निलम्बनमा परे काठमाडौंका नगर प्रहरी प्रमुख पाण्डे | Khabarhub Khabarhub

निलम्बनमा परे काठमाडौंका नगर प्रहरी प्रमुख पाण्डे


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् ।

महानगरका प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेलाई गत जेठ ६ गते गुरागाईंले एक साताको समय दिएर स्पष्टीकरण सोधेका थिए ।

त्यसपछि पाण्डेले जेठ १२ मा गुरागाईंसमक्ष स्पष्टीकरण बुझाएका थिए। सातबुँदे स्पष्टीकरणमा पाण्डेले मेयर बालेन्द्र साहको आदेश पालना गरेको बताएका थिए ।

२०८१ चैत २१ गते गुरागाईं काठमाडौं प्लाजास्थित कार्यालय प्रवेश गर्ने क्रममा पाण्डे नेतृत्वको नगरप्रहरी बलले रोक्ने प्रयास गरेको थियो ।

गुरागाईंलाई रोक्न नसकेपछि पाण्डे नेतृत्वको नगर प्रहरीले कार्यालयभित्रै महानगरका कर्मचारीहरूमाथि बल प्रयोगको कोसिस गरेको थियो । त्यसपछि गुरागाईंले पाण्डेलाई किन कारबाही नगर्ने भनेर जेठ ६ गते स्पष्टीकरण सोधेका थिए ।

पाण्डेले प्रमुख प्रशासकीय अधिकृत नभएको बखतमा मेयरले भनेको आदेश पालना गरेको बताए पनि गुरागाईंले आफूलाई कार्यालय छिर्न रोकेको घटनामा ६ महिनाका लागि निलम्बन गरिदिएका हुन् ।

कानुनी व्यवस्था 

काठमाडौं महानगरपालिका महानगर प्रहरी सेवालाई व्यवस्थापन गर्न बनेको महानगर प्रहरी ऐन २०८० का अनुसार, महानगरपालिका प्रहरी प्रमुखको रहने वा नरहने कुरा महानगरको प्रमुख प्रशासकीय अधिकृतको हातमा निहीत छ । 

महानगर प्रहरी ऐन, २०८० मा महानगर प्रहरी गठन, रेखदेख तथा नियन्त्रणसम्बन्धी व्यवस्था छ । ‘महानगर प्रहरीको परिचालन रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ र निजको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुनेछ,’ ऐनमा भनिएको छ ।

प्रहरी ऐन २०८० को दफा ३९ मा महानगर प्रहरीलाई सजायसम्बन्धी कार्यविधि महानगर प्रहरीलाई सामान्य सजाय गर्ने अधिकार महानगर प्रहरी बल प्रमुखलाई हुनेछ ।  त्यस्तै महानगर प्रहरी उपरीक्षक र सोभन्दा माथिका अधिकृत प्रहरीलाई सामान्य सजाय गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ ।

महानगर प्रहरीलाई विशेष सजाय गर्नुपर्ने भएमा प्रमुख प्रशासकीय अधिकृतको सिफारिसमा कार्यपालिकाले गर्ने व्यवस्था छ ।

के सोधिएको थियो ?

गुरागाईंले सोधेको स्पस्ष्टीकरणमा कर्मचारीका रुपमा पालना गर्नुपर्ने आचरण तथा अनुशासनसमेत पालना नगरेको, सञ्चारमाध्ययममा अनधिकृत बयानबाजी गरेको, जनप्रतिनिधिसँग मुखमुखै लागेर अमर्यादित व्यवहार देखाएको, वतावरण शान्त पार्ने उदेश्यले दिएको आदेश पालना नगरी नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको उल्लेख थियो ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिन बाटो छेकी अवरोध गरेको जस्ता कुरा उल्लेख गरिएको थियो । महानगरका अधिकांश जनप्रतिनिधिहरु पाण्डेको व्यवहारबाट रुष्ट भएको अवस्थामा स्पष्टीकरण सोधेर निलम्बन गरिएको हो ।

सात दिनभित्र रीतपूर्वक चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न गुरागाईंले पाण्डेलाई सूचित गरेका थिए । म्यादभित्र स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही गर्ने उल्लेख भएअनुसार पाण्डे निलम्बित भएका हुन् ।

गत चैत २१ गते गुरागाईं कमलादीस्थित महानगरको कार्यकक्षमा पस्न खोज्दा पाण्डेले नगरप्रहरीको दबबल उतारेर रोक्न खोजेका थिए । मेयर बालेन्द्र साहको निर्देशनमा गुरागाईंलाई छेक्न बसेका पाण्डेलाई त्यहीबेला कारबाहीको माग भएको थियो ।

जेठ ५ गते सोमबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र मेयर साहबीच जुहारी चलिरहेको अवस्थामा मंगलबार पाण्डेलाई कारबाहीको तयारीसहित स्पष्टीकरण सोधिएको थियो ।

गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बालेन नआएको विषयमा प्रधानमन्त्रीले प्रश्न उठाएका थिए । त्यसपछि बालेनले साँझ ओलीलाई भ्रष्टहरूको नाइकेको संज्ञा दिएका थिए । उनले आफू भ्रष्टाचार घटाउन लागेका बेला भ्रष्टहरूको संयोजकको बैठकमा नजाने उनले जिकिर गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग बालेन सवाल-जवाफमा उत्रिएकै भोलिपल्ट गुरागाईंले महानगरका नगर प्रहरी प्रमुखमाथि कारबाही थालेका थिए ।

कहिले बनेका थिए नगरप्रहरी प्रमुख

काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुखमा राजुनाथ पाण्डेलाई २०८० असोज ३० मा बढुवा गरेको थियो । मेयरमा बालेन्द्र साह आइसेपछि पाण्डेले नगर प्रहरीको नेतृत्व पाएका थिए । तर उनी प्रमुख प्रशासकीय अधिकृतबाट भन्दा मेयरबाटै चल्ने गरेका थिए ।

पाण्डे ३० असोज २०८० को कार्यपालिका वैठकबाट नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका थिए । त्यसबेला एक नम्बरमा पाण्डे, दुई नम्बरमा विष्णुप्रसाद जोशी र तीन नम्बरमा दिनेश अर्यालको नाम सिफारिस भएको थियो । कार्यसम्पादन मूल्यांकन र वरियताको आधारमा पाण्डे बढुवा भएका थिए ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ४ : ३५ बजे

कुटपिटबाट घाइते किशोरको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

चितवन–  चैते धानले समर्थन मूल्य नपाउँदा चितवनका किसान चिन्तित भएका

सर्वोच्चको न्याय सम्पादनप्रति कमल थापाको गुनासो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च

कार्बाइड हालेर पकाएको आँप बजारमा, सचेत हुन विज्ञको सुझाव (तस्बिरहरू)

काठमाडौं– सिजन सुरु नहुँदै बजारमा आँप बिक्री हुन थालेको छ

कैलाश मानसरोवर दूरदर्शन सुरु

हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश