दोलखा– धार्मिक तथा पर्यटकीय नगर जिरीलाई पर्यटकीय नगरसँगै शैक्षिक केन्द्रको हबको रूपमा विकास गरिनु पर्ने देखिएको छ ।
जिरी देशकै पुरानो शैक्षिक इतिहास बोकेको जिरी मावि पुरानो प्राविधिक उत्पादन गर्ने थलो जिरी प्राविधिक शिक्षालय हो । जिरी माविसँग झन्डै पाँच दशकदेखि साइनो गाँसिएको जिरी प्राविधिक शिक्षालय जिरीका मुख्य शैक्षिक गन्तव्य हुन ।
पछिल्लो वर्षहरूमा यी दुई शैक्षिक संस्था जस्तैगरि सोही नगरको वडा नम्बर-६ बुलडाँडाअवस्थित सहिद स्मृति आवासीय विद्यालय पनि शैक्षिक केन्द्रको गन्तव्य बन्न पुगेको छ ।
जिरी प्राविधिक शिक्षालय,जिरी माध्यमिक र सहित स्मृति आवासीयमा अहिले देशका विभिन्न जिल्लाका कुनाकाप्चादेखि विद्यार्थीहरू अध्ययनको सिलसिलामा जिरी आउने गरेका छन् ।

सीमित शुल्क तथा पूर्ण छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्ने थलो जिरी भएकाले पनि जिरीलाई बढ्दो पर्यटन विकाससँगै शैक्षिक हबको रूपमा विकास गर्दै लैजानुपर्ने दबाब बढेको छ ।
जिल्लाकै यी दुई शैक्षिक संस्थामा दोलखा नौ पालिका तथा नेपालका विभिन्न जिल्लाका विद्यार्थी प्राविधिक तथा उच्च शिक्षा अध्ययनको लागि जिरी आउने गर्छन् ।
२०१७ सालमा स्थापना भएको जिरी माध्यमिक विद्यालय र २०३९ सालमा स्थापना भएको जिरी प्राविधिक शिक्षालयका प्रधानाध्यापक कुमार जिरेलले बताए ।
जिरीका सामुदायिक विद्यालय तथा प्राविधिक शिक्षालय भौतिक विकासका हिसाबले अब्बल बन्दै गएका छन्।जिल्लाकै ६० वर्ष पुरानो पुस्तकालय पनि जिरीमै भएकाले पनि जिरीलाई शैक्षिक केन्द्र बनाउन यहाँको स्थानीय सरकार तथा शैक्षिक विज्ञहरू योजना बनाउनुपर्ने प्रअ जिरेलले बताए ।

जिरेल कार्यरत जिरी नगरपालिका-६ हाटडाँडामा सामुदायिक विद्यालयले सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विद्यालय भवन निर्माण गरेको छ ।
चिन सरकारको एक अर्ब ३९ करोड ३८ लाख बराबरको लागतमा निर्माण सम्पन्न उक्त भवनले पर्यटकीय नगर जिरीलाई शैक्षिक हबको रूपमा चिनाउने अनुमान गरिएको छ ।
झट्ट हेर्दा राज्यको सरकारी कार्यालय भन्दा राम्रो देखिने दर्जनौँ चिटिक्क फर्निचर तथा बिजुलीले सजिएका जिरी माविका आधा दर्जन भवनले जिरी पुग्ने जोकोहीको ध्यान तान्न गरेको पाइन्छन् ।
चिनिया प्रविधिका उक्त भूकम्प पछि निर्माण भएका यहाँ भवनले जिरी घुम्न आउनेहरूको एक पटक विद्यालय भ्रमणमा पुग्ने गरेको उनले बताए ।

लामो समय अस्थायी टहराबाट पठनपाठन हुँदै आएको विद्यालयले ढिलो गरी आकर्षक र सुविधा सम्पन्न पक्की भवन पाएको विद्यालयका प्रधानाध्यापक जिरेल सुनाउँछन् ।
उक्त नवनिर्मित भवनको उद्घाटनको तयारी विद्यालय तथा चिनिया पक्षले गरिरहेको छ । चीन सरकारको सहयोगमा निर्माण भएको यो सुविधा सम्पन्न विद्यालय भवन हस्तान्तरणको अन्तिम चरणमा पुगेको छ ।
विद्यालय प्रशासन शाखा तथा विद्यालय व्यवस्थापन समितिले असोज महिनाभित्र विद्यालय चीन सरकारबाट औपचारिक रूपमा हस्तान्तरण गर्न विद्यालयको बाकी रहेको केही काम गरिरहेको छ ।
२०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त पारेको विद्यालयको संरचना ढिलो गरी पुनर्निर्माण भएको हो । चाइना एडमार्फत निर्माण गरिएको विद्यालय परिसरमा कुल ७ वटा आधुनिक भवन रहेका छन् ।

ती भवनमा ४१ वटा कक्षा कोठा, छात्र तथा छात्रावास, शिक्षक आवास, सभा हल, पुस्तकालय, शैक्षिक तथा प्रशासनिक भवन, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, नृत्य कक्ष र चित्रकला कोठा र चमेना गृह समेत रहेको छ ।
२०८० साल वैशाख ४ गते शिलान्यास गरिएको उक्त भवन चिन सरकारले तोकिएको समय भित्र सम्पन्न गरेको हो ।
चीन सरकारले उक्त विद्यालयको पुन निर्माणमा १ अर्ब ३९ करोड ३८ लाख ५२ हजार ६९४ रुपैयाँ लगानी गरेको थियो । नयाँ कक्षा कोठामा विद्युतीय बोर्ड, पावर सर्किट, पर्याप्त उज्यालो, र प्रत्येक विद्यार्थीका लागि डेस्क–बेन्चको व्यवस्था गरिएको छ ।

प्रधानाध्यापक जिरेलका अनुसार, भवन जिरीको भौगोलिक तथा मौसमीय अवस्थालाई ध्यानमा राखी निर्माण गरिएकोले सुविधा सम्पन्न मात्र नभई पर्यावरणमैत्री समेत छ ।
विद्यालयमा हाल कक्षा १२ सम्म ५११ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । दोलखाका अधिकांश पालिकाका साथै काठमाडौं, रामेछाप र सोलुखुम्बु, ओखलढुंगा लगायत जिल्लाबाट समेत विद्यार्थीहरू अध्ययन गर्न आएका छन् ।
विद्यालयसँग तीन सय रोपनीभन्दा बढी जग्गा भएकाले होस्टेलमा बस्ने विद्यार्थीका लागि तरकारी उत्पादनदेखि पढ्दै-कमाउँदै’अभियान सञ्चालन गर्ने योजना समेत अघि सारिएको छ ।

किवी खेतीसहित आत्मनिर्भर कृषि प्रणालीको अभ्यास गरिने प्रधानाध्यापक जिरेलले जानकारी दिए । उनका अनुसार जिरीमा जसरी एक दशक अघिसम्म जेटिएसमा बाहिरी जिल्लाका विद्यार्थी आउँथे त्यसै गरी यहाँ शैक्षिक संस्थाले बाहिरी जिल्लाका विद्यार्थीलाई भित्र्याएर जिरीलाई शैक्षिक हब बनाउने योजना निर्माण गर्नुपर्ने बताए ।
जिरी नगर भित्रका ९ वटा सामुदायिक विद्यालय मध्ये हाल जिरी मावि तथा सहिद स्मृति आवासीय माविमा बाहिरी जिल्लाबाट समेत पढ्न आउने विद्यार्थीको संख्या बढ्दो छ । सुवाश बस्नेत/दोलखा
प्रतिक्रिया