काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरूलाई सुशासनबारे ब्रिफिङ गरेका छन् ।
उनले सुशासन के हो ? भन्ने विषयमा सांसदहरूलाई प्रकाश पारे ।
‘जतिबेला हामीले सुशासन र विकास भन्ने शब्दलाई सबै कुराले प्रतिनिधित्व गराइराखेका हुन्छौं, त्यतिबेला सुशासनभित्र सामाजिक, शान्ति सुव्यवस्था पर्छ ।’ सांसदहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘स्वच्छ, पारदर्शी तरिका, एउटा जिम्मेवार सरकारको तरिका हो ।’
प्रधानमन्त्री ओलीले सबै नागरिकको अभिभावकको भूमिका सरकारले निर्वाह गर्नुपर्ने बताए । ‘जनताले प्राप्त गर्नुपर्ने सेवा सुविधाहरू जनतालाई उपलब्ध गराउने, यो सुशासनभित्र पर्छ ।
सुशासनभित्र लोकतान्त्रिक प्रणाली, लोकतान्त्रिक प्रणालीको मर्यादा, प्रक्रियागत, आचरणगत पक्षहरू, यिनीहरूलाई अगाडि बढाउने कुराहरू पर्छ ।’
प्रधानमन्त्री ओलीले सांसदहरूलाई बिफ्रिङ गर्दै भने, ‘सुशासन र विकास भनेर जब हामी दुईटा मात्रै बकेटमा राख्छौं, त्यतिबेला यी सबै कुरा सुशासनभित्र पर्छन् । विकास मानवीय संशाधनको विकास, शिक्षाको विकास, स्वास्थ्यको विकास, कृषि, पर्यटन, सेवाका क्षेत्रहरूको विकास, व्यापारको विकास यी सबै विकास हुन् । पूर्वाधार, कृषि, सञ्चारका विकास अरु यावत् कुराहरू विकासका क्षेत्र हुन् ।’
प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकास दुवै पक्षमा आधुनिकीकरण र डिजिटलाइजेशन गर्ने बताए । उनले सुशासनको क्षेत्रमा अहिलेसम्मको लेटेस्ट साइन्स एण्ड टेक्नोलोजीको विकास गर्दै सुशासनका क्षेत्रलाई प्रभावकारी बनाउन र विकासको गतिलाई तीव्रत्तर बनाउन टेक्नोलोजीको प्रयोगमा जोड रहने बताए ।
‘हामी समाजप्रति उत्तरदायी र शान्ति, सुव्यवस्थाप्रति जिम्मेवार हुन्छौं । विपक्षप्रति संविधान र कानूनका दायराभित्र रही र आम जनताप्रति सम्पूर्ण रुपमा जवाफदेही हुन्छौं । जनतामा रहेको सार्वभौम सत्ता र शक्तिका स्रोत नै जनता हुन् भन्ने मान्यता राख्छौं,’ बैठकमा ओलीले भने, ‘यसलाई सर्वोपरि राख्ने र देशको सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूलाई तलमाथि पर्न नदिई र त्यसो गर्दा न्याय र अन्तर्राष्ट्रि मित्रताजस्ता कुरालाई नबिर्सी मानवताका लागि वसुधैव कुटुम्बकम् भन्ने धारणालाई ध्यानमा राखेर मानवतावादी दृष्टिकोणका साथ अगाडि बढ्छौं ।’
‘नीति तथा कार्यक्रम ढुक्कले समर्थन गर्नुहोस्’
प्रधानमन्त्री ओलीले सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रम सही भएको बताएका छन् । उनले देशमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि नीति तथा कार्यक्रम सही ढङ्गले आएकाले ढुक्क हुन सांसदहरूलाई अनुरोध गरे । प्रधानमन्त्री ओलीले दृढतापूर्वक तिनलाई समर्थन गर्न दलका सांसदलाई निर्देशन दिए ।
प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार भएको नेकपा (एमाले) संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार, राजनीतिक स्थायित्वका साथ सुशासन कायम गरी अर्थतन्त्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको बताए ।
‘हाम्रा नीतिहरु सही छन्, यसमा साथीहरु ढुक्कले लागे हुन्छ । संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नुुपर्दैन । हामीले सही कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ । हामीले विपक्षमा रहँदा सही कुराको विरोध गरेका थिएनौँ ।’
प्रतिक्रिया