सञ्जालको व्यभिचारविरुद्ध एलिना र समीक्षाको सन्देश- आलोचना गर, गालीगलौज नगर | Khabarhub Khabarhub

सञ्जालको व्यभिचारविरुद्ध एलिना र समीक्षाको सन्देश- आलोचना गर, गालीगलौज नगर



काठमाडौं– गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्न थालेपछि वास्तवमै सुधार देखिएको छ । सरकारले समेत सामाजिक सञ्जालको नियमन गर्न नसकेको अवस्थामा उनीहरूको कार्यले केही हदसम्म नियन्त्रण गर्ने प्रयास गरेको छ । 

अभद्र टिप्पणीसहित व्यक्तिको फोटो सार्वजनिक गर्न थालेपछि भागदौड चलेको छ । पहुँच हुनेहरू नेताको फेरो समाउन पुगेका छन् । नहुनेहरूले सञ्जालमै माफी मागेका छन् । अर्कोथरि जो छ, जसलाई आफ्नो टिप्पणी अभद्र लागेकै छैन । गल्ती गरेको आभास नै भएको छैन । उनीहरू अझै पनि सञ्जालमा धम्क्याउन छोडिरहेका छैनन् । तर धम्की नै सही शब्दमा अश्लीलता लेख्न छोडेका छन् । 

आफ्नो ओछ्यानमा पल्टिएर अश्लील लेख्न सजिलो छ । तर कानुनको कठघरामा उभिन त्यति सजिलो छैन । नेपालको संविधानमा वाक स्वतन्त्रताको स्पष्ट व्यवस्था गरिएको छ । गणतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै बोल्न अथवा विरोध गर्न पाउनु हो । तर विरोध गर्ने नाममा अथवा आलोचना गर्ने नाममा कसैलाई अभद्र टिप्पणी गर्न पाइँदैन । 

अझ भनौँ विना प्रमाण र हचुवाको भरमा आरोप लगाउन पाइँदैन । त्यसमाथि चरित्रहत्या गर्ने र आत्मसम्मानमाथिको प्रहार कसैको स्वीकार्यको विषय होइन । आफूलाई चित्त नबुझेको मान्छे वा विचारमाथि मनलाई शान्ति मिल्ने गरी मनपरी अपशब्द तथा गालीगलौजमा उत्रिने अभ्यास नेपालमा आफैँमा डरलाग्दो छ । 

हो देशमा व्यापक व्यथिति, भ्रष्टाचार छ, बेरोजगारी छ । जसले गर्दा पारिवारिक बेमेललगायतका यावत समस्या नागरिकले बेहोर्नु परेको छ । त्यसले नागरिकमा नकारात्मकता पैदा गर्नु स्वाभाविक हो । तर आफ्नो असन्तुष्टि, रिस र आवेग कसैलाई गाली गरेर बिसाउनु झन् ठूलो अपराध हो । 

तपाईँ किन गाली गर्नुहुन्छ ? तपाईँको गालीको उद्देश्य के हो ? यसको उत्तर सामान्य छ । आत्मबल गिराउनु, कमजोर बनाउनु तपाईँको उद्देश्य हो । कसैलाई कमजोर बनाएर तपाईँ चैनको निद्रा सुत्न सक्नुहुन्छ भने तपाईँ सामान्य मान्छे होइन । 

उनीहरूले आफ्नो आत्मसम्मानमा ठेस पुर्‍याउने तथा अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताको कमेन्ट र फोटो आफ्नो संजालमा सार्वजनिक गरेका हुन् । धेरैले अपाच्य शब्द प्रयोग गरेर निजी जीवनमै असर गर्ने गरी कमेन्ट र म्यासेज गरेपछि एलिना र समिक्षाले यो कदम चालेका हुन् । असहिष्णु र अभद्र व्यवहार किन सहने भनेर उनीहरू जुटे । 

अहिले यी दुईले चालेको यो कदम अभियानकै रूपमा चलिरहेको छ । केहीले सेलिब्रेटी भएपछि प्रशंसा मात्रै नभएर गाली पनि आउने तर्क गरेका छन् । तर उनीहरूले सार्वजनिक गरेका टिप्पणी आलोचना नभएर अपराध हो । त्यसकारण पनि आलोचना र गालीगलौचबीचको फरक जान्न आवश्यक छ ।

हुन त, सामाजिक सञ्जालमा दुर्व्यवहारमा पर्ने यी दुई गायिका मात्रै होइनन् । अरु थुप्रै कलाकार, चलचित्रकर्मी र गायक–गायिकालाई पनि यस्तो कमेन्ट आउने गरेको देख्न सकिन्छ । कतिले यो विषयमा बोल्ने गरेका छन् भने कतिले यसमा खासै चासो दिँदैनन् । केही वर्ष अगाडि नायिका प्रियङका कार्कीले सामाजिक सञ्जालमा प्रहार गर्नेलाई जवाफ दिएकी थिइन् । 

महिलामाथि आगो ओकलेर के पाइन्छ ? भनेर उनले प्रश्न गरेकी थिइन् । तर समीक्षा र एलिनाले भने आफूहरूमाथि भएको अन्यायविरुद्ध सामाजिक सञ्जालमै लडाइँ सुरु गरे । उनीहरूलाई सार्वजनिक नै गरे । यो कदममा फिल्मकर्मी तथा कलाकारहरूले साथ दिएका छन् । साथै, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी र आम सर्वसाधारणले समेत उनीहरूको कार्यलाई समर्थन गरेका छन् ।

लेखक, निर्माता एवं अभिनेता दीपकराज गिरीले गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीको अभियानको प्रशंसा गरेका छन्– ‘यी दुईटै गायिका मलाइ मन पर्ने गायिका हुन् । त्यो मध्ये पनि समीक्षाको त म गायकीको मात्रै होइन सुरूदेखि उनको साहसको पनि प्रशंसक हुँ । सानो उमेरमा नै उनी माथि जुन बज्रपात पर्‍यो त्यो ठाँउमा जो कोही भए पनि टिक्न सक्दैनथ्यो होला तर उनले परिस्थितिसँग घुँडा टेकिनन् र लड्दै आइन् । त्यसकै फलस्वरूप आज यहाँ पुगिन् ।’ 

सामाजिक सञ्जाल कस्तो छ ? 

आफूले समाजको लागि, परिवारको लागि राष्ट्रको लागि दुईकौडिको काम नगर्ने तर जो काम गर्नेहरू छन् तिनीहरूलाई नैतिकता सिकाउने, गाली गलौज गर्ने , त यस्तो, त उस्तो भनेर अभद्रता देखाउने, चरित्र माथि औला उठाउने यस्तै चलिआएको छ  । पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार, पेशाकर्मी सबै नैतिकताहीन, चरित्र खराब, देशमा सबै अज्ञानी आफू मात्रै साधु सन्त ज्ञानी । 

आफूले समाज र राष्ट्रको लागि सिन्को नभाँच्ने । देशै खतम, नेतै खतम, केही गर्न सकिन्न यहाँ भन्ने । जतिबेला फ्रष्टेटेड कुरा गर्ने, अनि गाँउ देखि आएर संघर्ष गरेर, भोकभोकै बसेर हिम्मत नहारेर आफूलाई स्थापित गरेकाहरूलाई चाहिँ गाली गलौच गर्‍यो अनेकथरि लाञ्छना लगायो बस्यो । 

यो ठाउँमा जसले जति गाली गर्न सक्यो त्यो हिरो । चुपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहिँ खलनायक ? व्यक्तिगत जीवनमा कसको तलमाथि हुन्न ? को चाहन्छ खराब होस्, तर भइदिन सक्छ कहिलेकाहीँ । को छ यहाँ कमजोरी विहीन मान्छे ?  एउटै पेशामा भएका प्रतिस्पर्धीहरूकै संलग्नतामा पनि यस्ता गाली किन्ने र बेच्ने काम भइरहेको अवस्था छ ।

आफ्ना प्रतिष्पर्धीलाइ कामले जित्न सकिन्न । गाली गरेर भए पनि हतोत्साहित बनाउनुपर्छ भन्ने छ ।  यस्ता उत्श्रृखलता विरुद्ध साइवरमा  गयो कानून नै कमजोर, ठूला नेतालाई गाली गर्‍यो भने समातेर तु कारबाही सुरु गरिहाल्ने तर अन्य मानिसहरूलाई गरिएको गाली गलौचको त रिपोर्ट भए पनि कसले सुन्ने ? सुने पनि वर्षौँ लाग्ने, त्यसकै पछि लागिरहने फुर्सद कहाँ पाउनु फेरी ?

यस्तो जटिल परिस्थितिमा, आफू माथि खनिने त्यस्ता सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राट्हरूलाई तिमिहरूले सामाजिक सञ्जालमै उनीहरूका हर्कत उदाङ्गो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनीय छ । दुवै जनालाई शुभकामना । जय नेपाल ।। 

समर्थन गर्दै अभिनेत्री केकी अधिकारी लेख्छिन् – भनिन्छ, अति गर्नु तर अत्याचार नगर्नु । अत्याचारको मूल्य चुकाउनैपर्छ । केकीले आफ्नो सामाजिक संजालको स्टोरीदेखि पोष्टसम्ममा उनीहरूको समाचारसमेत सेयर गरेकी छिन् ।

त्यस्तै अर्की अभिनेत्री ऋचा शर्माले पनि समाचार शेयर गर्दै ‘सावधान’ लेखेकी छिन् । यसअघि ऋचाले पनि आफूमाथि अभद्र गाली गरिएको भन्दै स्क्रिनसट सहित सामाजिक सञ्जालमा एक पोस्ट गरेकी थिइन् । सामाजिक सञ्जालमा गालीगलौज गर्नेलाई सार्वजनिक गर्ने शर्मा पहिलो नायिका हुन् । 

कानुनी प्रावधान : २ वर्ष कैद, १० हजार जरिवाना

मुलुकी फौजदारी संहिताले गाली र बेइज्जतीलाई अलग– अलग प्रावधान राखेको छ । दफा ३५ मा कसैलाई गाली गर्न नहुने भनिएको छ । उक्त दफाको उपदफा १ र २ अनुसारको कार्य गरेको ठहर भएमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने छ ।

त्यस्तै, दफा ३०७ अनुसार बेइज्जती गर्न नहुने उल्लेख छ । बेइज्जती गरेमा वा गराएमा २ वर्ष कैद वा २० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । विद्युतीय वा आमसञ्चार माध्यमबाट बेइज्जती गरेमा थप २ वर्ष कैद र १० हजार जरिवाना हुने व्यवस्था छ । 

त्यसैगरी, दोषी ठहर भएको व्यक्तिबाट मुद्दामा लागेको खर्च समेत भराउनुपर्ने भनिएको छ । 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १ : ३६ बजे

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन

सशस्त्रको बीओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १० स्थित सशस्त्र प्रहरी बल नेपालको

स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान

रामेछाप– रोछापको रामेछाप नगरपालिका–८ बावियाखर्कस्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ

पशुमा कृत्रिम गर्भाधान बढ्दो

बागलुङ– पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका

हिलाम्मे सडकले ढोरपाटन आउने पर्यटकलाई सास्ती

बागलुङ– नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण