काठमाडौँ – रोगले मानिसको उमेरलाई चिन्दैन भनिन्छ । वृद्ध मात्रै होइन, बच्चा र युवा पनि रोगव्याधीबाट ग्रस्त हुन्छन् ।
लमजुङका ओमबहादुर थापाले पनि ३१ वर्षको उमेरमै क्यान्सरपीडित होइएला भनी सोचेकै थिएनन् । कहिल्यै धूमपान नगर्ने उनलाई जिब्रो तथा घाँटीको क्यान्सर भयो ।
प्रहरी पेशाका ओमले कठोर तालिम लिएका थिए । हरेक दिनको शारीरिक अभ्यास र ड्यूटीले शरीर तन्दुरुस्त थियो । कहिलेकाहीँ पारिवारिक भेटघाट र साथीभाइसँग बसेर हल्का पिउनेबाहेक जाँडरक्सीको लत थिएन ।
तर पनि ओमलाई क्यान्सर भयो । रिपोर्ट हेर्दा झसङ्ग भए । आत्मबल दरो बनाए । १६ वर्ष अघि प्रहरीमा आवद्ध हुने क्रममा देश र जनताको सुरक्षाका लागि खाएको कसम सम्झिए । शपथ लिँदै गर्दा ‘मर्न र मार्न तयार छु । राष्ट्रको लागि ज्यान दिनुपरे हाँसी–हाँसी मर्छु’ भनेको सम्झिए ।
तालिमले एक सिपाहीलाई शारीरिक तथा मानसिक रूपमा बलियो बनाउँछ, ओमलाई त्यही कुराले प्रेरणा दियो । उनले पनि हिम्मत नहारे क्यान्सरलाई जित्न सकिन्छ भन्ने दृढ विश्वास लिए । त्यही विश्वासले अहिले उनी क्यान्सरमुक्त भएका छन् ।
साउन ११ मा ‘विश्व टाउको तथा घाँटी क्यान्सर दिवस’ का दिन भक्तपुर क्यान्सर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै ओमले क्यान्सर निको हुने रोग हो भन्दै नअत्ताल्लिन प्रेरणा दिएका थिए ।
ओमले आफूलाई क्यान्सर लागेपछिको अवस्था, स्वास्थ्योपचार र हालको अवस्थाबारे खबरहबलाई बताएका छन् ।
जिब्रोमा घाउ भएपछि…
२०८० साल असोजमा थाहा भयो । ट्रेनिङ गरेको ज्यान हट्टाकट्टा र फिट पनि थियो । दुखेको कहीँ छैन, खाना रुचेकै छ, निन्द्रा परेकै छ । काम गरिरहेकै छु, तर दुब्लाउँदै गएँ । शरीरको तौल लिँदा त करिब १४ केजी घटिसकेको रहेछु ।
अर्को सङ्केत भनेको पीरो खाँदा जिब्रो धेरै पोल्न थाल्यो । आफूले कति पिरो खान्छु भन्ने थाहा हुन्छ नि ! पहिलेकै जति नै खाँदा पनि पोल्न थाल्यो ।
भिटामिन डी कम हुँदा पनि मुखभित्र घाउ आउँछ । औषधी खाएपछि त्यो सञ्चो हुन्छ । तर, घाउ निको भएन ।

त्यसपछि मलाई अस्पताल जानुपर्छ भन्ने लाग्यो । एपीएफ अस्पताल, बलम्बुमा पुगेँ । डाक्टरलाई ‘यस्तो–यस्तो लक्षण छ’ भनेँ । डाक्टरले औषधी दिनुभयो । तर ठीक भएन । पछि नाक, कान र घाँटीको डाक्टरलाई देखाएँ । उहाँले पनि १५ दिनको औषधी दिएर पठाउनुभयो । तर पनि ठीक भएन । मुख पोल्न छोडेन ।
डाक्टरको सल्लाह बमोजिम बायस्पी गरेँ । त्यतिबेला जिब्रोको भित्र मासुको डल्लो आइसकेको रहेछ । डल्लो ठूलै रहेछ । काटेर निकाल्यो । टाँका धेरै लगाउनुपर्यो । भित्रभित्रैको टाँका बिलायो । अघिल्लो भागको दुई/तीन टाँका बाँकी रह्यो । जे खायो – त्यही अड्किने !
२८ दिनमा बायस्पीको रिपोर्ट आयो । अल्सर देखापर्यो । रोग यही हो भनी किटानसाथ डाक्टरले भन्नुभएन । त्यतिबेला अस्पतालमा एक्लै थिएँ । घरपरिवारमा कसैलाई सुनाएको थिइनँ । उनीहरूले पीर मान्छन् भन्ने भयो । तर डाक्टरले भक्तपुर क्यान्सर अस्पताल जान भन्नुभयो ।
पछि लाग्यो – यत्रो रोग कसरी लुकाउने ? लुकाएर साध्य नै छैन । अहिलेको जमानामा रोग किन लुकाउनु ? परिवारलाई भनेर तुरुन्तै भक्तपुर अस्पताल पुगेँ ।
सर्लाहीबाट काठमाडौँ सरुवा भएको ६ महिनामात्रै भएको थियो । यदी उतै प्रदेशतिर भएको भए बाँच्दिनथेँ होला । तराईमा ड्यूटी पनि धेरै हुन्छ । सशस्त्र प्रहरीले पनि सीमामा खट्नुपर्छ । फुर्सद नै नहुने ! सन्चो नहुँदा मेडिकल जाने, औषधी खाने र सहेर बस्ने गरिन्थ्यो, थाहा हुँदैनथ्यो ।
डा. रिजेन्द्र योगलले निकै आत्मबल दिनुभयो । उमेर छ, केही हुँदैन, सन्चो हुन्छ भन्नुभयो । फौजी तालिम गरेको मान्छे !
शारीरिक मात्रै होइन, हामीलाई जस्तोसुकै परिस्थिति सामना गर्न सक्नेगरी मानसिक रूपमा पनि बलियो बनाइन्छ । देशको लागि प्राण त्याग्न सक्छु भनेर कसम खाएको छु । रोग लाग्दैमा किन हडबडाउथेँ । म डराइनँ ।
एमआरआई, सीटी स्क्यान, रक्तपरीक्षण लगायत सबै रिपोर्ट एक हप्तामा तयार गर्न भन्नुभयो । डाक्टरले प्राथमिकतामा राखेर तिम्रो शल्यक्रिया गर्दिन्छु भन्नुभयो । भक्तपुर अस्पतालमा एक्लै भर्ना भएँ र शल्यक्रिया भयो । डाक्टरले पहिले जिब्रोको र पछि घाँटी शल्यक्रिया गर्ने भन्नुभयो ।
तर, मैले जिब्रो र घाँटीको एकैपटक शल्यक्रिया गर्न अनुरोध गरँे । एकैपटक दुखाइ सहन्छु भनेँ । त्यही अनुरूप शल्यक्रिया एकैचोटी भयो । जिब्रो तीन भागको डेढ एक भाग काटिएको छ ।
डाक्टरले पहिलेजस्तो स्पष्ट बोली आउन वा नआउन पनि सक्छ भन्नुभयो । त्यो सुनेर मनमा चिसो पस्यो । म यति राम्रो बोल्ने मान्छे, बोल्न मन पराउने मान्छे ! बोली नै आएन भने के होला ? बोली आएन भने जिन्दगी खत्तम होला । शल्यक्रिया नै नगरौँ भन्ने लाग्यो । अत्यास लागिरह्यो ।

शल्यक्रियापछि रेडियसन गर्नेुपर्ने भयो । हरिसिद्धिमा एकै महिना ३० वटा थेरापी गरेँ । भक्तपुरमा पालो नपाएर अर्कोमा गर्नुपर्यो ।
एक वर्षजति बोल्न सकिनँ । अहिले अवस्था सामान्य छ । बोली अस्पष्ट छ, तर गत वर्षभन्दा सुधारिँदै छ । अफिसमा पनि ‘परिवार लिएर आऊ, तिमीले बोलेको बुझिँदैन’ भन्नुहुन्थ्यो । म परिवार लिएर जान्थँे । अहिले फोन गरेरै हाकिमलाई आफ्नो कुरा बताउँछु ।
बिरामी भएपछि अफिस जाने कुरा भएन । जिब्रो र घाँटीको रोग भयो । सबै प्रहरीलाई पकाएको खाना मेरा लागि उपयुक्त भएन । ६०० जनाले एकै ठाउँमा खानुपर्छ । हाजिर गर्छु, हाकिमहरू भेट्छु र घर फर्किन्छु । बुवाआमालाई यो रोगबारे थाहै छैन । गाउँमा अरू धेरैले पनि ‘क्यान्सर हुने बित्तिकै मर्छ’ भन्ने बुझेका छन् ।
परिवारको सहयोग
श्रीमती कल्पना थापा र मेरो भाइ सन्दीपले निकै साथ दिए । भाइ पनि नेपाल प्रहरीमै छ । अस्पतालमा भर्ना भएर बसेको बेला भाइको तालिम थियो । पहिलो वर्षको तालिम धेरै गाह्रो हुन्छ । तालिम सकिने बित्तिकै अस्पतालमा कुर्न बस्यो । तालिमले थकित, जहाँ बस्यो – त्यही निदाउँथ्यो ।
सबै परिवारको नाम लिने हो भने निकै लामो हुन्छ । १३ वर्षको छोरा छ । हामी दुई दाजुभाइ र दुई बहिनी छौँ । सशस्त्र प्रहरी बल, नेपालमा जागिर खाएको १६ वर्ष पुग्यो । २०६६ सालमा भर्ती भएको थिएँ । घरको जेठो छोरा परेँ, जिम्मेवारी छँदैछ । किसान परिवार आमाबुवालाई सहयोग गर्नुपर्छ ।
भाइबहिनी हेर्नुपर्छ भन्ने थियो । गाउँकै एकजना दाइले ‘प्रहरीमा जागिर खुलेको छ, जाऊ’ भनेर पठाउनुभयो । पहिलो पटकमै नाम निस्क्यो । कक्षा १० सम्म अध्ययन गरेँ । एसएलसी चैतमा थियो । फागुनमा नियुक्ति पाएँ । तयारी गर्न पाइनँ, त्यसकारण परीक्षामा सामेल भइनँ ।
आर्थिक व्यवस्थापन
क्यान्सर खर्चिलो रोग नै हो । कतिपय मानिस सडकमा उपचार खर्च उठाउन बसेको देखिन्छ । त्यो बाध्यता हो । बाँच्ने मन हो ।
प्रहरी संगठनप्रति म आभारी छु । सञ्चयकोषमार्फत १० लाख रुपैयाँसम्मको उपचार खर्च ब्यहोर्छ । प्राणघातक रोगहरूका लागि भनेर १० लाख रुपैयाँसम्मको खर्च दिन्छ । व्यक्तिगत खर्च पनि भयो । तर, जिन्दगीलाई पैसासँग तुलना गर्ने कुरा भएन ।
ज्यान भए वा जीवन रहे पैसा कमाउन सकिन्छ । प्राणघातक रोग लागेमा उपचारका लागि सरकारले एक लाख रुपैयाँ दिँदै आएको छ । यो वर्षको साउनबाट एक लाख थप हुँदैछ । तर, अपुग देखिन्छ । गरीबले पनि औषधोपचार पाउनुपर्यो । आर्थिक अवस्था हेरेर स्वास्थ्यसेवा निःशुल्कै गर्नुपर्छ । सरकारी अस्पतालको सङ्ख्या र गुणस्तर बढाउनुपर्छ ।
उपचार क्रममा अर्को समस्या पनि भोगेँ । अस्पतालको फार्मेसीमा औषधी नहुने, तर अस्पतालको गेट अगाडी रहेको निजी फार्मेसीमा औषधी हुने ! यस्तो धन्धाको नियमन हुन आवश्यक छ । सरकारले बिरामीलाई महङ्गो औषधी किन्न बाध्य पार्नुहुँदैन । स्वास्थ्य बीमाबाट पाउने औषधी कम्तिमा अस्पतालको फार्मेसीमा उपलब्ध हुनुपर्छ ।
तिरष्कार अनुभूति !
क्यान्सर लागेको थाहा पाएपछि धेरैले घृणा गर्ने रहेछन् । हेर्ने दृष्टिकोण नै फरक पाएँ । सरकारी कर्मचारीको महिनैपिच्छे तलब र रासन आउँछ । तर पनि हेयले हेर्ने !
अब मर्छ, उपचारमा सबै सम्पत्ति सिध्याउँछ, परिवारलाई सडकको बास गराउने भयो । अधर्मी रहेछ जस्ता टिकाटिप्पणी गरेको पाएँ । अझ कत्ति पनि कमाइ नहुने बिरामीको अवस्था कस्तो होला भनेर कहालिएँ ।

निको हुन्छ क्यान्सर
प्राणघातक रोग लाग्यो भन्दैमा आत्तिनुपर्दैन । मुख्य कुरा रोगको पहिचान गर्न गाह्रो हो । पहिचान भइसकेपछि उपचार हुन्छ ।
रोग सबैलाई लाग्छ, रोग लागेकै भरमा कसैलाई हेला गर्नुहुँदैन । बिरामीले डाक्टरको सल्लाह अनुसारको रुटिनमा खाने/बस्ने गर्नुपर्छ । क्यान्सरबाट बँच्न सकिन्छ ।
क्यान्सर धूमपान र मद्यपान गर्नेहरूमा धेरैजसो देखिन्छ । तर, यी निकोटिन कहिले नछोएका बालबालिकालाई समेत लाग्छ । डाक्टरहरूका अनुसार खानपीन तथा जीवनशैली व्यवस्थित नहुँदा पनि क्यान्सर लाग्न सक्छ ।
क्यान्सर लाग्यो भन्दैमा आत्तिनुपर्दैन । उपचार गरेपछि म अहिले निको भएर हिँडेको छु । आत्मबलले पनि रोग निको पार्छ । आफैँ बलियो बन्ने र वरपर रहेका अन्यले पनि आत्मबल जगाउने कुरा गर्नुपर्छ ।
प्रतिक्रिया