रेखा कट्टेलको समर्पण : पाँच सुत्केरीलाई बाटोमै सेवा  | Khabarhub Khabarhub

रेखा कट्टेलको समर्पण : पाँच सुत्केरीलाई बाटोमै सेवा 


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

धनगढी– अनमी रेखा कट्टेलले साप्पाटा स्वास्थ्य चौकीमा काम गर्न थालेको नौ वर्ष बित्यो । यो अवधीमा उनले पाँच जना आमालाई बाटोमै सुत्केरी गराएकी छिन् । उनी २०७५ सालदेखि स्वास्थ्य चौकीमा करार सेवामा कार्यरत छिन् । करिब तीन सय बढीले स्वास्थ्य चौकीमा आएर सुत्केरी सेवा लिएको देखिन्छ, ती मध्ये पाँच जनालाई बाटोमै गराएको उनको भनाई छ ।

कट्टेल साप्पाटाकी स्थानीय हुन् । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका- १ बर्कु उनको घर हो । स्वास्थ्य चौकी पुग्न धेरै गाउँ टाढा छन् । कुनै टोलबाट दुई घण्टा बढीको पैदल यात्रा गर्नु पर्छ । गाउँमा पुगेको सडक हिउँदका केही महिना मात्रै चल्छ । सडक चलेका बेला पनि सबैले सहज रुपमा जीप र सवारी साधन पाउन सक्दैनन् । पैदल यात्रा बाहेक अर्को विकल्प स्थानीयका लागि छैन ।

अब त बानी नै परिसक्यो, जसले पनि बोलाउने मलाई नै हो, जानै पर्छ, खबर आउने बित्तिकै गाउँमै पुग्ने गरेको शुक्रबार मात्रै बाटोमै एक शिशुलाई र आमालाई उद्धार गरेकाे कट्टेलले बताइन् । बोकेर ल्याउँदै गर्दा बाटोमै सुत्केरी भएपनि पाँचैजना आमा र शिशुलाई सकुशल उद्धार गरेको अनुभव उनीसँग छ ।
 
रेखाले शुक्रबार १८ वर्षीया सुचना दमाईलाई बाटोमै सुत्केरी गराएकी हुन् ।  बालविवाह गरेकी सूचनाको त्यो पहिलो बच्चा हो । आठ पटक चेकजाँच गरिसकेकी थिइन् । स्वास्थ्यकर्मीले साउन १९ गतेको मिति दिएका थिए । उनी त्यही अनुसार पारिवारिक तयारीमा थिइन् । उनको गाउँबाट स्वास्थ्य चौकी पुग्न करिब डेढ घण्टा बढी लाग्छ ।

तयारीमा बसेकी सुचनालाई शुक्रबार बिहान एकाएक पेट दुखे जस्तो हुन थाल्यो । उनले आफ्नी सासु र नजिकका आफन्तलाई जानकारी दिइन् । हतारमा छिमेकीसहित सासुले बुहारी सुचनालाई लिएर स्वास्थ्य चौकी तर्फ हिँडिन् ।

बाटो लागेलगत्तै उनीहरूले स्वास्थ्य संस्थामा फोन गरे । रेखाले उठाइन् र खबर पाए लगत्तै एक जना सहयोगी स्टाफ सीएमए तालकुमारी विकलाई लिएर गइन् । उनी पुग्दा सूचनालले बाटोमै छोरा जन्माइसकेकी थिइन् । साथमा रहेका सासुसहितले नालसमेत व्यवस्थापन गरिसकेका थिए । तर नाल बाँध्न नजानेरै अत्याधिक रक्तश्राव भइरहेको थियो ।

अनमी रेखा भन्छिन्, ‘हतारहतारमा प्रसव वेदनाले छट्पटाइरहेकी महिला भेट्न गयौँ, साल अड्किएर रगत बगिरहेको थियो, प्रसवपीडाले छट्पटाइरहेकी थिइन् ।’ उनले थपिन्, ‘हामी समयमै नपुगेको भए आमाको ज्यान जोखिममा पर्ने थियो । धन्न आमा र बच्चालाई बचाउन सफल भयौँ ।’

रेखाले पुगे लगत्तै गर्नुपर्ने र सावधानी पूर्वक सबै गरिन् । नालको व्यवस्थापन र बच्चाको सरसफाइ पनि गरिन् । केही समयपछि रगत बग्न रोकियो । आमा र बच्चामा कुनै जोखिम नहुने देखेर सुत्केरीलाई बाटोबाटै घरमा पठाइयो । अहिले शिशु र आमाको अवस्था राम्रो रहेको र स्थानीय स्वास्थ्यकर्मीले हेरविचार गरिरहेको रेखाले बताइन् ।

सुत्केरी भएको २४ घण्टा स्वास्थ्यसंस्थामै राख्नु पर्ने प्रावधान हो । तर सुत्केरी भएको लेम्नाबाट स्वास्थ्यचौकी पुर्‍याउन बोकेर धेरै समय लाग्ने र हलचल भएर थप जोखिम हुन सक्ने भएपछि घर पठाएको रेखाले बताइन् । यो आर्थिक वर्षको साउन महिनामा साप्पाटा स्वास्थ्यचौकीमा तीन महिलाले बच्चा पाएका छन् । गएको आर्थिक वर्षमा ३४ जनाले संस्थागत सुत्केरी गराएका थिए । ती मध्ये एक जनाको बाटोमै बच्चा भएको थियो । 

ती बच्चा र आमाको उद्धार र संरक्षण पनि रेखा कट्टेलले नै गरेकी हुन् । गाउँमा सडककै समस्या छ । परिवारीक तयारीको पनि अभाव देखिन्छ । ब्यथा लागेको अन्तिम अवस्थामा मात्रै स्वास्थ्य संस्था सम्झीने गलत चेतनाले पनि त्यो समस्या दोहोरिरहने गरेको अनमी रेखाको बुझाइ छ ।

गएको सातामात्रै बुढीगंगा नगरपालिका- ७ की पार्वती ल्वारको सिअनमी मंगला कुमारी बोहराले उद्धार गरेकी थिइन् । माइती घरमा बस्दै आएकी पार्वती घरमा एक्लै थिइन् । सासुससुराबाट अलग र श्रीमान विदेश थिए । मंगलाकुमारी बोहराको टिमले उनको उद्धार गरि बाटोमै सुत्केरी गराए । अहिले आमा र शिशु स्वस्थ छन् ।

गाउँका बाटोहरु स्टेचर समेत बोक्न समस्या हुने हुँदा हिँडाएर ल्याउनु पर्ने बाध्यता छ । दर्जन बढीको वर्षेनी बाजुराबाटै हवाई उद्धार मार्फत सुत्केरीको ज्यान बचाउने गरिएको छ । सहज स्वास्थ्य संस्थाको पहुँच अझै पुर्‍याउन सकिएको छैन । बाजुराका सबैजसो स्थानीय तहमा आमाले बाटोमै बच्चा जन्माउनु पर्ने दुखद् समस्या छ ।

गाउँमा बस्तीहरु टाढा हुने, एकटोल वा गाउँबाट अर्को गाउँ पुग्न पनि समस्या हुने र सबै गाउँ टोलमा प्रसुती सेवा उपलब्ध गराउन नसकिँदा पनि समस्या देखिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ११ : ४८ बजे

एन्फा र फुटबल खेलाडीको वार्ता भाँडियो

काठमाडौं- अखिल नेपाल फुटबल संघ एन्फा र फुटबल खेलाडीको वार्ता

पूर्वराष्ट्रपति यादवको प्रमुख आतिथ्यतामा गणेशमान सिंहको जन्मजयन्ती मनाइयो

काठमाडौं– गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले पूर्व राष्ट्रपति

भैरहवा विमानस्थल हुँदाहुँदै किन भारततिर मोडिन्छन् विमान ?

भैरहवा– शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

दुई दिन निरन्तर ओरालो नेप्से परिसूचक, सोमबार १५१ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुने साताको दुई

द्रुत डाँक सेवामार्फत प्रभावकारिता बढाउँदै हुलाक

गण्डकी– चिट्ठीपत्र, खबर र सूचना एक स्थानबाट अर्को स्थानमा पुर्‍याउने