‘चीनले नेपालका वाम दललाई एकैठाउँ देख्न चाहेको छ’ | Khabarhub Khabarhub

अन्तर्वार्ता

‘चीनले नेपालका वाम दललाई एकैठाउँ देख्न चाहेको छ’



काठमाडौं- गत शनिबार चीन भ्रमणमा गएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार १५ सदस्यी टोलीसहित काठमाडौं फर्किएकी छन् । दुई कार्यकाल राष्ट्रपति बनेर हाल विश्राममा रहेकी उनी नेकपा (एमाले) को राजनीतिमा फर्किन चाहिरहेकी छन् ।

आफ्नो त्यही चाहनाअनुसार उनी कोशी, गण्डकी र लुम्बिनी प्रदेश पुगेर एमाले नेता–कार्यकर्तासँग संवाद पनि गरिसकेकी छन् । एमालेमा फर्किने उनको प्रयास सार्थक हुन कि त वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पद हस्तान्तरण गर्नुपर्‍यो । कि त एघारौँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्नुपर्‍यो । नवौँ महाधिवेशनमा उपाध्यक्ष रहेकी उनी आफूनिकटहरूसँग एमालेको राजनीतिमा फर्किन तयार रहेको बताउँछिन् । तर त्यही कुरा उनले सार्वजनिक रुपमा प्रकट गरेकी छैनन् । राजनीतिमा फर्किने उनको चाहनालाई पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले माओवादी केन्द्रमा उपाध्यक्ष भएर सजिलो बनाइदिएका छन् ।

यो पृष्ठभूमिमा भण्डारीले चीनको १० दिन लामो भ्रमण गरेर फर्किइन् । चीनबाट उनले नेपालमा कम्युनिस्ट दलहरू मिल्नुपर्ने र त्यसका लागि भण्डारीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सन्देश लिएर आएकी छन् ।

उनको १५ सदस्यीय भ्रमण दलमा एमाले पोलिटब्यूरो सदस्य कर्णबहादुर थापा पनि सहभागी थिए । उनी एमालेमा अहिले भण्डारीनिकटका रुपमा चिनिन्छन् । उनले बेलामौका वर्तमान अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना पनि गर्ने गरेका छन् ।

एमालेका स्थायी कमिटी सदस्य थापाले नेपालमा वाम दल मिलेर राजनीतिक स्थायित्व दिनुपर्ने सन्देश चीनले दिएको बताएका छन् । चीनबाट फर्किएका थापासँग यिनै सेरोफेरोमा गरिएको कुराकानीको सम्पादित अंश :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण दलमा तपाई पनि हुनुहन्थ्यो । खासमा के सन्देश लिएर आउनु भयो ?

चिनियाँ नेताहरूले नेपालमा चाहेको र खोजेको पहिलो कुरा भनेको राजनीतिक स्थायित्व हो । नेपालमा राजनीतिक स्थायित्व भयो भने चीनबाट दिने सहयोग पनि काममा आउँछ र सदुपयोग हुन्छ भन्ने उनीहरूको सन्देश छ । चीनले नेपालमा राजनीति स्थायित्वको ग्यारेन्टी भनेको दलहरू मिलेर प्रणाली जोगाउनु पर्‍यो । जनताको आकांक्षा परिपूर्ति गर्ने पनि दलहरूले नै हुन् भन्ने सन्देश उनीहरूले दिएका छन् ।

खासमा उनीहरूले चाहेको के रहेछ ?

उनीहरू नेपालमा कुनै तानाशाही र निरंकुशता चाहने पक्षमा छैनन् । स्थायी शक्ति राजा चाहन खोजेको हल्ला गरिएको छ । तर अब चीन नेपालमा राजाको पछि लाग्छ भन्ने हल्ला असत्य हो, त्यो हल्ला मात्रै हो । चीन स्थायी शक्ति चाहन्छ भन्ने हल्ला बेकार हो । त्यो शतप्रतिशत झूट कुरा हो । दलहरू नै मिलेर लोकतन्त्र बलियो बनाउनुपर्छ, जनताको आकांक्षा पूरा गर्नुपर्छ भन्ने पक्षमा उनीहरू दृढ छन् । उनीहरूको सन्देश यही हो ।

वाम एकताबारे कुरा भयो रे नि चिनियाँ पक्षसँग ?

चीनको मान्यता भने राजनीतिक स्थायित्वका लागि दलहरू बलियो हुनुपर्छ भन्ने हो । दलहरू बलियो हुनका लागि वामपन्थी एकता हुनुपर्छ, त्यसरी एकता भयो भने सशक्त र बलियो कम्युनिस्ट शक्ति नेपालमा बन्छ भन्ने उनीहरूको चाहाना छ । उनीहरू कम्युनिस्ट भएका हुनाले नेपालमा पनि कम्युनिस्टहरू मिलुन्, जुटून् भन्ने चाहाना राख्ने र हुने कुरालाई स्वभाविक नै मान्नुपर्छ ।

नेपाल जस्ता छिमेकीबाट के चाहेको रहेछ चीनले ?

विश्वको प्रमुख शक्ति बन्ने तयारीमा चीन रहेको हुनाले छिमेकमा पनि लडाइँ, झगडा गरेर होइन, दलहरू मिलेर अघि बढुन् भन्ने चीनको चाहना छ । सबै छिमेकी राष्ट्रसँग, एसियाली राष्ट्रसँग चीनले अझै हातेमालो बढाइरहेको छ । सबैको एकता, सबैसँग सहकार्य होस्, एकअर्कालाई सहयोग बढोस् भन्ने उनीहरूको चाहाना छ । आर्थिक विकासका माध्यमबाट शक्ति आर्जन गर्ने उनीहरूको मुख्य नीति छ अहिले । त्यसैले सबै छिमेकीलाई, एसियाभरका मान्छेलाई चीनले बोलाएर सम्मेलन गरेको हो ।

नेपाली नेतालाई चीनले केही सन्देश दियो कि ?

पूर्वराष्ट्रपतिमार्फत् कुनै व्यक्तिलाई ठोस सन्देश चीनले दिएको छैन । आमरुपमा, नीतिगत रुपमै चीनले सबै दललाई सन्देश दिएको हो । कुनै व्यक्तिमा केन्द्रित गरेर चीनले नेपाललाई सन्देश दिएको छैन । नेपालमा सिंगै वामपन्थी आन्दोलनको एकताको आवश्यकता छ, त्यसका लागि लाग्नुस् भनेको छ । कम्युनिस्टहरू जुट्नुस् भनेको छ । तपाईंलाई यसमा शुभेच्छा छ भनेको छ ।

बीआरईबारे पनि कुरा त पक्कै भयो होला ?

बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना त उनीहरूको ग्लोबल इनिसियटिभ हो । त्यसअन्तर्गतको सबैभन्दा ठूलो र महत्वपूर्ण परियोजना बीआरआई हो । बीआरआई भनेको आजको योजना होइन, यो त रेशम मार्ग हुँदादेखिको हो । रेशम मार्ग सुरुवात भएको छाङकान भन्ने ठाउँबाट सुरू भएको हो । शिल्क रोड छाङकानबाटै सुरू भएकाले पूर्वराष्ट्रपतिज्यूलाई त्यहाँको महत्व बुझाउन चीनले घुमाएको हो । उनीहरूको उच्च प्राथमिकताको अन्तर्राष्ट्रिय विकास परियोजना हो । विभिन्न राष्ट्रका आ–आफ्ना सभ्यता हुन्छन् । उनीहरूले त्यो आफ्नो पुरानो परियोजना शिल्क रोडको महत्व बुझाउन खोजेका छन् । शिल्करोड त्यसबेला युरोपसम्मै थियो । त्यसलाई चीनले नयाँ ढंगले अघि बढाउन खोजेको छ । त्यो उनीहरूको ड्रिम प्रोजेक्ट हो । त्यसबाट प्राप्त हुने उपलब्धि सबै देशले लियून भन्ने उसको चाहना छ । त्यो त युरोपसम्मै पुग्छ । त्यसमा उनीहरूको उच्च प्राथमिकता छ ।

नेपालको सन्दर्भमा के कुरा उठ्यो ?

नेपालले पनि बीआरई अन्तर्गतका १० वटा योजनाहरू फ्रेमवर्कमा छानिसकेको छ । त्यसको पनि कार्यान्वयन हुनुपर्छ भन्ने सन्देश चीनले यस पटक दिएको छ । त्यसबारेमा हाम्रो पूर्वराष्ट्रपतिज्यूले सम्मेलनमै कुरा राख्नु भएको छ । नेपाल र चीनबीच भएका सहमति, सम्झौता र सहकार्य आदानप्रदानलाई व्यवहारिक रुपमा कार्यान्वयनको पाटोमा उनीहरूको पनि गहिरो रुचि र चासो छ । मुख्य रुपमा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि गरिएका सम्झौताको कार्यान्वयनबारे पनि कुरा भएको छ ।

अनि कांग्रेस र एमाले मिलेर बनेको सरकारबारेमा केही कुरा भयो कि भएन ?

त्यस्तो कुरामा उनीहरूको सरोकार छैन । चिनियाँहरू त्यति तलसम्म झरेका छैनन् । उनीहरू नेपालमा सबै पार्टीहरू मिलेर बनेको बलियो सरकार चाहान्छन् । समग्रमा नेपालमा राजनीतिक स्थायित्व भएर राज्य बलियो भएको हेर्न चाहान्छन् ।

भनेपछि चीनले नेपालमा राजनीतिक स्थायित्व खोजेको हो ?

तपाईंले माथि भने जस्तो कुन दल कोसँग मिले मिलेनन् भन्नेमा उनीहरूको गहिरो अभिरुचि छैन । त्यो ढंगले कुरा भएको पनि छैन । तर सीमा जोडिएको छिमेकमा उनीहरू मुख्य रुपमा राजनीतिक स्थायित्व चाहान्छन् । पार्टीको कुरामा उनीहरू प्रवेश गर्दैनन्, उनीहरूसँग सम्बन्धित विषय पनि होइन त्यो । नेपालबाट गएको टोलीले पनि त्यस्तो कुरा गरेन ।

उनीहरूको शुभेच्छा चाहिँ कम्युनिस्ट एकता हो ?

हो, उनीहरूले नेपालमा कम्युनिस्टहरू, वाम दलहरू मिलेर जाऊन् भन्ने चाहेका छन् । त्यो पनि उनीहरूको शुभेच्छा मात्रै हो । कम्युनिस्ट पार्टीकै नेतृत्वमा राज्य चलाइरहेको एउटा छिमेकीले नेपालमा पनि कम्युनिस्ट मिलून् भन्नु स्वभाविक हो ।

चीनलाई पनि कम्युनिस्टसँग काम गर्दा सजिलो होला नि ?

उनीहरूले त्यही चाहेका छन् । कम्युटिस्ट भएकाले नेपालमा सहकार्य गर्न पनि कम्युनिस्टसँगै सजिलो हुने उनीहरूको ठम्याई अनुसार एकताको शुभेच्छा व्यक्त गरिएको हो ।

एमाले र यसको नेतृत्वबारे केही कुरा भयो कि?

एमालेभित्रको कुरासँग त सरोकारको विषय नै भएन । उनीहरूलाई एमालेभित्रको, नेपालको आन्तरिका कुरामा न हस्तक्षेप नै गर्ने मनासय छ न चासो नै छ । उनीहरूले नेपालमा चाहेको भनेको राजनीतिक स्थायित्व हो । त्यो तहसम्म उनीहरू झर्दै झर्दैनन् । कुरा हुने सवाल नै आउँदैन नि ।

विद्या भण्डारी राष्ट्रपति हुँदा सी चिनफिङसँग टेलिफोन सम्वादबाट मिलेको सहयोग पनि महत्वपूर्ण थियो नि ?

त्यही त, उहाँलाई चीनले दिएको सम्मान, आदर र सत्कार त उदाहरणीय नै छ नि ।

यस पटकको भ्रमणलाई के भन्ने, यो कस्तो खालको सम्मान हो ?

उहाँ (पूर्वराष्ट्रपति) लाई चीनले नेपालको एउटा विशिष्ठस्तरको नेताका रुपमा सम्मान गर्‍यो । त्यो अनुसारको व्यवहार गर्‍यो । चीनले ‘हाई लेभल डेगिगेशन’ भनेर लेखेकै छ नि ।

भेटघाट नि ?

भेट त धेरै जनासँग भयो । उपराष्ट्रपतिसँग भयो । विदेश विभाग प्रमुखसँग भयो । राष्ट्रपति सी चिनफिङको प्रत्यक्ष संवादअनुसार नै उक्त भेटघाट भएको हो । भेटघाट बेइजिङमा भयो, चाङसुमा भयो, छाङकानमा पनि भयो ।

पूर्वराष्ट्रपतिले के सन्देश दिनुभयो त ?

उहाँले ६० देश सम्मिलित कान्सुमा आयोजित ‘आधुनिक विकासमा सभ्यतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’मा सम्बोधन गर्नुभयो । जहाँ नेपाल र चीनबीचको मित्रताको गहिरो सम्बन्धको व्याख्या गर्नुभएको छ । चीन नेपालको एक असल मित्रका रुपमा रहेकाले यस सम्बन्धलाई अझै मजबुत बनाउनुपर्ने उहाँको जोड थयो ।

पूर्वराष्ट्रपतिको यो भ्रमणले नेपालमा कम्युनिस्ट एकताको सम्भावना देख्नु हुन्छ ?

त्यो त अब हाम्रो आन्तरिक कुरा भयो । त्यो सबै कुरामा हाम्रा पार्टीहरूले उचित कदम चाल्नुपर्छ, निर्णय लिन सक्नु पर्छ । चीनको शुभेच्छा भनेको नेपालका वाम दल मिलुन् भन्ने हो ।

एमालेको लिगेसी भएकाहरू एक ठाउँमा आउने सम्भावना छ ?

हिजो पनि नेताहरू एक ठाउँमै हुनु हुन्थ्यो नि । अनेक कारण, निजी स्वार्थले, व्यक्तिगत टकरावले, पदको लोभले उहाँहरू छ । हाम्रा कम्युस्टि पार्टीका नेताहरू स्वार्थबाट टाढा जान सक्नुपर्छ, त्यसबाट माथि उठ्न सक्नुपर्छ । र, प्रतिष्ठाको लडाइँ छाड्न सकेमा मिल्ने सम्भावना छँदैछ ।

व्यक्तिगत कारणले फुटेका छन् नि यहाँ त ?

हो, हाम्रो समस्या त्यही हो, व्यक्तिगत स्वार्थ त्यागेर वैचारिक र राजनीतिक बहस र छलफल गरेका दिन मिल्ने सम्भावना हुन्छ नै।

पूर्वराष्ट्रपतिज्यूले यसमा केही पहलकदमी लिन सक्ने हुन सक्ला ?

होइन, त्यो त उहाँले लिन्छु भन्नु भएकै छ नि, लिइरहनु भएको पनि छ । नेपालको कम्युनिस्ट पार्टीको एउटा नेता भएका हैसियतले उहाँले कोसिस गरिरहनु भएको छ । यो भनेको त हरेक मान्छेको दायित्व हो । कम्युनिस्ट पार्टीमा लागेको एउटा नेताले यहाँको कम्युनिस्ट आन्दोलन फुटेको, छिन्नभिन्न भएको देखेको छ। कुनै बेला समाप्तिकै बाटोमा थियो । यस्तो अवस्थामा कम्युनिस्टलाई एक ठाउँमा ल्याउने भूमिका हरेक कार्यकर्ताको हुन्छ नि ।

तपाईंले कम्युनिस्टको समस्या र विभाजनबारे वैचारिक बहस पनि गरिरहनु भएकोले केही भूमिका त होला नि?

हामीले विचारधारात्मक बहस गर्नु र गराउनुपर्छ । यो हाम्रो दायित्व हो । साझा दायित्व हो । त्यसमा आग्रहमुक्त भएर वैचारिक, राजनीतिक छलफल सुरुवात गर्नुपर्छ ।

यहाँका पार्टीले छिमेकीको शुभेच्छा पनि बुझ्नुपर्‍यो होइन त ?

हो, छिमेकीले यहाँ स्थायित्व चाहान्छन् । त्यसैले हामीले त्यसका लागि पनि एक हुनुपर्ने अवस्था छ ।

एकता कसरी होला त ?

नीतिमा, विचारमा हो कि केमा हो, पदमा नमिलेर हो कि ? नेपालमा त पद नमिलेर फुटेका छन् । नीति विचार मिलेका दिन त्यो त्यो गौण हुन्छ ।

भनेपछि हाम्रा नीति होइन, व्यक्तिकेन्द्रित भएर फुटे ?

हो, व्यक्तिकेन्द्रित हुँदा समस्या भयो । स्वार्थकेन्द्रित भएर, पद नमिलेर कुरा बिग्रियो । नेता हामीकहाँ ठूला ठूला छन् । त्यसैले एकै पार्टीमा बस्दा पद पनि मिल्दैन । सम्झौता गरेर बस्नुपर्छ ।

कसरी मिल्ने त?

हामीले अब फराकिलो ढंगले सोच्नुपर्छ । भनेको पद पाइएन भनेर पार्टी फुटाउनु त भएन नि । आन्दोलनको हित हेर्ने हो भने पदमा केन्द्रित हुनु भएन । जुन जुन पार्टी अहिले जहाँ छन्, तिनीहरूबीच एकता भयो भने त सबै महासचिव हुँदैनन्, कसै न कसैले सम्झौता गर्नैपर्छ ।

०८४ सम्म कम्युनिस्ट मिल्ने सम्भावना देख्नु हुन्छ ?

मिल्नुपर्छ, पार्टी नै मिलाउने कि, कार्यगत एकतामात्रै गर्ने कि, जसरी हुन्छ मिल्नुपर्छ । जेजे गरे हुन्छ, नेपालको वामपन्थी आन्दोलनलाई एकता गरेर जानुपर्छ भन्ने विचारमा म दृढताका साथ अडिग छु ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ३ : २५ बजे

कैलाश मानसरोवर दूरदर्शन सुरु

हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश

माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठक

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण गरिँदै

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती

तनहुँ– तनहुँको घिरिङ गाउँपालिका– ४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब

क्रिकेट खेलाडीलाई प्रधानमन्त्री ओलीको बधाई 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय