काठमाडौं– नारायहिटी हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश मासिएपछि कागतालीले राजसिंहासनमा बसेका ज्ञानेन्द्र शाहलाई फेरि राजगद्दीमा बसाल्न प्रयासरत राजावादी समूह तत्कालीन युवराजधिराज दीपेन्द्र शाहलाई मुख्य दोषी करार गर्न उद्दत देखिएको छ ।
राजा वीरेन्द्रको वंश मासिने गरी भएको दरबार हत्याकाण्डको षड्यन्त्र पर्दाफास हुन नसकेकै कारण आजका दिनसम्म पनि घटनामाथि आशंका यथावत छ । यो अवस्थामा राजावादी समूहले दीपेन्द्रलाई हत्यारा करारको प्रयास गरेको हो ।
नारायणहिटी दरबार हत्याकाण्डको २४ वर्षपछि सोमबार राजावादी समूहले काठमाडौंको कमलादीस्थित गणेश मन्दिर परिसरमा ‘श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रम’मा दरबार हत्याकाण्डमा मारिएका दीपेन्द्रबाहेक सबै सदस्यको तस्बिर राखेको थियो ।
०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह, अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाहको सामूहिक हत्या भएको थियो । उक्त हत्या प्रकरणमा दीपेन्द्रलाई दोषी देखाउने गरि राजावादीले उनलाई श्रद्धाञ्जलीसमेत दिएनन् । श्रद्धाञ्जलीस्वरुप दीप बाल्न कमलादीस्थित मन्दिरमा पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र पनि पुगेका थिए ।
दरबार हत्याकाण्डको राति घाइते अवस्थामा फेला परेका युवराज दीपेन्द्र र राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्रलाई तीन दिनपछि वीरेन्द्र सैनिक अस्पतालले मृत घोषणा गरेको थियो । राजपरिवारका सदस्य सहभागी रात्रिभोजमा भएको हत्याकाण्डको सत्य–तथ्य आजसम्म पनि सार्वजनिक हुन सकेको छैन ।
राजा वीरेन्द्रको वंश मासिने गरी भएको दरबार हत्याकाण्डको षड्यन्त्र पर्दाफास हुन नसकेकै कारण आजका दिनसम्म पनि घटनामाथि आशंका यथावतै छन् । राजसंस्था इतिहास बनिसक्दा पनि नारायणहिटी दरबारकाण्डको यथार्थ जनताले थाहा पाउन सकेका छैनन् ।
दरबार हत्याकाण्ड पत्ता लगाउन गठन भएको उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनप्रति अहिले पनि धेरैले विश्वास गर्न सकेका छैनन् । हत्याकाण्डको छानबिन गर्न जेठ २२ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गरेका थिए ।
यो पनि : राजा वीरेन्द्रका परिवारको सम्झनामा दीप प्रज्वलन, पुगे हिमानी र हृदयन्द्र (तस्बिरहरू)
समितिले जेठ २७ गतेबाट कार्यआरम्भ गरेको थियो । समितिले जेठ ३२ गते छानबिन प्रतिवेदन राजा ज्ञानेन्द्रसमक्ष बुझाएको थियो । उक्त प्रतिवेदनलाई समिति सदस्य (तत्कालीन सभामुख) तारानाथ रानाभाटले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए ।
प्रधानन्यायाधीश उपाध्याय नेतृत्वको उच्चस्तरीय छानबिन समितिको छानबिनका क्रममा खुल्न आएको तथ्यभन्दै प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदनमा समितिले तत्कालीन युवराज दीपेन्द्रले नै नारायणहिटी राजदरबारमा शाही परिवारका नौ जनाको हत्या गरेको कहीँ पनि किटान गर्न सकेको छैन । बरु प्रत्यक्षदर्शी र सुरक्षाकर्मीको भनाइलाई नै दीपेन्द्रको संलग्नता रहेको पुष्टिको आधार बनाइएको छ ।
तर, ‘छानबिनका क्रममा बुझिएका मानिसहरूवाट खुल्न आएको तथ्यका सन्दर्भमा बुझ्न आवश्यक देखिएका मानिसहरूसँग बुझ्ने, सोधपुछ गर्ने एवम् सम्बन्धित ठाउँहरूबाट आवश्यक रेकर्ड कागजात झिकाउने समेतका कार्यहरू गरी छानबिनबाट निम्न वमोजिमको तथ्य खुल्न आएको छ’ भनेर उल्लेख गरेको छ ।
नारायणहिटी राजदरबारमा गत ०५८ जेष्ठ १९ गतेको घटना छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा घटनाको विवरण यसरी लेखिएको छ :

घटनाको यथार्थ विवरण
नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते शुक्रबार राति घटेको घटनाको यथार्थ तथ्य संकलन गर्ने क्रममा यस उच्चस्तरीय समितिबाट घटनास्थलको अवलोकन, भौतिक चीज वस्तुको संकलन र वैज्ञानिक परीक्षण, घटना प्रत्यक्ष रूपमा देख्ने, घटनाबाट पीडित, एवम् शाहीरक्षकहरू लगायतका उद्धारकार्यमा संलग्न व्यक्तिहरू, उपचारकार्यमा संलग्न चिकित्सकहरू लगायतका व्यक्तिहरूसँग सोधपुछ गर्ने कार्य गरियो ।
यसका अतिरिक्त छानबिनका क्रममा बुझिएका मानिसहरूवाट खुल्न आएको तथ्यका सन्दर्भमा बुझ्न आवश्यक देखिएका मानिसहरूसँग बुझ्ने, सोधपुछ गर्ने एवम् सम्बन्धित ठाउँहरूबाट आवश्यक रेकर्ड कागजात झिकाउने समेतका कार्यहरू गरी छानविनबाट निम्न वमोजिमको तथ्य खुल्न आएको छ :
१. नारायणहिटी राजदरबारमा हरेक महिनाको तेस्रो शुक्रबार राती नियमित रूपमा पारिवारिक जमघटको आयोजना गर्ने परम्परा रहेअनुसार २०५८ जेठ १९ गते शुक्रबार पनि जमघटको आयोजना भएको पाइयो ।
नारायणहिटी राजदरवारको त्रिभुवन सदनमा आयोजना गरिएको सो जमघटमा श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव यसपछि श्री ५ महाराजाधिराज भनिएको, श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवीशाह । यसपछि श्री ५ बडामहारानी भनिएको, श्री ५ मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह । यसपछि श्री ५ मुमा बडामहारानी भनिएको, श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाह (यसपछि श्री ५ युवराजाधिराज भनिएको), श्री ५ अधिराजकुमार निराजन वीर विक्रम शाहका अतिरिक्त राजपरिवारका अन्य सदस्यहरू एवं शाही नातेदारहरू गरी २४ जनालाई राती ७ः३० बजे आमन्त्रण गरिएकोमा आमन्त्रितमध्ये श्री ५ अधिराजकुमारी पे्रक्षा राज्यलक्ष्मी देवी शाह, कुमार श्री मोहनबहादुर शाही र राजकुमारी विमला सिंह गरी ३ जना बाहेक अन्य सबैको उपस्थिति रहेको तथ्य श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयको २६ जेठ २०५८ को पत्रबाट खुल्न आएको छ । आमन्त्रित पाहुनाहरूको नामावली अनुसूचीमा समावेश गरिएको छ ।
२. उल्लिखित जमघट कार्यक्रम आयोजना गरिएको स्थान श्री ५ युवराजाधिराजको खोपी रहेको बंगला त्रिभुवन सदनमा राती ७ः३० बजेभन्दा अगाडि नै सर्वप्रथम श्री ५ युवराजाधिराज उपस्थित भएको तथ्य शाही पाश्र्ववर्ती गजेन्द्र बोहरासमेतको भनाइबाट पुष्टि भएको छ । त्यसपछि क्रमशः आमन्त्रितहरूको आगमन भएको देखिन्छ ।
राति ८ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोटरबाट श्री ५ मुमाबडामहारानी राज हुने बंगला महेन्द्र मन्जिल सवारी भई श्री ५ मुमा बडामहारानीलाई मौसुफको मोटर आफैँले चलाई जमघटस्थान त्रिभुवन सदनमा सवारी चलाइबक्सेको देखिन आयो । श्री ५ मुमा बडामहारानी बिलियार्ड कोठाको पूर्वतर्फ सानो बैठक भनिने कोठामा श्री ५ अधिराजकुमारी हेलेन शाहसँग राजभइबक्स्यो ।
राजपरिवारका सदस्य एवं शाही नातेदारहरूको उपस्थिति भैसकेपछि अन्तमा राती करिव ८ः३० बजे श्री ५ महाराजाधिराज मौसुफको अफिसबाट सिधै त्रिभुवन सदनमा पैदल सवारी भई श्री ५ मुमा बडामहारानी सरकारको दर्शन गरिबक्सी केही समयको भलाकुसारी पछि बिलियार्ड कोठातर्फ सवारी भएको तध्य घटनाक्रमका प्रत्यक्षदर्शीहरूबाट खुल्न आयो ।
३. श्री ५ युवराजाधिराजले ७ः३० बजे त्रिभुवन सदनको बिलियार्ड कोठामा केही समय एकलै बिलियार्ड खेलिबक्सेको र त्यस क्रममा १-२ पेग निट (पानी नराखी) Famous Grouse (फेमस गर्व) ह्विस्कीसमेत पिइबक्सेको तथ्य मौसुफका एडीसी गजेन्द्र बोहरा, र शाही नातेदार महेश्वर सिंह तथा रवि शम्शेर जबरासमेतको भनाइबाट देखियो ।
श्री ५ महाराजाधिराजको त्रिभुवन सदनमा सवारी हुनुभन्दा केही समय अगाडि (करिब १०–१२ मिनेटजति अगाडि) श्री ५ युवराजाधिराज शरीर थाम्न नसकी ढलपल ढलपल गरेको देखी ह्विस्कीको असरले ही कि ? भन्ने सम्झी श्री ५ अधिराजकुमार निराजन, श्री ५ शाहज्यादा पारस, कुमार गोरख र डा. राजीवसमेत ४ जना भई श्री ५ युवराजाधिराजलाई त्रिभुवन सदनभित्र रहेको मौसुफको खोपीमा सवारी चलाएको कुरा बुझिएका प्रत्यक्षदर्शीहरूबाट खुल्न आएको छ ।
४. श्री ५ युवराजाधिराज बिलियार्ड कोठामा रहँदाकै अवस्थामा राती ८ बजेर १९ मिनेटको समयमा आफ्ना पाश्र्ववर्ती गजेन्द्र बोहरालाई चुरोट ल्याउन मोबाइल फोनबाट हुकुम भएको र हुकुम भएबमोजिम गजेन्द्र बोहराले श्री ५ युवराजाधिराजका शाही अर्दली रामकृष्ण केसीलाई आदेश गरेअनुसार निजले विशेष प्रकारको शिखर चुरोटमा गाजा र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई तयार गरिएको चुरोट बिलियार्ड कोठाको पूर्व ढोकामा गई श्री ५ शाहज्यादा पारसमार्फत् जिम्मा दिइआएको भन्ने निज रामकृष्णबाट जानकारी पाइयो ।
गाजालगायतका कालो पदार्थको व्यवस्था श्री ५ युवराजाधिराजले स्वयं गर्ने गरेको, कहाँबाट ल्याएको हुन्छ भन्ने थाहा नभएको र करिव १ वर्षदेखि आफूले त्यस्तो चुरोट बनाई दिने गरेको कुरा श्री ५ युवराजाधिराजका अर्दली रामकृष्ण केसीले समितिलाई जानकारी दिए । श्री ५ युवराजाधिराजका शाही पाश्र्ववर्ती गजेन्द्र बोहरा र राजु कार्कीसमेतबाट श्री ५ युवराजाधिराजले त्यस प्रकारको चुरोट पिउने गरिबक्सेको कुरा समिति समक्ष बताएकोले अर्दली रामकृष्ण केसीको भनाइ पुष्टि हुन आएछ ।
५. छानबिनको क्रममा केही टेलिफोनको विवरण आवश्यक भएकोले नेपाल दूरसञ्चार संस्थानबाट प्राप्त मोबाइल फोनको विवरण अनुसार २०५८ जेठ १९ गते राती ८ः१२ बजेको समयमा श्री ५ युवराजाधिराजको मोवाइल नम्बर ९८१०२१५१३ बाट नेपाल ग्यास उद्योगको नाममा दर्ता रही उषा राणालाई दिइएको मोबाइल नम्बर ९८१०२४३३९ मा एक मिनेट चौध सेकेण्ड (१ः१४) देवयानी राणासँग कुरा भएको र दोश्रो पटक देवयानी राणाले राती ८ः१९ बजे फोन नं. ०१४२३०५१ बाट श्री ५ युवराजाधिराजसँग मौसुफको मोबाइल नं. ९८१०२१५१३ मा ४ मिनेट १४ सेकेण्ड (४ः१४) कुरा भएको अभिलेखबाट देखियो ।
पुनः राती ८ः३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोवाइल नं. ९८१०२१५१३ बाट देवयानी राणालाई मोबाइल नं. ९८१०२४३३९ मा ३२ सेकेण्ड कुरा गरेको तथ्य सोही विवरणबाट खुल्न आएको छ । काडमाडौं, महाराजगञ्ज वस्ने निज देवयानी राणासँग श्री ५ युवराजाधिराजको घनिष्ट सम्बन्ध रहेको तथ्य शाही पाश्र्ववर्तीहरु गजेन्द्र बोहरा र राजु कार्की तथा श्री ५ युवराजधिराजको मित्र सुप्रिया शाहको भनाइबाट खुल्न आएको छ ।
श्री ५ युवराजाधिराज र देवयानी राणाका बीच सम्पर्क रहेको तथ्य देवयानीका मातापिता स्वयंले समिति समक्ष सोधपुछका क्रममा उल्लेख गर्नुभयो । देवयानी राणालाई समितिले बुझ्न खोज्दा उपचारको क्रममा निज भारतमा रहेको बुझिएकाले भारतस्थित शाही नेपाली राजदूत डा. भेषबहादुर थापालाई समितिको तर्फबाट अख्तियार गरिए बमोजिम देवयानी राणालाई बुझ्दा (निजको आवाज अंकित टेप रिकर्डअनुसार) पनि श्री युवराजाधिराज र देवयानी राणाका बीच घनिष्ठता रहेको पुष्टि भएको छ ।
६. देवयानी राणाले श्री युवराजाधिराजको कुरा आफ्नो व्यक्तिगत विषय भएकोले त्यसबारे बताउन नचाहेको र राति ८.२५ बजे कुरा भइरहेको समयमा श्री ५ युवराजाधिराजको स्वर लड्बराइ रहेको जस्तो लागेकोले सरकासँग अरू कुरा हुन नसकेको कारणले ‘श्री ५ युवराजाधिराजको स्वर अलि लड्बराइ राखेको छ अलि सञ्चो छैन कि ? भनी श्री ५ युवराजाधिराजको पाश्र्ववर्ती गजेन्द्र बोहरालाई अफिसमा र राजू काकीलाई निजको घरमा फोन गरेर खोपीमा गई हेर्न आग्रह गरेकी हुँ भनी उल्लेख गरेको पाइयो ।
७. देवयानी राणाले श्री ५ युवराजाधिराजको पाश्र्ववर्ती गजेन्द्र बोहरालाई फोन परेपछि र राजु कार्कीले गजेन्द्र बोहरालाई फोनबाट सो सम्बन्धी समाचार दिएपछि गजेन्द्र बोहराको आदेशानुसार श्री ५ युवराजाधिराजको अर्दली रामकृष्ण केसी र द्वारे आमा जमुना अधिकारी श्री ५ युवराजाधिराजको खोपीमा पुग्दा श्री ५ युवराजाधिराज भुयामा पल्टिराखिबक्सिेको र शरीरको माथिल्लो कपडा फुकाल्न खोजी बसेको देखी सो कपडा फुकाल्न निजहरूले सहयोग गरेको र कपडा फुकाली सकेपछि श्री ५ युवराजाधिराज बाथरूम सवारी होइबक्सेको, बाथरुमभित्र वाकवाक गरिबक्सेको आवाज जमुना अधिकारीसमेतले सुनेको र बाथरूमबाट निस्किबक्सेपछि श्री ५ युवराजाधिराजने ती दुवैजनालाई सुत्न आ–आफ्नो कोठातिर जानूभनी हुकुम भएको भन्ने द्वारेआमा र अर्दली रामकृष्ण केसीको कथन रहेको छ ।
८. राति ८.३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोबाइल फोन नं. ९८१०२१५१३ बाट देवयानी राणालाई ९८१०२४३३९ नं. को मोवाइलमा ३२ सेकेण्ड कुरा गरिबक्सेको दूर सञ्चारको अभिलेखबाट देखिएकोमा सो कुरालाई देवयानी राणाले स्वीकार गरी श्री ५ युवराजाधिराज सरकारबाट ‘अब म सुत्न लागेँ, ‘गुड नाइट, भोलि कुरा गरौँला’ भनीबक्सेको भन्ने निजको कथन रहेको छ ।
९. देवयानी राणासँग फोन सम्पर्क गरिबक्से पश्चात् श्री ५ युवराजाधिराजबाट सैनिक कम्ब्याट पोशाक पहिरी हात–हतियारसमेत लिई खोपी बाहिर निस्किबक्सिदा श्री ५ युवराजाधिराजको अर्दली रामकृष्णले देखी श्री ५ युवराजाधिराजको बाहिर सवारी हुने रहेछ क्यार भन्ने ठानी ‘इमर्जेन्सी ब्याग टक्रयाएँ सरकार’ भनी जाहेर गर्दा श्री ५ युवराजाधिराजबाट ‘पर्दैन अहिले’ भन्ने हुकुम भएको भन्ने अर्दली रामकृष्णको कथन रहेको छ ।
यो पनि : बिलियार्ड कक्षको त्यो चिच्याहट- ‘डाक्टर चाँडो बोलाऊ…’
१०. श्री ५ युवराजाधिराज कम्ब्याट सैनिक पोशाकमा दुईतर्फ राइफल र १२ बोर भिरिबक्सी बिलियार्ड कोठातर्फ प्रवेश गरिबक्सेको बिलियार्ड कोठासँगै जोडिएको डाइनिङ कोठाको पूर्वपट्टिको बैठकवाट ब्वाइज बच्चुराम केसीले देखेको भन्ने निजको कथन रहेको छ ।
११. श्री ५ युवराजाधिराज सैनिक कम्ब्याट पोशाकमा बिलियार्ड कोठामा प्रवेश गरिबक्सी कालो रङ्गको बन्दुक (9mm. Caliber MP–5K Automatic Sub–machine Gun) द्वारा कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फाएरिङ्ग गरेपछि तत्काल बिलियार्ड टेबुलको पूर्व छेउमा उभिएर अरुहरूसँग कुरा गरिबक्सेको अवस्थामा श्री ५ महाराजाधिराजलाई भटटट फायर गरी पछाडि सर्दै बिलियार्ड कोठा बाहिर निस्की सो कोठाको पूर्वतर्फ भित्री बगैचाको छेउकै उत्तरतर्फ झ्याङ्ग नजिक १२ बोरको बन्दुक (SPAS 12–L FRENCH SPA) फ्याँकी पुनः भित्र बिलियार्ड कोठामा प्रवेश गरी बत्ती र टेलिस्कोपसहितको राईफल (5.56mm Caliber Colt M–16 A2) सोझ्याउँदै आएर भटटट पार्दै पुनः श्री ५ महाराजाधिराज एवं कुमार गोरख शम्शेर राणा, श्री वीरेन्द्र शाह र कुमार विक्रम शाह समेतलाई फायरिङ्ग गरी पछाडि सर्दै ढोकामा पुगी पुनः अगाडि बढेर तेस्रो पटक श्री अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह र श्री ५ शाहज्यादी जयन्ती शाहलगायत अन्यलाई लाग्ने गरी जथाभावी पररर फायरिङ्ग गरी श्री ५ युवराजाधिराज बिलियार्ड कोठाबाट बाहिर पूर्वतिरको भित्री बगैचातर्फ पछाडि सर्दै गइबक्सेको भन्ने व्यहोरा घटनास्थलमा उपस्थित श्री ५ अधिराजकुमारी शोभा, श्री ५ शाहज्यादा पारस, कुमार गोरख, केतकी चेष्टर, रवि शम्शेर, डा. राजीव शाही, महेश्वरकुमार सिंह समेतको भनाइ रहेको छ ।
१२. बिलियार्ड कोठामा तेस्रो पटक अन्धाधुन्द फायरिङ्ग गरेपरचात् पछाडि सर्दैसर्दै पूर्वतर्फको भित्री बगैचातिर जाँदा रातो सारी पहिरिएको महिलाको आकृतिले पनि त्यसतर्फ खेद्दै गरेको दृश्य बिलियार्ड कोठासँग जोडिएको उत्तरतर्फको डाईनिङ्ग रुमबाट ब्वाइज शान्तबहादुर खड्कासमेतले देखेको भनी निजले बताएको पाइयो ।
बिलियार्ड कोठाबाट पूर्व भित्री बगैचामा जाने बाटो हुँदै सो बगैचाको उत्तर त्रिभुवन सदन खोपीतर्फ जाने बाटो र पूर्वतर्फ रहेको प्रतीक्षास्थल (सेड) मा जाने सानो बाटोको संगम जस्तो ठाउँमा श्री ५ बडामहारानीको पछाडि पछाडि श्री ५ अधिराजकुमार निराजन सवारी भएको भन्ने श्रीमती केतकी चेष्टरसमेतको भनाइ रहेको र सोही ठाउँमा रहेको नीलकाँडाको झ्याङ नाघी सानो चौरमा उभिएर दक्षिण मोहडा गरी उत्तरबाट दक्षिणतर्फ गोली चलेको त्यहाँ प्राप्त भएको गोलीको खोकाको स्थिति र दक्षिणतर्फको भित्तामा रहेको गोली लागेको प्वालहरू समेत घटनास्थलको अवलोकनबाट देखिएको र सो ठाउँमा नै श्री ५ अधिराजकुमार निराजन पूर्वतर्फ टाउको परेर ढलिबक्सेको अचेत अवस्थामा देखिएको भन्ने उद्धार गर्न आएका सेनानी विष्णु खड्कासमेतले त्यहाँबाट बोकी बाहिर ल्याई मोटरमा राखी अस्पताल पु¥याएको भन्ने पाइयो ।
१३. बिलियाई कोठामा भएको फायरिङ्गपश्चात् त्रिभुवन सदनको मूल ढोकाको दाहिने पट्टिको एडीसी अफिसको भित्री कोठामा रहेका शाही पाश्र्ववर्तीहरू फायरिङ्गको आवाज र ‘डाक्टर चाँडो बोलाऊ….’ भन्ने आवाज सुनी भित्र गई बिलियाई कोठाबाट चाँडो उद्वार गर्न सो कोठाको दक्षिणतर्फको साथै बन्द रहने गरेको ढोकाको सिसा फुटाएर शाही पाश्र्ववर्ती महासेनानी सुन्दरप्रताप रानासमेत भित्र प्रवेश गरी श्री ५ महाराजाधिराज सरकारलाई अचेत अवस्थामा बाहिर बोकेर ल्याई मोटरमा राखी सैनिक अस्पताल छाउनी लगेको भन्ने शाही पाश्र्ववर्तीहरूको कथन रहेको देखिन्छ ।
१४. श्री ५ युवराजाधिराजको खोपीतर्फ जाने सानो पोखरीको पुलबाट उत्तर लागी माथि तलाको खोपीतर्फ जाने मुख्यद्वार हुँदै भित्री भर्याङ्गको सातौं खुड्किलोमा श्री ५ बडामहारानीलाई खोपीमा पुग्ने ठाउँको भर्याङ्गको माथिल्लो भागमा रहेको ल्याण्डिङ्ग एरियाबाट फायरिङ भई श्री ५ बडामहारानी ढलिबक्सेको भनिएको सो ठाउँमा गिदी बाहिर निस्की छरपष्ट भएको, केही दात र बंगारासमेत झरी छरिएर यत्रतत्र रहेको, रातो टीका, दुईवटा कानको रातो टप, रातो चुराको टुक्राहरू रहेको, रगतको छिर्काहरू ठाउँठाउँमा लागेको एक किसिमको रगतको खोलै बगेको स्थिति घटनास्थलको अवलोकनबाट देखिएको छ ।
१५. श्री ५ युवराजाधिराज राज हुने त्रिभुवन सदन (जहाँ श्री ५ युवराजाधिराजको खोपी छ) अगाडिको बगैचाको स–साना पोखरीको सानो पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वारघ्वार आवाज निकाली रहेको अवस्थामा श्री ५ युवराजाधिराजलाई भेटिएको भनी उद्धारकर्मी सेनानी विष्णु खड्का एवं शाही पाश्र्ववर्तीसमेतले समितिसमक्ष जानकारी गराएको देखिन्छ ।
श्री ५ युवराजाधिराजको साथमा रहने गरेको भनिएको 9mm. Caliber Glock Ges. पिस्तोल र खोकासमेत पूर्वपट्टिको पोखरीको पानीमा रहेको घटनास्थलको अवलोकन गर्दा पाइएको छ । 5.56 Caliber M–16 A2 राइफल पनि सोही स्थानको पश्चिमपट्टि रहेको सानो चौरमा रहेको घटनास्थल अवलोकनको क्रममा पाइएको छ ।
१६. उपर्युक्त बमोजिमको बिलियार्ड कोठा र सो कोठाको पूर्वी बगैचा एवं खोपीमा जाने भर्याङ्गमा भएको घटना पश्चात् शाही पाश्र्ववर्तीहरू एवं अन्य सुरक्षाकर्मीहरूले उदार गरी श्री वीरेन्द्र सैनिक अस्पताल छाउनीमा पुर्याएकोमा अस्पताल पुर्याउँदाको समय र अवस्थाको सम्बन्धमा यस समितिमा देहाय बमोजिमको जानकारी प्राप्त भएको देखिन्छ :

(क) श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव राति ९ : १५ बजे वीरेन्द सैनिक अस्पताल पुर्याएँदा मृत घोषित ।
(ख) श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह राति ९ : १५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएँदा मृत घोषित ।
(७) श्री ५ अधिराजकुमार निराजन वीर विक्रम शाह राति ९ : १५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
(घ) श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मीदेवी राणा राति ९ : २० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र ९ :५५ बजे अस्पतालमा मृत घोषित ।
(ङ) श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह राति ९ : ३५ बजे वीरेन्द सैनिक अस्पताल पुर्याएँदा मृत घोषित ।
(च) श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह राति ९ : ३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएँदा मृत घोषित ।
(छ) श्री ५ शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह राति ९ : ३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
(ज) श्री कुमार खड्गविक्रम शाह राति ९ : ३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
(झ) श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाह २०५८/२/१९ राति ९ : २४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र २०५८/२/२२ गते सोही अस्पतालमा बिहान ३ :४५ बजे मृत घोषित ।
(ञ) श्री धीरेन्द्र शाह २०५८/२/१९ राति ९ : २४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र २०५८/२/२२ गते बेलुकी ५ : ५७ बजे सोही अस्पतालमा मृत घोषित ।
१७. माथि उल्लेख गरिएका १० (दश) जनाबाहेक सो घटनामा परी अन्य कोही कसैको मृत्यु भएको भन्ने कहीँ कतैबाट खुल्न आएको देखिएन ।
१८. घटनाबाट पीडित घाइतेहरू वर्तमान श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शोभा राज्यलक्ष्मी शाही, कुमार गोरख शम्शेर ज.ब.रा. र श्रीमती केतकी चेष्टरलाई गम्भीर घा (घाउ) चोट लागेको तथ्य अस्पतालबाट प्राप्त घा चोट विवरणबाट देखिन्छ ।
१९. श्री ५ युवराजाधिराजलाई घटनाको तत्काल पछि उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएकोमा सो अस्पतालबाट प्राप्त २०५८/२/२८ को पत्रअनुसार कालो आर्मी बुट, आर्मीको क्याम्पफलाईज (कम्ब्याट) ज्याकेट, पाईण्ट, छालाको कालो पञ्जा, कालो मोजा र क्याम्पफलाईज भेष्ट लगाएको अवस्थामा रहिबक्सेको उल्लेख भएको छ ।
सो कपडा, पञ्जा, जुत्ताआदि र वेव बेल्टसमेत समितिले झिकाई अवलोकन गरेको र सोमा लागेको रगत र पहेँलो पहेँलो पदार्थको प्रयोगशालामा परीक्षण गराएंदा ‘बी’ समूहको रगत भन्ने विशेषज्ञको राय प्राप्त भएको छ । मृतकहरू मध्ये श्री ५ बडामहारानी तथा श्री ५ युवराजाधिराजको रगत समूह पनि ‘बि’ रहेको पाइन्छ ।
२०. श्री ५ युवराजाधिराजलाई उपचारका लागि अस्पताल पुर्याउँदा पञ्जा लगाएको अवस्थामा पुर्याइएको अस्पतालको पत्र प्राप्त हुन आएको छ । सो पञ्जा पनि समितिलाई उपलब्ध गराइएको छ । सो एकजोर पञ्जाबाहेक घटनास्थल एवं अस्पताल समेतबाट अन्य कुनै पञ्जा प्राप्त हुन सकेको देखिँदैन ।
२१. (क) 5.56mm Caliber Colt M–16 A2 बाट हतियार नम्बर A0073943 (Commando_ Automatic Rifle) प्रहार भएका ४७ वटा Cartridge Cases फेला परेको पाइयो । उक्त राइफलको क्षमता प्रति मिनेट ७०० देखि १००० गोली फायर हुन सक्ने भन्ने विशेषज्ञको रायबाट देखिन्छ ।
(२) घटनास्थलमा रहेका २९ वटा Cartridge Cases 9mm. Caliber MP-5 K automatic Sub-machine Gun बाट प्रहार भएको र उक्त बन्दुकको क्षमता प्रति मिनेट ९०० सम्म गोली फायर हुन सक्ने भन्ने विशेषज्ञको रायबाट देखिन्छ ।
(ग) घटनास्थलमा फेला परेको २ वटा Cartridge Cases 9mm. Caliber MP-5 K automatic Ges.m.b.H Pistol बाट प्रहार भएको भन्ने विशेषज्ञको रायबाट देखिएको छ । उक्त Cartridge श्री ५ युवराजाधिराजलाई उद्धारकर्मीहरूले घाइते अवस्थामा फेला पारेको भनिएको सानो पुल छेउमा रहेको पोखरीमा फेला परेको थियो ।
(घ) उपरोक्त प्रकरण (क) मा उल्लेख भएको A0073943 नं. को M16 बन्दुक शाही रक्षक सैनिक प्रहरी राजदरबारको ०५६/५/३१ को मागबमोजिम निकासी भइ शाही नेपाली सेनाको हतियार भण्डारबाट बुझिलिई राजदरबार कोतखानामा बुझाएको भनी समितिको कार्यालयमा सह–सेनानी माधव भण्डारीले बताएको । सो हतियार श्री ५ युवराजाधिराजसमेत ट्रेकिङ्गमा सवारी भैबक्सेको बेला साथमा लिइ सवारी भएको । श्री ५ युवराजाधिराज सरकारले चाहिबक्सेको बेलामा राजदरबार कोतबाट सिधै पनि हतियार लिने प्रचलन रहेको व्यहोरा श्री ५ युवराजाधिराजका पाश्र्ववर्ती गजेन्द्र बोहराले सोधपुछको क्रममा उल्लेख गरेको समेत पाइयो ।
(ङ) एउटा पेस्तोल र 9mm. Caliber को बन्दुक १ समेत शाही पाश्र्ववर्ती राजदरबारबाट माग भएबमोजिम २०५३/१/२७ र २०५६/७/२८ मा निकासा भएको देखिन्छ । श्री ५ युवराजाधिराजका अंगरक्षक गजेन्द्र बोहराको अनुसार उक्त हतियारहरू श्री ५ युवराजाधिराज कै साथमा (जिम्मामा) थियो ।
(च) 9mm. G19 Glock g+= YY 334 नं. को पेस्तोल समेत २०५५/१०/२२ मा श्री ५ अधिराजकुमार निराजनका बाहुलीमा दाखिला हुने गरी कोतबाट निकासा भएको राजदरबारबाट प्राप्त विवरणबाट देखिन्छ ।
(छ) बिलियार्ड कोठामा फेला परेको 9mm. Caliber Glock पेस्तोल र Lawn को दक्षिण पश्चिम बाटो छेउकुनामा फेला परेको १२ Bore Single Barrel Shot Gun सो घटनामा fire भएको भन्ने विशेषज्ञको राय एवं फेला परेका कारतुस समेतबाट देखिन आएन ।
२२. नारायणहिटी राजदरबार त्रिभुवन सदनभित्र एडीसीको कार्यालय रहेको मूल प्रवेशद्वार र पूर्वतर्फको सानो बन्द रहेको सानो गेट बाहेक सो घटना भएको स्थानमा प्रवेश गर्ने अन्य मार्ग घटनास्थलको अवलोकनबाट प्रत्यक्षत : देखिन आएन । घटनास्थलको नक्सा स्केच यसै प्रतिवेदनको अनुसूचीमा दिइएको छ ।
२३. २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा घटेको घटनामा परी मृतक हुने सबैको मृत्युको कारण बन्दुकको गोली लागेको कारणबाट भएको कुरा वीरेन्द्र सैनिक अस्पताल छाउनीका सम्बन्धित चिकित्सकहरूको राय समेतबाट देखिएको छ ।
घटनाबाट पीडित घाइतेहरूको घा (घाउ) चोट समेत गोली लागेको कारणबाट भएको कुरा स्वयम् घाइतेहरूले सोधपुछका क्रममा उल्लेख गरेको पाइयो । वीरेन्द्र सैनिक अस्पतालबाट प्राप्त जानकारी अनुसार पनि घाइतेहरूको घाउ चोटको कारण बन्दुकको गोली लागी परेको भन्ने देखियो ।
प्रतिक्रिया