काठमाडौं – कामेश्वर चौरसिया गत आइतबार दिउँसो पशुपति मन्दिर छेउको एक होटलमा थिए ।
त्यहीँ उनी शीर्ष भूमिकामा रहेको फिल्म ‘अभिमन्यु’को पत्रकार भेटघाट कार्यक्रम थियो । यो सामाग्रीका लागि कुराकानीको क्रममा प्रसंगवस् कामेश्वरले भने, ‘तपाईं पत्याउनुहुन्छ ? मसँगै खल्तीमा पाँच रुपैयाँ छैन । गाडी भाडा सापटी मागेर म यो ठाउँमा आएको हो ।’
फिल्मको नायक । त्यसमथि महँगो होटलमा कार्यक्रम थियो । अनि गाडी भाडा पनि छैन भन्दा कसरी विश्वास गर्नु ?
मैले उनलाई प्रतिप्रश्न गरेँ, ‘होइन होला ?’
उनले थपे, ‘म सबैतिर असफल व्यक्ति हुँ । यो उमेरसम्म मैले सफलता पाएको छैन । तर, आज मेरो आर्थिक अवस्था यो हुँदा पनि फिल्मबाट टाढिन सकेको छैन ।’
शंकै थिएन । लामो समय संघर्ष गरेपछि कामेश्वरले यो फिल्म पाएका थिए । उनकै मुखबाट जान्न मन लाग्यो र प्रश्न गरेँ, ‘फिल्मको भोक कहिलेदेखि लाग्यो ?’
उनले जवाफ फर्काए, ‘बचपनदेखि हो । मेरो जीवन नै फिल्मका लागि भौतारिँदै बित्यो । अभिनयको भोकले मलाई सडकमा समेत सुताएको छ ।’

कामेश्वरको बाल्यकाल
कामेश्वरको गृह जिल्ला पर्सा हो । अहिलेको वीरगञ्ज महानगरपालिका १८ मा उनको पुख्र्यौली बासस्थान छ । उनको जन्म हुर्काइ त्यही भएको हो ।
मधेशको आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिएको उनी बताउँछन् ।
भन्छन्, ‘गाउँकै राम्रो आर्थिक अवस्था भएको परिवार हो मेरो । मैले थाहा पाउँदासम्म घरमा चार हल गोरु, ७–८ वटा भैँसी, गाई ४–५ वटा थिएँ । खेतबारी प्रशस्तै थियो । मेरो परिवार पनि शिक्षित थियो ।’
कामेश्वरले वीरगञ्ज सहरकै विद्यालयमा पढ्न पाए । तर, पढाइ कामेश्वरको रुचिको विषय थिएन । कारण उनलाई फिल्मको लत बसेको थियो ।
उनी भन्छन्, ‘अहिलको बच्चाहरुमा मोबाइलको तल बसेको हुन्छ नि, मलाई त्यस्तै फिल्मको लत बसेको थियो ।’
५ कक्षा पढ्दा स्कुल ‘बङ्क’ गरेर फिल्म हेर्न जान लागेपछि फिल्मको लत लागेको उनी बताउँछन् ।
भन्छन्, ‘फिल्मका लागि पाँच कक्षादेखि स्कुल बङ्क गर्न थालियो । त्यसपछि नयाँ फिल्म आएपछि मलाई हेर्नैपथ्यो । स्कुले ड्रेस लगाएरै हलमा कति गइयो लेखाजोखा छैन । वीरगञ्जमा बढी हिन्दी फिल्म नै हेरियो ।’
फिल्म बाहेक आफूलाई साहित्यका कतिबामा रुचि रहेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘मेरो ठूलो बुवा वीरगञ्ज क्याम्पसको शिक्षक भएकाले उहाँ साहित्यका किताब पढ्नुहुन्थ्यो । उहाँकै कारण मेरो साहित्यमा झुकाव भएको हो । म ११–१२ वर्षदेखि साहित्यका किताब पढ्न लागेको हो ।’
तर, फिल्मकै कारण पढाइ चौपट हुँदा ०५२ सालमा पहिलो पटक एसएलसी परीक्षा सामना गर्दा असफल भएको उनी बताउँछन् ।
भन्छन्, ‘पाठ्यक्रमको किताबमा रुचि नै भएन । फिल्म नै संसार हो भन्ने लाग्थ्यो । नयाँ फिल्म लाग्यो कि हलमा हुन्थेँ । कसरी पास गर्नु ?’
बाल्यकालमा आफू ‘निकम्मा सन्तान’ रहेको उनी बताउँछन् ।
भन्छन्, ‘हाम्रो घर बोर्डर छेउ भएकाले अपराध गर्ने विषय ठूलो लाग्दैनथ्यो । त्यसबेला हुन्थ्यो नै त्यस्तो । झगडा गर्ने, घरको सामान चोर्ने, ढाँट्ने सबै गर्थेँ यी सबै खराब बानी मसँग थियो ।’

अभिनयको चस्का
‘कलाकार बन्ने सोच कहिले पैदा भयो ?’ भन्ने प्रश्नको जवाफ कामेश्वरसँग छैन । तर, उनको अनुमान छ– सायद फिल्म हरेपछि !
अभिनयमा सानैदेखि रुचि भएको उनले ‘रामलीला’सँग जोडेर एक किस्सा सुनाए–
कामेश्वरको घर भारतको बोर्ड छेउ । हरेक दशैँमा ‘रामलीला’ देखाउन भारतबाट कलाकारको टोली आउँथ्यो । उक्त टोलीले देखाउनाले ‘रामलीला’ कामेश्वर चासोका साथ हेर्न जान्थे ।
बर्सेनी एउटै टोली ‘रामलीला’ देखाउने आउने भएकाले कामेश्वरले उनीहरुसँग निकटता बढाए । कारण– उनलाई पनि त्यो टोलीसँग मिसिएर ‘रामलीला’ अभिनय गर्नु थियो ।
उनी भन्छन्, ‘१२–१३ वर्षको हुँदा मैले रामलीलामा अभिनय गर्न पाएँ । पहिलो वर्ष सानो भूमिका थियो । दोस्रो वर्ष अलि धेरै, तेस्रो वर्ष झन् धेरै बढ्दै गयो ।’
अर्थात् आफूमा अभिनयको चस्का सानै उमेरमा पसेको कामेश्वरको दाबी छ । त्यही चस्काले उनी किशोरावस्थामै ‘रामलीला’मा अभिनय गरेको उनी बताउँछन् ।
हिरो बन्न काठमाडौं
कामेश्वर परिवारको जेठो सन्तान हुन् । उनी इञ्जिनीयर वा डाक्टर बनिदिए हुन्थ्यो भन्ने परिवारको अपेक्षा थियो । तर, कामेश्वरको इच्छा हिरो बन्ने थियो । पढाइमा फिटिक्कै मन थिएन । एसएलसीमै विषय लाग्यो ।
उनी एसएलसीपछि हिरो बन्न काठमाडौं धाउन थाले । भन्छन्, ‘काठमाडौं आउन खर्च चाहिन्थ्यो । घरको चामल चोरेर बेच्थेँ । काठमाडौंमा दुई–तीन दीन बस्न खर्च पुग्थ्यो ।’
यसरी काठमाडौं आएर उनी फिल्म मेकरहरुको अफिस चहार्न थाले । तर, हिरो बन्न पाएनन् । भन्छन्, ‘म फिल्म बनाउने मेकरहरुसँग पुग्नै सकिनँ । धेरै पटक आएँ तर बागबजार र अनामनगर चाहार्ने काम मात्रै भयो ।’

गुरुकुलसँग साक्षात्कार
फिल्मको नायक बन्ने सपना कामेश्वरको पूरा हुन सकेन ।
जसबेला ‘गुरुकुल’का गतिविधिलाई राष्ट्रिय दैनिकहरु पत्रिकाहरुले प्राथमिकताका साथ प्रकाशन गरेको उनले याद गरिरहेका थिए ।
पत्रिकामा उनले गुरुकुलका संस्थापक तथा वरिष्ठ रंगकर्मी सुनील पोखरेलको अन्तर्वार्ता पढे । त्यसपछि उनी उनी रङ्गमञ्चमा अभिनय गर्ने सोच बनाए । अब उनको काठमाडौंको दौडधुप फेरियो ।
उनी सुनील पोखरेलको खोजीमा लागे । तीन पटकसम्म आफू पोखरेललाई भेट्न असफल भएको उनी बताउँछन् ।
भन्छन्, ‘अब अभिनय सिकेर फिल्ममा काम गर्ने भनेर सुनील सरलाई भेट्न आएँ । मेरो पहुँच नै पुगेन । चौथो पटक आएपछि चाहिँ उहाँसँग भेट भयो ।’
कामेश्वरले सुनीललाई भेट्न गुरुकुल पुगेकै दौरान संजोगले त्यहाँ ‘फेस्टिभल’ हुँदै थियो ।
उनी भन्छन्, ‘अभिनय सिक्न आएको कुरा व्यक्त गरेपछि सुनील सरले फेस्टिभलको स्वयंसेवकका रुपमा काम दिनुभयो । यो नै मेरो रङ्गमञ्चको पहिलो साक्षात्कार हो ।’
यही दौरान भएका विभिन्न अभिनय वर्कसपमा सहभागी हुन पाएको कामेश्वर बताउँछन् । भन्छन्, ‘त्यहाँ वर्कसप लिएपछि अभिनयप्रति झन भोक भयो । अब झन् अभिनयबाट टाढा रहन सक्दिनँ भन्ने भयो ।’

दिल्लीको अनुभव
अभिनयको भोक बढेपछि अभिनय पढ्न भारतको दिल्लीसमेत पुगेको कामेश्वर बताउँछन् । दिल्ली पुगेर गाँस, बास र कपासकै संघर्षमा अल्झिनु परेपछि अभिनय पढ्न नपाएको उनको भनाइ छ ।
दिल्ली बसाइ आफ्नो जीवनकै कठीन मध्येको एकका रुपमा उनी लिन्छन् । किनभने उनलाई त्यस बसाइले ‘सकुम्बासी’को अनुभव दिलायो ।
नी भन्छन्, ‘त्यहाँ भौंतारिने क्रममा म सडकमा पनि सुतेको छु । रेल वे स्टेसनमा पनि सुतेको छ । फुटपाथको सेल्स ब्वाइको पनि काम गरेँ । कार पुछ्नेसम्म गर्न भ्याएँ ।’
यी सबै काम कामेश्वरले दिल्लीमा टिक्न गरेका हुन् । त्यहाँ टिकेर उनलाई अभिनय पढ्न थियो तर, यो सम्भव भएन ।
उनी भन्छन्, ‘टिक्न सक्छु कि भनेर मिहिनेत गरेँ तर सकिनँ । डेढ वर्ष भौंतारिएपछि म फर्किएँ ।’ वीरगञ्जको जमिनदारको छोरो कामेश्वरलाई दिल्ली सडकमा सुत्ने हैसियतमा पु¥याउने पनि अभिनय नै हो ।
एक्टर्स स्टुडियोको विद्यार्थी
दिल्लीको ठक्करले कामेश्वरको अभिनयको भोक मार्न सकेन । उनलाई झन् अभिनयप्रति इगो बढ्दै गयो । उनी भन्छन्, ‘यी सारा ठक्करले मलाई मजबुत बनायो । तर, आत्मबल कमजोर कहिले भएन ।’
दिल्लीबाट नेपाल फर्किएपछि उनी ‘एक्टर्स’ स्टुडियो भर्ना भए । उनी त्यहाँको छैटौं ब्याजका विद्यार्थी हुन् । नायक प्रमोद अग्रहरि र नायिका मेनुका प्रधानसँग उनको त्यही भेट भएको हो । उनी भन्छन्, ‘हामी ब्याजमेट हौं ।’
‘अभिनयप्रति कामेश्वको किन यति लगाव त ?’ यसको उनीसँग एउटै शब्दको सटिक जवाफ छ, ‘इगो’ ।
यसलाई स्पष्ट पार्दै उनी भन्छन्, ‘म सबै कुरामा असफल हुँ । घर–छेमेकका मभन्दा साना बच्चाहरुले मलाई पढाइमा उछिन्थे । म आफ्नै व्यहोराले सबैको हाँसो र घृणाको पात्र बनेको थिएँ । मलाई हेप्नेलाई देखाउनका लागि मेरो अभिनयप्रतिको मोह हराएन । जस्तो ठक्कर सामना गर्न तयार भएँ । मलाई उनीहरुले नगरेको काम अभिनय गर्नु थियो । जसले मेरो नाम पनि बन्छ ।’

सर्टिफिकेट च्यातेर अभिनयमा
इञ्जिनीयर वा डाक्टरको अपेक्षा गरेको छोरा कलाकारितामा लागेको कामेश्वरको परिवारलाई चित्त बुझेको थिएन । कामेश्वरको आर्थिक प्रगति थिएन । उनका दौँतरीहरु पढाइ सकेर एक पेसा अँगालेर सेटल भइसकेको थिए ।
कामेश्वर बल्ल फिल्ममा सानो भूमिका पाउँदै थिए । उनले फिल्म ‘लुट’ र ‘हाम्रो टिम’ नामक सिरियलमा सानो भूमिकामा अभिनय गर्न पाएका थिए । त्यही ताका कामेश्वरलाई परिवारबाट पैसा कमाउन विदेश जाने दबाब आयो । परिवारले प्रक्रिया सुरु गरिदिन सर्टिफिकेट माग्यो ।
कामेश्वरले विदेश नजाने अडान राखे । तर, परिवारको दबाब सामान्य थिएन । यही दबाबबाट पन्छिन सर्टिफकेट नै च्यातेको उनी बताउँछन् । भन्छन्, ‘म विदेश जान्नँ । तपाईंहरुले मागेको सर्टिफिकेट यही हो र हेर्नुस् भनेर च्यातिदिएँ । मैले व्यवस्थापन संकायमा स्नातक गरेको थिएँ । सबै सर्टिफिकेट त्यही दिन च्यातेको हो ।’
यो घटनाले आफू घर–परिवार र छिमेकबाट थप तिरस्कृत भएको कामेश्वर बताउँछन् ।
भन्छन्, ‘मेरो इमेज त्यसै पनि बदनाम थियो । यो घटनाले सबैले मलाई घृणा गर्न थाले । हाँसोको पात्र भएँ । मलाई घरबाट बाहिर निस्कनै आँट आएन । अनुहार देखाउन लाज भयो । त्यही घटनादेखि मेरो साहित्यतिर पनि रुचि घट्यो । किताब पढ्नै छाडेँ ।’
अनि बने ‘हरिया’
सर्टिफिकेट च्यातेको घटनापछि कामेश्वर काठमाडौं फर्किए । परिवारसँग सम्पर्कविहीन भएर उनी काठमाडौंमा बस्न लागे ।
यहाँ जागिर थिएन । फिल्मबाट पनि खासै काम पाएनन् । काठमाडौं बसाइ उनलाई खर्चिलो भयो ।
गोजीमा पैसा भएर होइन, नभएर चाहिँ खर्चिलो भएको हो ।
उनी भन्छन्, ‘त्यो समयमा मेरो जीवनमा भोकमरी चलेको थियो भन्दा हुन्छ ।’
यही समयमा कामेश्वरलाई फिल्म ‘रेशम फिलिली’बाट प्रस्ताव आएको हो । यसमा उनी शीर्ष मध्येको एक भूमिकामा छन् । उनी भन्छन्, ‘मलाई भोकमरीबाट निकाल्ने फिल्म हो, यो ।’
यो फिल्म ०७२ साल वैशाख ११ गते प्रदर्शनमा आएको हो । तर, भोलिपल्ट १२ गते भुकम्प आयो । यो घटनालाई उनी भाग्यसँग जोड्छन् । उनी भन्छन्, ‘बल्ल बल्ल फिल्ममा मुख्य भूमिका पाएको थिएँ । तर त्यही फिल्म भूकम्पले चल्न पाएन । मलाई असफल पार्न प्रकृति पनि लागि पर्यो ।’

‘भूकम्प’ले स्थिति शान्त भएपछि यो फिल्म प्रदर्शनमा आयो । उनले निर्वाह गरेको पात्र ‘हरिया’ हिट भयो । यसपछि भने कामेश्वरको सहायक भूमिकामा व्यस्तता बढ्न लाग्यो । फिल्मका प्रस्ताव बढ्न लागे ।
उनकै भाषामा भन्नुपर्दा उनी सहायक भूमिकाका लागि ‘डिमान्डेड’ कलाकार बने ।
अभिनय छोडेर माछा पसल
कामेश्वरलाई ‘हरिया’ पात्रले दिएको व्यस्तता धेरै समय टिकेन ।
कारण उनलाई सबै फिल्ममा ‘हरिया’ बनेर टाइपकास्ट हुनु भएन । उनको लक्ष्य फिल्मको शीर्ष नायक हुनु थियो ।
मेकरहरुले उनलाई डिमान्ड पूरा गर्न सकेनन् । सहायक भूमिकामा आएको प्रस्ताव उनले गर्न चाहेनन् । अनि उनले काठमाडौंमा जीविका चलाउन रेस्टुराँ खोले । उनी आफैँ माछाको परिकार बनाए बेच्थे । यो ०७६ साल ताकाको कुरा हो ।
यो अवस्थामा पुग्नुको कारणबारे उनी भन्छन्, ‘शीर्ष भूमिका पाइनँ । सहायक भूमिकामा गर्दिनँ भनेँ । त्यो कुरा एक मेकरबाट १० जनासम्म पुग्यो । मलाई १० ठाउँबाट प्रस्ताव आउने काम बन्द भयो । अनि फिल्मबाट बेरोजगार भएँ ।’
दोस्रो कारण भने उनी उमेर देखाउँछन् ।
भन्छन्, ‘उमेरले करिब चार दशक वसन्त पार गर्न लागेको थियो । उमेरसँगै संघर्ष गर्ने इच्छा शक्ति मर्दै गएको थियो । उमेर बढ्दै गएपछि ज्यानले दानपानी र शारीरिक सुख माग्दो रहेछ । त्यसका लागि मैले माछा बेच्नुपर्यो ।’
यो व्यवसाय पनि कोरोनाले चौपट भएको उनी बताउँछन् ।
भन्छन्, ‘मेरो जे काम पनि असफल नै हुन्छ । सुरुमा राम्रो चलेको यो व्यवसाय पनि कोरोनाले लग्यो ।’

‘अभिमन्यु’मा शीर्ष भूमिका
कामेश्वर ०७६–०८१ सम्म फिल्मबाट टाढा रहे । कामेश्वरलाई ‘हरिया’का रुपमा चिनाउने फिल्म ‘रेशम फिलिली’कै सिक्वेल ‘फेरि रेशम फिलिली’ले ठूलो पर्दामा फर्कायो ।
त्यस लगत्तै उनलाई फिल्म ‘अभिमन्यु’ साइन गरेका हुन् । जुन भदौ २७ मा प्रदर्शनमा आउँदैछ ।
यस फिल्ममा उनी एकल शीर्ष नायक हुन् । उनले विगतमा जति ठक्कर खाए यही दिनका लागि हो । अर्थात्, शीर्ष नायक बनेर ठूलो पर्दामा देखिन उनले कठिन समय विगतमा पार गर्नुप¥यो ।
अहिले कस्तो महसुस भएको छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘म सबैको तिरस्कृत पात्र, हाँसोको पात्र बनको कारण फिल्म थियो ।मेरो लक्ष्य फिल्म हो । भाग्यवस दम भएको कथा म समक्ष आइपुगेको छ । यो फिल्ममा मैले सबै इगो र नराम्रो विगतलाई अभिनयमा पोखेको छु । यसले मलाई चंगा बनाएको छ ।’
अन्त्यमा…
कामेश्वर उमेर चार दशक बढी भइसक्यो । अझै उनी कलाकारितामा संघर्षरत देखिन्छन् ।
यति लामो संघर्षपछि उनले बल्ल आफूलाई शीर्ष नायकको रुपमा उभ्याउन सफल भएका छन् ।
अभिनयमा परिवारसँग बिग्रिएको सम्बन्ध अझैँ समधुर छैन ।
उनको कुरा सुन्दा आर्थिक प्रगति हुन अझैँ बाँकी छ ।
‘कलाकारिताबाट कतिको आम्दानी हुन्छ ?’ यसको जवाफ उनी सहजै दिन्छन्, ‘म अझै संघर्षमा छु । मसँग गाडी भाडा छैन । मेरो आर्थिक पाटो सुनाएँ भने कसरी गुजारा गरेको होला भनेर सोच्न बाध्य हुनुहुन्छ ।’
‘अनि यो सारा ठक्कर अझै कतिसम्म ?’ उनी भन्छन्, ‘अभिनयको भोक नमर्ने बेलासम्म ।’
प्रतिक्रिया