सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम सात वर्षमा ३७ प्रतिशत | Khabarhub Khabarhub

सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम सात वर्षमा ३७ प्रतिशत


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

धनुषाधाम–  तराई–मधेसको सिँचाइ, खानेपानी र ऊर्जा उत्पादन समस्याको दिगो समाधानका रूपमा हेरिएको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य सुस्त छ । 

राष्ट्रिय गौरवको यो आयोजना निर्माण सम्झौताको सात वर्ष बित्दासमेत हालसम्म करिब ३७ प्रतिशत मात्र काम भएको छ । 

बागमती प्रदेशअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–८ ढुङ्गे्रबाँस(खुर्कोट)स्थित सुनकोशी नदीबाट सुरु भएको उक्त डाइभर्सन आयोजनामा हालसम्म ३६ दशमलव ८३ प्रतिशत मात्र भौतिक प्रगति भएको जनाइएको छ । 

नेपाल सरकार र निर्माण कम्पनीबीच भएको सम्झौताअनुसार २०७६/०७७ देखि २०८५/०८६ अर्थात् १० वर्षमा आयोजनाको काम सम्पन्न हुनुपर्नेछ, तर आयोजनाअन्तर्गत दोस्रो चरणको काम ढिलो भएपछि समयमै पूरा हुनेमा शङ्का व्यक्त गरिएको छ । 

हाल १३ दशमलव ३१६ किलोमिटर सुरुङमार्गको निर्माण सम्पन्न भए पनि अन्य भौतिक पूर्वाधार र विद्युत् उत्पादनकार्यमा अपेक्षित प्रगति भएको छैन ।

शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवलगायतको टोलीले आयोजनाको स्थलगत अवलोकन गरेका थिए ।

टोलीले ढुङ्ग्रेबास (खुरकोट)देखि सुरुङको अन्तिम बिन्दु कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरीन खोलासम्म पुगेर आयोजना कार्यान्वयन अवस्थाबारे जानकारी लिएको थियो ।

अवलोकनका क्रममा आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अशोक राज गौतमले आयोजना दोश्रो चरणको ठेक्का सम्झौताअनुसार २०७९ माघ ११ गतेदेखि पटेल–रमण जेभी प्रालिले काम थालेको र हालसम्म १० दशमलव १३ प्रतिशत मात्र भौतिक प्रगति भएको जानकारी दिए । 

उनका अनुसार नेपाल सरकार र निर्माण कम्पनीबीचको सम्झौताअनुसार दोस्रो चरणअन्तर्गतको काम २०८४ असार २५ भित्र सम्पन्न हुनुपर्नेछ । पहिलो चरणको ठेक्काको काम चिनियाँ कम्पनी चाइना ओभरसीज इन्जिनियरिङ ग्रुपले सम्पन्न गरिसकेको त्यस अवसरमा जानकारी दिइयो । 

मुख्यमन्त्री सिंहले मधेसमा पानीको चरम अभाव भोगिरहेका बेला समस्या समाधानका लागि महत्त्वपूर्ण मानिएको आयोजनाको काममा ढिलाइ हुनु दुःखद भएको बताए । 

उनले आयोजनालाई समयमा सम्पन्न गराउन प्रदेश सरकारका तर्फबाट नेपाल सरकारलाई औपचारिक रूपमै प्रतिवेदन तयार गरी जानकारी गराइने बताए ।

भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले आयोजनामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासो रहेको भन्दै समयमै ठेक्का सम्झौता पालना नहुने अवस्था रहे सम्झौता रद्द गर्नुपर्ने बताए ।

यो आयोजना ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको छ । मधेस प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको एक लाख २२ हजार हेक्टर अर्थात एक लाख ८३ हजार बिघा जमिनमा वर्षभर सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको सिनियर डिभिजनल इन्जिनियर गौतमले बताए । साथै आयोजनाबाट ३१ दशमलव ०७ मेगावाट जलविद्युत् उत्पादन हुने उनले बताए ।

आयोजना सम्पन्न भएपछि कृषिबाट अनुमानित वार्षिक १० अर्ब ३० करोड रुपैयाँ र बिजुली उत्पादनबाट एक अर्ब ५५ करोड रुपैयाँ राजश्व सङ्कलन हुने अपेक्षा छ । आयोजना निर्माणमा हालसम्म १९ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ बजेटमध्ये १६ अर्ब ५० करोड २७ लाख रुपैयाँ खर्च भइसकेको छ । 

प्रारम्भिक चरणमा केही प्रगति देखिए पनि दोस्रो ठेक्का सम्झौताअनुसारको कार्य अत्यन्त सुस्त देखिएकाले गति बढाउन समन्वय भइरहेको सिनियर डिभिजनल इन्जिनियर गौतमको भनाइ छ । रासस
 

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : ३४ बजे

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण

बलान नदीको कटानले सुन्दरपुर बस्ती जोखिममा

सिरहा – सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको कटानले सुन्दरपुर

कवि जिरेलको ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक

काठमाडौं – कवि टेकबहादुर जिरेलद्वारा लिखित कवितासङ्ग्रह ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक