३–६४)।
रणबहादुर शाहको हत्या लगात्तै काटिएका चौतरिया तथा भारदार अनि उनीहरुका छोरा, नातिको दाहसंस्कारसम्म गर्न दिइएन। उनीहरुको पार्थिव शरीरलाई अमानवीय व्यवहार गर्दै दाम्लाले घिसार्न लगाई विष्णुमतीको बगरमा फ्याँक्न लगाएर स्याल, कुकुर र गिद्धहरुलाई खुवाइयो (बाबुराम आचार्य, “जनरल भीमसेन थापाः यिनको उत्थान र पतन”–२०६९:७०)।
रणबहादुर शाहको हत्या लगात्तै काटिएका चौतरिया तथा भारदार अनि उनीहरुका छोरा, नातिको दाहसंस्कारसम्म गर्न दिइएन। उनीहरुको पार्थिव शरीरलाई अमानवीय व्यवहार गर्दै दाम्लाले घिसार्न लगाई विष्णुमतीको बगरमा फ्याँक्न लगाएर स्याल, कुकुर र गिद्धहरुलाई खुवाइयो ।
तात्कालिन प्रभावशाली काजी भीमसेन थापाले स्वार्थवश वि.सं. १८६२ फागुन २६ गते १४ वर्षको कलिलो उमेर पनि पार गरिनसकेकी ललितत्रिपुरसुन्दरीको रणबहादुरसँग विवाह गरिदिएका थिए। स्वामी महाराज रणबहादुरको देहान्त हुनुभन्दा अढाई महिनाजति पहिले मात्र यो विवाह सम्बन्ध स्थापित भएको थियो। राजभवनभित्र आफ्नो पकडलाई बलियो बनाउन भीमसेन थापाले आफ्नी किशोरी भतिजीको विवाह स्वामी जीवन ग्रहण गरिसकेका भूतपूर्व राजा रणबहादुरसँग सम्पन्न गराइदिने भित्री चाँजोपाँजो मिलाइदिएका थिए (आचार्य,२०६९:१९४)।
ललित त्रिपुरसुन्दरीको नायवीमा बालक राजा गीर्वाण युद्धविक्रम शाहको भाकामा वि.सं. १८६९ मङ्सिर सुदी १३ रोज ४ मा भीमसेन थापाको नाममा उनलाई निक्कै ठूलो शक्ति र अधिकार हुने गरी एक मोहर जारी गरियो। उनले पाएको मोहरमा राज्यका सबैले उनको खटनमा चल्नुपर्ने उल्लेख गरिएको छ (चित्तरञ्जन नेपाली, “जनरल भीमसेन थापा र तत्कालीन नेपाल”–२०३५:१८–१९)।
यस्तो अख्तियारी पाएपछि भीमसेन थापा छोइनसक्नुका बनेर निस्के। यसमा उनैले कठपुतलीको रुपमा नचाउँदै आएको नायव राजमाता ललितत्रिपुरसुन्दरीको प्रतापको भूमिका थियो भन्नेमा कुनै शङ्का छैन।
जङ्गबहादुरले एकचोटी “मैले के गरेको छु र ? मावलीले बनाएको ब्यवस्थालाई चलाएर बसेको छु” भनेका थिए रे (नेपाल, २०५२:१८०)।
यसरी भीमसेन थापा तथा जङ्गबहादुरजस्ता धूर्तपरिवारवादी अधिनायकहरु जन्मिए। मुलुक भने रसातलमा डुब्दै गयो।रणबहादुर शाहको बहुलठ, मोजमस्त र अदूरदर्शी ब्यवहारले मुलुकमा अनेक किसिमको अधिनायकवाद र अराजकताहरु सिर्जना भए। जसको फल आज हामी भोगिरहेका छौँ।
वर्तमानको जगमा टेकेर विगतका भएका कमजोरीहरु निफन्न सके मात्रै भविष्य सुन्दर बनाउन सकिन्छ। त्यसैले रणबहादुर शाहजस्ता व्यक्तिगत स्वार्थका लागि मुलुक डुबाउने शासकको बारेमा थाहा पाउनै पर्छ।
प्रतिक्रिया